असहाय र गरिबलाई नि:शुल्क सेवा दिँदै लुम्बिनी प्रादेशिक अस्पताल

अहिलेसम्म १० हजार ५ सय जना लाभान्वित भए

चन्द्रकान्त खनाल/रूपन्देही

लुम्बिनी प्रादेशिक अस्पताल असहाय र विपन्न वर्गका लागि सहारा बनेको छ। यस अस्पतालमा आएका कुनै पनि बिरामीले आर्थिक अभावकै कारण उपचार नपाएर फर्किनु परेको छैन।
अस्पतालको सामाजिक सेवा एकाइबाट उनीहरूको उपचार नि:शुल्क गर्ने गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा १० हजार ५ सय जनाले यस अस्पतालबाट नि:शुल्क उपचार सेवा लिइसकेका छन् ।
सम्बन्धित पालिकाले दिएको सिफारिस तथा परिचयपत्रको आधारमा बिरामीलाई नि:शुल्क उपचार, खाना र आवश्यकता अनुसार आउने जाने भाडा समेत उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ।
यस अस्पतालबाट अहिलेसम्म गरिब, असहाय, लैंगिक हिंसाबाट प्रभावित, जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंम्सेविका, कुपोषित, शहीद परिवार, प्राकृतिक प्रकोप प्रभावित, थुनुवा र दुर्घटनामा परेर घाइते भएकालाई प्राथमिकतामा राखेर उपचार सेवा उपलब्ध गराउँदै आएको सामाजिक सेवा एकाइ प्रमुख नेत्रप्रसाद आचार्यले बताउनुभयो ।
अस्पतालले उल्लिखित वर्गका बिरामीहरूको परीक्षण, बेड, अप्रेशन र औषधीका लागि आवश्यक प्रबन्ध गर्दै आएको छ । यस सेवाका लागि अस्पतालले २ करोड भन्दा बढी खर्च गरेको आर्चायले बताउनुभयो । गरिबले सेवा पाउन गाउँ /नगरपालिका र वडाको सिफारिस ल्याउनुपर्ने हुन्छ । त्यस्तै जेष्ठ नागरिकले बृद्धभत्ता पाउने कार्ड वा नागरिकता लगायत उमेर खुल्ने परित्रयपत्र र महिला स्वयम् सेविकाको परिचयपत्रको आधारमा पनि उपचार सेवा पाउने गरेका छन् ।
नेपाल सरकारले अपांगहरूलाई ४ वर्गमा विभाजन गरेको छ । ती मध्ये २ खालकालाई ५० प्रतिशत नि:शुल्क सेवा उपलब्ध गराउने गरिएको आर्चायले बताउनुभयो । त्यस्तै शहीद परिवारलाई नि:शुल्क उपचार सेवाका साथै आउन जानका लागि यातायात खर्चसमेत दिइने गरेको उहाँले बताउनुभयो ।
गुल्मीका बिनोद नेपालीले आर्थिक अभावका कारण पाल्पाको प्रभास अस्पतालबाट फिर्ता हुनु परेको थियो । त्यसपछि उनी लुम्बिनी प्रादेशिक अस्पतालमा जिल्ला प्रशासन कार्यालय गुल्मीको सिफारिस लिएर पुग्नु भएको थियो । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहेका विनोदको कुरुवा बसेका उनका काका भीमबहादुर नेपाली भन्नुहुन्छ– ‘प्रभास अस्पतालले हाम्रो क्षमताभन्दा धेरै पैसा मागेपछि केही उपाय नभएकाले मृत्यु कुर्न बाध्य भएर फर्किएका थियौं । गुल्मी अस्पतालमा फर्केपछि इस्मा गाउँपालिकाका प्रमुख भगत सिंह खड्का, प्रमुख जिल्ला अधिकारी र त्यस अस्पतालका इन्चार्ज लगायत धेरैले सहयोग गर्नु भयो । अन्तत: हामीले माया मारेको मान्छे (विनोद) लाई बचाउन सक्यौं ।’


विनोद र उनका काका साउन २६ गते लुम्बिनी प्रादेशिक अस्पताल आइपुग्नुभएको हो । यहाँ आएदेखि यस अस्पतालका मेसु इन्द्र ढकाल अन्य डाक्टर र सिस्टरहरूले छिनछिनमा आएर हेरचाह–उपचार गरिरहनु भएको छ । यसबापत उहाँहरूले अहिलेसम्म पैसा खर्च गर्नु परेको छैन ।
विनोदका काका भीमबहादुर नेपाली भन्नुहुन्छ– ‘अहिले विनोद मृत्युको मुखबाट फर्किसकेको छ, अब बाँचेपछि त केही गरेर खाला । मानिसहरूले सरकारी अस्पताल भनेर मुख खुम्च्याउँथे तर वास्तवमा हामीलाई चाहिने त सरकारी अस्पताल पो रहेछ ।’ हामीजस्तै अरु गरिबले पनि आर्थिक अभावकै कारण मर्ने स्थिति नआओस्, यस्तो सेवा सबैले पाइरहुन्– भीमबहादुर नेपालीले भन्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले गत ३ आर्थिक वर्षमा पहिलो वर्ष ५८ सय, दोस्रो वर्ष ७७ सय र तेस्रो वर्ष अहिले १० हजार ५ सय जनाले सेवा पाइसकेको बताउनुभयो । यस अस्पतालमा आर्थिक अभाव, असहाय, बेसहारा भएकै कारणले उपचार पाउनबाट बञ्चित हुनुपर्ने अवस्था नरहेको ढकालले बताउनुभयो ।
कुन कुन बर्गका बिरामीलाई कति छुट दिइन्छ ?
—अति विपन्न र ८५ वर्ष भन्दा माथिकालाई परिचयपत्र र सिफारिसको आधारमा पूरै नि:शुल्क
—गरिबलाई ५० प्रतिशत छुट
—अपाङ्ग (रातो कार्डवाला) लाई पूरै नि:शुल्क
— अपाङ्ग निलो कार्डवालालाई ५० प्रतिशत
—थुनुवा वेवारिसेलाई पूरै नि:शुल्क
—मानवसेवा आश्रमकालाई पूरै नि:शुल्क
—जेष्ठ नागरिकको हकमा ६० देखि ६९ वर्षसम्मकालाई ५० प्रतिशत
—७० देखि ७९ वर्षसम्मका जेष्ठ नागरिकलाई ७५ प्रतिशत नि:शुल्क
—८० वर्षदेखि माथिका सबैलाई नि:शुल्क उपचार
—लैंगिक हिंसा प्रभावितलाई पूरै नि:शुल्क
—सीमान्तकृत तथा लोपोन्मुखलाई ५० प्रतिशत नि:शुल्क
—महिला स्वयमसेविकालाई ५० प्रतिशत नि:शुल्क
—शहीद परिवारलाई पूरै नि:शुल्क साथमा आउन–जान यातयात खर्च पनि ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
असहाय र गरिबलाई नि:शुल्क सेवा दिँदै लुम्बिनी प्रादेशिक अस्पताल
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link