आफ्नै आवाजमा बाँचिरहनेछन् केके

आशुतोष अधिकारी

“हम रहेँ या ना रहेँ कल्, कल याद आएँगे ए पल्

पल् ए हे प्यार के पल्, चल् आ मेरे सँग चल्,

चल्… सोचे क्या छोटी सी है जिन्दगी,

कल् मिल् जाए तो होगी खुशनशीबी,

हम्….. रहेँ या ना रहेँ, याद आएँगे ए पल्……..”

जति सुन्दर छन् यो गीतका पंक्तिहरू, त्यो भन्दा पनि सुन्दर थियो उनको आवाज जसले गाएका थिए यो गीत।एउटा यस्ता गायक जसको आवाज कानबाट एकैचोटि मुटुको गहिराईमा गएर ठोकिन्थ्यो र झक्झक्याएर छोडिदिन्थ्यो यो मन र मष्तिश्कलाई।एउटा यस्तो आवाज जसलाई आवश्यकता थिएन कुनै परिचयको, जसको आवाजले नै उनको परिचय दिइरहेको हुन्थ्यो।यो यस्तो आवाज थियो जसलाई भारतले मात्र होइन पूरा विश्वले आफ्नो मुटुमा साँचेर राखेको थियो।

तिनै मधुर आवाजका धनी सुप्रसिद्ध भारतीय गायक केके अब हामी माझ रहेनन्।५३ वर्षको अल्पआयुमै गए राति कलकत्तामा उनको निधन भएको छ।एउटा कलेजले आयोजना गरेको सांगितिक कार्यक्रममा भाग लिन कलकत्ता पुगेका केके कार्यक्रम सकिए लगत्तै कार्डियाक एरेस्ट (ह्रदयाघात)को शिकार भएको बताइएको छ।कार्यक्रम सकिएपछि होटल फर्कँदै गर्दा बाटोमै उनले अप्ठ्यारो महशुस गरेको, होटल पुगेपछि अचानक ढलेको र लगत्तै नजिकैको एउटा निजी अस्पताल पुर्‍याउँदा डाक्टरहरूले मृत घोषणा गरेको समाचार बाहिरिएको छ।उनको असामायिक निधनको खबरले बलिउड मात्र होइन संसारभर रहेका उनका समर्थकहरू स्तव्ध भएका छन्।

स्वर्णिम आवाजका धनी, सबैका प्रिय गायक

आफ्नो स्पष्ट र वजनदार आवाज अनि त्यति नै सुन्दर गायकीका कारण भारतको फिल्म उद्योगमा केके आफ्नो एउटा अलग्गै र विशिष्ट पहिचान बनाउन सफल भएका थिए।उनी यस्ता गायक थिए जो भारतका लगभग सबै गायक र कलाकारका ‘फेवरेट’ थिए।अहिलेका चर्चित गायक अरिजित सिंहले एउटा अन्तर्वार्तामा आफ्नो मनपर्ने गायक केके रहेको र उनको गायनशैलीलाई पछ्याउने कोशिस गर्ने गरेको कुरा खुसीका साथ बताएका थिए।

जति मिठास उनको आवाजमा थियो, त्यति नै सुन्दर र सकारात्मक सोचका धनी थिए केके।सेलिब्रिटी भएर पनि हाइप्रोफाइलमा बस्न नरुचाउने उनी सधैँ सरल र स्वस्थ जीवन बाँच्न मन पराउँथे।उनी बलिउडका रङ्गीन पार्टी वा अवार्ड समारोहहरूमा रमाउन भन्दा बढी आफ्नो परिवार र साथीभाइहरूसँग समय बिताउन पाए खुसी हुन्थे।आफ्नो कामप्रतिको लगाव र त्यसप्रतिको समर्पणभावका कारण उनी बलिउडका नामी संगित निर्देशकहरूका समेत प्रिय थिए।

केकेको मृत्यु भएको खबर सुन्नेबित्तिकै सबैभन्दा पहिला ट्वीट गर्नेहरुमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि एक थिए।यसबाट पनि उनको लोकप्रियताको अनुमान गर्न सकिन्छ।

