गाविस सचिवदेखि संघीय सचिवसम्म बिन्दु बिष्टको यात्रा

तारा वाग्ले

गत साता  महालेखापरीक्षकको कार्यालयमा यसअघि नायब महालेखा परीक्षकको जिम्मेवारीमा रहनुभएकी बिन्दु बिष्ट सचिवमा बढुवा हुनुभएको छ। बिष्टको बढुवा भएसँगै  नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) पदमा बहाल ७३ जना सचिव मध्ये महिलाको संख्या ६ पुगेको छ। सो कार्यालयको प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएकी सचिव बिष्टलाई बढुवा सिफारिस समितिको बैठकले लेखापरीक्षण तर्फ रिक्त रहेको सचिव पदमा ज्येष्ठताका आधारमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा भएपछि निजामती सेवाको लेखा परीक्षणतर्फ  उप–महालेखापरीक्षकको जिम्मेवारीमा रहनुभएकी बिष्टले यो क्षेत्रमा दुई दशक भन्दा बढि समयको यात्रा पूरा गरिसक्नुभएको छ। धरानमा जन्मनुभएकी बिष्टले २०५७ सालमा खरिदार पदबाट सेवा प्रवेश गर्नुभएको थियो। शुरुमा प्रशासन सेवाबाट गाविस सचिवको अनुभव बटुलेपछि लेखापरीक्षण सेवामा फड्को मार्नु भएकी बिष्ट खुला प्रतियोगिताबाटै  शाखा अधिकृतदेखि सहसचिव तहसम्म पुग्नुभएको हो।  २०५९ साल चैतमा लेखा परिक्षण अधिकारी पदमा नियुक्त हुनुभएकी बिष्ट  २०६८ सालमा निर्देशक हुँदै २०७१ सालमा नायब महालेखापरीक्षक (सहसचिव) बन्नुभएको हो। विभिन्न जिल्लामा पुगेर कार्यअनुभव बटुल्नु भएकी सचिव बिष्टले निरन्तरको मेहनत, इच्छाशक्ति तथा  धैर्यतालाई जीवनको मूल मन्त्र बनाई आफ्नो वृत्तिविकासमा तल्लिन हुनुभयो। गाउँपालिकामा गाविस सचिव देखि संघीय सरकारको सचिव तहसम्म पुग्दा भोगेका अनुभवहरू उहाँकै शब्दमाः

गाविस सचिवबाट सेवा प्रवेश

मेरो जन्म सुनसरी जिल्लाको धरान नगरपालिकामा भएको हो। कक्षा ४ सम्मको अध्ययन मैले धनकुटा जिल्लाको आँखिसल्लास्थित  टपुदेवी निमाविबाट र एसएलसी धरानको शिक्षा निकेतन माविबाट पूरा गरेको हो। मेरो बुबा व्यवसायिक कृषक एवं राजनीतिज्ञ हुनुहुन्थ्यो। उहाँ कोशी अञ्चल सभापतिसम्म हुनु भएको थियो। हाम्रो संयुक्त परिवार थियो। उच्च मध्यम वर्गीय कृषक परिवार भएकोले खान, लाउन, पढ्नलाई कुनै किसिमको दुःख थिएन। सबै छोराछोरीलाई धेरै पढाएर विभिन्न क्षेत्रमा स्थापित गराउने बुबाको ठूलो रहर थियो। पढाइप्रति मलगायत मेरा सबै दाजुभाइ र दिदीबहिनी निकै सचेत थियौं। अहिले म लगायत हामी सबैजना विभिन्न क्षेत्रमा स्थापित भएका छौं। मैले आइकम र बीकम धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट उत्तीर्ण गरेँ। एमबीए विराटनगरबाट पूरा गरेपछि २०५२ सालमा बिहे भयो। त्यसपछि केही समय घरव्यवहार र बच्चा जन्माउने हुर्काउने गरेरै बित्यो। तर मनमा कुनै ने न कुनै क्षेत्रमा स्थापित भएर नाम कमाउने तथा आर्थिक रुपमा सशक्त हुने चाहाना थियो। यही क्षेत्रमै काम गर्छु भन्ने थिएन। त्यसैबेला नायबसुब्बा पदमा विज्ञापन खुलेको थाहा पाएँ। २०५६ सालमा नायबसुब्बाको परीक्षा दिएँ तर सफल हुन सकिन। फेरि २०५७ सालमा खरदारमा जाँच दिएँ र सफल भएँ। गाविस सचिवको रुपमा सङ्खुवासभामा मेरो नियुक्ति भयो। त्यहीबाट शुरु निजामती सेवाको मेरो यात्रा यहाँसम्म पुगेको छ।

