बौद्धिक अपाङ्गता: मान्छे सग्लै, के को अपाङ्ग ?

दुर्गा रानामगर

कास्की रुपा गाउँपालिकाकी निर्मला पौडेललाई आफ्नी २१ वर्षकी छोरी अरु जस्तै बुझ्ने र काम गर्ने भइदिए हुन्थ्यो भन्ने लाग्छ । पौडेललाई राम्ररी थाहा छ कि उहाँको यो चाहना पूरा हुन सक्दैन तर पनि आश गर्न भने छाड्नुहुन्न । उहाँकी छोरी एक बौद्धिक अपाङ्ग हुनुहुन्छ । दैनिक जीवनमा आइपर्ने काम गर्नका लागि उहाँको छोरी स्वस्तिकालाई सहज छैन । छोरीलाई रेखदेख गर्नुपर्ने भएकाले आमा निर्मला घर छाड्नुहुन्न । कहिँकतै जानुपरे छोरीलाई साथैमा लिएर हिँड्नु हुन्छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिका परिवारका लागि आयोजना गरिएको स्याहार सम्बन्धी तालिममा सहभागी हुन पौडेलले छोरीलाई सँगै लिएर पोखरा आउनुभयो ।
स्वस्तिका आमासँगै कुर्सीमा कार्यक्रममा बसिरहनुभएको थियो । उहाँ कहिले आमासँग कानमा खासखुस गर्दै, कहिले कापीमा केही लेख्दै, कहिले कार्यक्रममा उपस्थित मान्छेलाई पालैपालो हेर्दै हुनुहुन्थ्यो । स्वस्तिकाकी आमा निर्मलाले भन्नुभयो– ‘आफ्नो छोरीको कुरा लिएर अरुले हेपेको जस्तो लाग्छ कहिलेकाहीं । मन दुख्छ ।’ यति भनिसक्दा उहाँको आँखाभरि आँशु टिलपिल भइसकेका थिए । एकछिन रोकिएर सलले आँशु पुछ्नु भयो र भन्नुभयो– ‘मैले नबुझेर कति पिटें उसलाई । छिमेकीको घरमा मासु पाक्यो भने उसलाई मैले पकाएर नदिएसम्म मलाई पिर्छ । अनि यस्तै यस्तै कुरामा घमण्ड गर्दा मैले पिट्थें । अहिले आज यहाँ कार्यक्रममा अरुको कुरा पनि सुन्दै गएपछि पछुतो लागेको छ ।’ निर्मला छोरीको सुरक्षालाई लिएर चिन्तित हुनुहुन्छ । ‘एकपटक स्कुल जाँदा उ एक्लै भएको मौकामा उसको कानको मुन्द्रा तानेर लगेछन् । त्यसदिनदेखि उसले कान, घाँटीमा केही लगाउन मान्दिन । तानेर लैजान्छन् भनेर डराउँछन् । मलाई पनि डर लाग्छ । हुर्कंदै गरेकी छोरीलाई म नभएको बेला कसैले केही गर्ला कि भन्ने चिन्ताले उनलाई हरघडी पिरोल्छ ।


निर्मला पौडेलले जस्तै पोखरा मालेपाटन घर भएकी मैना गुरुङले पनि छोरी मनिषा गुरुङलाई एक्लै कतै छाड्नुहुन्न । जेठी छोरीका रूपमा जन्म लिनुभएकी मनिषा अहिले ३७ वर्षको भइसक्नुभएको छ । उहाँ विहान उठेदेखि बेलुकी नसुतुञ्जेलसम्म सबै स्याहार आमा मैनाले नै गर्र्नुहुन्छ । मनिषाको दुईजना भाइ हुनुहुन्छ । मैना भन्नुहुन्छ– ‘हामी नभएपछि भोकै हिँड्छ कि, नाङ्गै हिँड्ला कि भन्ने पीर लाग्छ । छोराहरूले हेर्छौं त भनेका छन् तर पनि डर लाग्छ । अहिलेसम्म मैले जोगाएर राखेकी छु । अब पछि के होला ?’ । हँसिलो अनुहार लिएर आमा मैनाले यो बताइरहँदा छोरी मनिषा भने एकतमासले कापीमा केर्दै हुनुहुन्थ्यो ।


अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा सरकारले बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ आवश्यकतालाई सम्बोधन गर्न पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक सिकाइलगायतका विषयमा उपयुक्त व्यवस्था गर्ने भनिएको छ तर यसको कार्यन्वयनको पक्ष भने फितलो छ।


बौद्धिक अपाङ्गताको सवाल सधैं बेवास्ता