शब्दचित्रमा केके

केकेको वास्तविक नाम कृष्णकुमार कुन्नथ हो।केरेलाबाट दिल्ली आएका मलयाली परिवारमा सन् १९६८ को अगस्ट २३ तारिखका दिन उनको जन्म भएको थियो।उनले दिल्लीको माउन्ट सेन्ट मेरिज स्कूलबाट हाईस्कुलसम्म र दिल्लीकै कडोरीमल कलेजबाट स्नातक तहसम्म अध्ययन पूरा गरेका थिए।

सानैबाट संगीतमा विशेष रुचि राख्ने र गाउने–बजाउने गर्दै आएका केके सन् १९९४ मा मुम्बई आउनुअघि दिल्लीमा गीत–संगीतको क्षेत्रमै सक्रिय थिए।उनले दिल्लीमा सानातिना विज्ञापनहरूमा बजाइने छोटो गीत, जसलाई जिङ्गल भनिन्छ, हरूमा म्युजिक भर्ने र गाउनेदेखि रेष्टुरेन्टहरूमा गाउनेसम्मका काम गर्न भ्याएका थिए।उनले भारतको मूलधार मानिने बलिउडमा ‘ब्रेक’ पाउनुअघि नै ३५ सय भन्दा बढी विज्ञापनहरूको जिङ्गल बनाएको र गाएको कुरा धेरै अन्तर्वाताहरूमा बताएका छन्।

उनी सन् १९९४ मा दिल्लीबाट मुम्बई आएका थिए।त्यसअघि एकपटक दिल्लीको एउटा रूफटप रेस्टुरेन्टमा गीत गाउँदै गर्दा उनको आवाज भारतका प्रसिद्ध गायक हरिहरणले सुनेका थिए र पहिलोपटकमै केकेबाट ज्यादै प्रभावित भएर उनलाई मुम्बई आउने सल्लाह दिएका थिए।सन् १९९४ मा मुम्बई आएपछि उनै हरिहरणले केकेलाई त्यसबेलाको प्रख्यात ब्यान्ड कोलोनियल कजिन्सका लेस्ली लुइससँग भेट गराइदिएका थिए।तिनै लेस्ली लुइसलाई केकेले आफ्नो सांगितिक गुरू र मार्गदर्शक मानेका छन्।

लेस्ली लुइस नै ती व्यक्ति थिए जसले केकेलाई मुम्बईमा पहिलोपटक ब्रेक दिलाएका थिए।लेस्लीले नै केकेलाई म्युजिक डिरेक्टर एआर रहमानसँग भेट गराइदिएका थिए।एआर रहमान पनि पहिलो भेटमै केकेको क्षमताबाट प्रभावित भएका थिए, त्यसैकारण केकेले मुम्बईमा आफ्नो शुरूवाती समयमै रहमान र लेस्लीहरूजस्ता धुरन्धर कलाकारहरूसँग काम गर्ने मौका पाए।शुरूमा केकेले रहमानसँग केही जिङ्गल र केही गीतहरूमा काम समेत गरे।

मुम्बईको फिल्म नगरीमा केकेलाई पहिलो ब्रेक भने गुलजारले निर्माण गरेको र विशाल भारद्वाजले निर्देशन गरेको चलचित्र माचिस (१९९६) को एउटा गीतले दिलायो।रोचक कुरा के छ भने उनले त्यो चलचित्रमा केबल एउटा गानाको एक हरफ मात्र गाउने मौका पाएका थिए, तर त्यही एक हरफको गीतले उनलाई बलिउडमा पहिचान दिलायो र त्यहाँ स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्यो।’छोड आए हम वो गलियाँ….’ बोलको त्यो गीत नै उनको गायनयात्राको ‘टर्निङ प्वाइन्ट’ साबित भयो।

