विश्व साइकल यात्राको एक महिना, अनुभव र अनुभूति

नमस्कार ! म शुभप्रसाद शर्मा, नेपाल आमाको एउटा छोरो– जो एउटा साइकलका भरमा विश्व घुमेरै छाड्ने दुस्साहसी निर्णय गरेर घरबाट हिँडेको, आज एक महिनाभन्दा बढी समय बितेको छ। म एउटा साइकलमा यात्राका क्रममा अति आवश्यक पर्नसक्ने सीमित सामग्री प्याक गरेर २०७९ वैशाख १ गतेका दिन घरबाट निस्किएको थिएँ। अबको पाँच वर्षभित्र विश्वका सातै महादेशका १५० भन्दा बढी राष्ट्रको भ्रमण गर्ने लक्ष्य बोकेर म नयाँ वर्षका दिनदेखि लगातार अगाडि बढिरहेको छु।

एउटा साधारण मान्छेले सामान्यतया कल्पना पनि नगर्ने यस्तो कठिन र अनिश्चितताले भरिएको निर्णय मैले कुनै लहडमा गरेको भने थिइँन। जीवनमा यति ठूलो निर्णय गर्नका लागि मलाई धेरै कुराहरूले प्रेरित गरेका थिए। मेरो खेलकूदसँग जोडिएको पृष्ठभूमि, खेलप्रतिको लगाव र विश्व भ्रमण गर्ने पहिलो नेपाली पुस्कर शाहको रोमाञ्चक जीवनकथा बाहिरी प्रेरणाका स्रोतहरू थिए भने प्रकृति र राष्ट्र दुवैप्रति मभित्र रहेको अथाह प्रेम भित्री तŒव थिए।

नयाँ वर्ष २०७९ का दिन काठमाडौंबाट यात्रा थालेर चौथो दिन झापाको काँकडभिट्टा नाकाबाट म भारतको पश्चिम बंगाल प्रवेश गरेको थिएँ। त्यसयता म लगातार विदेशी भूमिमा अगाडि बढिरहेको छु र अहिलेसम्म मैले तय गरेको एक महिनाभन्दा लामो यात्रामा धेरै मिठा र सम्झनलायक अनुभवहरू सँगाल्ने मौका पाएको छु। म जहाँ–जहाँ पुगेको छु, त्यहाँ मानिसहरूले मप्रति चाख दिएको, मलाई स्वागत गरेको पाएको छु र यस क्रममा हरेक दिन नयाँ ठाउँ, नयाँ मानिस र नयाँ रीतिथितीसँग परिचित हुने मौका पाएको छु।

विश्वभर बढिरहेको जलवायु परिवर्तन कसरी कम गर्न सकिन्छ भनेर जनचेतना प्रसार गर्ने र संसारभरका १५० भन्दा बढी देशहरूमा पुगेर ५०० भन्दा बढी वृक्षारोपण गर्ने लक्ष्य बोकेर म यो अनन्त यात्रामा निस्किएको हुँ। अहिलेसम्म म पुगेको हरेक शहर र गाउँमा मानिसहरूले वातावरण संरक्षणसँग जोडिएको मेरो उद्देश्यलाई रुचाएका छन्, मेरो यात्रालाई समर्थन गरेका छन्। त्यसले मलाई अझ अगाडि बढ्न थप उर्जा मिलेको छ।

मैले भारत, बंगलादेश, म्यानमार, लाओस, कम्बोडिया, थाइल्याण्ड, मलेशिया हुँदै अष्ट्रेलियातर्फ जाने योजना बनाएको थिएँ तर बंगलादेशमा म पुगेको केही दिनपछि नै ईदको लामो छुट्टी परेका कारण मेरो ढाका बसाइ केही लम्बियो। मैले झण्डै २० दिन ढाकामा बिताएँ र यो तीन हप्ते बंगलादेश बसाइ पनि मेरा लागि अविस्मरणीय बन्न पुग्यो।

ढाका बसाइका क्रममा मैले धेरै मान्छेहरूसँग परिचित हुने अवसर पाएँ। त्यहाँ मैले ढाकाबासीको माया, सम्मान र आतिथ्यता सबै पाएँ। कोही खाना खान बोलाउँथे भने कोही आएर फोटो र भिडियो खिचेर लैजान्थे। एक दिन एउटा स्थानीय रेडियोले मेरो अन्तर्वार्ता लियो भने अर्को एकजनाले मेरो स्टोरीको भिडियो बनाएर युट्युव च्यानलमा लोड गर्‍यो। त्यहीं पुगेपछि परिचय भएका केही स्नेही साथीहरूको सहयोगमा ढाकाको रम्ना पार्कमा वृक्षारोपण गर्ने अनुमति प्राप्त भएपछि मैले यात्राको एक्काईसौं दिनमा बंगलादेशको ढाकामा पहिलो वृक्षरोपण कार्यक्रम सम्पन्न गरें।

