गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जहाज उडेको आवाजसँगै आकाशतिर हेर्दै आकाशे रङ्गको कमिज र निलो पाइन्ट तथा मिडी (स्कट) लगाएका साना बालबालिका एक तमासले यता र उता दौडीरहेको दृश्य साँच्चिकै कुनै विकट गाउँको जस्तो देखिन्छ।
उनीहरू मध्ये एकजना जहाज आयो भनेर दौडिए पछि अरुहरू उनको पछि पछि उवडखावड भएको हरियो चौरमा यता र उता दौडिरहेका थिए। खुला निलो आकाश मुनिको हरियो चौरमा आकाशे रङ्गको सर्ट लगाएका विद्यार्थीको ताती हेर्न लायक नै थियो।
त्यतिकैमा दिउँसो खाजा खाने समय हुन्छ, विद्यालयको एकजना म्याडमले खाजा खाना बोलाएसँगै ती विद्यार्थीहरू भित्तामा पीपल उम्रिएको, भत्किन थालेको एउटा पुरानो भवन तिर लागे। केही बेरमा सबैजना हातमा मटर र चनाको झोल सहितको खाजा खाँदै फेरि रमाउन थाले।
खाजा खाईवरी विद्यालयको कम्पाउन्ड बाहिरको गाडीहरू गुडिरहने सडक पार गरेर छेउकै वडा नम्बर ११ को परिसरमा रहेको धारा (चापाकल) मा हात धुन थाले। नाकामा सिँगान, हातमा जुठो भाडा, सकीनसकी चापाकल चलाएर पानीले हात धुँदै, अलिअलि मिडी र पाइन्टमा पुछ्दै गरेका ती साना नानीहरू यो संवाददातालाई देखेपछि खिसिक्क हाँसे। बालबालिकाले दिएको दिशानिर्देशबाट स्कुलको “अफिस” पुगेपछि खुल्न थाले भुजौलीको यो स्कुलको व्यथाका पत्रहरू ।
काठमाडौँ बाहिर शिक्षामा फड्को मारेको भनेर चर्चा भइरहको रूपन्देही जिल्लाको सदरमुकाम भैरहवाको एक छेउमा रहेको भुजौलीको नाम नसुनेका कमै होलान्। भैरहवा सहर घुम्न आउनेहरू गाउँ घुम्न चाहेमा भुजौली, शंकरपुर जाने पनि गर्दछन्। भुजौली सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ को क्षेत्र हो। यो गाउँ यतिबेला सहरोन्मुख ठाउँको रुपमा विकास भइरहको छ । चौडा सडक, बत्तिको चकमन्न उज्यालो मात्रै होइन नजिकै रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने जहाजहरू हेर्दै सपनाको पोको बोकेर यहाँ आफ्ना बालबालिका पढाउने अविभावकहरूको आर्थिक अवस्था अत्यन्तै न्यून रहेको छ। जसको प्रतिविम्ब त्यहाँ पढ्ने बालबालिकामा सहजै देख्न सकिन्छ। अधिकांश विद्यार्थीको खुट्टामा जुत्ता चप्पल छैनन्, नाकभरि सिँगान बगिरहेको छ। आकाशे रङ्गको कमिज र निलो पाइन्ट तथा मिडीमा देखिनेगरी मैलो छ।
२०१८ सालमा स्थापना भएको त्यस प्राथमिक तहको विद्यालयको भवन अत्यन्तै जीर्ण अवस्थामा रहेको छ। तत्कालीन समयमा स्थानीय दलबहादुर यादवको अगुवाइमा स्थापना भएको उक्त विद्यालयको ०४७ सालमा चार कोठे भवन बनेको थियो। त्यतिबेलै बनेको विद्यालयका भवनहरूको भित्तामा यतिबेला पिपलका बिरुवा उम्रिरहेका छन्। कक्षा कोठाका झ्यालहरूका ढोकाहरू भाँचिएको अवस्थामा छन्। झ्यालमा जाली छैनन् त्यति मात्र होइन, शौचालय प्रयोग गरिसकेपछि , त्यही झ्यालबाट विद्यार्थीहरू कक्षा कोठामा जाने गरेका छन्। शौचालयका ढोकाहरू समेत छैनन्। शौच गर्दा विद्यार्थीहरू एकले अर्कोलाई जिस्काउने समेत गर्दछन्।
विद्यालयका प्रधानाध्यापक अयोध्याप्रसाद गौण विद्यालयको दुरावस्थाले आफूलाई पनि पिरोलेको बताउनुभयो। अयोध्याप्रसाद भन्नुहुन्छ, ‘भौतिक अवस्था जीर्ण छ, सुधारको लागि धेरै ठाउँमा सहयोग मागियो तर कतैबाट सहयोग मिलेन। यसले मलाई धेरै दुखी बनाएको छ। ’
