स्कटल्याण्डविरुद्ध नेपालको अर्थपूर्ण जीत 

आशुतोष अधिकारी

नेपालको विश्वकप क्रिकेट खेल्ने लक्ष्यको मार्गचित्रका रूपमा रहेको आइसीसी वल्र्डकप क्रिकेट लिग २ प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन। सात टोली सम्मिलित र सन् २०२३ को फेब्रुअरीसम्म चल्ने यस प्रतियोगिताको अन्त्यमा शीर्ष तीनभित्र पर्ने टोलीले २०२३ मा भारतमा आयोजना हुने वानडे वल्र्डकप छनौट खेल्न पाउने र शीर्ष पाँचभित्र रहने टोलीको ‘वानडे स्टाटस’ कायमै रहने भएका कारण पनि नेपालका लागि यो प्रतियोगिताको महत्व ज्यादा छ। यो प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका १८ खेललाई विश्लेषण गर्ने हो भने त्यहाँ धेरै उतारचढाव देख्न सकिन्छ।

अहिले स्कटल्याण्डमा चलिरहेको नामिबिया समेत सम्मिलित त्रिदेशीय शृङ्खला वल्र्डकप लिग २ प्रतियोगितामा नेपालले खेलिरहेको पाँचौं शृङ्खला हो। यसअघि आफूले खेलेको चार शृङ्खलाको समाप्तिसँगै नेपाल १६ खेलमा ७ जीत, १ बराबरीसहित र ८ हार सहित १५ अंक बोकेर तालिकाको पाँचौ स्थानमा थियो। जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमै तुलनात्मक रूपमा आफूभन्दा कमजोर आँकिएको नामिबियासँग ४० रनको सहज हार ब्यहोरेपछि नेपाली टोलीमाथि ठूलै दबाव आइपरेको थियो। लगातारको खराब ब्याटिङका कारण चर्को आलोचना खेपिरहेको नेपाली टोलीका लागि नामिबियाबिरुद्धको त्यो हार आलो घाउमा नून–चूक झैं बन्न पुगेको थियो।

ब्याटिङ नेपालको परम्परागत समस्या हो। नेपाली आधुनिक क्रिकेटको इतिहासलाई हेर्ने हो भने पनि महत्वपूर्ण क्षणहरूमा नेपाल पटक–पटक ब्याटिङका कारण चुक्दै आएको छ। वर्तमान राष्ट्रिय क्रिकेट टोलीलाई नेपाली क्रिकेट इतिहासको अहिलेसम्मकै उत्कृष्ट र भरपर्दा खेलाडीहरूले भरिएको सन्तुलित टोली मान्न सकिने धेरै आधार देखा परेको कुरालाई नकार्न सकिन्न। तर पनि नेपाली टोलीको ब्याटिङमा देखिएको समस्या ज्यूँका त्यूँ हुनुले टोलीमा अरू चिन्ता थपेको थियो।

कागजी रूपमा कमजोर नामिबियासँगको हारपछि सामाजिक सञ्जालहरूमा नेपाली टोलीलाई, विशेषगरी ब्याट्स्म्यानहरू र कप्तान सन्दिप लामिछानेलाई, आलोचना गर्ने मात्र होइन अपमानजनक र गालीगलौजका शब्द प्रयोग गरेर ट्रोल गर्ने लहर नै चलेको थियो। ‘नामिबियासँग हार्ने नेपाली टोलीलाई स्कटल्याण्डले घोबी हान्छ (नराम्रोसँग पराजित गर्छ)’ भनेर भविष्यवाणी गर्नेहरू पनि बग्रेल्ती निस्किए। अनि कत्तिले सामाजिक सञ्जालबाटै ‘नेपाल विश्वकपमा पुग्नै सक्दैन’ भन्ने उद्घोष गरिदिएर अन्तिम निर्णय नै सुनाइदिए।

तर अघिल्लो दिन नामिबियाले तेस्र्याएको २२० रनको चुनौति पछ्याउने क्रममा ४० रनको लज्जास्पद हार भोगेको यही नेपाली टोलीले उपाधिकै दावेदार मानिएको स्कटल्याण्डमाथि उसैको घरेलु मैदानमा ५ विकेटको प्रभावशाली जित रच्दै प्रतियोगितामा सुखद पुनरागमन गर्न सफल भएको छ। स्कटल्याण्डविरुद्धको यो जितले नेपाली टोलीलाई तत्कालका लागि ठूलो राहत मात्र दिएको छैन, प्रतियोगिताका आगामी खेलहरूका लागि समेत यो जीतले ऊर्जाको काम गर्नसक्नेछ।

