रफायल नाडाल : ‘क्ले कोर्टका राजा’ अब टेनिस खेलकै ‘बादशाह’

आशुतोष अधिकारी

पछिल्ला दुई दशक विश्व टेनिसको पुरुष विधा सम्पूर्णरूपमा तीन खेलाडीको नाममा रह्यो।यस अवधिमा स्वीट्जरल्याण्डका रोजर फेडरर, सर्बियाका नोभाक जोकोभिच र स्पेनका रफायल नाडालले क्रमैसँग विश्व टेनिसमा आफ्नो दबदबा कायम राखे।एक्काइसौँ शताब्दीको पुरुष टेनिस यी तीन खेलाडीको वरिपरि घुमिरह्यो।यी तीन खेलाडीबाट यो खेल यति प्रभावित भयो कि पछिल्लो २० वर्षको अवधिमा अन्य कुनै पनि खेलाडी यिनीहरूको छेउछाउसम्म देखा पर्न सकेनन्।

सन् २००३ मा रोजर फेडररले विम्बल्डनका रूपमा आफ्नो पहिलो ग्राण्डस्लाम उपाधि जितेपछि अहिलेसम्म खेलिएका टेनिसका ७५ ग्राण्डस्लाम प्रतियोगिताहरूमध्ये ६२ उपाधि यी तीन खेलाडीले एक–आपसमा बाँडेका छन्, बाँकी बचेको १३ उपाधिमात्र अन्य ७–८ खेलाडीको भागमा पर्न गएको छ।बितेका दुई दशकमा विश्व टेनिसमा शीर्षताको लडाइँ पनि यी तीनै खेलाडीबीच मात्र चलिरह्यो।यी तीन खेलाडीबीच चलेको प्रतिश्पर्धा यति उग्र रह्यो कि प्रशंसकहरू अझैसम्म ुयी तीनमध्ये को उत्कृष्ठु भनेर आफैँलाई प्रश्न गरिरहन्छन् तर त्यसको सही जवाफ भने कसैले ठम्याउन सकेको छैन ।

सन् २०२१ को सिजनको अन्त्यसम्म आइपुग्दा फेडरर, जोकोभिच र नाडालमध्ये ुको उत्कृष्ठु भन्ने बहस झनै चरमचुलीमा पुग्यो।त्यसबेलासम्म तीनैजना खेलाडीको नाममा समान २०–२० ग्राण्डस्लाम उपाधिको किर्तिमान कायम हुनु त्यसको प्रमुख कारण थियो।विश्व फुटबलमा ‘मेसी र रोनाल्डोमध्ये को उत्कृष्ठ’ भन्ने बहसलाई अपवादका रूपमा लिने हो भने श्रेष्ठताको यति चर्को लडाइँ टेनिस जगतमा मात्र होइन, शायद विश्व खेलकुदको इतिहासमा नै बिरलै देख्न पाइन्छ।

तर २०२२ को टेनिस सिजनको शुरुवातसँगै यो परिदृश्यमा केही बदलाव देख्न पाइयो।वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको उपाधि जित्दै स्पेनका रफायल नाडाल आफ्ना दुई अभूतपूर्व प्रतिद्वन्द्वीहरूलाई एक कदम पछाडि छाड्न सफल भए।उनै नाडालले गत आइतवार आफ्नो बाइसौँ ग्राण्डस्लामका रूपमा चौधौँ पटक फ्रेञ्च ओपनको उपाधि जित्दै आफूलाई विश्व टेनिसका राजा साबित गरेका छन्।

फ्रेञ्च ओपनका पर्याय : रफायल नाडाल

रफायल नाडाल ‘क्ले कोर्टका राजा’ मानिन्छन्, माटोमा खेलिने टेनिसमा उनलाई चुनौति दिनसक्ने खेलाडी नै छैन भन्दा फरक नपर्न सक्छ।अझ रोल्याण्ड गारोस (फ्रेञ्च ओपन) का त उनी पर्याय नै बन्न पुगेका छन्।रोल्याण्ड गारोस्मा नाडालका नाममा अनगिन्ती किर्तिमानहरू कायम छन् जसमध्ये केही महत्वपूर्ण किर्तिमानहरूको यहाँ चर्चा गरिनेछ।