ईदको लामो छुट्टीपछि जब दूतावासहरू खुले, तबमात्र थाहा भयो कि म्यानमारले अति महत्त्वपूर्ण विषयमा बाहेक विदेशीलाई भिसा दिन बन्द गरेको रहेछ। चाँडै खुल्ने हल्ला भए पनि कहिलेबाट खुल्छ भन्ने निक्र्यौल नभएका कारण कुरेर त्यहीं बसिरहनुको औचित्य थिएन। त्यसै पनि बंगलादेशमा धेरै दिन त्यत्तिकै बितिसकेको थियो। त्यसैले पुन: भारत नै फर्किएर दिल्लीबाट नयाँ योजना र नयाँ गन्तव्य बनाएर अगाडि बढ्ने योजना बनाउँदै म त्यहाँबाट भारतै फर्किएँ।

मेरो यात्राको उद्देश्य वातावरण संरक्षणसँग जोडिएका कारण केही सांकेतिक अर्थ राख्छ भन्ने सोचेर मैले यात्राको साधनका रूपमा इलेक्ट्रिक साइकलको छनौट गरेको थिएँ। तर इलेक्ट्रिक साइकलमा यात्रा गर्दा विश्वका धेरै देशहरूले थरिथरिका ‘लिगल डकुमेन्ट’ खोज्ने रहेछन् जुन उनीहरूको देशको कानून अनुसार हुनुपर्ने हुन्छ। मलाई भारतबाट बंगलादेश प्रवेश गर्ने समयमा नै इलेक्ट्रिक साइकलका कारण केही कठिनाइ परिसकेको थियो। त्यो बेला त म जसोतसो बंगलादेश प्रवेश गर्न सफल भएँ तर सबै ठाउँमा त्यस्तो चल्दैन, यही एउटा कारणले मेरो अगाडिको लामो यात्रामा कठिनाइ आउन सक्ने सम्भावना देखेकाले यो इलेक्ट्रिक साइकललाई भारतबाटै बदलेर अर्को सामान्य साइकलको प्रवन्ध गर्नेतर्फ सोचिरहेको छु। यस्ता झिनामसिना समस्याका कारण यो यात्रा नरोकिने कुराप्रति भने म पूर्णरूपमा विश्वस्त छु।

मैले लामो समयको तयारी र अभ्यास पछि मात्रै यो यात्रा थालेको थिएँ। यात्राका क्रममा सकेसम्म कुनै कठिनाइ नआओस् भन्ने सोचेर आवश्यक कागजात र अन्य सामग्रीहरूको व्यवस्था गर्ने प्रयास गरेको थिएँ तर मैले शुरू गरेको यात्रा सोचेर–सम्झेर गरिने कृत्य होइन, यो त एकदमै पृथक यात्रा भएका कारण यसको तयारीमा केही कमजोरीहरू पनि अवश्य रहे होलान्। मैले काठमाडौंको मेरो वडा कार्यालयदेखि बागमती प्रदेशको कार्यालयबाट समेत पत्र बनाएको थिएँ। तर संसारभर घुम्नुपर्ने हुँदा वडा वा प्रदेशको नभएर केन्द्रको अर्थात् परराष्ट्र मन्त्रालयले सिफरिस गरिदिएको एउटा पत्र भयो भने यात्रामा मलाई धेरै सहज हुने अनुभव अहिले आएर भएको छ।

मेरो अहिलेसम्मको यात्रालाई विश्लेषण गर्दा यो एकदमै सकारात्मक रूपमा अगाडि बढिरहेको छ। अब दिल्लीबाट मिलेसम्म पुरानै रूटबाट, नभए भारतबाट पाकिस्तान, इरान, टर्की हुँदै यो यात्रालाई निरन्तर अगाडि बढाउने मेरो योजना रहेको छ। यात्राका क्रममा जहाँ–जहाँ पुगेको छु, त्यहाँ मेरो देशलाई चिनाउन पाएको छु, यस कुराप्रति मलाई सधैं गर्व रहिरहनेछ।

मेरो यो यात्राको थालनी मेरो एकल प्रयासले मात्र भएको थिएन। मलाई माया र विश्वास गर्ने धेरै सहृदयीहरूको साथ र सहयोगका कारण यो सम्भव भएको हो। त्यसका लागि म सबैप्रति आभार व्यक्त गर्दछु। अब यो यात्रालाई यसको अन्त्यसम्म पुर्‍याउन पनि सबैसँग सहयोगको अपेक्षा गरेको छु। एउटा यात्रा मात्र नभएर एउटा ‘मिसन’ पनि भएका कारण यसै आलेखमार्फत नेपाल सरकारबाट पनि पूर्ण सहयोग र समर्थनको कामना गरेको छु। धन्यवाद।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
विश्व साइकल यात्राको एक महिना, अनुभव र अनुभूति
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link