वि.सं २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू छन् । नयाँ जनगणनामा यो प्रतिशत बढ्ने देखिन्छ । नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०६४ ले अपाङ्गतालाई विभिन्न १० प्रकारमा वर्गीकरण गरेको छ । जसमा शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, श्रवण सम्बन्धी अपाङ्गता, दृष्टिविहीन, स्वर र बोली सम्बन्धी अपाङ्गता, मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, हेमोफिलिया, अटिजम र बहुअपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्तिहरूको कुल जनसंङख्या १.९४ प्रतिशतमध्ये बौद्धिक अपाङ्गता भएकाहरू १४,८८८ अर्थात् २.९४ प्रतिशत रहेको तथ्यांकले बताएको थियो । नेपालको कुल जनसंख्याको ०.०६ प्र्रतिशत जनसंख्या बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको रहेको छ । गण्डकी प्रदेशभित्र १५ सय भन्दा बढी संख्या बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको रहेको छ । बौद्धिक अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरूले यो त्रुटिपूर्ण तथ्यांक रहेको र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको संख्या अझै धेरै भएको बताउँछन् । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूप्रति सरकार उदासीन रहेको बताउनुहुन्छ– बौद्धिक अपाङ्गता अभिभावक संघ कास्कीका अध्यक्ष रामनारायण श्रेष्ठ । उहाँ भन्नुहुन्छ– ‘भेट्दा कुरा गर्दा सकारात्मक कुरा गरिए पनि व्यवहारमा बेवास्ता गरिँदैछ ।’ श्रेष्ठले अहिलेको समस्या भनेको बौद्धिक अपाङ्गता स्याहारका लागि घरको एकदेखि दुईजना सदस्य नै व्यस्त हुनुपर्ने र समय व्यवस्थापन हुन नसक्दा परिवारका सदस्य बाहिर काममा गई आयआर्जन गर्न नसक्नु रहेको बताउनुभयो । यसले गर्दा सरकारले बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि स्याहारकर्ताको व्यवस्था गरी उनीहरूलाई सेवासुविधा गर्नु आवश्यक छ । यसका साथै स्याहारकर्ता घरकै अभिभावक हुन्छन् कि बाहिरका हुन्छन् भन्ने रोजाइ बौद्धिक अपाङ्गता भएका व्यक्तिले गर्न पाउनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले सर्वोच्चले स्याहारकर्ताका लागि भनेर ५ हजार रुपैयाँ दिने निर्णय गरेको पनि थियो तर त्यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
गोरखा बारपाकका यामबहादुर थापाको परिवारमा ५ जना अपाङ्गता भएका व्यक्ति हुनुुहुन्छ । शारीरिक अपाङ्गता भएका थापामाथि नै परिवारका सदस्य आश्रित छन् । उहाँको २ जना भाइबुहारी बौद्धिक अपाङ्गता, बुवा मानसिक अपाङ्गता र श्रीमतीमा पनि दृष्टिसम्बन्धी अपाङ्गता रहेको छ । थापाले भन्नुभयो– ‘घरमा ५ जना अपाङ्ग सदस्य भएका कारण आर्थिक भार म माथि छ । यसले गर्दा पढ्न पाइएन । पढ्न नपाएपछि अवसर नपाइने रहेछ । पाइहाल्यो भने पनि घरको अवस्थाले त्यो ठाउँसम्म पुग्न गाह्रो छ ।’ घरमा धेरैजना अपाङ्गता भएका आफन्त, समाजबाट तिरस्कृत हुनुपरेको उहाँले बताउनुभयो । स्थानीय निकायमा योग्यता, क्षमताअनुसारका अवसर नपुगेर बञ्चित हुनुपरेको छ । अपाङ्गता भएका व्यक्तिको हकअधिकारका विषयमा १२ वर्षदेखि वकालत गरिरहेका थापाले सरकारको नीति निर्माणको तहमा अपाङ्गता भएका व्यक्ति पुग्न नसकेका कारण अपाङ्गमैत्री नीति नियम बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले टेक्ने वैशाखी मलाई कस्तो किसिमको चाहिन्छ, कृत्रिम खुट्टा मेरा लागि कुन ठीक हुन्छ, अथवा कान सुन्ने यन्त्र कुन राम्रो हुन्छ, हामी अनुकूल व्यवहार र नीति नियम बनाउन हामी सो ठाउँमा पुगेर वकालत गर्ने अवसर त मिल्नुपर्‍यो नि ।’
अभिभावकको चिन्ता: आफू नहुदाँ बच्चा कसले हेरिदेला ?
