लुम्बिनीमा भारतीय पर्यटकलाई विशेष निम्तो

नरेश के.सी

विश्व पर्यटन दिवस लुम्बिनी प्रदेश सरकारले विशेष रुपमा मनाउने भएको छ। पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाइमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थाको सहकार्यमा सबैभन्दा बढी पर्यटक भित्रिने रूपन्देहीको स्थल नाका बेलहियामा विशेष कार्यक्रम गर्ने तयारी भइरहेको पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी प्रमुख रामु जोशीले बताउनुभयो।

पर्यटनका लागि पुर्नविचार गरौँ (रिथिंङकीङ टुरिज्म) भन्ने अभियानका साथ विश्वभर यस वर्ष सेप्टेम्बर २७ अर्थात आगामी असोज ११ गते  विश्व पर्यटन दिवस मनाउन थालिएको हो। सोही अनुसार लुम्बिनी प्रदेशमा पनि पर्यटक विशेष कार्यक्रम गर्न थालिएको छ।

असोज ११ गतेका दिन स्थल मार्ग हुँदै बढी पर्यटक भित्रिने बेलहिया, अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल भैरहवामा सबैभन्दा पहिले आउने विदेशी पर्यटकलाई सम्मान गर्ने तथा होटल र ट्राभलमा शतप्रतिशत निशुल्क उपलब्ध गराउने गरी पर्यटन व्यवसायीले समेत पर्यटनमैत्री प्याकेज घोषणा गरेका छन्।

यसैबीच भारत र नेपालका पत्रकारहरूको सहभागितामा भैरहवामा संयुक्त पत्रकार सम्मेलन गरी प्रदेश सरकार र पर्यटन व्यवसायीले संयुक्त रुपमा लुम्बिनी प्रदेशमा पर्यटकलाई विभिन्न सुविधा दिने घोषणा गरको छन्। सरकार र व्यवसायीहरूले ६ महिना सम्म विशेष अफर दिने प्रतिबद्धता जनाएका हुन्। प्रदेश सरकारद्वारा गठित विश्व पर्यटन दिवस मूल समारोह समितिका संयोजक  चन्द्र प्रकाश श्रेष्ठले भन्नुभयो, ‘हामी २७ सेप्टेम्बरका दिन बेलहिया र एअरपोर्टमा आउने पहिलो चार जनालाई विशेष सम्मान गर्ने र निशुल्क रुपमा खाना, बस्ने र ट्राभलको समेत व्यवस्था गछौँ। ’

पत्रकार सम्मेलनमा पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले लुम्बिनी प्रदेश सरकारले पर्यटकहरूलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीले विगतदेखि पर्यटक लक्षित कार्यक्रम गरिरहेका छौं। यस वर्ष विश्व पर्यटन दिवसको अवसरमा खासगरिकन भारतीय सञ्चार माध्यम मार्फत सबै भारतवासीलाई नेपाल घुम्ने, लुम्बिनी प्रदेशका १२ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्य भ्रमण गर्नेगरी सरकारको तर्फबाट निमन्त्रणा समेत दिन चाहन्छौ। ’

नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाले पर्यटकहरूलाई सहज रुपमा नेपाल घुमाउने र खुसीखुसीका साथ स्वदेश फर्काउने गरी तयारी गरीरहेको बताउनुभयो।

सो अवसरमा पर्यटन विकास परिषदका कार्यकारी अधिकृत रामु जोशीले लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको बारेमा जानकारी गराउँदैँ यस वर्षको पर्यटन दिवसलाई उल्लासमय ढंगले पर्यटकलाई खुसी पार्ने गरी सबैको सहकार्यमा मनाउने बताउनुभयो।

भारतको उत्तरप्रदेशका विभिन्न टेलिभिजन, अखबारमा कार्यरत २५ जना पत्रकारहरू टोली भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएको विश्व पर्यटन दिवसको मूल समारोह लुम्बिनी प्रदेशको सदस्य समेत रहेका अग्रज पत्रकार माधव ढुङ्गानाले बताउनुभयो।

पत्रकार सम्मेलनमा नेपाली पत्रकारहरूको तर्फबाट नेपाल पत्रकार महासंघ रूपन्देहीका सभापति रामराज पोखरेल र भारतीय पत्रकारहरूको तर्फबाट बीबीसी हिन्दीका पवन शाहले आफ्ना धारणा राख्दै नेपाली पर्यटन क्षेत्रको सम्बर्धन र प्रम्बर्धनका लागि दुबै देशका पत्रकारहरूले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। पर्यटन दिवसको अवसरमा रूपन्देहीका होटलहरूले २० प्रतिशत छुट दिने भएका छन्। यसैगरी रात्रिकालीन बजार , टुर प्याकेजलाई पनि विशेष प्राथमिकतामा राख्ने गरी कार्यक्रम अगाडि बढाउने व्यवसायीहरूले समेत घोषणा गरेका छन्।

विश्व पर्यटन दिवस २०२२ लाई लुम्बिनी प्रदेशमा विशेष रुपमा मनाउने गरी पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनीले पर्यटन व्यवसायी चन्द्र प्रकाश श्रेष्ठको संयोजकत्वमा एक समिति नै गठन गरेको छ। श्रेष्ठ सिद्धार्थ होटल एशोसियसनको अध्यक्ष तथा होटल एशोसियसन अफ नेपालको केन्द्रीय सदस्य हुन्।

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नरेश के.सी./लुम्बिनी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link