मानव सेवा आश्रममा पन्ध्र सय संरक्षित

मानवसेवा आश्रमले देशको ७ प्रदेशका १९ जिल्लामा रहेका २७ वटा केन्द्रहरूबाट सेवा सञ्चालन गरिरहेको र हाल एक हजार ५०० सहयोगापेक्षी सडकआश्रित मानिसहरूलाई संरक्षण दिइरहेको छ।
नेपालकै समाजसेवीहरुबाट प्रवर्द्धित मानव सेवा आश्रम अहिले मानवताको पर्याय बनेको छ।
मानसिक सन्तुलन गुमाएका वा आश्रय नपाएर सडकमा भौंतारिइरहेका मानिसका लागि अहिले यो आश्रम जीवन जीउने आधार बनेको छ। सडकमा जीवन बिताउन बाध्य भएकाहरूलाई उद्धार गरी सेवासुश्रुसा गरिरहेको मानव सेवा आश्रमले यही भदौ १३ गते एकदशक पूरा गर्न लागेको छ। घर परिवार र समाजबाट अपहेलित भएकाहरूलाई प्रदान गरेको सेवाले मानववादी दृष्टिकोणलाई व्यवहारमै उतार्न मकवानपुरको हेटौडास्थित मानवसेवा आश्रम सफल भएको छ।
मानवसेवा आश्रमकै कारण सडकमा झुत्रे झाम्रे लुगा लगाएर वा नाङ्गै हिँडिरहेका धेरैको जीवन शैली अहिले परिवर्तन भएको छ। उद्धार गरिएकाहरूले बस्नका लागि ठूलो घर पाउनुभएको छ। त्यो घरमा आनन्दको जीवन बिताउन पाइरहनुभएको छ। जसको कारण बनेको छ– मानव सेवा आश्रम र त्यसका संस्थापक अध्यक्ष रामजी अधिकारी।


विक्रम संवत् २०८२ सालसम्ममा सडकपेटी र सार्वजनिक स्थलहरूमा सहयोगापेक्षी मानिस मुक्त देश बनाउने अभियानमा हिँडेको छ– अधिकारी नेतृत्वको मानव सेवा आश्रम। यहाँको सेवा पाउनेहरूलाई कैठबरा भन्नुपर्ने अवस्था नै छैन। आश्रय लिएकाहरूको उपचार, आवश्यक परामर्श तथा बालबालिकालाई पढाउने समेतको कार्य गरिरहेको छ– यस आश्रमले।
हामीले २०६९ सालदेखि सुरु गरेको आश्रमले हालसम्म सात हजार २०० भन्दा बढीको उद्धार गरिसकेको छ। सेवा सुरु गर्दा सबैले यस्तो संवेदनशील काम कसरी गर्न सकिएला र ? भन्दै शंका व्यक्त गरेका थिए। डा. गोविन्द टण्डन अध्यक्ष रहेको गैरसरकारी संस्था ‘सर्वोत्कृट जीवन शास्वत चिन्तन, साँचो जीवन निर्माण अभियान’मा लागेका व्यक्ति हुनुहुन्छ– हेटौडास्थित मानव सेवा आश्रम र त्यसका संस्थापक अध्यक्ष रामजी अधिकारी। गोरखाबाट हेटौडा आएका अधिकारीको नेतृत्वमा अहिले देशभरिका विभिन्नस्थानमा मानवसेवा आश्रम बनाउने अभियान सञ्चालन भइरहेको छ।
अधिकारी भन्नुहुन्छ– सुरुका चरणमा आश्रमलाई सहयोग गर्न अनुरोध गर्दा निकै कठिनाइ भएको थियो। विस्तारै हेटौडालगायत अन्य क्षेत्रका मानिसको मन परिवर्तन हुँदै गयो र सहयोग पनि बढ्दै गयो।
आश्रम कसरी सुरु गरियो ?
