गृहमन्त्रीको आग्रहसँगै लुम्बिनीमा अलपत्र विद्युतीय बस सञ्चालनको तयारी

नरेश के.सी

विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा नाका बेलहियामा विदेशी पर्यटकलाई स्वागत गर्दै गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका विद्युतीय बस सञ्चालन गर्न गराउन आग्रह गर्नुभयो।

लुम्बिनीको वातावरण प्रदूषण कम गर्न २०७७ सालमा लुम्बिनी १९ विद्युतीय बस र कार ल्याइएको थियो। लामो समय खुला आकाशमुनि थन्किएका ५ विद्युतीय बस र १४ कार अब सञ्चालन हुन नसक्दा बिग्रने चिन्ता बढेको थियो। एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड रुपैयाँ लागतमा ती कार र बस भित्रिएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका विद्युतीय बस सञ्चालन गर्न गराउन आग्रह गरे लगत्तै लुम्बिनी विकास कोषले सक्रियता देखायो र दसैंको अवसरमा असोज १५ गतेदेखि ५ दिन सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि ४३ औ विश्व पर्यटन दिवसको अवसरमा गृहमन्त्री खाणले विश्वको विभिन्न देशबाट नेपाल घुम्न आएका ६ जना विदेशीलाई सम्मान समेत गर्नुभएको हो।

पर्यटनका लागि पुनर्विचार’ गरौँ भन्ने मूल नाराका साथ बेलहियामा आयोजित विश्व पर्यटन दिवसको कार्यक्रममा इजरायली नागरिक मौऊर, क्यानडियन नागरिक आरोन, चिनियाँ नागरिक जी ऊ, भारतीय नागरिकद्वय लालाराम र राकेश कुमार तथा एकजना मलेसियन नागरिकलाई सम्मान तथा स्वागत गरिएको थियो।

विदेशी पर्यटकलाई स्वागत पछि गृहमन्त्री खाणले भन्नुभयो, ‘‘संसारभरबाट नेपाल घुम्न आउने पर्यटकलाई पूर्ण सुरक्षाको ग्यारेन्टी राज्यले गरेको छ। यहाँको प्रहरी प्रशासनले आफ्नो दायित्व सम्झेर पर्यटकको सुरक्षामा चौबीसै घन्टा खटिनेछ।  ’

समारोहमा उपस्थित गृहमन्त्रालयका उच्च पदस्थ अधिकारीहरूलाई निर्देशन दिदैं गृहमन्त्री खाणले भन्नुभयो, ‘कुनैपनि पर्यटक नेपाल प्रवेश गर्छन भने उहाँलाई सम्मानका साथ सहजै नेपाल घुम्ने वातावरण बनाइदिनु राज्यको दायित्व हो। म यही मञ्चबाट सबै सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिन चाहन्छु की , राष्ट्रिय दायित्व सम्झेर सम्मानका साथ पर्यटकलाई सुरक्षा दिने व्यवस्था गरियोस्। ’

खाणले भारतीय पर्यटकलाई सीमा क्षेत्रमा दुख दिने काम भएको भनी गुनासो आइरहेको बताउँदै कसैले त्यस्तो गरेका सूचना पाएमा कारबाही गर्ने समेत बताउनुभयो। उहाँले बेलहिया प्रवेश द्वारलाई अन्तराष्ट्रिय स्तरको बनाउने काममा ढिलाई नगर्न आग्रह गर्दै सडक विभागलाई तत्काल उक्त काममा लगाउने पनि जानकारी दिनुभयो। मन्त्री खाणले लुम्बिनीमा रहेका विद्युतीय बस सञ्चालन गर्न गराउन पनि आग्रह गर्नुभयो। यसैगरी बेलहियामा नै अध्यागमन कार्यालय राख्न पनि निर्देशन दिनुभयो।

मन्त्री खाणले हवाई मार्गको लागि भारतीय सरकारसँग पहल भइरहेको बताउँदै भन्नुभयो, ‘हाल विद्यमान सीमरा माथिको आकाशमा मात्रै रहेको हवाई रुटले मात्र नपुग्ने हुँदा नेपालगन्ज वा कन्चनपुर माथिको एयर रुटको लागि भारतीय सरकारसँग छलफल अगाडि बढेको छ। उक्त एआर रुट छिट्टै प्राप्त हुनेछ। ’

कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन सहरी तथा ग्रामिण विकास  मन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले पर्यटन मैत्री नीति  र कार्यक्रम सहित समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेशको काम गरिरहेको बताउनुभयो।

उक्त कार्यक्रममा  पर्यटन दिवस मुल समारोह समितीका संयोजक सिपी श्रेष्ठले पर्यटन दिवसको अवसरमा होटल व्यवसायीले २० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिनुभयो।

पर्यटनकोलागि पुर्नविचार’ गरौं भन्ने मुल नाराका साथ यस बर्षको विश्व पर्यटन दिवस नेपालका विभिन्न ठाउमा विविध कार्यक्रम गरी मनाईरहकेो छ। बेलहियामा आयोजित उक्त कार्यक्रममा विदेशी ६ जना पर्यटकलाई समेत सम्मान समेत गरिएको छ। स्थल मार्ग हुदै बढी पर्यटक भित्रीने नाका बेलहिया र  अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल भैरहवामा सबैभन्दा पहिले आउने विदेशी छ जना पर्यटकलाई सम्मान गरिएको तथा होटल र ट्राभलमा शतप्रतिशत निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको पर्यटन दिवस मूल समारोह समितिका सदस्य समेत रहनुभएको नाटा लुम्बिनी प्रदेश बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाले बताउनुभयो।

बेलहियामा आयोजित कार्यक्रममा थारू समुदायको झुमरा, मगर समुदायको कौडा, नेवार समुदायको झाकी, पन्चे बाजा तथा बुद्ध दर्शनमा आधारित अंगुलीमाल नाटक समेत देखाइएको थियो।  सो अवसरमा पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीले लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको बारेमा जानकारी गराउँदैँ यस वर्षको पर्यटन दिवसलाई उल्लासमय ढंगले पर्यटकलाई खुसी पार्ने गरी सबैको सहकार्यमा मनाउने बताउनुभयो। पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश र विश्व पर्यटन दिवस मूल समारोह समितिको आयोजनामा सम्पन्न  उक्त कार्यक्रम सफल बनाउन लुम्बिनी प्रदेशका पर्यटन क्षेत्रका संघसंस्थाले सहकार्य गरेका छन्। यसरी सहकार्य गर्नेहरूमा सिद्धार्थ होटल एशोसियसन अफ नेपाल, नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट नाटा, सोट्टो, लुम्बिनी विकास कोष, पर्यटन विकास परिषद, पर्यटन डिभिजन कार्यालय, लुम्बिनी प्रेस क्लब, पर्यटन पत्रकार महासंघ लगायत रहेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नरेश के.सी./लुम्बिनी का अन्य पोस्टहरु:
गृहमन्त्रीको आग्रहसँगै लुम्बिनीमा अलपत्र विद्युतीय बस सञ्चालनको तयारी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link