रोनाल्डोको व्यग्रता

अहिलेका यो कठीन परीक्षालाई पार गर्दै रोनाल्डोले आफ्नो वास्तविक लय समाउने कुरामा समर्थकहरू पूर्णरूपमा विश्वस्त छन् ।

आशुतोष अधिकारी

क्रिस्टियानो रोनोल्डो अहिले वास्तवमै व्यग्र छन्। उनी क्रिस्टियानो रोनाल्डो हुनु नै उनको व्यग्रताको मुख्य कारण हो किनभने उनी एक साधारण फुटबल खेलाडी मात्र नभएर एउटा ब्राण्ड हुन्। एउटा यस्तो ब्राण्ड हुन् जसको गुणस्तरमाथि सबैले आँखा चिम्लिएर विश्वास गर्ने गर्छन्। एउटा राम्रो खेलाडीबाट जति आशा गरिन्छ, क्रिस्टियानो रोनाल्डोबाट सधैँ त्यो भन्दा बढी अपेक्षा गरेका हुन्छन् सबैले– समर्थकले, प्रशिक्षकले, क्लबले र देशले पनि।
तर यतिबेला रोनाल्डोले ज्यादै कठिन समयबाट गुज्रिनु परिरहेको छ। उनले पाइला–पाइलामा विभिन्न कठिनाइहरूको सामना गर्नु परिरहेको छ र समयले पनि नराम्रोसँग उनको परीक्षा लिइरहेको छ। दुई दशकभन्दा लामो र चम्किलो फुटबल करिअरमा रोनाल्डोले अहिले जतिको प्रतिकूलता, असफलता र आलोचना कहिल्यै भोग्नु परेको थिएन। सबैभन्दा मुख्य कुरा, २० वर्षभन्दा लामो व्यावसायिक खेलजीवनमा अहिले जतिको निरीह उनी कहिल्यै देखिएका थिएनन्। त्यसैले पनि उनी अहिले जतिको व्यग्र जीवनमा शायदै कहिले भएका थिए होलान्।
क्रिस्टियानो रोनाल्डो फुटबलको दुनियाँका एक बेताज बादशाह हुन्। फुटबल खेलमा उनको नाममा दर्जनौँ किर्तिमान कायम छन् जसमध्ये ८१५ करिअर गोलसहित फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता, ११७ गोलसहित अन्तर्राष्ट्रिय खेलका सर्वाधिक गोलकर्ता, १४० गोलसहित युरोपियन च्याम्पियनशीप (च्याम्पियन्स लिग) का सर्वाधिक गोलकर्ता, सबैभन्दा धेरैपटक च्याम्पियन्स लिग जित्ने खेलाडी (पाँचपटक) को किर्तिमान प्रमुख रहेका छन्। यसबाहेक उनको नाममा अन्य थुप्रै फुटबलसँग जोडिएका विश्व किर्तिमान कायम छन्।
सन् १९८५ को फेबु्रअरी ५ मा पोर्चुगलको मेडेरियामा जन्मिएका रोनाल्डोले आफ्नो असाधारण प्रतिभाका कारण १६ वर्षको उमेरमा नै पोर्चुगलको नम्बर एक क्लब स्पोर्टिङ लिस्बनमा अनुबन्धित हुने मौका पाएका थिए। सन् २००२–०३ को सिजनमा स्पोर्टिङको बी टिमबाट व्यावसायिक फुटबल जीवन शुरू गरेका रोनाल्डोलाई क्लबले सोही सिजनबाटै आफ्नो मुख्य टिममा स्थान दिएको थियो। २००२–०३ को सिजनमा रोनाल्डोले स्पोर्टिङका लागि ३१ खेल खेल्दै ५ गोल गरे। सोही सिजनको अन्त्यपछि नयाँ सिजनको प्रि–सिजन टुरमा स्पोर्टिङले म्यानचेष्टर युनाइटेडविरुद्ध एउटा मैत्रीपूर्ण खेल खेलेको थियो। सोही खेलले रोनाल्डोको भाग्य मोडिदिएको स्वयं रोनाल्डोले धेरै अवसरमा स्वीकार गरेका छन्। सो खेलमा रोनाल्डोको प्रदर्शन यति प्रभावशाली थियो कि म्यानचेष्टरका व्यवस्थापक सर एलेक्स फर्गुसनको नजरमा उनी गडिए, फर्गुसनले तत्कालै रोनाल्डोलाई म्यानचेष्टर भित्र्याउने निर्णय गरे।
सन् २००३ मा म्यानचेष्टर युनाइटेडले रोनाल्डोलाई १२ मिलियन पाउण्ड (१९ मिलियन डलर) मा स्पोटिङ लिस्वनबाट आफ्नो क्लवमा अनुवन्ध गरेको थियो जुन त्यो समय एउटा टिनएजर खेलाडीका लागि खर्च गरिएको किर्तिमानी रकम थियो। सर एलेक्स फर्गुसनको प्रशिक्षण र व्यवस्थापनमा उनले म्यानचेष्टरमा ६ वर्ष बिताए। २००३ देखि २००९ सम्मको ६ वर्षे अवधिमा रोनाल्डोले म्यानचेष्टरका लागि २९२ खेलमा सहभागिता जनाउँदै ११८ गोल गरे र ९ उपाधि जित्न सफल भए। ६ वर्षको म्यानचेष्टर बसाइमा उनले ३ प्रिमियर लिग, एउटा च्याम्पियन्स लिग, एउटा एफए कप र दुई–दुई लिग कप र इंग्लिस सुपर कपको उपाधि जित्न सफल भए। म्यानचेष्टरमै रहँदा रोनाल्डो सन् २००८ मा फिफाको प्लेयर अफ दि इयर (बलोन डि’ओर) को उपाधि जित्न सफल भएका थिए।
म्यानचेष्टर युनाइटेडमा रोनाल्डोले बिताएको त्यो ६ वर्षको अवधि उनको खेलजीवनकै स्वर्णिम कालखण्ड थियो जहाँ उनले आफूलाई एउटा प्रतिभावान् तर साधारण खेलाडीबाट एक असाधारण खेलाडीमा रूपान्तरण गर्न सफल भएका थिए। सर एलेक्स फर्गुसनको प्रशिक्षणमा म्यानचेष्टरमा रोनाल्डोको खेल बिस्तारै परिस्कृत हुँदै गयो। ती युवा खेलाडीले म्याचेष्टरमा रहँदा यस्तो जादुमयी खेल खेले कि प्रशंसकहरू आजसम्म त्यसको कायल छन्। युवा रोनाल्डोले म्यानचेष्टरमा रहँदा देखाएको खेलकौशल (स्किलहरू), उनको ड्रिबलिङ, उनका केही ‘सिग्नेचर मुभ’ हरू अनि फ्रिकिक र ‘सोलो’ गोलहरू आज पनि इन्टरनेटमा सबैभन्दा बढी खोजिने र हेरिने सामग्रीहरूमा पर्दछन्।
सन् २००९ मा स्पेनी क्लब रियल म्याड्रिडले किर्तिमानी रकममा रोनाल्डोलाई म्यानचेष्टरबाट अनुवन्ध गर्‍यो। रियलले रोनाल्डोको लागि खर्च गरेको ८० मिलियन डलर सो समयमा फुटबल इतिहासकै सबैभन्दा महँगो अनुवन्ध थियो। म्यानचेष्टरमा आफ्नो सीपलाई निखार्ने मौका पाएका रोनाल्डोको वास्तविक स्वरूप भने उनी रियल म्याड्रिडमा रहँदा देख्न पाइयो। उनले रियलमा पूरा ९ सिजन बिताए। २००९ देखि २०१८ सम्मको रियल बसाइमा उनले क्लबका तर्फबाट ४३८ खेल खेल्दै ४५० गोल गरे र १६ उपाधि जित्न सफल भए। रियल म्याड्रिडका लागि उनले ४ युरोपियन कप, ३ क्लव वल्र्ड कप, ३ युएफइए सुपर कप, २ ला लिगाको उपाधि, २ कोपा डेल रे र २ स्पेनिस सुपर कपको उपाधि जिते।