अधुरो चाहना सिए

पढ्नको लागि मैले पर्याप्त अवसर पाएकी थिएँ। मेरो व्यवस्थापन विषयप्रति रुचि थियो। साथै चार्टर एकाउन्टेन्ट बन्ने पनि रहर थियो। एसएलसी पास गरेपछि मलाई सिए पढ्न मन थियो। तर त्यसको लागि इन्डिया जानुपर्ने भएकोले छोरी मान्छे एक्लै इन्डिया गएर पढ्न पाउनु असम्भव जस्तै थियो उबेला। म पनि जान पाइन। आफू जन्मेहुर्केको ठाउँमा व्यवस्थापन विषय लिएर पढ्न थालें। लोकसेवामा आउने त सोच ने थिएन। मेरो परिवारमा कोही पनि यो क्षेत्रमा हुनुहुन्थेन। पूर्वतिर त लोकसेवा लडेर सरकारी जागिर गर्नु भनेको दुःख बिसाउनु हो भन्ने सोच्थे। सिए पढ्न नपाएपनि केही राम्रो विषय पढेर कुने न कुनै क्षेत्रमा भएपनि स्थापित हुने रहर थियो। समयले यता डोर्‍यायो।

महिला पनि गाविस सचिव हुन्छ र भन्थे

सङ्खुवासभामा १ वर्ष  गाविस सचिवको जिम्मेवारी पूरा गरेपछि झापा सरुवा भएको थियो। त्यसक्रममा विभिन्न गाउँमा पुगेर स्थानीय जनतासँग रहेर काम गर्ने मौका पाएँ। ग्रामीण अवस्थिति र जनजिवनको बारेमा बुझ्ने मौका पाएँ। महिला भएर गाउँमा कोठा लिएर बस्नु र गाविसमा सेवा गर्नु त्यति सहज थिएन उबेला। कतिले त म गाविस सचिव हुँ भन्दा नपत्याउने। म जाँदा महिला पनि गाविस सचिव हुन्छन् र भनेर मबाट काम गराउनै चाहन्थेनन्।  खासगरी वृद्ध भत्ता वितरण गर्नको लागि घरघर जानुपर्थ्यो। यही सिलसिलामा एकपटक मलाई गाउँसम्म छोड्न मेरो श्रीमान जानुभएको थियो।  श्रीमानसँग गएपछि उहाँलाई नै गाविस सचिव हो भनेर उहाँलाई नै नमस्कार गरी उहाँबाटै काम गराउन चाहन्थे।

समाजको नचाहिँदो चासो

कतिलाई त मैले गाविस सचिव भएर गाउँगाउँमा सेवा दिन गएको देख्दा  रिस लाग्दो रहेछ कि कुन्नी किन हो मेरा पारिवारिक मामलामा टिप्पणी गरिरहन्थे। शङ्काले हेर्थे। हामी किन छुट्टाछुट्टै बसेका हौला भनेर अनेकथरी कुरा गर्थे समाजका मान्छेहरूले। कतिले त श्रीमानसँग गएर पनि सोधका थिए रे। दुवैजनाको आआफ्नो कार्यव्यस्तताले गर्दा बच्चालाई स्कुलमा भेट्न जाँदा कहिले म कहिले मेरो श्रीमान जान्थ्यौ। स्कुलमा समेत हामी किन सँगसँगै बच्चा भेट्न आउँदैनौ भनेर प्रष्टिकरण दिइनुपर्थ्यो।  