सन् १९९८ मा सोनी म्युजिक इन्टरनेशनल भारत प्रवेश गर्‍यो।त्यो अन्तर्राष्ट्रिय म्युजिक कम्पनीले आफ्नो पहिलो ‘डेब्यु आर्टिस्ट अफ दि एयर’ का रूपमा केकेलाई चयन गर्नु उनको सांगितिक यात्राको अर्को कोशेढुंगा थियो।सन् १९९९ मा सोनी म्युजिकको ब्यानरमा रिलिज गरिएको ‘पल’ एल्बमले उनलाई रातारात एउटा सामान्य गायकबाट ‘स्टार सिंगर’ बनाइदियो।सो एल्बमको ‘पल्, ए है प्यारके पल्’ र ‘यारों दोस्ती बढी हि हसिन है’ बोलको गीत यति चर्चित भइदियो कि यी दुई गीत लगातार ६–७ वर्षसम्म चर्चित पप गीतको सूचीमा परिरहे।यही एल्बमले उनलाई ‘ग्लोबल सिंगर’ बनाइदियो।

केकेलाई उचाइको बुलन्दीमा पुर्‍याउने काम भने सन् १९९९ मा रिलिज भएको एउटा चलचित्रको त्यो वियोगान्त गीतले गर्‍यो जसलाई एक्काइसौँ शताब्दीको ‘इण्डियन ब्रेकअप सङ’ मान्नेहरुको यहाँ कुनै कमी छैन।’हम दिल दे चुके सनम’ फिल्मको ‘तडप तडप के इस लि से’ बोलको गीतले केकेलाई त्यो उचाइमा पुर्‍यायो जुन उचाई जीवनमा एकदमै कमैले मात्र हासिल गर्न सक्छन्।

त्यसयता उनले बलिउड फिल्म इन्डस्ट्रीलाई एक–से–एक गीत दिएका छन्।हमराजको ‘बर्दास्त नही कर सकता’, ओम शान्ति ओमको ‘आँखो मे तेरी’, गैंगस्टारको ‘तु ही मेरी सब है सुबाह है’, जन्नतको ‘जरा सा दिलमे’, रहना है तेरे दिलमेको ‘सच कह रहा है दिवाना’, लाइफ इन अ मेट्रोको ‘अलबिदा’ बजरंगी भाइजानको ‘तु जो मिला’, मर्डरको ‘सोनिये’, जिस्म २ को ‘अभि अभि’ आदि उनका केही चर्चित फिल्मी गीतहरू हुन्।

ट्रेन्ड सेटर सिंगर

केकेले आफ्नो २५ वर्षे बलिउड यात्राका क्रममा एकदमै थोरै संख्यामा मात्र गीत गाएका छन्।संख्यालाई भन्दा गीत र संगीतको गुणस्तरलाई हेरेर काम गर्ने उनको स्वभाव थियो, त्यसैकारण उनले फिल्मका धेरै गीतहरू गाएनन्।तर उनले जति गीत गाए, अधिकांश चलेका छन्।उनका धेरै गीतहरू त यस्ता छन् जसले नयाँ ‘ट्रेन्ड’ को शुरूवात गरेको थियो।

उनको पहिलो एल्बम पलका ‘पल’ र ‘यारोँ’ बोलको दुई गीत यति चर्चित भइदियो कि यी गीतहरू कुनै पनि स्कूल–कलेजको ‘फेरवेल थिम’ बनिदियो।त्यस्तै ‘तडप तडप के इस दिलसे’ र ‘सच कह रहा है दिवाना’ बोलका गीत एउटा सिंगो पुस्ताको ‘कमन ट्र्याजेडी सङ’ बन्न पुग्यो र अहिलेसम्म पनि कायमै छ।उनका अन्य थुप्रै गीतहरू छन् जसलाई सदाबहार रोमान्टिक गीतको दर्जा प्राप्त भएको छ।

तिनै सबैका प्रिय गायक केकेले असमयमै आफ्नो भौतिक शरीरलाई छाडेर बह्मलीन भएका छन्।उनी नभए पनि उनको आवाज उनको सम्झना बनेर हामीमाझ सधैँ बाँचिरहनेछ, हार्दिक श्रद्धाञ्जली।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap