जन्मघर, बाल्यकाल, किशोरअवस्था हुर्केको घर परिवार छाडेर कलकलाउँदो उमेरमा सामाजिक संस्कार अनुसार बिहेबारी गरी नयाँ घरबारमा जाने रूपन्देहीका महिलाहरू घरभित्रै असुरक्षित भएको घटनाले पुष्टि गरेका छन्।
रूपन्देही जिल्लाको विभिन्न क्षेत्रमा भएको अधिकांश महिला हत्या तथा आत्महत्या घरभित्रकै मानिसहरूको कारण भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। यहाँ प्रस्तुत गरिएका रूपन्देहीमा भएका चार प्रतिनिधि घटनाले पनि यसको पुष्टि गर्छ।
घटना नम्बर १: २०७८ जेठ २ गते जिल्ला प्रहरी कार्यालयले एउटा गोप्य सूचना पायो। सूचना एउटा नेपाली दम्पतीका बारेमा थियो। उक्त सूचनामा भनिएको थियो- एकजना नेपाली महिलालाई आफ्नै श्रीमानले कलगर्लको रुपमा काम गराउने र भारतमा यौनधन्दा गर्नको लागि लग्ने गरेको भन्ने। श्रीमतीले काम गर्न नमान्दा चरम यातना दिएको भन्ने पनि सूचना प्रहरीले पाएको थियो। सोही सूचना आधारमा प्रहरीले आफन्त नेपाल संस्थाको सहयोगमा भारतबाट श्रीमतीलाई उद्धार गरेर ल्यायो। श्रीमानबाटै बेचिनबाट ती महिलालाई रोक्यो। श्रीमानलाई प्रहरीले पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दायर गर्यो। यतिबेला श्रीमान पुर्पक्षका लागि थुनामा छन् भने मुद्दा विचाराधीन रहेको छ।
घटना नम्बर २: २०७८ साउन २३ गते रूपन्देहीको मायादेवी गाउँपालिका वडा नं ३ मा २३ बर्षिया सन्जु पासी मृत अवस्थामा फेला परिन। प्रहरीले अनुसन्धान गर्दै जादा सन्जुको आफ्नै ससुरा रामलाल पासी र सासु रुक्मणी पासीले हत्या गरेको प्रमाण भेटायो। अहिले दुवै जना जिल्ला कारागार रूपन्देहीमा रहेका छन्।
घटना नम्बर ३: २०७८ मंसिर २ गते देवदह नगरपालिकामा एउटा युवतीको शव खेतको बिचमा बेवारिसे अवस्थामा भेटियो। प्रहरीले शवको सनाखत गर्दै जादा उक्त शव देवदह नगरपालिका वडा नं १२ बस्ने रविन श्रेष्ठको श्रीमतीको भन्ने थाहा भयो। पछि प्रहरीले अनुसन्धान गर्दै जादा रविनले नै आफ्नै श्रीमतीको हत्या गरि खेतमा लगेर परालको बिचमा लुकाएर हिँडेको भन्ने खुल्न पुग्यो। अहिले रविन श्रेष्ठ आफ्नै श्रीमतीको हत्या गरि कारागारमा छन्।
घटना नम्बर ४: मायादेवी गाउँपालिका वडा नं ३ निवासी २३ वर्षकी सविता धोबीको शव स्थानीय खोलाको किनारमा फेला पर्यो। प्रहरीले अनुसन्धान गर्दै जादा सविता आफ्नै भतिजो आकाश धोबीसँग प्रेममा रहेको र पटक पटक करणी गर्ने गरेको खुल्नमा आयो। आकाशले सोही कुरा लुकाउनको लागी योजना बनाएर सञ्जय धोबी र ध्रुब धोबीको सहयोगमा घरको कोठा भित्र हत्या गरि खोला किनारमा लगेर फालेका थिए।
यी घटनाहरू घरपरिवार बाट नै अर्थात आफन्तबाट नै भएका हुन्। रूपन्देहीमा भएका यि चार घटनाहरूले स्पष्ट रूपमा रूपन्देहीमा घरेलु हिंसा त्यसमा पनि यौन हिंसा घरभित्रै बढिरहेको छ भनेर देखाउँछ। समाज दिनप्रतिदिन हिंसक भइरहेको घटनाहरूले समाजमा मानवता हराउँदै गएको समाजशास्त्रका जानकार थानेश्वर पाण्डे बताउनुहुन्छ। पाण्डे भन्नुहुन्छ,‘ मानिसहरूमा बढ्दै गएको अति महत्वाकाङ्क्षा र अलगाव वा एक्लोपनले समाजलाई अपराधजन्य घटनातिर डोर्याएको हो। ’