रियल म्याड्रिडमा ९ सिजन बिताउने क्रममा रोनाल्डोले अनेक थरिका किर्तिमान आफ्नो नाम गरे। रियलका लागि २९२ लिग खेलमा सहभागी हुँदै उनले ३११ गोल गरे रियलका लागि सर्वाधिक लिग गोल गर्ने खेलाडीको नाम आफ्नो नाम गराए। त्यस्तै रियलका तर्फबाट १०१ च्याम्पियन्स लिगमा सहभागिता जनाउँदै १०५ गोल गरे र युरोपियन कपमा एउटै क्लबबाट १०० गोल पूरा गर्ने पहिलो खेलाडीको किर्तिमान बनाए। २०१३–१४ को च्याम्पियन्स लिगमा १७ गोल गर्दै रोनाल्डोले लियोनल मेसीको नाममा रहेको युरोपियनको कपको एउटै सिजनमा बढी गोल गर्ने खेलाडीको किर्तिमान आफ्नो नाम गराए जुन आजसम्म कायम छ। रियल म्याड्रिडका लागि ९ सिजन बिताउने क्रममा रोनाल्डोले २०१३, २०१४, २०१६ र २०१७ गरी चार बलोन डि’ओर उपाधि जित्न समेत सफल भए।
सन् २०१८ मा रोनाल्डो स्पेन छाडेर इटालीतर्फ लागे र उनको नयाँ गन्तव्य बन्यो इटालियन जायन्ट युभेन्टस्। युभेन्टस्मा उनले ३ सिजन बिताए र क्लबका लागि १३४ खेल खेल्दै १०१ गोल गर्न सफल भए। यस क्रममा उनले तीनै सिजन क्लबको सर्वाधिक गोलकर्तामा आफ्नो नाम लेखाए र दुई सिरि ए उपाधि, दुई इटालियन सुपर कप र एक इटालियन कप गरी पाँच उपाधि जिते। युभेन्टसका लागि १०० गोल पूरा गर्दै तीन फरक–फरक क्लब र राष्ट्रिय टोलीबाट समेत १०० गोल पूरा गर्ने संसारको एकमात्र खेलाडीको अभूतपूर्व किर्तिमान आफ्नो नाम गराए।
सन् २०२१ मा आयरल्याण्डविरुद्धको विश्वकप छनौट खेलमा गोल गर्दै रोनाल्डोले इराकका अलि देइको नाउँमा रहेको अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान समेत आफ्नो नाम गराए। अलि देइले १०९ अन्तर्राष्ट्रिय गोल गरेका छन्। २०१६ मा पहिलो पटक पोर्चुगललाई युरो कपको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए। यो उनको मात्र नभएर उनको देश पोर्चुगलको नै पहिलो प्रमुख अन्तर्राष्ट्रिय उपाधि थियो।
