चौहान स्मृति पत्रकारिता पुरस्कार पत्रकार  मोहम्मद हविवलाई

स्व. बिन्दुकुमार चौहान अभाव र दबाब छिचोलेका ‘निष्ठावान पत्रकार’ थिए ।

गत वर्ष भदौ २९ गते निधन भएका बिन्दुकुमार चौहानको सम्झनामा स्थापना भएको ‘स्व. बिन्दुकुमार चौहान स्मृति पत्रकारिता पुरस्कार’ लुम्बिनी दैनिकमा कार्यरत पत्रकार  मोहम्मद हविवले पाएका छन् ।

मधेसी पत्रकार समाज नेपाल जिल्ला कार्य समिति रुपन्देहीद्वारा स्थापना भएको उक्त नगदसहितको पुरस्कार  एक कार्यक्रमका बीच वितरण गरिएको थियो ।

स्वर्गीय चौहान रुपन्देहीको लुम्बिनीका स्थायी बासिन्दा भए  पनि उनी कपिलवस्तु  र रुपन्देही जिल्लामा चर्चित पत्रकार थिए ।

पुरस्कार वितरण समारोहमा बोल्दै पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले चौहान अभाव र दबाब छिचोल्दै अगाडि बढेका एक निस्ठावान, असल र इमानदार पत्रकार भएको बताए । पोखरेलले भने ‘चौहान र मैले सँगसँगै काम पनि गर्यौं । उनी अत्यन्तै मेहनति र असल थिए ।’

मधेशी पत्रकार समाज, लुम्बिनी प्रदेशका अध्यक्ष रामविकास चौधरीले तस्करहरूको समाचार लेख्दा छोरीको अपहरणसमेत खेप्नु परेका चौहान मधेश क्षेत्रका इमानदार पत्रकार भएको भन्दै उनको निधनले तराई मधेशको पत्रकारितामा ठूलो क्षति पुगेको बताए । चौधरीले भने ‘साइकल चलाएर मर्चवार र लुम्बिनीका समाचार संकलन गरेर भैरहवा बुटवल पुगेर पठाउने काम समेत चौहानले गर्नुभयो । जस्तोसुकै अभावमा पनि उहाँले निस्ठाको पत्रकारिता गर्नुभयो । लोभ, लालच र डरबाट उहाँका समाचार प्रभावित भएनन् ।’

लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष समेत रहेका अग्रज पत्रकार  माधव ढुंगानाले बिन्दु चौहानको सम्झना ताजै रहेको स्मरण गर्दै भने ‘मधेश क्षेत्रमा जन्मे हुर्केर निरन्तर नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील भई जनतालाई सूचना प्रवाह गर्ने काममा चौहान जीवनभर लागि पर्नुभएको थियो ।’

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले चौहानको पत्रकारिताको इतिहास लेखियो भने नेपाली पत्रकारिता क्षेत्रमा चासो राख्नेहरूका लागि ठूलो ग्रन्थ हुने बताए । उनले भने ‘चौहानको पत्रकारिताको संघर्ष रोचक, संघर्षपूर्ण, सयोग र वियोगले भरिएको हुनेछ ।’

मधेसी पत्रकार समाज रुपन्देहीका अध्यक्ष  राधेश्याम विश्वकर्माले चौहानको पत्रकारिता जीवन नेपाली पत्रकारिता जगतको लागि अनुकरणीय रहेको बताए ।

वरिष्ठ पत्रकार तथा संविधानसभा सदस्य विनोद पहाडीले भने ‘बिन्दु चौहान जस्तो असल र मेहनती  पत्रकार जन्माउन नेपाली पत्रकारिता जगत्ले धेरै वर्ष मेहनत गरे पनि कठिनाइ हुनेछ ।’ पहाडीले विचारप्रति बफादार, वर्गीय पक्षधरता भएको एक असल पत्रकार गुमाउदा वर्षदिन बित्दा समेत मुटु भक्कानिएर आउने गरेको बताए ।

चौहानको गत वर्ष कोभिडको समयमा निमोनियाको कारण उपचारको क्रममा निधन भएको थियो । तत्कालीन समयमा नेपाल पत्रकार महासंघको प्रदेश कार्यसमिति सदस्य समेत रहेका उनी लुम्बिनी प्रेस क्लब, मधेसी पत्रकार समाज, प्रेस सेन्टर नेपाल लगायत पत्रकार सम्बध्द संघसंस्थामा आबद्ध थिए । लुम्बिनीखबर सञ्चार गृह प्रालि, एबीसी टीभी, बुद्ध टीभी, बुटवल टुडेमा रिपोर्टिङ गर्ने चौहान पत्रकारिता र उमेरले परिपक्व भए पनि भरखरै पत्रकारिता गर्दै गरेका नव पत्रकारकासमेत प्रिय रहेको, जुनियरहरूसँग पनि घुलमिल गर्ने क्षमता भएका व्यक्ति रहेको मर्चवार सन्देशका सम्पादक हृदयराम गुप्ताले बताए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नरेश के.सी./लुम्बिनी का अन्य पोस्टहरु:
चौहान स्मृति पत्रकारिता पुरस्कार पत्रकार  मोहम्मद हविवलाई
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link