विश्वकर्मा समुदायले जोगाइदिएको पोखराको कमलपोखरी

दुर्गा रानामगर

पहिलो त्यता कोही जाँदैनथ्यौं, डर लाग्ने ठाउँ थियो। झार थियो। हामीले त्यतिबेला थाहा पाउँदा ताल ठूलो थियो। त्यतिबेला कमलपोखरी ताललाई बुडुवा भन्थ्ये। अहिले त तालको छेउछाउको जग्गा मिचेर, अहिले धान खेत छ त्यहाँ।’

७९ वर्षीय केशबहादुर विश्वकर्माले वताएको यो ताल अहिले पोखरा महानगरपालिका वडा नं १३ कुँडहरमा पर्छ। १ सय ८२ रोपनी क्षेत्रमा फैलिएको ताल खुम्चिएर हाल ३२ रोपनीको भएको छ। केशबहादुर वा हस्तिमाया विश्वकर्माले आमा समूह बनाएर ताल नजोगाएको भए अहिले त्यही ३२ रोपनीको ताल पनि देखिने थिएन।

विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी तालको संरक्षणका लागि जीवन विताउनु भएकी ७४ वर्षीय हस्तिमाया भन्नुहुन्छ, ‘त्यतिबेला अरु देख्नेहरूले हामीलाई तिमीहरूले के देखेका छौ यो ठाउँमा। यति हत्ते गरेर हिँडेका भनेर सोध्थे। हामीले उबेला नजोगाइदिएको भए अहिले कमलपोखरी रहँदैनथ्यो।’

केशबहादुर विश्वकर्मा आफ्नो बाआमासँग कास्की मौजाबाट पोखरा शहर झर्दा मात्र १५ वर्षको हुनुहुन्थ्यो। अहिलेको पोखरा महानगरपालिका वडा नं १३ कुँडहरमा झरेर बसोबास गर्न थालेको पहिलो विश्वकर्मा परिवार उहाँहरूको थियो। त्यसपछि बाग्लुङ, म्याग्दी सहित कास्की नजिकका गाउँहरूबाट त्यस क्षेत्रमा बसाइँसराई गरि आउने विश्वकर्मा समुदायको संख्या बढ्यो र अहिले ८० घरभन्दा बढी विश्वकर्मा बस्छन् यो ताल छेउको सहरिया गाउँमा।

कमलपोखरी ताल संरक्षण समितिका संस्थापक अध्यक्ष समेत रहनुभएको केशबहादुर विश्वकर्मा अहिले ७९ वर्षको हुनुभयो। उहाँ त्यतिबेलाको कमलपोखरी ताल सम्झदै भन्नुहुन्छ, ‘पहिलो त्यता कोही जाँदैनथ्यौं, डर लाग्ने ठाउँ थियो। झार थियो। हामीले त्यतिबेला थाहा पाउँदा ताल ठूलो थियो।’ त्यतिबेलाको बुडुवा ताललाई विश्वकर्मा समुदायकै अगुवाइमा कमल फुल्ने भएकाले कमलपोखरी भनेर नाम राखियो।

 कमलपोखरी संरक्षणमा सङ्गठित विश्वकर्मा

हस्तिमाया विश्वकर्मा

यस ताललाई संरक्षण गरिनुपर्छ भनेर विश्वकर्मा समुदाय वि.सं ४०/४१ सालदेखि नै लागि पर्न थाले। वि.सं २०४५ सालमा कमलपोखरी आमा समूह भनेर आमाहरूको समूह नै गठन भयो। आमा समूह भनिएपनि यसमा विश्वकर्मा समुदायका बाबा र आमा दुवै नै मिलेर काम गर्नहुन्थ्यो। आमा समूहको अध्यक्षमा केशबहादुर विश्वकर्माको बहिनी हस्तिमाया विश्वकर्माले नेतृत्व लिनुभयो।  कमलपोखरी तालमा करौती घाँस तथा झारहरु थियो। बेवारिशे अवस्थामा रहेको ताललाई आमा समूह गठन भइसकेपछि औपचारिक रुपमा नै सरसफाइदेखि संरक्षण काम शुरुभयो। बाहिर प्रचारप्रसार नभएको र सरकारको ध्यान नगएको त्यस समयमा ताल संरक्षणका लागि विश्वकर्मा समुदायले घरघरबाट पैसा उठाउने, देउसी भैलो खेलेर संरक्षणको लागि पैसाको जोहो गरेका थियो।

