स्वादको राजा: कालानमक धानकाे चामल, जाे आफैंमा एउटा व्यञ्जन हो

नरेश के.सी

बौद्धकालीन सभ्यतासँग सम्बन्ध रहेका तराईका जिल्लामा रोपिने कालानमक धानको संरक्षणमा बुद्ध जन्मस्थल लुम्बिनीका किसानहरू जुटेका छन्। कालानमकलाई धेरैले कालानिमक पनि भन्दछन्।
मिठो वासना र मुखमै टाँसिने स्वाद भएको कालानमक धानको चामललाई अरुभन्दा तेब्बर मूल्य पर्छ। कालानमक धान उत्पादनमा खर्च बढी लाग्ने गर्दछ । धेरै खर्चमा कम उत्पादन हुने भएकाले यसको खेती हुने क्षेत्रफल घट्दै गएको छ । कालानमक लुम्बिनी क्षेत्रको रैथाने धान हो । मेहनत बढी र उत्पादन कम हुने भए पनि राम्रो मूल्य पाउन थालेपछि पछिल्लो समय लुम्बिनी क्षेत्रका स्थानीय किसानहरू उक्त धान खेती गर्न लालायित देखिन थालेका छन्।
बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचार प्रसारमा स्थानीय युवाहरू चन्द्र पाठक, अर्जुन कुर्मीहरूले अभियान नै चलाएपछि कालानमक धानको महत्त्व बुझेर लुम्बिनीका किसानहरूले उक्त धान लगाउन थालेका हुन्।
वर्षौदेखि कालानमक धानको खेती गर्दै आएका लुम्बिनीका सत्यदेव पाठकले आफूले जानेदेखि नै उक्त धान रोप्दै आएको बताउनुभयो।
स्थानीय जातको यो धान परम्परागत रूपमा कृषकले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानमक धान लोप हुने अवस्थामा पुगेको थियो । कम खर्चमा बढी उत्पादन हुने हाइब्रिड धान खेतीप्रति किसानको बढ्दो आकर्षणका कारणले कालानिमक धान विस्थापित हुँदै गएको किसान राम उजागिर पाण्डे बताउनुभयो ।

कालानमक धानको खेती

बुद्धकालीन समयको धानको प्रजाति भएकाले बजारमा कालानमक धानको माग रहेको पूर्णिमा पाठकले बताउनुभयो । बजारमा माग भए पनि लागत धेरै हुने र उत्पादन कम हुने भएकाले किसानको आकर्षण नभएको भन्दै राज्यले लोपोन्मुख धानको संरक्षण गरी त्यसलाई पर्यटनसँग जोडेर काम गर्नु पर्ने पाठकले बताउनुभयो ।
मौलिक पहिचान बोकेको यो धानलाई धेरैले बुद्ध धर्मसँग जोडेर अनेक कथा उपकथा सुनाउने गर्दछन् । मौलिक पहिचान जोगाउनका लागि पनि अहिलेका युवा पुस्ताले कालानमक धानलाई संरक्षण गर्ने दायित्व निर्वाह गर्नु आवश्यक रहेको युवा कृषक मुरलीकुमार कहारले बताउनुभयो ।

ब्राण्डिङ र प्याकेजिङ गरिएकाे कालानमक धानकाे चामल

यो धानलाई पानी धेरै आवश्यक पर्ने भएकाले सिँचाइको व्यवस्था उपयुक्त भएको खेतमा मात्र लाउन सकिन्छ । कालानमक धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुने लगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेका हुन् । लुम्बिनीमा लगाइएको यो धानले सारस संरक्षणमा पनि योगदान दिएको छ ।
भारतको लखनउको रिजनल फुड एण्ड रिसर्च एनालाइसीसको एक रिर्पोटमा कालानिमक चामलमा पर्याप्त मात्रामा भिटामिन पाइने उल्लेख छ । उक्त रिर्पोटमा एक सय ग्राम कालानमक धानमा भिटामिन ए (बिटा कैरोमिन) को मात्रा शून्य दशमलब ४२ ग्राम रहने गर्दछ ।
शाक्यवंशीय राजा शुद्धोधनले राजकीय धानको रूपमा कालानिमक धानलाई स्थापित गरेको ऐतिहासिक विवरणहरू पाइन्छन् । बौद्ध जातक अनुसार राजा शुद्धोधन सबैभन्दा अघि सुनको हलो, त्यसपछि मन्त्री चाँदीको हलो र अन्तिममा जनताहरू काठको हलो लिएर कालानमक धान रोपाइँ गर्ने गर्दथे भन्ने विवरणहरू पनि पढ्न सुन्न पाइन्छ ।
यसरी बौद्धकालीन सभ्यतासँग जोडिएको कालानिमक धानको चामल आजकल भने दुईचार किलो मात्र भए पनि घरमा राख्ने र विशेष अवसरमा पकाएर त्यसलाई स्वादिष्ट व्यञ्जनका रूपमा खानेख्वाउनेहरूको संख्या बढ्दै गएको छ ।

तस्बिरः चन्द्र पाठक

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नरेश के.सी./लुम्बिनी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap