आइपीएल २०२२: महँगो मूल्यमा अनुबन्धित खेलाडीकै प्रदर्शनले निराश बनायो

आशुतोष अधिकारी

राजस्थान रोयल्समाथि ७ विकेटको सजिलो जीत पार्दै नवप्रवेशी टोली गुजरात टाइटन्स पहिलो सहभागितामा नै इण्डियन प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ।गुजरातको राजधानी अहमदावादस्थित नरेन्द्र मोदी रङ्गशालामा आइतवार साँझ सम्पन्न आइपीएल २०२२ को एकपक्षीय फाइनल खेलमा गुजरातले प्रतियोगिताको पहिलो संस्करणको विजेता टोली राजस्थान रोयल्सलाई पराजित गर्न खासै संघर्ष गर्नु परेन।

फाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले सोचेअनुरूप प्रदर्शन गर्न सकेन र २० ओभरमा ९ विकेट गुमाउँदै केबल १३० रन मात्र बनाउन सक्यो।राजस्थानका लागि उच्च लयमा रहेका ओपनिङ ब्याट्स्म्यान जोस बट्लरले सर्वाधिक ३९ रन बनाए भने अर्का ओपनर यशस्वी जयसवालले २२ रनको योगदान दिए।राजस्थानलाई सामान्य योगफलमा समेट्ने क्रममा गुजरातका कप्तान हार्दिक पाण्डेयले ३ विकेट र आर साई किशोरले २ विकेट लिए।


सिजनमा १७ खेल खेल्दै बट्लरले चार शतक र चार अर्धशतकसहित ५७ भन्दा माथिको औसतमा ८६३ रन बनाए।यही प्रदर्शनका आधारमा बट्लरले आइपीएल २०२२ को व्यक्तिगत विधाका ६ पुरस्कार आफ्नो नाम गराउन सफल भए।


जवाफमा गुजरातको शुरूवात पनि खासै राम्रो रहेन।गुजरातका ओपनर रिद्दीमान शाह केबल पाँच रनमा आउट भए भने दोस्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेडले पनि केवल ८ रन मात्र बनाउन सके।४.३ ओभरमा २ विकेट गुमाएर दबाबमा आएको टोलीलाई शुभमन गिल र कप्तान हार्दिकले सम्हालेर अगाडि बढाएका थिए।यी दुई खेलाडीले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गरेपछि मात्र खेल गुजरातको पक्षमा ढल्किएको थियो।

पाण्डेय ३० बलमा ३४ रन बनाएर आउट भएपछि ब्याटिङ गर्न आएका अष्ट्रेलियाका अनुभवी खेलाडी डेविड मिलरले चौथो विकेटका लागि गिलसँग ४७ रनको अविजित साझेदारी गर्दै गुजरातलाई जीतसम्म डोर्‍याए।फाइनल खेलमा अलराउण्ड प्रदर्शन गरेका गुजरातका कप्तान पाण्डेय म्यान अफ दी म्याच चुनिए।जीतसँगै गुजरात टाइटन्सले आइपीएल २०२२ को उपाधिसँगै २० करोड भारतीय रुपैयाँ पुरस्कार राशी आफ्नो नाममा पार्‍यो।

जोस बट्लरमय आइपीएल

आइपीएल २०२२ को उपाधि गुजरात टाइटन्सले जिते पनि प्रतियोगिताको नायक भने राजस्थान रोयल्सका अंग्रेज खेलाडी जोस बट्लर बन्न पुगे।बट्लरले आइपीएलको यो संस्करणमा ट्वान्टीट्वान्टी क्रिकेटको अनुपम नमुना पेश गर्दै उत्कृष्ट प्रदर्शन गरे र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए।

जोस बट्लर

मुम्बई इण्डियन्सविरुद्ध खेलेको आफ्नो पहिलो खेलमै अविजित १०० रन प्रहार गरेर शीरमा अरेन्ज क्याप सजाएका बट्लरलाई पूरा प्रतियोगिताभरि अन्य कुनै ब्याट्स्म्यानले भेट\ने त परको कुरा, उनको छेउछाउसम्म कोही देखा पर्नसमेत सकेनन्।जारी सिजनमा १७ खेल खेल्दै बट्लरले चार शतक र चार अर्धशतकसहित ५७ भन्दा माथिको औसतमा ८६३ रन बनाए।यही प्रदर्शनका आधारमा बट्लरले आइपीएल २०२२ को व्यक्तिगत विधाका ६ पुरस्कार आफ्नो नाम गराउन सफल भए।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका साथै उनले ड्रिम ११ गेम चेञ्जर अफ दी सिजन, मोस्ट भ्यालुएबल प्लेयर अफ दि सिजन र अरेन्ज क्याप विनर अफ दी सिजनको उपाधि जित्न सफल भए।त्यसका साथसाथै सबैभन्दा बढी चौका र छक्का हान्ने खेलाडीको पुरस्कार पनि उनले आफ्नो नाम गराए।उनले पूरा प्रतियोगिताभरिमा ४५ वटा छक्का र ८३ वटा चौका प्रहार गरे।साथै एकै सिजन ४ शतक बनाउँदै उनले २०१२ मा रोयल च्यालेञ्जर्स बैंग्लोरका लागि भारतका विराट कोहलीले बनाएको ४ शतकको कीर्तिमान समेत बराबरी गरे।

अन्य पुरस्कार र व्यक्तिगत उपलब्धि

प्रतियोगिताका १७ खेलमा ७.७५ को औसतमा २७ विकेट हात पारेका राजस्थानका युजवेन्द्र चहल सर्वाधिक विकेट लिने खेलाडीको अग्रस्थानमा रहँदै पर्पल क्याप जित्न सफल भए।कोलकाता नाइट राइडर्स विरुद्ध ५ विकेट लिएको खेलमा लगातार बलमा ३ विकेट लिदै युजबेन्द्र चहल आइपीएल २०२२ को एक मात्र ह्याट्रिक लिने बलर समेत बन्न सफल भए।