नाडाल सन् २००५ मा पहिलोपटक फ्रेञ्च ओपन टेनिस प्रतियोगितामा सहभागी भएका थिए र पहिलो प्रयासमै उनी त्यसको उपाधि जित्न सफल भएका थिए।त्यो उनको खेलजीवनकै पहिलो ग्राण्डस्लाम उपाधि पनि थियो।त्यसयता उनले १४ पटक फ्रेञ्च ओपन फाइनल खेलेका छन् र सबैमा जित हासिल गरेका छन्।एउटै ग्राण्डस्लाम प्रतियोगिताको फाइनलमा १४–० को आँकडा आफैँमा एउटा अविश्वनीय किर्तिमान हो।अन्य कुनै खेलाडी नाडालको यो किर्तिमानको नजिकसम्म पुग्न सकेका छैनन्, ९ पटक अष्ट्रेलियन ओपनको उपाधि जित्दै जोकोभिच र ८ पटक विम्बल्डनको उपाधि जित्दै रोजर फेडरर उनलाई पछ्याइरहेका भने अवश्य छन्।यो अविश्वसनीय किर्तिमानले रफायललाई अन्य खेलाडीभन्दा अझ विशेष बनाएको छ।

फ्रेञ्च ओपनमा आफूले अहिलेसम्म खेलेका ११६ खेलहरूमध्ये नाडाल ११२ मा विजयी रहेका छन्।यसअघि विम्वल्डनका १०५ खेलहरू जित्दै एउटै ग्रान्डस्लाममा धेरै खेल जित्ने रेकर्ड आफ्नो नाम गराएका रोजर फेडररलाई उछिन्न नाडाल सफल भएका छन्।फ्रेञ्च ओपनको १८ वर्षको यात्रामा रफायल नाडाल २००९ मा चौथो चरणमा, २०१५मा क्वार्टरफाइलनमा, २०१६मा तेस्रो चरणमा र २०२१ मा सेमिफाइनलमा गरी केबल चार पटकमात्र पराजित भएका छन् भने बाँकी १४ संस्करणको विजेता बन्दै उनले इतिहास रचिसकेका छन्।

३६ वर्ष २ दिनको उमेरमा रोल्याण्ड गारोसको उपाधि उचाल्दै नाडाल सबैभन्दा पाको उमेरमा यो उपाघि जित्ने खेलाडी समेत बन्न पुगेका छन्।सन् १९७२ मा स्पेनकै आन्द्रेश जिमेनोले ३४ वर्ष ९ महिनाको उमेरमा फ्रेञ्च ओपन जित्दै बनाएको यस्तो किर्तिमानलाई आधा शताब्दीभन्दा लामो समयपछि तोड्न नाडाल सफल भएका छन्।फ्रेञ्च ओपन २०२२ को उपाधिले नाडाललाई ३० वर्षको उमेर पार गरेपछि सबैभन्दा बढी ग्राण्डस्लाम उपाधि जित्दै नोभाक जोकोभिचले राखेको किर्तिमानको बराबरीमा पुर्‍याएको छ।३० वर्षको उमेर पार गरेपछि जोकोभिज र नाडालले जितेको ग्राण्डस्लाम उपाधिको संख्या अब समान ८–८ पुगेको छ जुन एक खेलाडीका रूपमा ठूलो उपलव्धि हो।

क्ले कोर्टका राजा : अब टेनिस खेलकै ‘बादशाह’

रफायल नाडालका लागि यसपटकको फ्रेञ्च ओपन उपाधि धेरै अर्थमा विशेष रह्यो।प्रतियोगिता शुरू हुनुभन्दा अघिसम्मको उनको अवस्थाका बारेमा शायदै कोही अनभिज्ञ होलान् ! पछिल्ला केही वर्षबाटै विभिन्नखाले चोटसँग संघर्ष गरिरहेका नाडालको खुट्टाको चोट फ्रेञ्च ओपन शुरू हुनुभन्दा झण्डै दुई महिना अघि बल्झिएको थियो र त्यो चोटका कारण उनले फ्रेञ्च ओपनको तयारीका रूपमा रहेका धेरै प्रतियोगिताहरूबाट नाम फिर्ता लिनुपरेको थियो।खुट्टाको चोटको पीडा कम गर्न नाडालले इन्जेक्सनको सहारा लिइरहेको समाचार बाहिरिदैँ गरेको अवस्थामा उनको सहभागिता नै शंकाको घेरामा थियो।

