केन्याविरुद्धको एकदिवसीय शृंखलामा नेपालद्वारा ‘क्लीन स्विप’

आशुतोष अधिकारी

केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले घरेलु टोली विरुद्धको तीन एकदिवसीय खेलको शृंखला ‘क्लीन स्विप’ गर्न सफल भएको छ । शुरूका दुई खेल जित्दै यस अघि नै सिरिज आफ्नो नाम दर्ता गराइसकेको नेपालले सोमवार सम्पन्न अन्तिम एकदिवसीय खेलमा समेत केन्यालाई ६ विकेटले पराजित गर्दै केन्या भ्रमणको सुखद समापन गरेको छ । अन्तिम खेलमा नेपालका तीन ब्याट्स्म्यानले अर्धशतक प्रहार गर्दै केन्याले दिएको २५६ रनको लक्ष्य ४ विकेटको नोक्सानीमा ४७.१ ओभरमा पूरा गरेका थिए ।
केन्याविरुद्ध पाँच टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्न सेप्टेम्बर २५ मा नैरोबी पुगेको नेपाली टोलीले टी–२० शृंखलामा पनि केन्यालाई ३–२ ले पराजित गरेको थियो तर सो शृंखलामा नेपालको समग्र प्रदर्शन भने चित्तबुझ्दो हुन सकेको थिएन । अन्तिम टी–२० लाई छाडेर अन्य खेलहरूमा नेपाली ब्याट्स्म्यान स्वाभाविक खेल देखाउन असफल भएका थिए । पाँचौं टी–२० मा ज्ञानेन्द्र मल्लले बनाएको ५९ रन सो शृंखलामा नेपाली खेलाडीको तर्फबाट बनेको एकमात्र अर्धशतक थियो भने चौथो खेलमा १०२ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा केवल ९४ रन मात्र बनाउन सकेको थियो । पाँच खेलमा ११ विकेट लिएका कप्तान सन्दिप लामिछानेलाई छाड्ने हो भने नेपाली बलरहरूको प्रदर्शन प्रभावशाली रहन सकेको थिएन । टी–२० शृंखला नेपालले जिते पनि समर्थकको मन जित्न नसकेको प्रतिक्रियाहरू आएका थिए ।
केन्याविरुद्धको एकदिवसीय शृंखलामा भने नेपाली खेलाडीहरूले उत्कृष्ट पुनरागमन गर्दै शानदार ब्याटिङ र बलिङको नमूना प्रस्तुत गरेका थिए । पहिलो एकदिवसीयमा केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ३ विकेटको नोक्सानीमा सहजै पूरा गरेको थियो । यस क्रममा नेपालका प्रारम्भिक ब्याट्स्म्यान आशिफ शेखले ११० रन र अर्जुन साउदले ६० रन प्रहार गर्दै पहिलो विकेटका लागि १४१ रनको किर्तिमानी साझेदारी गर्दै नेपाललाई सहज जीत दिलाउन प्रमुख भूमिका खेलेका थिए । १२० बलको सामना गर्दै १२ चौका र २ छक्काको सहयागमा ११० रन बनाएका आशिफको यो क्यारिअरको पहिलो शतक हो भने अर्जुनको पनि यो पहिलो एकदिवसीय अर्धशतक हो ।

केन्या जीततर्फ उन्मुख भएका समयमा केन्या भ्रमणमा ब्याटिङमा पूर्णरूपमा असफल दिपेन्द्रसिंह ऐरीले नेपाललाई ‘ब्रेक थ्रु’ दिलाएका थिए । ८१ रनमा खेलिरहेका केन्याका रकिप पटेललाई दिपेन्द्रले बसिर अहमदको हातबाट क्याचआउट गराएपछि मात्र नेपाल खेलमा फर्कन सकेको थियो ।

