गएको फागुन ११ गते, अर्थात फेब्रुअरी २३ का दिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसंख्या भएको शान्त र समृद्ध युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरेपछि धेरैले अनुमान गरेका थिए: युक्रेनले एक साता भन्दा बढी रुसी सेनाको सामना गर्नै सक्दैन। किनकी रुसी सैनिकहरू युद्धको तेस्रो दिन नै युक्रेनको रणनीतिक क्षेत्रमा धावा बोल्दै, आणविक तथा उर्जा केन्द्र कब्जा गरेर राजधानी किएभ नजिक पुगिसकेका थिए। तर रुस युक्रेन युद्धले १५५ दिन पार गरेको छ। युक्रेनी सेना अहिले रुसले कब्जा गरेको खेरसोन क्षेत्र पुन: फिर्ता लिन विशेष सैन्य अभियान चलाई रहेको छ। राजधानी किएभ कब्जा गर्ने रुसको हजार प्रयत्न असफल भएको छ। अहिले युक्रेनी सेनाले, अमेरिकालगायत पश्चिमा मुलुकले दिएको लामो दूरीका आधुनिक रकेट प्रहार गरेर रणनीतिक रूपमा डिनिप्रो नदीको पश्चिममा अवस्थित यो शहरबाट रुसी फौजलाई लखेट्न थालेपछि मस्कोले युरोपेली मुलुकका विरुद्धमा ग्यास युद्ध सुरु गरेको छ। किनकी खेरसोन क्षेत्र, जारी युद्धका क्रममा पहिलो पटक मस्कोको सेनाले कब्जा गरेको महत्वपूर्ण शहर हो। जुन सहरसम्म पुग्ने एउटा महत्वपूर्ण पुल ध्वस्त भइसकेको छ।
अहिले युक्रेनी सेनाले निशाना बनाइरहेको यो खेरसोन क्षेत्रमा जारी युद्ध तत्काल टुङ्गोमा नपुगेमा यो युक्रेनबाट सधैँका लागि अलग हुने जोखिम छ। युक्रेनी सेनाले हिमर्स आर्टिलरी रकेट प्रणाली प्रयोग गरेर मंगलबार खेरसनको एन्टोनिभस्की पुलमा गोलाबारी गरेपछि रुसी सेना उक्त पुल बाट युक्रेन तर्फ आउन सम्भावना टरेको छ र युक्रेनी फौजले पनि उक्त शहर फिर्ता लिनसक्ने अवस्था छैन। युद्ध सुरु हुनु पहिले यो शहर आधा माइल लामो आधुनिक पुलले जोडिएको थियो। युद्ध कै क्रममा रुसी सेनाले युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिकाले बनाई दिएको एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार नष्ट गरिदिएको छ। युक्रेनलाई युद्धका क्रममा अमेरिका लगायतका पश्चिमा देशले आधुनिक हतियार तथा युद्ध प्रणाली सहयोग गरेको निहुँमा रुसले यही साताबाट युरोप जाने ग्यासको आपुर्ति नै बन्द गरेको छ।
युरोपमा गम्भिर उर्जा संकट
रुसले युरोपतर्फ जाने ग्यासको परिणाम ८० प्रतिशत भन्दा बढी घटाएपछि पुरै युरोपमा यसको असर देखिन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसको ग्यास कम्पनी गाजप्रोमले युरोपतर्फ आपूर्ति हुने ग्यासको परिणाम ह्वात्तै घटाइदिएको हो। रुसबाट युरोपतर्फ ग्यास आपूर्ति गर्ने मुख्य माध्यम नोर्ड स्ट्रिम–१ यसअघि रुसले मर्मतका लागि भन्दै गएको साता पुरै बन्द गरेको थियो। गाजप्रोमले नोर्ड स्ट्रिम–१ रुसको राज्य नियन्त्रित ग्यास कम्पनी हो। यसले पाइपलाइनको टर्बाइनमा ‘प्राविधिक समस्या’ आएको भन्दै यही जुलाई २५ बाटै ग्यास आपूर्ति पहिलेको तुलनामा केबल ४० प्रतिशतमा सीमित गरेको छ। यसको नकरात्मक असर युरोपको अर्थतन्त्रमा देखिन थालेको छ। बजार मूल्य अकासिएको छ भने युरोको सटही मूल्य पनि ओरालो लागेर पहिलो पटक अमेरिकी डलर बराबर भएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युरोप विरुद्ध ‘ग्यास युद्ध’ छेडेको भन्दै सामूहिक रुपमा यसको प्रतिवाद गर्न आह्वान गरेका छन्। युरोप विरुद्ध ग्यास युद्धको धम्की आएको छ, जेलेन्स्कीले भनेका छन् ‘एकीकृत युरोप विरुद्ध रुसले खुला ग्यास युद्ध छेडिरहेको अब हेरेर बस्न मिल्दैन। सामूहिक प्रतिरोध तथा प्रतिबन्ध आवश्यक छ।’
तर सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयरले हालै सार्वजनिक गरेको रुसी तेल र ग्यासको निर्यात सम्बन्धी प्रतिवेदन अनुसार मस्कोले अहिले पनि रुसी तेल आयातलाई सीमित पार्ने अमेरिका र युरोपेली संघ इयूको रणनीति चिर्दै, दैनिक १ अर्ब अमेरिकी डलरभन्दा धेरै रकमको तेल र ग्यास बेचिरहेको छ। यो जारी युक्रेन युद्धको खर्चभन्दा धेरै बढी आम्दानी हो। त्यसैले रुसले रणनीतिक बाटो बाट विश्व बजारमा इन्धन बिक्री गर्न थालेपछि युरोपमा थप उर्जा सङ्कटको नीति लिएको हो। किनकी, उक्त प्रतिवेदनले इयूले योजना गरेको तेल प्रतिबन्धको प्रभाव आफैं कम पार्न रुसले कच्चा तेल भारततर्फ निर्यात गरेर विश्व बजारमा पठाइरहेको दावी गरेको छ। भारतले भारी मात्रामा २५ प्रतिशत अनुदानमा रुसी तेल र ग्यास किनेको र प्रशोधन गरेर महङ्गो मूल्यमा पुन: युरोप र अमेरिकाका खरिदकर्तालाई बेचिरहेकाले रुस अहिले युरोप विरुद्ध ग्यास युद्ध गर्ने तहको निर्णयमा पुगेको हो, उक्त प्रतिवेदनमा उल्लेख छ। रुसले नयाँ तेल बजार खोजिरहँदा धेरैजसो उसका तेल पानी जहाजमार्फत पठाइन थालेको छ र धेरैजसो युरोपेली स्वामित्वका पानीहाजले नै रुसको तेल बोकिरहेका छन्।
यो प्रतिवेदनको दावी र रुसको ग्यास युद्ध घोषणा पछि, जर्मनीको फेडेरल नेटवर्क एजेन्सीले घटनाक्रमबारे सूक्ष्म निगरानी गरिरहेको प्रतिक्रिया दिएको छ। सो एजेन्सीका प्रमुख क्लाउस मुलरले केही दिनअघि मात्रै रुसले नोर्ड स्ट्रिम १ पाइपलाइनबाट हुने ग्यास आपूर्ति नियन्त्रण गर्न सक्ने भएकाले जर्मनी ‘रुसको निगाहमा रहेको’ टिप्पणी गरेका थिए। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले यसअघि नै रुसले ऊर्जालाई हतियारको रुपमा प्रयोग गरिरहेको बताइसकेकी छन्। उनले रुसी ग्यासको आपूर्ति पूर्ण रुपमा कटौती हुने सम्भावनाका लागि तयार रहन पनि युरोपेली मुलुकलाई आह्वान गरेकी छन्। क्रेमलिन अब कहिल्यै युरोपका लागि ऊर्जा आपूर्तिको भरपर्दो साझेदार बन्न सक्दैन, किनकी उसले नोर्ड स्ट्रिम १ को समस्या देखाएर गाजप्रोममा समेत जानाजान भण्डारण क्षमता कटौती गरेको छ, उनले युरोपेली मुलुकका प्रमुखहरूलाई सम्झाएकी छन्। जर्मन समाचार संस्था डीपीएका अनुसार, यो रुसी कम्पनीले युरोपेली युनियनका १२ सदस्य राष्ट्रलाई आंशिक वा पूर्ण रुपमा शून्य ग्यास आपूर्ति गर्न थालेको छ। यसको नकरात्मक असर युरोपेली अर्थतन्त्रमा देखिईरहेको छ। यो मस्कोको उर्जा युद्ध रणनीति लगत्तै युरोपेली युनियनले रुसबाट ग्यासको आपूर्ति पूर्ण रुपमा रोक्का भएको खण्डमा उत्पन्न हुने परिणामका लागि तयार रहन तत्काल ग्यास उपभोगको १५ प्रतिशत कटौती गर्ने योजना अघि सारेको जर्मन समाचार संस्था डीपीए जनाएको छ।
रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युरोपतर्फ ग्यासको आपूर्ति प्रणालीमा केही प्राविधिक समस्या देखापरेको भन्दै, ग्यास आपूर्ति रोक्का गर्ने रुसको चाहना नरहेको प्रष्टिकरण दिएका छन्। ‘रुस जिम्मेवार ग्यास आपूर्तिकर्ता हो र युरोपेली आयोगले, युरोपेली राजधानीहरूमा, अमेरिकामा जे भनिए पनि रुस युरोपको ऊर्जा सुरक्षा प्रत्याभूत गर्ने मुलुक थियो र हो’ रुसी समाचार संस्था इन्टरफ्याक्सले क्रेमलिनका प्रवक्ताको भनाई उदृत गर्दै उल्लेख गरेको छ।
युरोपका सयौँ उद्योग बन्द हुने खतरा
रुसी ग्यासको पूर्ण रोक्का वा आपूर्तिमा भारी गिरावट आएपछि युरोपेली मुलुकका सयौँ उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। युरोपका चिसा शहरहरूमा घर तताउन रुसी ग्यासको प्रयोग हुँदै आएकोमा त्यसमा पनि समस्या देखिएको छ। भारत तथा चिनियाँ कम्पनीले बिक्री गरिरहेको प्रशोधित इन्धनको मूल्य युरोपमा उच्च बिन्दुमा पुगेको छ। युरोपेली युनियन सम्बद्ध मुलुकको कूल ग्यास खपतको ४० प्रतिशत रुसबाटै आपूर्ति हुने गरेको थियो। युक्रेन मामिलामा रुसको विपक्षीमा उभिएका मुलुकका विरुद्ध मस्कोले अहिले कि वार कि पारको तहमा ग्यास युद्धको रणनीति अपनाएपछि युरोपेली देशहरूमा ग्यासको मूल्य थेगिनसक्नु भएको छ। हरेक २४ घण्टामै २ प्रतिशत भन्दा बढीले ग्यासको मूल्य उकालो लागिरहेको छ, रुसले नोर्ड स्ट्रिम वान पाइपलाइनबाट पठाउने ग्यासको मात्रा अरु कटौती गरेमा युरोपमा चरम मानवीय संकट देखिन सक्छ। जर्मनी लगायतका युरोपेली देशको रुसबाट आयात गर्ने ग्यासको मात्रा यसअघि नै घटाइ सकेका थिए। त्यसपछि रुसले पुरै युरोपलाई निशाना बनाएको हो। समाचार अनुसार एक साताको अवधीमा प्रति मेगावाट ३७ युरो रहेको ग्यासको मूल्य बढेर अहिले २०४ युरो पुगिसकेको छ। साढे चार सय प्रतिशतको मूल्य वृद्धि अझै उकालो लाग्दा, युरोपका उद्योग धन्दा समेत उर्जा सङ्कटमा पर्नेछन्। रुसी ग्यास आपूर्ति कटौती यथावत राखेमा छिट्टै सुरु हुने जाडो याममा पूरै युरोपमा ठूलो मानवीय संकट निम्तने छ। यसको असर अमेरिका सम्म पर्न सक्छ। विश्वव्यापी खाद्य सङ्कट उत्पन्न हुनसक्छ।
अरब र अफ्रिकामा खाद्यान्न अभाव
रुसले युक्रेनमा आक्रमण सुरु गरेयता अरब र अफ्रिकी देशहरूमा चरम खाद्य संकट सुरु भएको छ। १५५ दिनको अवधीमा विश्वभर महँगी बढेको छ। युक्रेनमा उत्पादित अन्नको निर्यात १५० दिनसम्म पुरै ठप्प हुँदा अफ्रिकामा खपत हुने ४० प्रतिशत गहुँ निर्यात हुन सकेको छैन। पुरै अफ्रिका र अरब देशमा खाद्य संकट चर्किएपछि गएको शुक्रवार रुस र युक्रेनका बीचमा खाद्यान्न आपूर्तिमा अवरोध नगर्ने र ओडेसा बन्दरगाहमा युद्धबिराम गर्ने सहमति भएको थियो। तर यो ऐतिहासिक सम्झौता पछि पनि रुसले ओडेसा बन्दरगाहमा निरन्तर आक्रमण गरिरहेको छ। अफ्रिकन डेभलपमेन्ट बैंकले, युक्रेन र रुसबाट अफ्रिका निर्यात हुने गहुँको आपूर्ति बन्द भएपछि ठूलो खाद्य संकट निम्तिएको जनाएको छ। युक्रेनबाट वार्षिक ३६ लाख टन भन्दा बढी गहुँ आयात गर्ने इजिप्ट समेत खाद्यान्नको हाहाकार सुरुभएको छ।