आमा समूहकी अध्यक्ष हस्तिमाया भन्नुहुन्छ, ‘म कमलपोखरीको लागि दिनरात खटे। मलाई कमलपोखरीको एकदमै माया छ। म मरे भने मेरो हंस (आत्मा) पहिला त्यहीँ जान्छ जस्तो लाग्छ।’

पहिलेको १ सय ८२ रोपनी क्षेत्रमा फैलिएको ताल अतिक्रमणमा परि हाल ३२ रोपनीमा सिमित भएको बताउँछन् स्थानीय। वि.सं २०६४ सालमा कमलपोखरी ताल संरक्षण समिति गठन भयो। जसको अगुवाइ केशबहादुर विश्वकर्माले गर्नुभयो। अतिक्रमण बारे बोल्दै विश्वकर्माले भन्नुभयो, ‘तालको छेउछाउको जग्गा मिचेर, अहिले धान खेती छ त्यहाँ। हामीले तारजाली लगाएर व्यवस्थित त गरेका छौ तर बेलैमा त्यसतर्फ ध्यान गएको भए तालको जग्गा अतिक्रमण हुने थिएन।’ उहाँले तालको संरक्षणका लागि सरकारले पनि ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘राष्ट्रको सम्पत्ति हो यो ताल। यसलाई संरक्षणका लागि सरकारले ध्यान दिनुपर्छ। हामी त काम गर्ने गोठाला मात्र हौं। ’

स्थानीयहरू दिउसोमा शीतल ठाउँ खोज्दै कमलपोखरी ताल छेउ आइपुग्छन्। बस्नका लागि नजिकै दुईवटा पाटी बनाइएको छ। दिउसो र साँझमा त्यहाँ स्थानीयदेखि केही बाह्य पर्यटक गर्मी छल्न आइपुग्छन्। स्थानीय ७७ वर्षीय मतिकला विश्वकर्मा, ५६ वर्षीय मनकुमारी विश्वकर्मा, मनकाजी विश्वकर्मा, भीममाया विश्वकर्मा तालछेउकै पाटीमा गफ गर्दै आराम गरिरहेको भेटिनुभयो। कमलपोखरी आमा समूहमा रहेर काम गर्नुभएको मनकुमारी विश्वकर्माले यो क्षेत्रमा पहिले कसैले चासो नदेखाएको बताउँदै दलदल मात्रै रहेको ठाउँलाई यति सुन्दर तालमा परिणत गरेको विश्वकर्मा समुदायले नै भएको बताउनुभयो। मतिकला विश्वकर्मा ‘४३ सालतिरै आफ्नो परिवारसहित कमलपोखरी आउनुभएको थियो। उहाँले भन्नुभयो, ‘केही थिएन त्यतिबेला। दलदल र जालो मात्रै। हामीले सफा गर्न थालेपछि कमलको फूल फैलिएर यति भयो।’