बुधवार खेलिएको खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्याण्डलाई ४२.५ ओभरमा १४४ रनमा अलआउट पारेका थिए। नेपालका तर्फबाट सबै बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए भने ब्याट्सम्यानहरूले पनि सकारात्मक खेलको प्रदर्शन गर्दै २५.१ ओभरमा १४५ रनको लक्ष्य पूरा गरेका थिए। बलिङतर्फ कप्तान लामिछाने, करण केसी र सोमपाल कामीले मात्र नभई अनुभवहीन नवप्रवेशी बलरद्वय आदिल अन्सारी र वसिर अहमदले पनि प्रभावशाली खेल प्रदर्शन गरेका थिए।

वानडे क्रिकेटमा १४५ रनको लक्ष्यलाई एकदमै सामान्य मान्न सकिन्छ। तथापि नेपाली टोलीको पछिल्लो समयको प्रदर्शनलाई हेर्दा कतै नेपालले यति सानो लक्ष्य पनि पछ्याउन नसक्ने हो कि भन्ने आशंका समर्थकहरूको मनमा उठेको थियो तर नेपाली खेलाडीले सुझबुझपूर्ण ढंगबाट खेल अगाडि बढाउँदै नेपाललाई सहज तरिकाले लक्ष्यसम्म डोर्‍याएका थिए। कुशल भुर्तेल र आशिफ शेखको जोडीले प्रारम्भिक ७.१ ओभरमा ४७ रन जोड्दै नेपाललाई राम्रो शुरूवात दिलाएका थिए। कुशलले बिनादबाव आफ्नो ‘नेचुरल गेम’ खेल्दै २८ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए। तर खेलका वास्तविक नायक आशिफ शेखले आक्रामक खेलको नमूना पेश गर्दै ६२ बलमा १० चौका र १ छक्काको सहयोगमा ७१ रनको आकर्षक पारी खेल्दै नेपाललाई जीत नजिक पुर्‍याएका थिए। अन्त्यतिर आत्मविश्वासी देखिएका रोहित पौडेलले ३४ रनको अविजित पारी खेल्दै नेपाललाई लक्ष्यसम्म पुर्‍याए।

नामिबियासँगको हारपछि अंक तालिकाको एक स्थान तल खस्किएर छैठौंमा पुगेको नेपाली टोली स्कटल्याण्डविरुद्धको जितपछि पुन पाँचौं स्थानमा उक्लिएको छ। यो महत्वपूर्ण जीतले खेलाडीहरूको मनोबललाई बलियो बनाएको र आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्न यसले ठूलो सहयोग गर्ने नेपालका कप्तान सन्दिप लामिछाने बताएका छन्। त्यसैकारण स्कटल्याण्डविरुद्धको जीत नेपालका लागि निकै अर्थपूर्ण बन्नपुगेको छ।

स्कटल्याण्डविरुद्धको जित नेपाली टोलीको आलोचना गर्नेहरूका लागि एउटा ‘सुन्दर जवाफ’ त हो नै, यो जीत नेपाली टोलीको वास्तविक क्षमताको एउटा मिठो उदाहरण पनि हो। यो जीत प्रतियोगितामा सम्मिलित सबै टोलीहरूमाथि नेपाली टोली भारी पर्न सक्छ भन्ने कुराको स्पष्ट संकेत हो भने ‘यो प्रतियोगिता जित्न र विश्वकप खेल्न समेत नेपाल योग्य छ र सक्षम पनि छ’ भन्ने कुराको जनाऊ पनि हो। र, यो दिन धेरै टाढा पनि छैन। नेपाली टोलीमा अहिले देखिएको ‘टिमवर्क’ र ‘जीतको भोक’लाई पछिसम्म कायम राख्न सक्ने हो भने नेपाल २०२३ को विश्वकपमा अवश्य छनौट हुने समर्थकहरूको विश्वास छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
स्कटल्याण्डविरुद्ध नेपालको अर्थपूर्ण जीत 
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link