तर नाडाल आफ्नो सबैभन्दा प्रिय प्रतियोगितामा सहभागिता नजनाई कसरी रहन सक्थे र १ फ्रेञ्च ओपन प्रतियोगिता प्रतिको उनको आशक्ति, अनि उनीभित्र रहेको दृढ इच्छाशक्ति र आफूमाथि रहेको अटुट् विश्वासका सहयोगमा नाडालले चोटलाई समेत जित्दै फ्रेञ्च ओपनमा सहभागी मात्र भएनन्, उपाधि नै जितेर देखाइदिए।

विश्व नम्वर एक खेलाडी जोकोभिचलाई क्वार्टरफाइनलको खेलमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका नाडालले जर्मन खेलाडी अलेक्जेण्डर जेभरेभविरुद्धको सेमिफाइनल खेलमा बिचमै बाई पाएका थिए।प्रतियोगिताको फाइनलमा उनले नर्वेका युवा खेलाडी क्यास्पर रुढलाई ६–३, ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै सजिलै फ्रेञ्च ओपनको उपाधि जितेका थिए।

संयोगको कुरा, क्यास्पर रुढ नाडालले स्पेनका मायोर्कामा सञ्चालन गरेको नाडाल टेनिस एकेडेमीका ग्राजुएट हुन्।२०१८ मा नाडालको एकेडेमीमा पुगेका रुढले नाडालसँग धेरैपटक टेनिश कोर्ट शेयर गर्दै उनीबाट टेनिसका धेरै सीपहरू सिक्ने अवसर पाएका थिए।फाइनल खेलमा आफ्नै चेलोलाई हराउन नाडाललाई खासै मेहेनत गर्नु परेन भने खेलमा हार भोगेर पनि रुढ गौरवान्वित बन्न पुगे।यो भावनात्मक पक्षका कारण समेत यसपटकको फाइनल खेल नाडालका लागि झन् विशेष बन्न पुग्यो ।

फाइनल खेलमा रुढलाई सजिलैसँग पराजित गरेसँगै रफायल नाडाल ग्राण्ड स्लाम टेनिसको इतिहासमा शीर्ष १० वरियताभित्रका ४ खेलाडीलाई पराजित गर्दै उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन्।आफ्नो बाइसौँ ग्राण्डस्लाम उपाधि जित्ने क्रममा उनले नवौँ वरियताका फेलिक्स अउगेरलाई, विश्व नम्बर एक नोभाक जोकोभिचलाई, आठौँ वरियताका अलेक्जेन्डर जेभरेभलाई र तेस्रो वरियताका क्यास्पर रुढलाई हराएका थिए।यसअघि सन् १९८२ को फ्रेञ्च ओपनमा म्याट्स् विल्यान्डरले र २०१७ को अष्ट्रेलियन ओपनमा रोजर फेडररले शीर्ष १० भित्रका ४ खेलाडीलाई हराउँदै उपाधि उचालेका थिए ।

अहिलेसम्म टेनिस खेलको इतिहासमा सबैभन्दा धेरै ग्राण्डस्लाम उपाधि जित्ने किर्तिमान भने अमेरिकी महिला खेलाडी सेरेना विलियम्सको नाममा छ।उनले आफ्नो खेलजीवनमा २३ ग्राण्डस्लाम उपाधि जितेकी छिन्।३६ वर्षको उमेरमा १४औँ पल्ट यो उपाधि जितेर रफायल नाडालले आफूलाई ुक्ले कोर्टुको मात्र होइन, यो खेलकै सर्वकालीन महान पुरुष खेलाडी सिद्ध गरिसकेका छन्।पक्कै पनि उनको नजर अब सेरेना विलियम्सको नाममा रहेको सो किर्तिमानतर्फ हुनेछ।आफ्नो खेलजीवनको लगभग उत्तरार्धमा आइपुगेका नाडालले सेरेनाको त्यो किर्तिमान तोड्न सक्लान् वा नसक्लान्, त्यो समयले नै बताउनेछ, तर उनी त्यो किर्तिमान तोड्न सक्षम भने अवश्य छन्, उनलाई अग्रीम शुभकामना !

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link