मैले लोकसेवा लडेर सरकारले खटाएको ठाउँमा पुगेर सेवा गर्दा पनि मैले समाजले उठाएका  प्रश्नहरूको जवाफ दिइरहन पर्यो।  सरकारले खटाएपछि जहाँ जान परे पनि तयारीका साथ बस्नुपर्दथ्यो। म पनि विभिन्न गाउँमा सेवा दिन जानुपर्यो। बच्चाहरू सानै थिए। श्रीमान टिचिङ पेशामा हुनुहुन्थ्यो। कार्यक्षेत्र फरकफरक भएकोले बच्चा हुर्काउने पढाउने काम आलोपालो गर्थ्यौं।  कहिले बच्चालाई माइतीमा छोड्ने कहिले होस्टलमै राखेर पढाउने गरिन्थ्यो।  यसरी आफ्नो पेशा र पारिवारिक जीवन चलाउँदै जाँदा समाज तथा छरछिमेकका मन्छेहरूले धेरै टिकाटिप्पणी गर्थे। कतिलाई त मैले गाविस सचिव भएर गाउँगाउँमा सेवा दिन गएको देख्दा  रिस लाग्दो रहेछ कि कुन्नी किन हो मेरा पारिवारिक मामलामा टिप्पणी गरिरहन्थे। शङ्काले हेर्थे। हामी किन छुट्टाछुट्टै बसेका हौला भनेर अनेकथरी कुरा गर्थे समाजका मान्छेहरूले। कतिले त श्रीमानसँग गएर पनि सोधका थिए रे। दुवैजनाको आआफ्नो कार्यव्यस्तताले गर्दा बच्चालाई स्कुलमा भेट्न जाँदा कहिले म कहिले मेरो श्रीमान जान्थ्यौ। स्कुलमा समेत हामी किन सँगसँगै बच्चा भेट्न आउँदैनौ भनेर प्रष्टिकरण दिइनुपर्थ्यो।   मैले त आफ्नो पेशालाई ने धर्म ठानेर इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेकी हुन्थेँ तर एक महिलाको लागि आफ्नो काम स्वतन्त्रतापूर्वक गर्न पनि निकै कठिन बनाइदिदोँ रहेछ यो समाजले।  यतिमात्र नभइ कसैले त मेरो घरमा खान नपुगेर गाविसमा जागिर गर्न लागेको भनेर मेरो बुबा सम्म कुरा पुर्याइदिँदा रहेछन्। बुबाले समेत मेरो घरको आर्थिक अवस्थाबारे मेरा बच्चासँग बुझ्नुहुन्थ्यो।

महिलालाई आर्थिक, समाजिक स्वतन्त्रता सहितको तथा व्यक्तित्व विकास गर्न पुरुषको तुलनामा निकै गाह्रो छ।  आफ्नो काममा निरन्तर खटिँदा समाजबाट भएका यस्ता नकारात्मक व्यवहारले निकै पीडा हुन्थ्यो। एक महिला भएर कुनैपनि क्षेत्रमा सफल हुन निकै कठिन रहेछ भनेर दिक्क पनि लाथ्यो। तर हार मानेर बसियो भने सफल हुन सकिँदैन।

महिलाको व्यक्तित्व विकासका बाधकहरू

हेर्दा सामान्य लागेपनि महिलाको अधिकार र स्वतन्त्रता समाजकै अधीनमा छ। महिलाको व्यक्तित्व विकासमा समाजिक सोच असमानता र अविश्वास बाधक बनेको छ। हरेक काममा समाजलाई प्रष्टिकरण गर्दै अघि बढ्नुपर्ने अवस्था छ। यसले गर्दा महिलालाई आर्थिक, समाजिक स्वतन्त्रता सहितको तथा व्यक्तित्व विकास गर्न पुरुषको तुलनामा निकै गाह्रो छ।  आफ्नो काममा निरन्तर खटिँदा समाजबाट भएका यस्ता नकारात्मक व्यवहारले निकै पीडा हुन्थ्यो। एक महिला भएर कुनैपनि क्षेत्रमा सफल हुन निकै कठिन रहेछ भनेर दिक्क पनि लाथ्यो। तर हार मानेर बसियो भने सफल हुन सकिँदैन। चुनौतीको समाना गर्दै नै अघि बढ्ने हो भन्ने सोचेर सफल हुने दृढ विश्वासका साथ लागि परे।