लमजुङ घर भएका वेदबहादुर थापाको तीन छोरा मध्येका कान्छा थिए– प्रकाश थापा । बाबु वेदबहादुरको दिन–रात छोराको हेरचाहमा बित्छ । ३७ वर्षका छोरा प्रकाशलाई खाना खुवाउने, दिशापिसाब सबै गराउनुपर्ने स्थिति छ । यसका लागि बाबुले छोराको स्याहार गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘मलाई जस्तो समस्या कसैलाई छ जस्तो लाग्दैन । म भन्दा अघि मेरो छोरो गइदिए हुनुथ्यो जस्तो लाग्छ । म भइन भने कसले हेर्छ मेरो छोरोलाई ?’ वेदबहादुर थापाको मात्र नभएर बौद्धिक अपाङ्गता भएका अधिंकाश अभिभावकका लागि चिन्ताको विषय नै आफू नभए आफ्ना बच्चाको हेरचाह, सुरक्षाको जिम्मेवारी कसले लिन्छ भन्ने छ ।
कास्कीकै खिमा गिरीकी छोरी तुलसी ४० वर्षको पुगिसक्नुभयो । खिमा र उहाँको परिवारको लागि छोरीको सुरक्षालाई लिएर मनमा ठूलो त्रास छ । उहाँले छोरीलाई कसैले केही गरिदिन्छ कि भन्ने चिन्ताले हरेक क्षण सताइरहने बताउनुभयो । बौद्धिक अपाङ्गता भएका व्यक्ति र घरपरिवारलाई समाजले तिरस्कार गर्ने गरेको अनुभव अभिभावकहरूसँग छ । एक अभिभावकले बौद्धिक अपाङ्गता भएकाहरूलाई पैतृकसम्पत्तिबाट टाढा राखिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘घरमा चार दाजुभाइमा एकजना भाइ बौद्धिक अपाङ्ग छ भने तीन जनालाई मात्र सम्पत्ति छुट्याइन्छ ।’ बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई घरपरिवारले स्वीकार्न नसक्दा उनीहरूले सम्मानजनक जीवन जिउन नसकेको उहाँले बताउनुभयो ।
मान्छे सग्लै, के को अपाङ्ग ?
