पर्रोहा परमेश्वर ज्योतिर्लिङ्गमा भक्तजनको ओइरो

चन्द्रकान्त खनाल/रूपन्देही

२०४८/४९ सालतिर यहाँका हिन्दू धर्मावलम्बीहरू श्रावणी मेलामा जलार्पण गर्न भारतको झारखण्डस्थित बैजनाथ धाममा जाने चलन थियो। दुई दशकयता भने रूपन्देहीको सैनामैनास्थित पर्रोहास्थित ज्योतिर्लिङ्गको महत्व र प्रचार प्रसार यतिधेरै भयो की नेपाली त नेपालमा रोकिएनै, पारी भारतका भक्तजनको ओइरो लाग्यो।  यसपालीको साउन महिनामा पनि थामी नसक्नु भक्तजन आए।

धामका मूल पूजारी चन्द्र नेपाल भन्नुहुन्छ, ‘बोलबम यात्राका क्रममा दर्शनार्थीहरू चर्को घाम र वर्षाको समेत वास्ता नगरी जलार्पणका लागि आउने गरेका छन्। पैदल मात्र नभइ सुतेर शरीरले नाप्दै यात्रा गर्ने, श्रवणकुमारले झैं बाबुआमा बोकेर तीर्थस्थलदेखि बोलबम धामसम्म यात्रा गर्नेहरू पनि यहाँ भेटिन्छन्।’

दर्शनार्थीको भीडलाई ध्यान दिँदै यस धामको मन्दिरको ढोका बिहान ३ बजेदेखि नै खुला गर्ने गरिएको थियो। नेपालमै पहिलोपटक बोलबम जलार्पण यात्रा सञ्चालन गरिएको यो धाममा कोरोना महामारीका कारण २०४९ सालदेखि सञ्चालन हुँदै आएको यात्रालाई विगत दुई वर्ष भिडभाड नगरी औपचारिकतामा मात्र सीमित गरिएको थियो। यस वर्षदेखि भने भव्य रूपमा सञ्चालन गर्न बृहत् भेला आयोजना गरी बोलबम यात्रा सञ्चालन समिति गठन गरिएको थियो।
विष्णु भण्डारी ‘भोलेबाबा’को संयोजकत्वमा गठन गरिएको समितिमा विगतमा जस्तै सम्पूर्ण स्वयंमसेवक श्रद्धालु भोलेभक्तहरूलाई समेटी विभिन्न उप समितिहरू बनाइएको थियो।
गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म एक महिना सञ्चालन हुने यहाँको बोलबम मेलामा भगवान् शिवलाई जलार्पण गर्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभएर भारतको उत्तर प्रदेश, बिहारका विभिन्न जिल्ला, हरिद्वार र हरियाणाबाट समेत भक्तजनहरू जलार्पणका लागि आउने गरेका छन्।
‘सोमबार सबैभन्दा धेरै दर्शनार्थी आउँछन्, कुनै सोमबार त एक लाख जनासम्म आउनुहुन्छ’, धामका अध्यक्ष रामबली चौधरीले भन्नुभयो– ‘कतिपय भक्तजनहरू टाढाटाढाबाट पैदलयात्रा गरेरै जलार्पण गर्न आइपुग्छन्।’
बोलबम धाममा भक्तजनले रूपन्देहीको रामघाट, कपिलवस्तुको लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्वारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथ लगायतका स्थानहरूबाट गंगाजल ल्याई यहाँ ल्याएर अर्पण गर्ने गरेको बोलबमधाम यात्रा समितिका संयोजक विष्णु भण्डारीले बताउनु भयो।
बुटवलबाट १४ किलोमिटर पश्चिमतिर पूर्व–पश्चिम राजमार्गको रानिबगियाबाट दुई किलोमिटर दक्षिणमा अवस्थित पर्रोहा परमेश्वरधाम ३२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। धाममा मूल मन्दिर, १०८ शिव लिङ्ग, अर्धचन्द्र आकारको धाम सरोवार, धाम सरोवरमा साढे ५ फुट अग्लो शिवजीको मूर्ति आदि छन्। गणेश, हनुमान, सन्तोषीमाता, पार्वती, लक्ष्मी नारायण, राधकृष्ण मन्दिर पनि छन्। साधु सन्त निवास, पुरानो धर्मशाला, पाकशाला समेत रहेको यस धामको नाममा सरकारले हुलाक टिकटसमेत प्रकाशन गरिसकेको छ।
श्रावणी मेलामा यहाँ बाल उद्यान र दर्जनौं व्यापारिक स्टलहरू समेत रहने गर्छन्। विगत २ वर्ष कोरोना महामारीले गर्दा भिडभाड कम गर्नुपर्ने अवस्था आएको थियो तर यस पटक मेला व्यवस्थापन गर्न समिति नै बनाइएको छ। यस वर्ष पाँच लाख भक्तजनले यस धाममा जलार्पण गर्ने अनुमान गरिएको अध्यक्ष चौधरीले बताउनुभयो। दर्शनार्थीको व्यवस्थापनका लागि स्थानीय स्वयम्‌सेवक, आमा समूह र प्रहरीसमेत रहने व्यवस्था मिलाइएको छ।
करिब डेढ सय वर्षअघि सौनामैनाको पर्रोहाका स्वर्गीय चन्द्रभान चौधरीका जिजु हजुरबुबाले जङ्गल र झाडीभित्र शिवलिङ्ग फेला पारेको जनश्रुति रहेको छ। स्थानीय थारुहरूले अहिले पनि मन्दिरलाई विषेश महत्व दिएर पूजा आजा गर्ने गरेका छन्।
२०३५ सालमा भारतको पञ्जागढ झारढोरबाट आउनुभएका १०८ स्वामी रमेश गिरी ‘नागाबाबा’ले बोलबमधामको संरक्षण र व्यवस्थापन गर्नुभएको थियो। नागाबाबाले मन्दिर निर्माणका लागि व्यक्ति तथा सरकारी जग्गा उपलब्ध गराइदिन पहल गरेका थिए।
सैनामैना नगरपालिकाका प्रमुख फडेद्रप्रसाद शर्माले बोलबम धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटनको केन्द्र बनाउने तयारीका साथ काम भैरहेको बताउनु भयो। गुरुयोजना अन्तर्गत नै पुनर्निर्माण सुरु गरिएको छ।
बोलबम धाममा चारवटा ढोका हुनेछन् भने संरचनामा ५१ फिट लम्बाइको छानो हुनेछ। पहिलो चरणको काम सम्पन्न गर्न छ करोड ५७ लाख रूपैयाँमा ठेक्का सम्झौता भैसकेको छ। सम्झौता अनुसार पहिलो चरणमा प्यागोडा शैलीमा तामाको छानोसहित दुई तले मूल मन्दिर र सत्तल निर्माण हुने छ– नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेले बताउनु भयो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
पर्रोहा परमेश्वर ज्योतिर्लिङ्गमा भक्तजनको ओइरो
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link