यौन हिंसा : निशानामा बालिका

प्रतिमा सिलवाल

  • पूर्वी चितवनको रत्ननगर नगरपालिकाका एक पुरुषले नातामा छोरी पर्ने १४ वर्षकी बालिकालाई पटक पटक बलात्कार गर्दै आएका रहेछन्। कसैलाई भनेमा मारिदिने धम्की दिँदै ठूलोबुबाले नै बलात्कार गर्ने गरेपछि बालिकाले परिवारमा अर्कै केटासँग विवाह गर्ने अड्डी लिइन्। उमेरै नपुगी छोरीले विवाह गर्ने अड्डी लिएपछि कारण बुझ्दै जाँदा उनले ठूलोबुबाले आफूमाथि गर्ने दुर्व्यवहार सुनाइन्। सुरुमा नपत्याएपनि बालिकाले पछि घटनाबारे पुरै भनेपछि उनीहरूले प्रहरीलाई खबर गरे। गएको जेठ महिनामा जाहेरी परेपछि अहिले ती पुरुष पुर्पक्षका लागि थुनामा छन्।
  • भरतपुर महानगरकी १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्दै आएपछि भरतपुर महानगरपालिका –१४ का ४७ वर्षीय तिलक महतो विरुद्ध बालिकाका परिवारले प्रहरीमा उजुरी गरे। महतोलाई प्रहरीले चैत १५ मा पक्राउ गर्‍यो। पीडक भनिएका महतो अहिले थुनामा छन्।
  • गत चैतमा ६ वर्षकी बालिकालाई भरतपुर महानगरका एक कर्मचारीले बलात्कार गरेको उजुरी प्रहरीमा पर्यो। आफ्नै घरमा डेरा गरी बस्ने महिलाको नाबालक छोरीलाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगर २९ नम्बर वडाका सव इन्जिनियर जीवन पौडेल पुर्पक्षका लागि थुनामा छन्।

माथिका तीन घटना चितवनमा बालिकामाथि हुने गरेका यौनजन्य दुर्व्यवहारको उदाहरण मात्रै हुन्। यहाँ पछिल्लो समय भएका यौनजन्य हिंसाको निशानामा बालिका पर्ने गरेका छन्।

जिल्लाका न्यायिक निकाय तथा सरोकारवालाहरूको तथ्याङ्कका अनुसार बलात्कार, यौनजन्य दुर्व्यवहार, बलात्कार प्रयास लगायतका घटनामा बालिका पीडित हुने क्रम बढेको हो।

नेपाल बाल संगठन चितवनले यहाँ आयोजना गरेको एक छलफलमा देखाइएको तथ्यांक अनुसार जिल्लामा उजुरीमा आउने यौनजन्य दुर्व्यवहारका घटनामा ४५ प्रतिशत बढी घटना १६ वर्ष उमेरभन्दा कमका बालिकामा हुने गरेको छ।

बाल सङ्गठन चितवनका सभापति रविकिरण पौडेलले चितवनमा बालिकामाथि यौनजन्य दुर्व्यवहार बढ्दै गएकोले यसको न्यूनिकरणको लागि सम्बन्धित सरोकारवाला लाग्नुपर्ने बताउनुभयो। उहाँका अनुसार चितवनमा चालु आर्थिक वर्षको जेठ महिनासम्म ७० वटा यौनजन्य दुर्व्यवहारका घटना भएकोमा ३२ जना १६ वर्ष मुनिका बालिका पीडित भएका छन्।

मानवाधिकारवादी संस्था इन्सेक चितवनले सार्वजनिक गरेको ६ महिनाको तथ्यांकमा पनि बालिका यौनजन्य दुर्व्यवहारमा बढी पर्न थालेको जनाएको छ। इन्सेक चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार चितवनमा चालु आर्थिक वर्षको पुसदेखि जेठ मसान्तसम्म २५ जना बालिका बलात्कारमा परेका छन्। अघिल्लो वर्ष यही अवधिमा यसको आधा कम अर्थात् १३ जना बालिका बलात्कारमा परेका थिए।

चितवनको यौनजन्य दुर्व्यवहारको घटनाको तुलनात्मक अध्ययन गर्ने हो भने सबैभन्दा बढी पीडित बालिका हुने गरेका छन्, इन्सेकका चितवन प्रतिनिधि दीपेन्द्र अधिकारी भन्नुहुन्छ, ‘बढीजसो दुर्व्यवहार परिवार, नाता र विद्यालयका शिक्षकबाट हुने गरेको छ।’

जिल्लामा बढ्दै गएको बालिकामाथि यौन दुर्व्यवहारका कारण अस्पतालमा पनि बलात्कारका घटनामा १८ वर्ष मुनीका बालिका ४३ प्रतिशत बढीले स्वास्थ्य जाँच गर्ने गरेको तथ्यांक छ।

भरतपुर अस्पतालमा रहेको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) बाट सेवा लिने बालिकाहरूको तथ्यांकले पनि बालिकामाथि यौनजन्य दुर्व्यवहार बढ्दै गएको देखाउँछ। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालमा बलात्कार पछिको स्वास्थ्य परीक्षण, घरेलु हिंसामा भएको कुटपिट, मनोसामाजिक परामर्श लगायतका घटनाका पीडित निःशुल्क उपचारको लागि ओसीएमसीमा आउने गर्छन्।

अस्पतालको ओसीएमसीमा यो आर्थिक वर्षमा उपचार गराउनेहरूको तथ्यांक हेर्दा जन्मेदेखि १४ वर्षसम्म उमेरसमूहका ४८ जना र १४ देखि १८ वर्षसम्मका ५७ जना बालिकाले यो सेवा लिएका छन्। भने कुल सेवा लिनेको संख्या दुई सय ४४ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार परिवार र नजिकैका आफन्तबाट अधिकांश बालिकाहरू यौनजन्य दुर्व्यवहारमा परेका छन्। डीएसपी अधिकारी भन्नुहुन्छ, ‘बालिकाहरूमाथि हुने अधिकांश बलात्कार लगायतका यौनजन्य दुर्व्यवहार आफन्त वा चिनेजानेकाबाट नै हुने गरेको छ।’

उहाँले उजुरी आउने क्रम बढ्नुको साथै न्यायिक प्रकृयामा बालिका दबाबमा पर्ने कारणले न्याय पाउन पनि समस्या रहेको पनि बताउनुभयो।

आवरणः यौन हिंसा तथा द्वन्द्वका सम्बन्धमा बालबालिकाले बनाएको यो चित्र हामीले संयुक्त राष्ट्रसंघको वेवसाइटबाट साभार गरेका हौ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
यौन हिंसा : निशानामा बालिका
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link