२०६७ सालमा मानवसेवा आश्रमको मातृसंस्था ‘सर्वोत्कृष्ट जीवन: शाश्वत चिन्तन, साँचो जीवन निर्माण अभियान’को माध्यमबाट कार्यक्रमहरू सञ्चालन गरेको १ वर्ष पुगेको अवसरमा हेटौडामा सप्ताहव्यापी कार्यक्रम गर्ने योजना बन्यो। एकदिन सडकका पेटीमा बसोबास गर्ने व्यत्तिहरूसँग सहभोज गर्ने योजना बनाइयो। हेटौडा नगरपालिकाको सहयोगमा सडक रहेका १८ जना बेवारिसे, अशक्त र मानसिक सन्तुलन गुमेका व्यक्तिहरूलाई सरसफाइ र नुवाइ धुवाइ गरेपछि कार्यक्रम सकिने समयमा बेस्सरी पानी पर्‍यो।


अधिकारी सम्झँदै भन्नुहुन्छ– ‘पानी परेपछि उहाँहरू पहिले बसेको सडकमा ल्याएर छोड्ने अवस्था पनि बनेन। आफूसँगै राख्न पनि सकिँदैन थियो। पानी रोकिएपछि सडकमा जहाँ बसिरहेका थिएँ त्यहीं लगेर छोड्यौं तर रातभरि मनमा पीडाबोध भइरह्यो। सडकमा भएका व्यक्तिहरूका लागि हामी परिवार बन्नुपर्छ भन्ने सोचले हामीलाई मानवसेवा आश्रम स्थापना गर्न प्रेरित गर्‍यो।’
आफ्नै दिसा पिसाब त गह्नाउने हामीलाई केही नाता नै नभएका व्यक्तिहरूको दिसा पिसाब सोहोर्न सुरुका दिनमा पक्कै सजिलो थिएन। साथै आश्रममा पकाउनका लागि केही हुँदैनथ्यो। सहयोगका लागि बोरा लिएर माग्न जाँदा कसैले कुकुर फुकाएर छाडिदिन्थे त कसैले फोहोर पानीले छ्यापिदिन्थे।
अहिले भने परिस्थिति बदलिएको छ– मानव सेवा आश्रम खोज्दै सहयोग गर्न आउने संख्यामा वृद्धि भइरहेको छ, अधिकारीले भन्नुभयो।
कसरी चल्छ त मानव सेवा आश्रम ?
मानवसेवा आश्रमको मुख्य आम्दानीको स्रोत भनेको नै मुठ्ठीदान हो। आश्रम स्थापना भएदेखि नै कुनै पनि दातृ निकायको सर्तसहितको सहयोग स्वीकार नगर्ने कुरालाई आत्मसात गरी सेवा सञ्चालन गर्दै आइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो। जन्मदिन, विवाह वर्षगाँठ, संस्थाको वार्षिकोत्सव, ब्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वहरूमा खुसीयाली मनाउन साथै पितृहरूको सम्झनामा भोजन गराउन अन्य मनोरञ्जन तथा भोजमा हुने खर्च कटाएर विभिन्न व्यक्तिहरूले सहयोग गरीरहेका छन्। आश्रमको उचित व्यवस्थानका लागि वार्षिक क्यालेण्डर बनाएर सहयोग अभियान सुरु गरिएको छ। हालसम्म वर्षको ९० दिन सहयोग गर्ने दाता तयार भएको जानकारी आश्रमका अध्यक्ष अधिकारीले दिनुभयो।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पनि अहिले उल्लेख्य सहयोग गरेका छन्। पछिल्लो समय आश्रममा लाग्ने खर्चको ४० प्रतिशत सरकारी अनुदानबाट चलेको छ भने ६० प्रतिशत देश विदेशमा रहेका नेपालीहरूको सहयोगबाट चल्दै अएको छ। आश्रमहरूमा अहिले मासिक २ करोड खर्च भइरहेको छ भने २ अर्ब बराबरका संरचनाहरू तयार भइसकेका छन्। आश्रमलाई दिइएका जग्गाहरूको हिसाब भने यसमा जोडिएको छैन।
आश्रमको सेवामा अभियन्ताहरू २४ घण्टा खटिइरहेका छन्। केही प्राविधिक कर्मचारीहरू, स्वास्थ्यकर्मी, सुरक्षा गार्डहरू भने आवश्यकताको आधारमा केही पारिश्रमिक लिएर २४ सै घण्टा आश्रमको सेवा गरिरहेका छन्।
मानिस कसरी सडकमा पुग्छन् ?