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ मा केही समय अघि मात्र सुबिना गिरीको रहस्यमय मृत्यु भएको खबर सबैको दिमागमा ताजै छ। उनको श्रीमान र भान्जा अहिले उनको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा छन्। रूपन्देहीको तिलोत्तमा र बुटवलमा घरभित्रै मृत अवस्थामा भेटिएका सिता भण्डारी, अमृता टण्डन, अनिता रेग्मी लगायत महिलाहरू यसको ज्वलन्त उदाहरणहरू हुन् कि कति सुरक्षित छन् त आफ्नै घरभित्र महिलाहरू ? महिलाको सुरक्षाको माग गर्दै मणिग्राम क्षेत्रमा आन्दोलन पनि भएका हुन् तर ती यतिकै सेलाए। राज्यले पीडकलाई कुनै कारबाही गरेन। घटना घट्दै जाने, मिडियाले प्रचार गर्दै जाने, पीडित रुवाबासी गर्दै जाने तर पीडक सत्ता, शक्ति र विभिन्न दबाब र प्रभावको बलमा समाजमा झनै हिंसक बन्दै जाने वातावरण बनिरहेको छ अचेल।
प्रहरीको तथ्याङ्क हेर्ने हो भने, रूपन्देहीमा आर्थिक बर्ष २०७८–७९ मा महिला तथा बालबालिकासँग सम्बन्धी २ सय २० घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। यसमा सबैभन्दा धेरै महिलामाथि भएका आपराधिक घटनाहरू रहेका छन्। रूपन्देहीमा आर्थिक वर्ष २०७८–७९ मा २ सय ६४ जनाले आत्महत्या गरेका छन् जसमध्ये आधिकांश महिलाहरूनै रहेका छन्। यि तथ्याङ्कले रूपन्देहीमा महिलाहरू कति असुरक्षित छन् भन्ने प्रश्न उठाउने ठाउँ दिन्छ।
घरेलु हिंसा, यौनजन्य हिंसा र घरभित्रै हुने अन्य विभिन्न प्रकारका हिंसा नियन्त्रण र रोकथामका लागि रूपन्देही प्रहरी लागिरहेको प्रहरी प्रमुख रबिन्द्र रेग्मी बताउनुहुन्छ।
संयुक्त राष्ट्रसंघीय लागू औषध एवम् अपराध कार्यालय (यूएनओडीसी) एक तथ्याङ्कअनुसार हरेक घण्टा करिब ६ जना महिला चिनेजानेका व्यक्तिबाट मारिन्छन्। प्रायजसो घटनामा परिवारकै सदस्यले विभिन्न लाञ्छना लगाएर महिलालाई पीडा दिएको पाइन्छ। घर परिवारबाटै प्रताडित भएपछि आत्महत्या गर्ने महिलाको संख्या बढ्दै गएको प्रहरी अनुसन्धानले नै देखाउँछ।
महिला र बालबालिकामाथि हुने हिंसाका घटनामा प्रहरी अनुसन्धान पनि प्रभावकारी देखिएको छैन। प्रहरीको फितलो अनुसन्धान र न्यून सक्रियताका कारणले पनि हिंसाका घटनामा कमी नआएको अधिकारकर्मी रीमा बीसी बताउनुहुन्छ।
अधिकारकर्मी बीसी भन्नुहुन्छ, ‘घरभित्रै महिलाहरू असुरक्षित हुने धेरै कारण छन्, तर त्यसमध्ये मुख्य कारण शंका आशंका बढ्नु, विवाहित महिलाहरू आत्मनिर्भर नहुनु, यौनकै प्रसङ्गमा मादक पदार्थको सहजकर्ताहरूले बिरामी पर्दा पनि जबरजस्ती गर्न खोज्नु र कानुनी कारबाहीको जटिलता पनि हो। ’
यसका अतिरिक्त वैदेशिक रोजगारीको कारण पारिवारिक विखण्डन, पारिवारिक मनमुटाव, कोभिडले पारेको असर जस्ता कारण हुन सक्ने बिसीको तर्क छ।
आवरणः यौन हिंसा तथा द्वन्द्वका सम्बन्धमा बालबालिकाले बनाएको यो चित्र हामीले संयुक्त राष्ट्रसंघको वेवसाइटबाट साभार गरेका हौ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नरेश के.सी./लुम्बिनी का अन्य पोस्टहरु:
- रूपन्देहीको चुनाबी रौनक: कतै सहयात्री त कतै पूर्व र वर्तमान मन्त्रीबीच प्रतिष्पर्धा
- गृहमन्त्रीको आग्रहसँगै लुम्बिनीमा अलपत्र विद्युतीय बस सञ्चालनको तयारी
- लुम्बिनीमा भारतीय पर्यटकलाई विशेष निम्तो
- ब्रान्ड लुम्बिनी खस्केको हो?
- हेपिएको भुजौली स्कुललाई ठगेर ठेकेदार बेपत्ता
- चौहान स्मृति पत्रकारिता पुरस्कार पत्रकार मोहम्मद हविवलाई
- यसरी भित्रिन्छ नेपाली मुद्रा भारतबाट अबैध रूपमा नेपालमा
- अर्घाखाचीको सुपा देउराली: भारतीय भक्तजनको घुइँचो
- स्वादको राजा: कालानमक धानकाे चामल, जाे आफैंमा एउटा व्यञ्जन हो
- रूपन्देहीमा साना बन्दुकका ठूला खेला