सन् २०२१ को सिजनमा क्रिस्टियानो रोनाल्डो युभेन्टस्बाट पुन: म्यानचेष्टर युनाइटेड नै फर्किए। त्यसबेला उनले चाहेको भए कुनै अर्कै ठूलो इंग्लिश वा युरोपियन क्लबमा उनी अनुवन्ध हुन सक्थे। किनभने म्यानचेष्टर युनाइटेडको अवस्था अब पहिलेको जस्तो बिल्कुलै थिएन जतिबेला उनले यो क्लबका लागि खेलेका थिए। एलेक्स फर्गुसनको बर्हिगमनपछि म्यानचेष्टर युनाइटेड कहिल्यै त्यस्तो बलियो क्लब बन्न सकेन जस्तो त्यो पहिले हुने गर्दथ्यो। तर जे जस्तो अवस्थामा भए पनि रोनाल्डोले आफ्नो पूर्वक्लव म्यानचेष्टर नै रोजे। यो म्यानचेष्टर युनाइटेड प्रतिको प्रेम र सम्मान नै थियो जसले रोनाल्डोलाई फेरि यहीँ फर्कायो।
२०२१ को सिजनमा रोनाल्डोले म्यानचेष्टर युनाइटेडबाट ३८ खेल खेल्दै कुल २४ गोल गरे। इंग्लिश प्रिमियर लिगमा पनि उनले १८ गोल गर्दै म्यानचेष्टरका सर्वाधिक गोलकर्ता बन्न सफल भए। तर म्यानचेष्टर युनाइटेडलाई लिगको शिर्ष चारभित्र टिकाउन ३६ वर्षका रोनाल्डोको यो योगदानमात्र पर्याप्त रहेन। सिजनको अन्त्यमा युनाइटेड लिगको छैठौँ स्थानमा सीमित रहन गयो, क्लवसँगसँगै रोनाल्डोले पनि आगामी सिजनको च्याम्पियन्स लिग फुटबल खेल्न नपाउने अवस्था सिर्जना भइदियो।
रोनाल्डोले २००२–०३ को सिजनमा म्यानचेष्टरका लागि जर्मन क्लब स्टुगार्टविरुद्ध खेल्दै च्याम्पियन्स लिगमा ‘डेब्यु’ गरेका थिए। त्यसयता रोनाल्डोले लगातार १९ सिजन च्याम्पियन्स लिग खेले र पाँचपटक यो उपाधि जितेर किर्तिमान राखे। च्याम्पियन्स लिगमा मात्र रोनाल्डोको नाममा दर्जनौँ रेकर्ड कायम छन्। म्यानचेष्टर युनाइटेडको च्याम्पियन्स लिग असफलताले रोनाल्डोलाई धेरै नै दु:खी बनायो। उनले जसरी पनि च्याम्पियन्स लिग खेल्ने सोच बनाए र नयाँ गन्तव्यको खोजिमा लागे।
जसरी पनि म्यानचेष्टर छाड्ने मनस्थिति बनाएका रोनाल्डोलाई अर्को क्लबमा स्थानान्तरण गर्न उनका एजेन्टले एक–एक गर्दै सम्भावित नयाँ गन्तव्यको खोजिमा लागिपरे, तर दुर्भाग्यको कुरा एकपछि अर्को क्लबले रोनाल्डोको प्रस्ताव अस्वीकार गरेको समाचारहरू बाहिरिए। शुरूमा जर्मनको वार्यन म्युनिख, त्यसपछि फ्रान्सको पेरिस सेन्ट जर्मन, अनि चेल्सी र म्यानचेष्टर सिटीले रोनाल्डोलाई क्लबमा भित्र्याउने इच्छा नदेखाएको खबर आयो। हुँदा–हुँदा रियल म्याड्रिडले पनि रोनाल्डोमाथि कुनै चाख नदेखाएपछि उनका एजेन्टले रियलको परम्परागत प्रतिद्वन्द्वी बार्सिलोनासँग पनि प्रस्ताव गरेको समाचार आयो, तर यसलाई रोनाल्डोका एजेन्टले अस्वीकार गरे। त्यसपछि रोनाल्डोले स्पेनको एट्लेटिको म्याड्रिडमा जाने प्रयास गर्दा एट्लेटिकोका समर्थकहरूले विरोध प्रदर्शन नै गरे भने अन्त्यमा जर्मनको बोरुसिया डर्टमन्ड जाने रोनाल्डोको प्रयास पनि असफल भएको खबर बाहिरियो। यस कुराले भने रोनाल्डोले ज्यादै नै व्यग्र बनायो।