इटलीका विदेशमन्त्री लुइगी दे मेयोले बीबीसीसँग भनेका छन्, ब्ल्याक सी तर्फका युक्रेनी बन्दरगाह अहिले पनि रुसी फौजको कब्जामा छ। यसको असर, दशौँ लाख मानिसहरूले भोकमरीका कारण ज्यान गुमाउने अवस्था आइरहेको छ। यो बन्दरगाह आसपासका जलक्षेत्रमा जताततै बारुदी धराप बिछ्याएका कारण युक्रेनको अन्न निर्यातमा समस्या परेको हो। इटलीका विदेशमन्त्री मेयोले भनेका छन् “अन्न निर्यात रोक्नु भनेको दशौँ लाख मानिसलाई बन्धक बनाएर मृत्युको सजाय दिनुजस्तै हो। यो युद्ध भन्दा पनि ठूलो युद्ध अपराध हो। किनकी विश्वमा सबैभन्दा धेरै गहुँ युक्रेनले निर्यात गर्ने गरेको छ। यसको असर भूमध्य सागर क्षेत्रका देशहरूमा समेत परिसकेको छ। युक्रेनी बन्दरगाहहरूमा १५० दिनदेखि रुसी नाकाबन्दी यथावत छ। युक्रेनले आन्तरिक आर्थिक संकट टार्न र विश्वव्यापी अन्न संकट निवारणका निम्ति युक्रेनको अन्न आपूर्तिका लागि सहजिकरण गरिदिन संयुक्त राष्ट्रसङ्घलाई अपिल गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका सङ्कट संयोजक अमिन अवादले युक्रेनले अन्न निर्यातका लागि हारगुहार गरिरहेको र अन्नको अभावका कारण एक अर्ब ४० करोड मानिस भोकभोकै मर्ने अवस्था आएको भन्दै मस्को र उसका साझेदार देशलाई मानवीय सहायताका निम्ति सम्झाएका छन्। अहिले खाद्यान्न अभावले, ठूलो सङ्ख्यामा मानिसहरू बसाइँसराइ गर्न थालेका छन्। बढ्दो खाद्यसङ्कटका कारण मध्यपूर्व र अफ्रिकाबाट युरोपमा शरणार्थीको चाप बढ्न थालेको छ। युद्धले थिलथिलो भएको अफ्रिकी महादेशमा खाद्यान्नको मूल्य अकासिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार, गत वर्षको तुलनामा यो बर्ष खानेकुराको अभाव झेलिरहेका मानिसको संख्या पाँच करोड बाट बढेर आठ करोड पुग्ने अवस्था छ। यो ठूलो युद्ध अपराध हो। युद्धले खानेकुराको मूल्य बढाइदिएको छ। किनभने गहुँ र मकैका लागि युक्रेन र रुस दुई ठूला अन्नभण्डार हुन्, संयोजक अमिन अवादले भनेका छन्। विश्वभरि उपभोग गरिने धेरै प्रकारका खानेकुरा बनाउन गहुँ र मकै आवश्यक पर्छ। युद्धका कारण आपूर्ति असहज भएपछि मूल्य बढेको छ। खाद्यान्न आपूर्ति रोकीएपछि मध्य अफ्रिकी मुलुक चाडले खाद्य सङ्कटकाल घोषणा गरेको छ। सेनेगलले आफ्ना लाखौं नागरिक आर्थिक सङ्कटमा परेको जनाएको छ।
युक्रेनले विश्वलाई १२ प्रतिशत गहुँ, १५ प्रतिशत मकै संगै आफ्नो उत्पादनको आधाभन्दा बढी सूर्यमुखी तेल निर्यात गर्ने गरेकोमा १५० दिनदेखि निर्यात ठप्प छ। निर्यात रोकिँदा विश्व बजारमा खानेकुराको मूल्य करिब ३० प्रतिशतले बढेको छ। युद्धको असर रसायनीक मलको उत्पादन र आयात निर्यातमा पनि परिरहेको छ। रुस तथा बेलारुस विश्व बजारमा सबैभन्दा धेरै रासायनिक मल निर्यातकर्ता हुन्। युद्धका कारण रसायनीक मलको उत्पादन र आपूर्ति पनि ठप्प भएको छ। यसको असर विश्वव्यापी अन्न उत्पादनमा पर्दैछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कृष्ण तिमल्सिना का अन्य पोस्टहरु:
- ओलीको चीन भ्रमण: ऋणको पासो की अनुदानको आशा ?
- सङ्क्रमणकालीन न्यायको प्रश्नमा द्वन्द्व पीडितको शङ्का: हाम्रो घाउ फेरि बल्झिन सक्छ !
- नेतालाई जुत्ता, मुक्का र खोयाको त्रास
- १२ महिनामा प्रचण्ड सरकारको १२ धक्का
- जुर्मुराउदा ती प्रचण्ड र शिथिल यी पुष्पकमल
- बीआरआईको त्रास: श्रीलङ्का र पाकिस्तान बन्ने की इटाली !
- विशेष खोज: शङ्का र स्वार्थमा जेलिँदै एमसीसी परियोजना
- प्रतिशोधको भड्खालोमा जकडिएको चीनको सी–सत्ता
- सीमा अतिक्रमण : कालापानीमा भारत र तातोपानीमा चीनको ज्यादती, भोटेकोशीको बस्ती नै उठ्दै
- हङकङमा प्रजातान्त्रिक योद्धाविरुद्ध तीव्र धरपकड