‘गडेस अफ डेमोक्रेसी’को संरक्षण लुकाएरै भए पनि गर्छौं: हङकङका विद्यार्थी

कृष्ण तिमल्सिना

३३ वर्षअघि चीनमा राजनीतिक स्वतन्त्रता, मानवअधिकार र प्रेस स्वतन्त्रतासहित राजनीतिक प्रणाली सुधारको माग गरेर आन्दोलन गर्दा बर्बर सैन्य दमनमा मारिएकाहरूको सम्झनामा भेला भएकाहरूलाई यो वर्ष पनि सरकारले दमन गरेको छ।
चीनको चर्चित तियानमेन चोक नरसंहारको स्मरणमा यो वर्ष पनि केही स्वतन्त्रता अभियान्ताले अनौपचारिक कार्यक्रम गरे तर त्यस घटनालाई सम्झिएको आरोपमा हङकङमा ६ जना गिरफ्तार भएका छन्। बीबीसीका अनुसार यो कार्यक्रम जुन ४ का दिन अबेर आयोजना गरिएको थियो, उनीहरू हातमा मैनबत्ती लिएर शान्तिपूर्ण तवरमा मृतकको संझना गरिरहेका थिए। त्यहाँको प्रशासनले भने तीन दशक अगाडिको सो घटनाको बारेमा सार्वजनिक रूपमा कार्यक्रम गरेर सरकारी कानुन अवज्ञा गरेको आरोपमा उनीहरू सबैलाई पक्रेर जेल हालेको छ।
केही वर्ष अगाडिसम्म चीन अधीनस्थ क्षेत्र हङकङमा तियानमेन नरसंहारमा मारिएकाको सम्झनामा औपचारिक कार्यक्रम हुने गरेको थियो तर त्यहाँको प्रशासनले अहिले नयाँ ऐन मार्फत यस किसिमका कार्यक्रममा मुलभूमि चीनमा जस्तै प्रतिबन्ध लगाएको छ– बीबीसीले लेखेको छ।
चीनमा सन् १९८९ को जुन ३ र ४ का दिन शान्त पूर्वक भएको प्रदर्शनमा ट्याङ्क लगाएर आमनरसंहार गरेको घटनाको सम्झना गर्न समेत पाइँदैन। मानव सभ्यताकै कलङ्कको रूपमा परिचित तियानमेन नरसंहार बारे चीन सरकारले आजसम्म विश्व मञ्चमा चित्तबुझ्दो जवाफ दिन सकेको छैन, बरु उक्त घटनाको विषयमा बोल्न, लेख्न अथवा स्मरण गर्न समेत प्रतिबन्ध लगाएको छ।
सन् १९८९ मा भएको त्यस घटनाको स्मरणमा मैनबत्ती बाली रहेको अवस्थामा हङकङमा ५ पुरुष र एक महिलालाई गिरफ्तार गरिएको छ– प्रहरीको सूचनालाई हवाला दिएर बीबीसीले लेखेको छ।
यी ६ जना नै जुन ४ तारिख बेलुकीबाट प्रहरीको हिरासतमा छन्। यस्ता गतिविधिमाथि चीनमा जस्तै हङकङमा समेत प्रतिवन्ध लगाइए पनि सामाजिक सञ्जालमा प्रहरीले गिरफ्तार गरेको दृश्य सार्वजनिक भएको छ। स्थानीय पार्कमा साँझको समयमा सयौं प्रहरी तथा कुकुर समेत तैनाथ गरिएको समयमा तियानमेन नरसंहार पीडितका परिवारले मैनबत्ती बालेका थिए।
सञ्चार माध्यममा जनाइए अनुसार पार्कमा प्रहरी धरपकड गरेपछि धेरै जनाले घरमै त्यसको नक्कल गरेर तियानमेन नरसंहारलाई सम्झिएका छन्। त्यहाँका अधिकारीले कसैले नटेरेर प्रदर्शन गरे वा घटनाको स्मरण गरे पाँच वर्षसम्म जेल सजाय हुने चेतावनी दिएको थियो। प्रहरीले अहिले हिरासतमा लिइएको भनिएका ६ जनालाई यही कानुन अनुसार कारबाही प्रक्रिया थालेको छ, अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले उल्लेख गरेको छ। यसरी पार्कमा मैनबत्ती बालेर घटनाको निन्दा गर्नेहरू राजनीतिक सुधारका पक्षधर थिए, नरसंहार पीडितका आफन्त अथवा परिवारले घरमै बसेर उक्त घटनालाई सम्झिएका छन्।