दोस्रो एकदिवसीयमा पहिले ब्याटिङ गरेर २३० रनको मध्यम स्कोर खडा गरेको नेपाल सो योगफल रक्षा गर्न सफल भएको थियो । नियमित कप्तान सन्दिप लामिछाने क्यारेवियन लिग खेल्न वेष्टइन्डिजतर्फ प्रस्थान गरेपछि एकदिवसीय शृंखलामा कप्तानी गर्ने मौका पाएका मध्यक्रमका भरपर्दा खेलाडी रोहित पौडेलले बहादुरीपूर्र्र्ण ७८ रन बनाएपछि मात्र नेपाल २०० रनको आँकडा पार गर्न सफल भएको थियो । केन्या जीततर्फ उन्मुख भएका समयमा केन्या भ्रमणमा ब्याटिङमा पूर्णरूपमा असफल दिपेन्द्रसिंह ऐरीले नेपाललाई ‘ब्रेक थ्रु’ दिलाएका थिए । ८१ रनमा खेलिरहेका केन्याका रकिप पटेललाई दिपेन्द्रले बसिर अहमदको हातबाट क्याचआउट गराएपछि मात्र नेपाल खेलमा फर्कन सकेको थियो । सो खेलमा दिपेन्द्रसिंह ऐरीले ५.१ ओभर बलिङ गर्दै एक मेडन ओभरसहित १२ रन खर्चेर ४ विकेट हात पारेका थिए ।
तेस्रो एकदिवसीयमा भने नेपाली खेलाडीहरू भिन्नै अवतारमा देखिए । पहिले ब्याटिङ गरेर केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका दुई प्रारम्भिक जोडी अर्जुन साउदले ५८ रन र आशिफले ५६ रन बनाउँदै नेपाललाई शानदार शुरूवात दिलाएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्लले ३३, कप्तान रोहित पौडेलले अविजित ४६ रन र खेलको अन्त्यतिर अलराउण्डर बसिर अहमदले ५१ रनको अविजित पारी खेलेपछि केन्याविरुद्धको तीन खेलको शृंखला ‘क्लीन स्विप’ गर्न नेपाल सफल भएको थियो । बसिर अहमदको पनि यो पहिलो एकदिवसीय अर्धशतक हो ।
समग्रमा भन्नुपर्दा केन्या भ्रमण सकारात्मक नतिजाका साथ समाप्त गर्न नेपाल सफल भएको छ । नेपालले केन्या भ्रमणमा जानुभन्दा केही समय अघि नियुक्त गरिएका प्रशिक्षक भारतका मनोज प्रभाकरको प्रभाव बिस्तारै नेपाली टोलीमा देखिन थालेको छ । नेपाली खेलाडीहरूको ब्याटिङमा रहेको समस्यातर्फ इंगित गर्दै प्रभाकारले यसको समाधान निकाल्ने जुन प्रतिवद्धता व्यक्त गरेका थिए, धेरै हदसम्म उनी त्यसमा सफल पनि भएका छन् ।

भरपर्दा ब्याट्स्म्यान दिपेन्द्रसिंह ऐरीको ब्याट चल्न नसक्नु नेपालको लागि टाउको दुखाइको विषय बनिरहेको अवस्थामा टोलीबाट बाहिरिसकेका नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल टोलीमा उत्कृष्ट पुनरागमन गर्न सफल भएका छन् । टी–२० सिरिजका सबै खेलमा मौका पाएका दिपेन्द्रले पाँच खेलमा गरेर जम्मा ७० रन मात्र बनाउन सके भने एकदिवसीयमा पनि उनी ब्याटिङमा असफल नै भए । उता केन्या भ्रमण अगाडिसम्म राष्ट्रिय टोलीमा भविष्य अनिश्चित देखिएका पूर्वकप्तान मल्लले केन्या भ्रमणमा पाएकोे अवसरको भरपूर सदुपयोग गर्न सफल भए । टी–२० सिरिजमा नेपालका तर्फबाट एकमात्र अर्धशतक बनाएका मल्लले पूरा शृंखलाभरि एकरूपतापूर्ण ब्याटिङ गर्दै २७ भन्दा माथिको औसतमा १२७ रन बनाउँदै टोलीमा आफ्नो उपयोगिता अझै समाप्त नभएको प्रमाणित गरेका छन् । त्यस्तै एकदिवसीय शृंखलामा पनि मल्लको ब्याटिङ सन्तोषजनक नै रह्यो ।
त्यस्तै अलराण्डर आदिल अन्सारीको आगमनले मजबूत देखिएको नेपालको मध्यक्रम अर्का अलराण्डर बसिर अहमदको आगमनले थप बलियो बनेको छ । शेख दाजुभाइ आशिफ र आरिफको ब्याट चल्नु नेपालका लागि सुखद पक्ष त हो नै, देव खनाल र अनिल साउदजस्ता नयाँ युवा ब्याट्स्म्यानहरूको उदय पनि नेपालको हकमा शुभसमाचार रह्यो । आफ्नो पहिलो एकदिवसीय शृंखलामा नै साउदले दुई अर्धशतक प्रहार गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन् भने देव खनालको खेल्ने शैलीले पनि समर्थकहरूलाई प्रभावित बनाएको छ । दुवै खेलाडीलाई भविष्यमा राम्रो गर्न सक्ने खेलाडीको रूपमा आँकिएको छ ।
बलिङतर्फ सोमपाल कामी र करन केसीबाहेक टोलीमा भर्खरै स्थान बनाएका आदिल अन्सारी, बसिर अहमद र किशोर महतोको प्रदर्शन पनि सन्तोषजनक रह्यो । नेपालको प्रदर्शनमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको रोहित पौडेलको प्रदर्शन रहन गयो । एकदिवसीय शृंखलामा कप्तानीको जिम्मेवारी पाएका नेपाली मध्यक्रमका ‘खम्बा’ ब्याट्स्म्यान रोहित पौडेलको प्रदर्शनका आधारमा भन्नुपर्दा नेपाली टोलीको नेतृत्व सम्हाल्न उनीभन्दा राम्रो पात्र अरू हुन नसक्ने स्पष्ट भएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
केन्याविरुद्धको एकदिवसीय शृंखलामा नेपालद्वारा ‘क्लीन स्विप’
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link