बौद्धिक अपाङ्गता उमेरको वृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसक्नु हो । जसले गर्दा बौद्धिक अपाङ्गता भएका व्यक्ति उमेर अथवा वातावरण सापेक्ष क्रियाकलाप गर्नका लागि समस्या हुने गर्दछ । झट्ट हेर्दा सामान्य मानिस सरह देखिने तर व्यवहारमा बौद्धिक क्षमतामा कमजोर हुन्छन् बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू । घरपरिवारले यो कुरा थाहा भए पनि समाजलाई यसबारे थाहा नहुदाँ र बौद्धिक अपाङ्गता भएका व्यक्तिप्रति संवेदनशील नहुँदा अभिभावकले आफ्नो बच्चाको पहिचानका लागि लड्नुपर्ने अवस्था छ । हरेक कदमै पिच्छे बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकले समस्या तथा चुनौती भोग्नुपरेको छ । बौद्धिक अपाङ्गता अभिभावक संघ कास्कीका अध्यक्ष रामनारायण श्रेष्ठले आफ्नो अनुभव सुनाउदै भन्नुभयो– ‘छोरीकै कामले उसलाई लिएर बैंक जाँदा लाइनमा बस्नुपरेको थियो । अपाङ्गता भएकाहरूका लागि छिटो हुन्छ होला नि भनेर छोरीलाई देखाएँ र अनुरोध गरें । गार्डले मान्छे त सग्लै छ त के को अपाङ्ग भन्यो । फेरि अपाङ्गताको परिचयपत्र देखाएँ । यसपटक गार्डले त्यसो भए छोरीलाई मात्र भित्र पठाउनुस् तपाईं चाहिँ जान पाउनुहुन्न भन्यो । अब बैंकको त्यत्रो काम बौद्धिक अपाङ्गता भएकी छोरीले कसरी गर्न सक्छिन् ?’ श्रेष्ठले अभिभावकको रूपमा यस्तो अनुभव पटक पटक भोग्नुपरेको बताउनुभयो । बौद्धिक अपाङ्गता भएका व्यक्ति शारीरिक रूपमा सामान्य देखिए तापनि बौद्धिक रूपमा हँुदैनन् भन्ने बारे अरुले नबुझिदिएको उहाँले बताउनुभयो ।
बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि पहिचानमा समस्या हुने गरेको संयुक्त अनुभव बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकको छ । पोखराकी प्रमिला श्रेष्ठ र बौद्धिक अपाङ्गता रहेको उहाँकी छोरी सार्वजनिक बसमा चढ्दा सधैं समस्या आउँछ । बसको भाडा दिने क्रममा अपाङ्गताका लागि छुट माग्दा श्रेष्ठले हिडँडुल गरिरहेको छोरी पनि के को अपाङ्ग भन्ने उत्तर धेरैपटक पाउनुभएको छ । उहाँले भन्नुभयो– ‘बसको कन्डक्टरले तपाईं ढाँट्नु हुन्छ ? यति हिँडडुल गरिरहेको पनि कसरी अपाङ्ग भयो भनेर सोध्छन् । कुन चाहिँ आमाबाले आफ्नो बच्चा अपाङ्ग नहुँदा पनि अपाङ्ग भन्छन् होला ? मैले सधैं मेरो बच्चाको पहिचानका लागि समस्या झेल्नुपरेको छ ।’


अहिलेको समस्या भनेको बौद्धिक अपाङ्गता भएकाहरूलाई स्याहार गर्न घरको एकदेखि दुईजना सदस्य नै व्यस्त हुनुपर्ने र समय व्यवस्थापन हुन नसक्दा परिवारका सदस्य बाहिर काममा गई आयआर्जन गर्न नसक्नु हो ।


समावेशी शिक्षामा अट्दैनन् बौद्धिक अपाङ्गता भएका बालबालिका
शिक्षा क्षेत्रको विकासका लागि नेपाल सरकारको नारा हो समावेशी शिक्षा । यही समावेशी शिक्षामा भने विद्यालय जाने उमेरका अपाङ्गता भएका बालबालिका पढ्न पाउँदैनन् । सरकारी विद्यालयमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई भर्ना लिन नमानेको गुनासो अभिभावकले गरिरहेका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा सरकारले बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ आवश्यकतालाई सम्बोधन गर्न पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक सिकाइलगायतका विषयमा उपयुक्त व्यवस्था गर्ने भनिएको छ तर यसको कार्यन्वयनको पक्ष भने फितलो छ । सरकारले देशभर अपाङ्गता भएका बालबालिकाका लागि भनेर विशेष विद्यालय तथा स्रोत कक्षाहरू सञ्चालन गरेको छ । ती विद्यालयहरूमा बौद्धिक अपाङ्गता भएकाहरूले प्राथमिकता कम पाउने गरेका छन् । त्यतिमात्र नभएर बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक पूर्वाधार तथा पढाउने शिक्षकहरूको कमी छ ।