मानव सभ्यताकै कलङ्कको रूपमा परिचित तियानमेन नरसंहार बारे चीन सरकारले आजसम्म विश्व मञ्चमा चित्तबुझ्दो जवाफ दिन सकेको छैन, बरु उक्त घटनाको विषयमा बोल्न, लेख्न अथवा स्मरण गर्न समेत प्रतिबन्ध लगाएको छ।


हामीले ३३ वर्षसम्म यो काम गर्दै आएका छौं। अहिले आएर सरकारले अवरोध सुरु गरेकोे छ, प्रदर्शनकारी मध्यकै एक चाङ पो यीङको भनाइ बीबीसीमा छापिएको छ। उनी भन्छन्– ‘त्यो घटना सबैको मन र मुटुमा बसेको छ। यो राजनीतिक तथा व्यक्तिगत स्वतन्त्रताको लागि सुरु भएको कहिल्यै अन्त्य नहुने लडाईं हो।
संसारभरका सञ्चार माध्यमले हङकङमा भएको यो भद्र अवज्ञालाई नागरिक आक्रोशको सानो झिल्को भन्दै समाचार सम्प्रेषण गरेका छन्। हङकङ फ्रि प्रेस इन्डिपेन्डेनले तियानमेन नरसंहारको स्मरणमा सिड्नी, लण्डन, ताइपेई लगायत विश्वका विभिन्न भागमा राजनीतिक सुधारका पक्षपातीले कार्यक्रम गरेको उल्लेख गरेको छ। १९८९ को ३ र ४ जुनलाई मानव सभ्यताको कलङ्क ठान्नेहरू विस्तारै संगठित् भइरहेका छन्, हङकङ फ्रि प्रेस इन्डिपेन्डेनले लेखेको छ– स्वतन्त्रताको पक्षमा बोल्नेहरूको आवाज कहिल्यै सानो हुनेछैन।

चीन सरकारले अनौपचारिक रूपमा बाहिर ल्याउने गरेको विवरणमा उक्त नरसंहारको बेला दश हजार चानचुन नागरिक मारिएको देखिन्छ, जसलाई बाहिरी विश्वले पत्याएको छैन। त्यस समयदेखि नै हङकङमा ४ जुनका दिन तियानमेन चोक घटनाको स्मरण गरिँदै आएको थियो। त्यो स्मरण गर्ने क्रममा हङकङ बेलायतले चीनलाई हस्तान्तरण गरेपछि पनि कायम नै थियो। सन् २०२० मा राष्ट्रिय सुरक्षा ऐन लागु भएपछि त्यहाँको प्रशासनले तियानमेन चोकको घटना स्मरण गर्न प्रतिबन्ध लगाएको हो।
ताइवानमा भने यो वर्ष पनि यो नरसंहार भएको दिनको स्मरणमा सार्वजनिक कार्यक्रम भएको छ। शनिबार र आइतवार राजधानी ताइपेइमा सयौं जना जम्मा भएर त्यस नरसंहारको सम्झना गरेका छन्। ताइवानका राष्ट्रपति साइबेइ वेङले हङकङ प्रशासनले सामूहिक कार्यक्रम आयोजना गर्दै त्यस दिनको स्मरण गर्न खोज्दा प्रशासनले रोक लगाएकोमा दुख व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ।
‘मलाई विश्वास छ प्रहरी दमनले त्यस्ता दुखद् घटना मानिसको मानसपटलबाट हटाउन सक्दैन’ सामाजिक सञ्जालमा उनले उल्लेख गरेकी छन्। ताइपेइको त्यसै कार्यक्रममा सहभागी जेरेमी चीयाङले भनिन्, संसारका धेरै जना मानिसले कसरी प्रजातन्त्रका लागि आफूलाई समर्पित गरेका छन् भन्ने कुराको यो एउटा महत्वपूर्ण प्रमाण हो, इतिहासले त्यस दिनलाई सँधै सम्झने छ।
त्यस दिनको घटनालाई स्मरण गर्नबाट समेत बञ्चित गरिएपछि यसले अन्तर्राष्ट्रिय समुदाय समेत रुष्ट छ। एजेन्सीहरूका अनुसार, अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केले विज्ञप्ति जारी गर्दै प्रजातन्त्रको पक्षमा र अन्यायको विरुद्धमा रहेका चिनियाँहरूले ४ जुनका घटनालाई कहिले पनि बिर्सन नसक्ने प्रतिक्रिया दिएका छन्।