काठमाडौँमै रहेर सेवा गर्न लेखापरीक्षणमा प्रवेश

मलाई कतै सरुवा नहुने खालको र एकै प्रकृतिको सेवामा लामो समयसम्म काम गर्ने रहर थियो। परिवारसँगै बस्न पाउने र घरपायक पर्ने ठाउँबाट सेवा गर्न पाउने कार्यक्षेत्रको खोजीमा थिएँ। आफ्नो वृत्तिविकास नगरी त्यो सम्भव थिएन। एकपटक जिल्ला शिक्षा कार्यालय सिराहामा कार्यरत थिएँ। त्यतिबेला सञ्चारको साधन भनेकै गोरखापत्र थियो। सो कार्यालयमा रहेको बेला गोरखापत्रमा शाखा अधिकृत पदमा विज्ञापन खुलेको देखेँ। साथै लैंगिक मूलप्रवाहिकरण कार्यक्रम अन्तर्गत महिला मन्त्रालयले निजामती सेवामा कार्यरत सेवामा  महिलाको लागि निशुल्क कोचिङ कक्षा सञ्चालन भएको सूचना पनि छापिएको रहेछ। यो देखेपछि मलाई पनि शाखा अधिकृत हुने हुटहुटी बढ्यो। बडो मुस्किलले अफिसमा २ महिनाको काज मिलाएँ र काठमाडौँ आई शाखा अधिकृतको तयारी थालें। गाउँमा विभिन्न चुनौतीका साथ काम गर्दा वाक्कदिक्क भएको बेला काठमाडौँ आएर काम गर्नु मेरो सपना नै बनेको थियो। तीब्र चाहना भएपछि र  निरन्तरको मेहनत गरेपछि सफल पनि भइँदो रहेछ। जीवनभर काठमाडौं रहेर सेवा गर्ने चाहना पूरा गर्न मैले अन्यत्र सरुवा नहुने खालको लेखापरीक्षणमा  समुहमा प्रवेश गरेँ। २०५९ सालमा शाखा अधिकृत भएर लेखापरीक्षकको कार्यालयमा खटिए।  त्यसपछि त कहिलेकाहीं एक दुई महिनाको लागि विभिन्न जिल्लामा जानु परे पनि धेरैजसो समय यही कार्यालयमा दिन पाइएको छ। विभिन्न कार्यालयको आयव्यय विवरणबारे अध्ययन गरी बेरुजु औंल्याउने तथा आर्थिक अनुशासन पालन भए नभएको हेर्ने काममा दिनहरू बित्छन्।

कामलाई अध्ययनसँग जोडेर पढेँ

आफूले निरन्तर एउटै सेवा समूहमा बसेर काम गरेपछि त्यो क्षेत्रको विस्तृत ज्ञान हासिल हुन्छ। आफूले काम गरेकै विषयमा सैद्धान्तिक ज्ञान लिँदै सिद्धान्त र व्यवहारसँग तालमेल गराई पढेपछि सफल हुन सघाउ पुग्दो रहेछ। मैले आफैले काम गरेका विषयलाई पढाइसँग जोड्दै वृत्तिविकासकै अरु खुड्किलाहरू पार गरेकी हुँ। दिनभर अफिसमा काम गर्ने र रातमा अबेरसम्म बसेर अध्ययन गरी पछि खुला प्रतिस्पर्धाबाटै उपसचिव र सहसचिव भएँ। एक महिलाको लागि कुने पनि क्षेत्रमा स्थापित हुन निकै संघर्ष गर्नुपर्ने रहेछ। घरव्यवहार, पेशागत जिम्मेवारी र वृत्तिविकासका सबै पक्षलाई सन्तुलित बनाइ समान रूपले अघि बढाउनु निकै चुनौतिपूर्ण छ। तर यसो भन्दैमा हार मान्नु हुँदैन। धैर्यता र लगनशीलताले नै सफल भइने हो। अनि परिवारले पनि निरन्तर साथ दिनु अति आवश्यक हुन्छ। परिवारको साथ सहयोग र हौसलाबिना जो कोहीलाई पनि आफ्नो क्षेत्रमा सफल हुन निकै कठिन हुन्छ। महिलालाई विभिन्न क्षेत्रको जिम्मेवार तहमा पुर्याउन उसको मेहनतको साथै परिवारको पनि साथ जरुरी छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तारा वाग्ले का अन्य पोस्टहरु:
गाविस सचिवदेखि संघीय सचिवसम्म बिन्दु बिष्टको यात्रा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link