शिक्षक, प्रअ हुँदै ०४७ सालदेखि उक्त विद्यालयमा कार्यरत गौणले उक्त विद्यालयमा दिवा खाजाको व्यवस्थासँगै विद्यार्थीको संख्या बढेको बताउनुभयो। अयोध्याप्रसाद भन्नुहुन्छ, ‘धनीका, नेताका, ठूलाठालुका छोराछोरी सबै बोर्डिग स्कुल जान्छन्, यहाँ सबै निम्न वर्गीय मानिसका छोराछोरी आँउछन्। गरिबका छोराछोरीले पढ्ने विद्यालय भनेर त होला कसैले हेरेका छैनन्। ’
पानी पर्दा कक्षा कोठा चुहिएर बस्न नसकिने त बाहिर फिल्ड पोखरी झै पानीले भरिने गर्दा बर्खायाममा धेरै नै समस्या भोग्नु परेको विद्यालयका शिक्षक नवीन पोखरेलले बताउनुभयो। नवीन भन्नुहुन्छ, ‘विद्यालयको कार्यालय समेत यतिबेला जाइकाको सहयोगमा निर्माण भएको बाल विकास केन्द्रमा रहेको छ। पठनपाठन गर्ने कक्षा कोठा नै छैन। जे छ, त्यही बाल विकास केन्द्रको कक्षा कोठामा चलिरहेको छ। ’
विद्यालयको करिब १० कठ्ठा क्षेत्रफल रहेको छ। विद्यालयमा ९० जना छात्रा र ६० छात्र गरी जम्मा १५० विद्यालयको अभिलेखमा देखिन्छ।
ठेकेदारले पनि ठगेँ
चौतर्फी बेवास्तामा परेको उक्त विद्यालयको भौतिक पूर्वाधारका लागि रूपन्देही क्षेत्र नम्बर ३ बाट २ दिन अगाडिसम्म प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद घनश्याम भुसालले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत २५ लाख, शिक्षा कार्यक्रम र सिद्धार्थनगर नगरपालिकाको बजेटबाट गरी ६५ लाख गरी कुल ९० लाख १ हजार ६ सय ११ रुपैयाँ ५८ पैसा बराबरको भौतिक पूर्वाधारको लागि गत वर्ष बजेट व्यवस्थापन भएको थियो। सोही अनुसार नगरपालिकाले ठेक्का आह्वान समेत गर्यो। ठेक्कामा सहभागी मध्ये रूपन्देही बिल्डर्स एन्ड कन्स्ट्रक्सनले भवन निर्माणको ठेक्का पायो। तर मोबिलाइजेसन रकम लिएर उक्त ठेकेदार अहिले सम्पर्कविहीन रहेको छ। भवनको नाममा पिल्लरको छड मात्रै ठड्याएको छ। बाँकी काम अलपत्र पारेर हिँडेको नगरपालिकाका आयोजना प्रमुख साकार श्रेष्ठले ठेकेदार सम्पर्क बाहिर रहेको बताउनुहुन्छ। साकारले भन्नुभयो, ‘ ठेकेदार सम्पर्कमा छैन, हामीले कालोसूचीमा राख्ने गरी १५ दिने सूचना निकाल्दै छौ। ’
२०७८ चैत्र ३० गते भित्र सम्पन्न गर्ने गरी उक्त ठेकेदार कम्पनीले सिद्धार्थनगर नगरपालिकासँग सम्झौता गरेको थियो। एकातिर ०४७ सालमा बनेको भवन भत्किन थालेको छ , विद्यार्थीहरूलाई पठनपाठनको लागि कक्षा कोठा छैन , शिक्षक कर्मचारी बस्ने अफिस छैन। अर्कोतिर ९० लाख १ हजार ६ सय ११ रुपैयाँको बजेट फ्रिज भएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नरेश के.सी./लुम्बिनी का अन्य पोस्टहरु:
- रूपन्देहीको चुनाबी रौनक: कतै सहयात्री त कतै पूर्व र वर्तमान मन्त्रीबीच प्रतिष्पर्धा
- गृहमन्त्रीको आग्रहसँगै लुम्बिनीमा अलपत्र विद्युतीय बस सञ्चालनको तयारी
- लुम्बिनीमा भारतीय पर्यटकलाई विशेष निम्तो
- ब्रान्ड लुम्बिनी खस्केको हो?
- चौहान स्मृति पत्रकारिता पुरस्कार पत्रकार मोहम्मद हविवलाई
- यसरी भित्रिन्छ नेपाली मुद्रा भारतबाट अबैध रूपमा नेपालमा
- अर्घाखाचीको सुपा देउराली: भारतीय भक्तजनको घुइँचो
- घरभित्रै असुरक्षित रूपन्देहीका महिला
- स्वादको राजा: कालानमक धानकाे चामल, जाे आफैंमा एउटा व्यञ्जन हो
- रूपन्देहीमा साना बन्दुकका ठूला खेला