मानिसहरू विभिन्न कारणले सडकमा पुगिरहेका छन्। कोही मानसिक सन्तुलन गुमाएर उपचार नपाएकाहरू सडकमा पुगेका छन्। कोही आफन्त विहीन छन्, कोही कवाडी संकलन गरेर दैनिकी टार्र्नेहरू छन्। कोही एक ठाउँमा बस्नै नरुचाउनेहरू छन्– अर्थात् फिरन्ते जीवन यापन गर्न रुचाउनेहरू। कतिले त माग्ने कामलाई पेशा नै बनाइरहेका छन्। अधिकारीका अनुसार घरपरिवारबाट अपहेलित भएकाहरू पनि छन्। मानसिक रूपमा कमजोर भएपछि परिवारले नै सडकमा ल्याएर सडकमा छाडि दिएको पनि पाइयो। मानसिक अस्वस्थाताका कारण हेरचाहको अभावले फिरन्ते जीवनयापन गर्न बाध्य पारिएकाहरु पनि छन्। माग्न कै लागि बालबच्चालाई सडकमा छाडिदिनेहरु पनि छन्। स्वेच्छाको नाममा स्वच्छन्दताको जीवनयापन गर्नेहरू पनि भेटिएका छन्। कति मानिस त दुर्घटनाका कारण पनि सडकमा पुगेका छन्।
अधिकारी भन्नुहुन्छ– ‘आमाबाबा भनेका जीवित देवीदेवता हुन् भन्ने सन्देश फैलाउँदै आएका छौं। उहाँहरूलाई खुसी बनाउन सकिएन भने मठमन्दिरमा गएर पूजापाठ गर्नुको कुनै अर्थ छैन।’
सेवा भावनाको सन्देश फैलाउने आश्रमले धेरै स्कुल, कलेज, सरकारी निकायलगायत विभिन्न स्थानमा मानवता प्रवद्र्धन अभियान अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
आश्रमले अहिले विभिन्न जीवनोपयोगी तालिम, सेमिनार, अन्तरक्रिया, नाटक एवं मानववादी दृष्टिकोण प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
यो संस्थाको मुख्य कार्यालय, हेटौडामा रहेको छ। देशभरिमा यस आश्रममार्फत २०० जना समर्पित अभियन्ताहरूले सेवा प्रदान गरिरहेका छन्। यस्तै आश्रमले अहिलेसम्म ३ हजार ४ सय ९ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको छ। यस्तै आश्रममा आएर उपचार पाएपछि शारीरिक र मानसिक रुपमा ठीक भएर रोजगारीका लागि ३ सय ५९ जना गएको तथ्यांकमा उल्लेख छ।
पुरुषका तुलनामा महिलाको पुनर्मिलन गराउन अनेक चुनौती देखिएका छन्। पितृसत्तात्मक चिन्तनका कारणले पनि सडकमा आएका महिलाहरूको पारिवारिक व्यवस्थापनमा कठिनाइ हुने गरेको अधिकारीले बताउनुभयो। आश्रमले भारतमा १ सय ५० भन्दा बढी, बंगलादेशका ५, चीन र बेलायतका १–१ जनालाई उद्धार गरेको जनाएको छ। मानसिक सन्तुलन गुमाएपछि घर तथा गोठमा बाँधिएर राखेका २०० जनाजतिलाई उद्धार गरिसकेको जानकारी पनि आश्रमले दिएको छ।

मकवानपुरको हेटौडामा करिब १२ करोडको लगानीमा मानवसेवा आश्रमको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएको छ। यस्तै चितवनको नारायणगढमा जनस्तरबाटै २२ करोड बराबरको जग्गा प्राप्त भई भवननिर्माणको कार्य अन्तिम चरणमा रहेको, रुपन्देही जिल्लामा सामाजिक संस्थाबाट जग्गा प्राप्ति भई भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको छ।
यस्तै नागार्जुन नगरपालिकाबाट २७ रोपनी जग्गाको प्रयोगाधिकार प्रदान भएर काठमाडौं महानगरपालिकाबाट संरचना निर्माणको लागि लाग्ने आर्थिक भारको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त भइसकेको छ।

कहाँ कहाँ सेवा विस्तार गरिएको छ ?