सञ्चार माध्यममा जनाइए अनुसार पार्कमा प्रहरी धरपकड गरेपछि धेरै जनाले घरमै त्यसको नक्कल गरेर तियानमेन नरसंहारलाई सम्झिएका छन्। त्यहाँका अधिकारीले कसैले नटेरेर प्रदर्शन गरे वा घटनाको स्मरण गरे पाँच वर्षसम्म जेल सजाय हुने चेतावनी दिएको थियो।


गत वर्ष अवरोध सुरु भएपछि यस वर्ष भने जुन महिनाको सुरुवातमा नै हङकङका प्रजातन्त्र पक्षधर विद्यार्थीले तियानमेन चोक नरसंहारको स्मरण गर्ने तयारी गरेका थिए। उनीहरूले विश्वविद्यालयमा प्रजातन्त्रको प्रतीकको रूपमा एउटा सानो मूर्ति बनाएर राखेका छन्। विगतमा कार्यक्रमको आयोजना गर्ने गरिएको भिक्टोरिया पार्कलाई प्रहरीले बन्द गरिसकेपछि विद्यार्थीले नयाँ बाटो तय गरेका हुन्।
अहिलेको यो मूर्ति चाइनिज युनिभर्सिटी अफ हङकङका विद्यार्थीले तयार गरेका हुन्। गत डिसेम्बरमा तीयानमेन चोकको स्मरण गर्ने ठूलो मूर्ति त्यहाँका अधिकारीले भत्काएका थिए। हङकङमा प्रजातन्त्रका लागि अभियान चलाइरहेका एक विद्यार्थीले प्रशासनले त्यसरी सबै स्मरणलाई निर्मूल पार्न चाहेपछि लुकेर भए पनि मूर्तिलाई सुरक्षित राखेको बताएका छन्।
अहिले विद्यार्थीले बनाएको यो मूर्ति थ्रिडी खालको छ। यसलाई सुरक्षित बनाएर राख्न कुनै कसर बाँकी नराख्ने उनीहरू बताउँछन्। यसलाई उनीहरूले ‘गडेस अफ डेमोक्रेसी’ को नाम दिएका छन्। यसलाई सार्वजनिक गर्ने भन्दा पनि लुकाएर भए पनि संरक्षण गर्ने योजना ती विद्यार्थीको छ।
गत वर्ष ४ जुनको स्मरण गर्ने २६ जनालाई प्रहरी प्रशासनले गिरफ्तार गरेको थियो। उनीहरू अहिले पनि जेल मै छन्। यही वर्षको जनवरीमा तियानमेन नरसंहारको स्मरणसँगै राजनीतिक सुधारको पक्षमा आवाज उठाइरहेका अभियन्ता च्वाङ जो हंगलाई गिरफ्तार गर्दै थुनामा पठाइएको थियो। अहिले १५ महिने जेल सजाय भुक्तान गरिरहेका उनले गत वर्ष नै १२ महिनाको जेल सजाय पूरा गरिसकेका थिए।
समाचारका अनुसार चीन र हङकङमा प्रतिबन्ध लगाइए पनि अमेरिका, क्यानडा र अस्ट्रेलियामासमेत ४ जुनको स्मरण गरिएको छ। तियानमेन चोकमा भएको सो घटनाको स्मरण गर्न हजारौं जना हङकङ आउने प्रचलन धेरै वर्षदेखि रहेको थियो। २०२० को जुनमा पनि लाखौं जना हङकङको भिक्टोरिया पार्क आउन तयार भए पनि उनीहरूलाई त्यहाँ उपस्थित हुन बन्देज लगाइएको थियो।
त्यस कार्यक्रममा लगाइएका छेकबारको निगरानी गर्न उपस्थित भएका धेरैलाई भने ६ महिनादेखि १० महिना बीचको समयको जेल सजाय सुनाइएको छ। सोही कार्यक्रममा उपस्थित भए बापत गत वर्ष नै सञ्चार क्षेत्रमा चर्चित व्यक्ति लीमी लेलाई १३ महिनाको जेल सजाइ सुनाइएको थियो।