प्रतियोगिताको उदीयमान खेलाडीको पुरस्कार भने सनराइजर्स हैदराबादबाट खेल्ने तीब्र गतिका बलर उमरान मल्लिकको नाममा रह्यो।उनले यो सिजन आइपीएलमा केबल १४ खेल खेल्दै २२ विकेट आफ्नो नाम गराउन सफल भए।

यो सिजन पनि पूरा प्रतियोगिताभरि केही उत्कृष्ट क्याच र फिल्डिङका नमुनाहरू देख्न पाइए तर कोलकाता नाइट राइडर्स विरुद्धको महत्त्वपूर्ण खेलमा लखनउ सुपर जायन्ट्सका एभिन लुइसले लिएको रिन्कु सिंहको ‘वान ह्यान्डेड क्याच’ लाई पर्फेक्ट क्याच अफ दि सिजनको पुरस्कार दिइयो।यही क्याचको मदतले लखनउले प्लेअफसम्मको यात्रा तय गरेको थियो।

राजस्थान रोयल्स विरुद्धको फाइनल खेलमा १५७.३ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्दै गुजरात टाइटन्सका लक्की फर्गुसनले फास्टेस्ट डेलिवरी अफ दी सिजनको व्यक्तिगत पुरस्कार हात पारे भने पूरा प्रतियोगिताभरि १८३.३३ को स्ट्राइक रेटमा रन बनाएका रोयल च्यालेञ्जर्स बैंग्लोरका दिनेश कार्तिकलाई सुपर स्ट्राइकर अफ दि सिजनद्वारा सम्मानित गरियो।प्रतियोगिताका दुई फाइनलिस्ट टोली गुजरात र राजस्थानले नै पेटिएम फेयर प्ले अवार्डको पुरस्कार पनि आफ्नो नाम गराए।

यो सिजनको आइपीएलमा कुल आठवटा शतक बने जसमध्ये चार शतक जोस बट्लरको ब्याटबाट निस्कियो।त्यसबाहेक दुईवटा शतक लखनउका कप्तान केएल राहुलले बनाए भने लखनउकै क्वान्टेन डि’कक र बेंग्लोरका रजत पटिदार एक–एक शतक प्रहार गर्न सफल रहे।लखनउका डि’ककले कोलकाता नाइट राइडर्सविरुद्ध बनाएको अविजित १४० रन यो संस्करणमा बनेको सबैभन्दा उच्च व्यक्तिगत योगफल हो।

यही सिजनमा चार फरक–फरक टोलीका चार बलरले म्याचमा ५ विकेटको आँकडा छुन सफल भए।बेंग्लोरका वनिन्दु हसरङ्गा, हैदरावादका उमरान मल्लिक र राजस्थानका युजवेन्द्र चहलले एकै खेलमा पाँच विकेट लिने सफलता हासिल गरे पनि मुम्बई इण्डियन्सका जसप्रित बुमराहले १० रन दिएर लिएको ५ विकेट प्रतियोगिताकै उत्कृष्ट बलिङ विश्लेषण रह्यो।

सिजनका असफल टोली र खेलाडी

आइपीएलका सबैभन्दा सफल दुई टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सका लागि यो सिजन बिर्सनलायक रह्यो।यी दुवै टोलीले खेलेका १४–१४ खेलमध्ये १०–१० खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा रहन पुगे।पाँच पटक आइपिएलको उपाधि जितेको मुम्बईले प्रतियोगितामा पहिलो जीतको स्वाद चाख्न नवौँ खेलसम्म पर्खनु प¥र्यो भने चेन्नई पाँचौँ चरणको खेलमा मात्र खाता खोल्न सफल भयो।त्यस्तै दुई पटकको विजेता कोलकाता नाइट राइडर्सले पनि खराब खेल प्रस्तुत गर्दै प्लेअफमा स्थान बनाउन असफल भयो।

यो सिजनको आइपीएलमा असफल भएका केही नाम चलेका खेलाडीहरूमा मुम्बईका कप्तान रोहित शर्मा, चेन्नईका महेन्द्रसिंह धोनी र कप्तान रबिन्द्र जडेजा, हैदरावादका कप्तान केन विलियम्सन, बेंग्लोरका पूर्वकप्तान विराट कोहली, मुम्बईका अलराउण्डर काइरन पोलार्ड, पञ्जावका सन्दिप शर्मा, चेन्नईका क्रिस जोर्डन, लखनऊका मनिष पाण्डे, चेन्नईका फाफ डु प्लेसी लगायत रहेका छन्।

आइपीएल सिजन २०२२ मा निकै आशा गरिएका र महँगो मूल्यमा अनुबन्धित केही युवा खेलाडीहरूको प्रदर्शन पनि निराशाजनक रह्यो।सिजनकै सबैभन्दा महँगा खेलाडी मुम्बईका इशान किसन (१५.२५ करोड भारु), दिल्लीका शार्दुल ठाकुर (१०.७५ करोड भारु), पञ्जावका शाहरूख खान (९ करोड भारु), मुम्बईका टिम डेविड्स (८.२५ करोड भारु), कलकत्ताका शिवम् मावी (७.२५ करोड भारु) र वेंकटेश्वर अ‍ैयर (८ करोड भारु) ले पनि प्रतियोगितामा आफ्नो स्तरअनुरूपको खेल प्रदर्शन गर्न सकेनन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
आइपीएल २०२२: महँगो मूल्यमा अनुबन्धित खेलाडीकै प्रदर्शनले निराश बनायो
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link