काली नाग र कमलको फूल

कमलपोखरीको विशेषता नै कमलको फूल फुल्नु हो। साउनदेखि असोज महिनासम्म यो ताल कमलको फूलले धपक्कै ढाक्छ। त्यसबाहेक यस क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण छ। यस ठाउँमा नागको बासस्थान रहेको भनी जनविश्वास भएकाले नै तालको बीच भागमा काली नागको मूर्ति स्थापना गरिएको छ। यससँगै विश्वकर्मा बाबा, गणेश, राधाकृष्ण लगायतका मन्दिर पनि बनाइएको छ। स्थानीय नरप्रसाद विश्वकर्माले नागपञ्चमीको दिनमा यस क्षेत्रमा विशेष मेला हुने भएकाले भक्तजनको भिड लाग्ने बताउनुभयो। उहाँले त्यसदिनमा मात्रै कमलको फूलको पात टिप्न पाइने बताउँदै डुङ्गाबाट काली नागको मूर्ति रहेको बीचभागमा भक्तजनलाई ल्याउने लैजाने गरिने जानकारी दिनुभयो। कमलको पात जन्डिसका बिरामीहरूका लागि औषधी भएकाले पनि बिरामीहरूले पात लिनका लागि आउने गरेका छन्।

ठूला कुरा तर वास्तविकतामा बेवास्ता

कमलपोखरी ताल कास्कीका अन्य ८ ताल सहित रामसार क्षेत्रको विश्व सूचीमा सूचिकृत छ। तालको दृश्यावलोकनसँगै चराचुरुङ्गी, माछा, कमलको फूल तालको विशेषता हो। अहिले केही वर्षदेखि नजिकै वनबाट तालमा मृगहरू पानी पिउन आउने गरेको स्थानीय बताउँछन्। ताललाई अतिक्रमणबाट रोक्न अहिले तारजाली लगाइएको छ। पर्यटकलाई कालपोखरीसम्म आउनका लागि स्थानीयकै पहलमा बाटो समेत खोलिएको छ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले सन् २०१८ मा गरेको कास्कीको तालहरूको अध्ययनले कमलपोखरी विविध कारणहरूले जोखिममा रहेको देखाएको थियो। त्यसमध्ये तालमा प्रदुषण बढ्ने क्रममा रहेको, बाह्य मिचाहा वनस्पति झारहरू को जोखिम लगायतका रहेको थियो। कमलपोखरी ताल संरक्षण र विकासको पर्खाइमा छ।

कमलपोखरी ताल संरक्षण समितिका सचिव दिलबहादुर विश्वकर्माले ताल संरक्षणको विषयमा बैठकमा ठूल्ठूला कुरा गर्नेहरू वास्तविकतामा आउँदा ताललाई बेवास्ता गर्ने गरेको बताउनुभयो। १५ वर्षभन्दा बढी समय देखि कमलपोखरीको संरक्षणका लागि काम गर्दै आउनुभयो सचिव विश्वकर्माले सरकारको सहयोग न्यून रहेको बताउँदै अहिले ताल संरक्षणका लागि सरकारको कुनै योजनामा नै नपरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘विश्वकर्मा समुदायले कमलपोखरीको संरक्षण नगरेको भए अहिले तालको अस्तित्व नै रहने थिएन। हामीले ताल संरक्षण गर्नुपर्छ र यसैको माध्यमबाट हामी विश्वकर्मा समुदाय पनि एकीकृत हुनुपर्छ भनेर त्यतिबेला अघि बढेका थियौं।’ उहाँले यसको संरक्षणमा सरकारको चासो नगएकोमा दुःख व्यक्त गर्दै संरक्षण समिति सरकारको ढोका ढकढकाउन पुग्दा पनि सधैँ बेवास्तामा नै परेको बताउनुभयो। उहाँले तालको संरक्षणसँगै यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने योजना संरक्षण समितिले लिएको बताउनुभयो।

कमलपोखरी ताल रहेको पोखरा महानगरपालिका वडा नं १३ का नवनिर्वाचित वडाअध्यक्ष किरण बरालले कमलपोखरीको संरक्षण र विकास अहिले प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘वडा नं १३ को गौरव कमलपोखरी ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि म लागि परेको छु। यसका लागि मैले काम पनि सुरु गरिसकेको छु।’

 

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
विश्वकर्मा समुदायले जोगाइदिएको पोखराको कमलपोखरी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link