बेइजिङ प्रशासनकै निगरानीमा गत वर्षदेखि हङकङमा लागू गरिएको सुरक्षा कानुन अनुसार नै धेरैलाई आतङ्ककारी मुद्दा लगाइँदै प्रदर्शनमा सहभागी हुनेलाई जेल पठाउन थालिएको छ। हङकङमा प्रजातन्त्रको पक्षमा गतिविधि भइरहेपछि २० जुन २०२० मा राष्ट्रिय सुरक्षा कानुन लागू भएको थियो। यसै कानुन अनुसार अहिले प्रजातन्त्रको पक्षमा आवाज उठाउनेलाई धरपकड गरिएको हो। पछिल्लो समय प्रशासनको निगरानीमा पर्नेमा प्रदर्शनकारी, प्रजातन्त्र पक्षधर राजनीतिज्ञ र पत्रकार समेत छन्।
चीनले यसलाई हङकङको स्थिरताका लागि भनेर दाबी गरिरहे पनि हङकङका नागरिकले यसलाई आफ्नो स्वाधीनता गुमेको मात्र होइन स्वतन्त्रता पूर्वक बाँच्न पाउने अधिकारको हनन भएको महसुस गर्दै विरोधका स्वर बोल्दै आएका थिए।
यो कानुन विरुद्ध हङकङबासीमा यति ठूलो आक्रोश छ कि त्यहाँको सरकारी जागिर छाडेरै बेलायत जान इच्छुक रहनेको समेत कमी छैन। १९९७ अगाडि हङकङका बासिन्दालाई बिएनओ पासपोर्ट दिइने गरिन्थ्यो। यो पासपोर्ट अनुसार कुनै पनि हङकङबासीका लागि बेलायत जान सहज हुने गरेको थियो।
हङकङमा लगाइएको नयाँ कानुन तथा त्यहाँ सिकाइने विषयकै कारण आफ्ना सन्तति प्रजातन्त्र विरोधी तथा अन्यलाई आदर गर्न नसक्ने चरित्रका हुने हुन् कि भन्ने चिन्ता समेत त्यहाँका शिक्षकलाई लाग्न थालेको छ।
यसअघि २०१४ मा अम्ब्रेला मुभमेन्टका नाममा एउटा प्रदर्शन भएको थियो। सो प्रदर्शनमा सहभागीले आफ्नो नेतृत्व आफैंले चुन्न पाउने माग राखेका थिए। यो माग प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार स्वाभाविक भए पनि चिनियाँ सरकारलाई यसले रुष्ट बनाएको थियो।
हङकङमा सम्पन्नता, आर्थिक विकास, भौतिक संरचना सबै कुरा पूर्ण छन्। तथापि स्वतन्त्रताको अभावमा त्यहाँ छटपटाएका छन्। यसैबीच नरसंहारमा मारिनेका प्रति सद्भाव र समवेदना व्यक्त गर्न खोज्नेमाथि समेत गरिएको यो ज्यादतीले हङकङबासीमा चीन प्रतिको आक्रोश अझ बढेको छ। प्रशासनको धरपकड र ज्यादतीको भएपनि उनीहरूले मनले भने तियानमेन चोक नरसंहार बिर्सन सक्ने छैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

कृष्ण तिमल्सिना का अन्य पोस्टहरु:
‘गडेस अफ डेमोक्रेसी’को संरक्षण लुकाएरै भए पनि गर्छौं: हङकङका विद्यार्थी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link