कास्कीमै रहेको विशेष कक्षा सञ्चालन गरिरहेको विद्यालयमा पुग्दा सानो एउटा कोठामा देशभरका विभिन्न ठाउँबाट आएका बौद्धिक अपाङ्गता भएका बालबालिका राखिएका थिए । उनीहरूलाई टेलिभिजन देखाएर भुल्याउने मात्र गरिएको थियो । त्यहाँ न उनीहरूलाई पढाउने शिक्षक थिए न त त्यसअनुसारको अन्य सुविधा । बौद्धिक अपाङ्गता भएका बालबालिकाले एकअर्कासँग झगडा गरिरहँदा विद्यालयमै चोटपटक लाग्ने सम्भावना पनि थियो । बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि खोलिएका विद्यालय, स्रोत कक्षाहरूमा त्यसै अनुसारको सुविधा नहुदाँ अवस्था नाजुक रहेको छ ।
सामान्य सरकारी विद्यालयमा पठाँउदा अरु बालबालिका र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई एउटै तरिकाले पढाउने र एकैप्रकारकोे रिजल्टको आशा गरिने अभिभावकहरू बताउँछन् । यसले बौद्धिक अपाङ्गता भएका बालबालिका शिक्षाको पहुँचबाट बाहिर छन् । अभिभावक रामनारायण श्रेष्ठले भन्नुभयो– ‘सरकारको समावेशी शिक्षा नाम मात्रै हो । सरकारी विद्यालयमा भर्ना लिइँदैन । लिइहाले भने उनीहरूका लागि आवश्यक पूर्वाधार नै छैन ।’
बौद्धिक अपाङ्गता रोग होइन, अवस्था हो
नेपालमा पहिले बौद्धिक अपाङ्गता भएकाहरूलाई सुस्त मनस्थिति भनेर चिनिन्थ्यो । बौद्धिक अपाङ्गता रोग नभएर एक अवस्था हो । बौद्धिक अपाङ्गता भएका व्यक्तिको क्षमता मापन गरी ४ भागमा वर्गीकरण गरिएको छ । उनीहरूको आईक्युटेस्ट लिएर उनीहरूको क्षमता मापन गरिन्छ । साधारणतया व्यक्तिको आइक्यु १०० हुनुपर्छ । आइक्यु ५० देखि ६९ सम्म आउनेहरू सामान्य हुन्छन् । उनीहरू सामान्यतया आफैंमा निर्भर भई अर्धकुशल रूपमा काम गर्न सक्दछन् । यस्तै आईक्यु ३५ देखि ४९ सम्म रहेकाहरू मध्यममा पर्दछन् । सामान्य लेखपढ, खाना खाने, अरुको सहयोगमा केही काम गर्न सक्ने, सीप सिक्नेसम्मका हुन्छन् तर पनि उनीहरूले बुझ्नका लागि कठिनाइ बोहोर्नुपरिरहेको हुन्छ । आईक्यु २० देखि ३४ सम्मका हुनेहरू कडा अथवा सिभियर बौद्धिक अपाङ्गतामा पर्छन् । उनीहरूले दैनिक जीवनका आवश्यक क्रियाकलापहरू गर्नका लागि पनि अरुको सहयोग लिनुपर्ने हुन्छ । जीवनभरि नै रेखदेख र हेरचाहका लागि अरुको सहयोग आवश्यक पर्दछ । २० भन्दा तल आईक्यु रहेकाहरू गम्भीर वर्गमा पर्दछन् । उनीहरूको विकास अन्यको भन्दा निकै ढिलो हुन्छ । उमेर बढे पनि मानसिक अवस्था भने सानो बच्चाको जस्तो हुन्छ । उनीहरू पूर्ण रूपमा अरुमा निर्भर हुनुपर्छ । यी बौद्धिक अपाङ्गता विशेषगरी वंशानुगतरूपमा, पौष्टिक आहारको कमी, घातक रोग तथा अन्य विविध कारणले बालबालिकामा देखापर्छ । विशेषगरी गर्भमै र जन्मपश्चात् १८ वर्षको उमेर भित्रै देखा परिसकेको हुन्छ । यो रोग अथवा बिरामी नभएर एक अवस्था भएकाले यसको औषधी उपचार हुन सक्दैन तर यसलाई व्यवस्थापन गरी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउन भने सकिन्छ ।

  • परिचय लुकाउन तस्बिरमा अनुहारलाई नचिनिने बनाइएको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
बौद्धिक अपाङ्गता: मान्छे सग्लै, के को अपाङ्ग ?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link