हेटौडामा मुख्य कार्यालय सहित चितवन, काठमाडौ, ललितपुर, गोरखा, लमजुङ, बागलुङ, पर्सा, कास्की, कैलाली, सुर्खेत, रुपन्देही, मोरङ, भक्तपुर, सर्लाही, दाङ, झापा, धनुषा र बाँकेमा आश्रम सञ्चालन भइरहेको छ। हालसम्म ममानवसेवा आश्रमसँगको पहल र सहकार्यमा सरकारले गण्डकी प्रदेश, कर्लाणी प्रदेश, मकवानपुर जिल्ला, गोरखा नगरपालिका, पशुपति क्षेत्र, भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धबाबा मन्दिर धाम पाल्पा, विराटनगर महानगरपालिका र बाजुरा जिल्लालाई सहयोगापेक्षी मानवमुक्त क्षेत्र घोषणा गरेको छ।
अहिले सडकमा सहयोगापेक्षी मानव देखियो भने प्रहरीलगायत स्थानीय तहले उद्धार गरेर मानव सेवा आश्रममा ल्याउने गरिएको छ।
मकवानपुरको हेटौडामा करिब १२ करोडको लगानीमा मानवसेवा आश्रमको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएको छ। यस्तै चितवनको नारायणगढमा जनस्तरबाटै २२ करोड बराबरको जग्गा प्राप्त भई भवननिर्माणको कार्य अन्तिम चरणमा रहेको, रुपन्देही जिल्लामा सामाजिक संस्थाबाट जग्गा प्राप्ति भई भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको छ।
यस्तै नागार्जुन नगरपालिकाबाट २७ रोपनी जग्गाको प्रयोगाधिकार प्रदान भएर काठमाडौं महानगरपालिकाबाट संरचना निर्माणको लागि लाग्ने आर्थिक भारको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त भइसकेको छ।
नेपाल सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नागार्जुन नगरपालिका र मानवसेवा आश्रमको त्रिपक्षीय सहमतिमा करिब ४०० जना मानिसहरूको संरक्षण गर्न मिल्ने प्रयोगविहीन अवस्थामा मन्त्रालयको स्वामित्वमा नागार्जुन नगरपालिकामा रहेको भवनको प्रयोगाधिकार प्रदान गरिएको छ। पोखराको हेम्जामा ६३ रोपनी जग्गा प्राप्त भई मानवसेवा आश्रमको भवनसहित मानवीय स्मारकको निर्माण कार्य शुभारम्भ गरिएको छ।
यसैगरी पर्सा, झापा र कैलालीमा मानवसेवा आश्रमको भवन निर्माणको लागि जग्गा प्राप्त भएको जानकारी पनि अध्यक्ष अधिकारीले दिनुभएको छ।
मानवसेवा आश्रमको प्रदेश नं. १, विराटनगर शाखाको संरचना निर्माण गर्न दाताहरूबाट बकस गरी ६.५ कठ्ठा र बाँकी ७ कठ्ठा प्रयोगाधिकार गरी १३.५ कठ्ठा जग्गा प्रदान गरिएको छ। त्यस जग्गामा भवननिर्माणको कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ।
मानवसेवा आश्रमको सर्लाही जिल्ला शाखाकोे लागि १० बिगाहा जग्गा स्थानीय स्तरबाटै उपलब्ध गराउने प्रतिबद्धता भएको छ। गोरखा जिल्लामा गोरखा नगरपालिकाको सहयोगमा सरकारी जग्गाको प्रयोगाधिकार प्राप्त भई भवननिर्माणको कार्य अगाडि बढिरहेको, बागलुङ शाखाको लागि सरकारी स्वामित्वको जग्गा प्रयोगाधिकार प्राप्त भई भवन निर्माणको कार्य भइरहेको, लमजुङमा स्थानीय दाताहरूबाट जग्गा प्राप्त गरी भवन निर्माणको कार्य भइरहेको जानकारी पनि आश्रमले दिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
मानव सेवा आश्रममा पन्ध्र सय संरक्षित
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link