म्यानचेष्टर छाडेर अर्को क्लबमा जाने सारा प्रयास विफल भएपछि रोनाल्डोले ३७ वर्षको उमेरमा युरोपा लिगमा ‘डेब्यु’ गर्ने अर्को किर्तिमान आफ्नो नाम गराए। तर यो किर्तिमानले रोनाल्डोलाई खुसी होइन बरू थप पीडा दियो। रोनाल्डोका लागि नयाँ सिजनको शुरूवात पनि बिर्सन लायक रह्यो। प्रिमियर लिगको शुरूका दुई खेलमा शुरूवाती ११ मा स्थान बनाएका रोनाल्डोको म्यानचेष्टरले दुवै खेलमा नराम्रो हारको सामना गर्नुपर्‍यो। तेस्रो खेलदेखि प्रशिक्षक टेन हेगले लगातार चार खेलमा रोनाल्डोलाई बेन्चमा राखेर खेल शुरूवात गरे र चारै खेलमा युनाइटेड विजयी रह्यो। यो अवस्थामा रोनाल्डोका आलोचकहरूलाई रोनाल्डोको मजाक बनाउने राम्रो मौका मिल्यो, उनको ट्रोल बनाउने लहर नै चल्यो। रोनाल्डोलाई भने मानिसहरूले उनको खिल्ली उडाएको कुराले भन्दा आफ्नो खस्किएको प्रदर्शनले विचलित बनायो। यसै साता ३७ वर्षको पाको उमेरमा आइपुग्दा २० वर्षको अत्यन्त सफल फुटबल करिअरमा पहिलोपटक उनले युरोपा लिगमा प्रतिश्पर्धा गरे। तर यो खेलमा पनि म्यानचेष्टर युनाइटेड स्पेनको रियल सोसिडाडबाट २–० ले पराजित हुनपुग्यो। यो नतिजाले रोनाल्डोको पीडामा नूनचूकको काम गरिदियो, उनको व्यग्रतालाई झनै बढाइदियो।
निश्चय पनि, अहिले रोनाल्डोको समय राम्रो चलिरहेको छैन। तर रोनाल्डो यस्ता खेलाडी हुन् जसलाई कसैका अगाडि केही प्रमाणित गरिरहनुपर्ने आवश्यकता नै छैन। २० वर्षको फुटबल करिअरमा उनले आफ्नो खेलबाटै धेरै कुरा प्रमाणित गरिसकेका छन्। कडा मेहनत, अनुशासन र उच्च आत्मविश्वासको बलमा उनले फुटबलको दुनियाँमा त्यो उचाइ हासिल गरेका छन् जसका अगाडि उनका आलोचकहरू ज्यादै साना देखिन्छन्। उनले आफ्नो खेल जीवनमा मात्र होइन आफ्नो व्यक्तिगत जीवनमा पनि कठीन भन्दा कठीनत्तम भोगाइहरूको सामना गरिसकेका छन् र त्यसलाई चिरेर सफलता हासिल गर्दै आएका छन्।
अहिलेका यो कठीन परीक्षालाई पार गर्दै रोनाल्डोले आफ्नो वास्तविक लय समाउने कुरामा समर्थकहरू पूर्णरूपमा विश्वस्त छन्। र, फुटबलको लागि पनि यस्तो हुनु जरुरी छ। रोनाल्डोले आफ्नो खेलजीवनमा जे–जति गरे, फुटबल जगत्लाई उनले जे–जति दिए, त्यसको आलोकमा हेर्दा उनको बर्हिगमन सम्मानजनक ढङ्गबाट हुनु जरुरी छ र उनी त्यसका हकदार पनि छन्। रोनाल्डोलाई हार्दिक शुभकामना !!

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link