पर्यटकको पर्खाइमा तनहुँको मगर गाउँ मिछुर्लुङ

दुर्गा रानामगर

भीममाया मर्साङ्गी मगर (५५) विहानै अगेनाको छेउमा कोदोको रोटी पकाउँदै हुनुहुन्थ्यो। त्याे गाउँमा आएका पर्यटकका लागि विहानी खाजा (ब्रेकफास्ट) को तयारी थियो। मिछुर्लुङ पुग्ने पर्यटकका लागि गाउँमै उत्पादित अर्गानिक खानाले स्वागत गरिन्छ। कोदोको रोटी, गोलभेडाको अचार, मासको बारा, ढिँडो, सिस्नु, गुन्द्रुक, मौसमी तरकारीसँगै लोकल मासु होमस्टेको खाजा/खानाको परिकार हो। मिछुर्लुङमा अतिथिका लागि विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत मगर समुदायको कौरा र नचरी नाच पनि प्रदर्शन
गरिन्छ। लोप हुने अवस्थामा रहेको कौरा नाचलाई संरक्षण र प्रवर्द्धन गरिनुपर्ने मिछुर्लुङ सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापा मगरले बताउनुभयो। उहाँले भन्नुभयो- “कौरा नाचलाई संरक्षण गर्नका लागि नै नयाँ पुस्ताका नानीहरूलाई पनि सिकाएका छौं। मगर जातिको सांस्कृतिक नाँचलाई जगेर्ना गर्नुपर्ने आवश्यकता छ।”

कहाँ पर्छ मगर गाउँ मिछुर्लुङ

तनहुँ भिमाद नगरपालिका वडा नं ५ मा पर्छ प्रख्यात मगर गाउँ मिछुर्लुङ। तनहुँ खैरेनीटारबाट करिब १२ किमीको दूरीमा भिमाद हुँदै मिछुर्लुङ गाउँ पुग्न सकिन्छ। मिछुर्लुङ गाउँमा ७२ घर रहेका छन्। जसमा ११ घर दलित र बाँकी मगर समुदायको रहेको छ। मिछुर्लुङ गाउँको विशेषता नै यहाँबाट देखिने लोभलाग्दो हिमशृङ्खला र मगर संस्कृति हो। मिछुर्लुङ मगर भाषाबाट आएको शब्द हो। जसको अर्थ चामल र ढुंगा रहेको छ। मिछुर्लुङमा चामल जत्रा ससाना ढुंगाहरू पाइने भएकाले यसलाई पुर्खाहरुले मिछुर्लुङ नाम दिएका रहेछन्।

पर्यटकको पर्खाइमा सामुदायिक हाेमस्टे

ग्रामीण पर्यटनको मुख्य आधार सामुदायिक होमस्टे हो। नेपालभर ५ सय भन्दा बढी गाउँमा सामुदायिक होमस्टे सञ्चालित छन्। तिनैमध्येको एक गाउँ हो मिछुर्लुङ। मिछुर्लुङ गाउँको पर्यटन प्रवर्द्धनका लागि यहाँको समुदायले २०७२ सालमा ग्रामीण घरबास कार्यक्रम (होमस्टे) सञ्चालनमा ल्याएका थिए। उक्त सामुदायिक होमस्टेको स्थापनापछि गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको थियो। जुन गाउँलेको लागि आयस्रोतको बाटो पनि बनेको थियो। खेतबारीको काम सँगै गाउँले पर्यटकको स्वागत सत्कारमा पनि व्यस्त हुन थालेका थिए तर कोभिड महामारीले गाउँमा पर्यटक आउन सकेनन्। जसको प्रभाव अहिलेसम्म मिछुर्लुङलाई परेको छ। दिनहुँ पर्यटक आइरहने ठाउँमा विगतका दुई वर्षमा पर्यटक नै आएनन्। अहिले मिछुर्लुङमा फाट्टफुट्ट केही आन्तरिक पर्यटक आउने गर्छन्। हाल १९ घरमा मात्र होमस्टे सञ्चालनमा रहेको छ।


पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गरिरहनुभएको पर्यटनविद् हरिसिंह गुरुङले गाउँको आर्थिक विकासका लागि पर्यटनको विकास हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मिछुर्लुङ शान्त र मगर संस्कृतिले भरिपूर्ण रहेको हुँदा अब गाउँमा आवश्यक पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो- “गाउँको विकासको बाटो नै पर्यटन हो। पर्यटकीय क्षेत्र भएर फस्टाउँदै गएपछि नै जीवनस्तर सुध्रँदै जाने हो। त्यसैले पनि मगर समुदायको बाहुल्यता रहेको तनहुँलाई मगर संस्कृति बुझ्ने पर्यटकीय  थलो बनाउनु आवश्यक छ।”


४९ वर्षीया देउमाया राना मगरलाई गाउँमा पर्यटकलाई स्वागत गर्न पाउँदा खुसी लाग्छ तर अहिले कोभिडले पारेको असरले उहाँलाई दु:खी पनि बनाएको छ। उहाँले भन्नुभयो- “कोभिडले गर्दा गाउँमा कोही आउन सकेनन्। अब विस्तारै आउँछन् कि !” मिछुर्लुङ गाउँमा अधिकांश युवा विदेशिएका छन्। होमस्टेको सञ्चालन आमाबाबाहरूले नै गर्दै आउनुभएको छ। होमस्टे सञ्चालिका जानुका थापा मगरलाई होमस्टेले गाउँको विकास हुन्छ भन्ने लाग्छ। उहाँले भन्नुभयो- “होमस्टेबाट नुन तेलको पैसा आएको छ। जति पर्यटक गाउँमा आउँछन् त्यसले नै त गाउँको विकास हुने हो।” होमस्टेमा अहिले प्याकेजमा खाजा, बेलुकीको खाना, ब्रेकफास्ट र बेड गरेर प्रति व्यक्ति रु १ हजार रुपैयाँ लिने गरिएको छ। होमस्टेको प्रवर्द्धनका लागि मिछुर्लुङमा रहेको सिर्जना आमा समूह सक्रिय रहेको छ।

यस्तै मिछुर्लुङ गाउँ घर भई हाल विदेशमा रहेका युवाहरूले आफ्नो गाउँमा पर्यटकलाई लोभ्याउन भ्यू टावर निर्माण गरेका छन्। यसै वर्ष मात्र सम्पन्न भएको टावर निर्माणका लागि ३८ लाख खर्च गरिएको छ। सरकारी निकायको सहयोग बिना नै बनेको टावरले पर्यटकलाई आकर्षित गर्नेमा स्थानीय उत्तिकै विश्वस्त छन्।

सम्भावना प्रशस्त तर पूर्वाधारको कमी

पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गरिरहनुभएको पर्यटनविद् हरिसिंह गुरुङले गाउँको आर्थिक विकासका लागि पर्यटनको विकास हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मिछुर्लुङ शान्त र मगर संस्कृतिले भरिपूर्ण रहेको हुँदा अब गाउँमा आवश्यक पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो- “गाउँको विकासको बाटो नै पर्यटन हो। पर्यटकीय क्षेत्र भएर फस्टाउँदै गएपछि नै जीवनस्तर सुध्रँदै जाने हो। त्यसैले पनि मगर समुदायको बाहुल्यता रहेको तनहुँलाई मगर संस्कृति बुझ्ने पर्यटकीय  थलो बनाउनु आवश्यक छ।” यसका साथै गुरुङले ग्रामीण पर्यटनको विकासका लागि गाउँ र यसको सेरोफेरोमा पर्यटकीय क्रियाकलाप पनि प्रशस्त हुनुपर्ने बताउनुभयो।

भिमाद नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदमबहादुर थापा मगरले मिछुर्लुङ गाउँ पर्यटकीय हिसाबले सम्भावना बोकेको गाउँ रहेको भन्दै यसको प्रचारप्रसार अझै गरिनुपर्ने बताउनुभयो। उहाँले मिछुर्लुङ गाउँमा हाल प्रशस्त पानी र पुग्नका लागि बाटोको समस्या रहेको जानकारी दिनुभयो। बाटो मर्मत कार्यका कारणले भिमादबाट मिछुर्लुङ पुग्न हाल साँघुरो वैकल्पिक मार्गको प्रयोग गरिएको छ। उहाँले भन्नुभयो- “गाउँमा पर्यटक ल्याउनका लागि अहिले बाटोको समस्या भइरहेको छ। यसका लागि सम्बन्धित ठाउँमा कुरा पुर्‍याइएको  भएपनि अझै ध्यान पुगेको छैन।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
पर्यटकको पर्खाइमा तनहुँको मगर गाउँ मिछुर्लुङ
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link