अर्घाखाचीको सुपा देउराली: भारतीय भक्तजनको घुइँचो

नरेश के.सी

कोही नरिवल र पूजा सामग्री मात्र त कोही बाख्रोको पाठो समेत बोकेर सडक छेउको एक हारमा उभिइरहनुभएको छ । त्यही लाइनमा हुनुहुन्छ– दाङ घोराहीबाट आउनुभएकी अनिता थापामगर । उहाँले पनि एक हातमा बाख्राको पाठो र अर्को हातमा पूजाको थाली बोक्नुभएको छ । आधाघण्टाजति उभिएर मन्दिर नजिकै आइपुगेपछि माइकमार्फत एउटा सन्देश आयो– ‘बलि चढाउन आउनु हुने भक्तजनहरू मन्दिरको दाहिनेतर्फबाट र अरु देब्रेतिरबाट मुख्य मन्दिरतर्फ प्रवेश गर्नूहोला ।’
सन्देशलाई शिरोधार्य गर्दै बोका समाएर उभिनुभएका करिब १५/१६ जना भक्तजन मन्दिरको दाहिनेतर्फ प्रवेश गर्नुभयो । अनिता पनि दाहिनेतिर सोझिएको हारमा मिसिनु भयो । उहाँले भन्नुभयो– ‘सुपा देउराली माताको पूजाको लागि आउँदा खुसी लागिरहेको छ ।’
मन्दिरमा खनाल थरका पुजारी हुनुहुन्छ । उहाँले भक्तजनको नाम र थर सोधेर गोत्र उच्चरण गर्दै संकल्प गराउँदै गरेको आवाज बाहिरसम्म सुनिइरहेको थियो । त्यो लाइनमा थापामगरसँगै घोराही, चितवन, प्युठान, पाल्पा, रुपन्देही, कपिलवस्तु र भारतको विहार, लखनउ, गोरखपुर र सिद्धार्थनगरलगायत टाढा टाढाबाट आएका तीर्थालुहरू उभिनुभएको थियो । मूल मन्दिरभित्र छिरेपछि कोही भाकल अनुसार परेवा उडाइरहनुभएको थियो भने कोही नरिबल फोडिरहनुभएको थियो । कति अगरबत्ति बालिरहनुभएको थियो भने कतिपय जल चढाइरहनु भएको थियो । यसबाहेक पूजारीसामु हात जोडेर उभिँदै पूजारीबाट आर्शिवाद लिनेहरू पनि उत्तिकै हुनुहुन्थ्यो ।
भारतको बिहारदेखि आउनुभएका रामबिलास गुप्ताले सुपा देउरालीको महिमा सुनेर परिवारसहित पूजापाठको लागि आएको बताउनुभयो । उहाँ जस्तै गोरखपुर, लखनउ र सिद्धार्थनगर बढनीबाट आउनुभएका भक्तजनहरू पनि सुपा देउराली शक्तिशाली पीठ भएको भन्दै मनोेकामना पूरा हुने विश्वासले आएको बताउनुभयो ।
गोरुसिङ्गे सन्धिखर्क सडकखण्डमा पर्ने अर्घाखाचीको सुपादेउराली मन्दिरमा भक्तजनहरू पूजापाठको लागि जाने प्रचलन पुरानै हो । यतिबेला उक्त मन्दिरमा सधैं जसो भिड देखिन्छ । पहाडको खोंचमा रहेको उक्त मन्दिरमा खनाल थरका पूजारीले पूजा गर्ने गर्नुहुन्छ । मन्दिरमा आवश्यक पूजा सामग्री बेच्न सडकको पश्चिमपट्टीको भित्तामा टासिएका एकै प्रकारका पसलहरू देख्न सकिन्छ । जहाँबाट पूजा सामग्री खरिद गर्न सकिन्छ ।
अन्य दिनको भन्दा हरेक हप्ताको शनिबारका दिन भक्तजनको भीड लाग्ने गरेको मन्दिरका सेवकले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कान्छी बहिनीको मन्दिर तल छ, यो दिदीको हो ।’ मन्दिरको प्रवेशद्वार नजिकै बसेर हातमा बेकेको माइक नजिकै मुख जोतेर निकालिएको उहाँको आवाजले लाइनलाई व्यवस्थित गरिरहेको थियो ।


मन्दिरमा आएका भक्तजनलाई टीका लगाउन एकैछिन रोकेर यो संवाददातासँग कुरा गर्दै पूजारी झविलाल खनालले भन्नुभयो– ‘कुनै पनि भाकल गरेमा सफल हुने, पूरा हुने हुँदा देश विदेशबाट भक्तजन आउने गर्छन् । बरु बाबुको पनि केही भाकल छ कि ?’ पूजारी खनाल जस्तै मन्दिरको भित्रपट्टी अर्का पूजारीले भक्तजनले ल्याएको प्रसाद चढाइरहनुभएको थियो । बाहिर पूजापाठ गरी परेवा उडाइदिने, टीका लगाइदिने ब्राह्मणहरू कहाँ पनि भक्तजनहरुको भीड उत्तिकै थियो ।
भीड छिचोल्दै हामीले मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्णलाल क्षेत्रीसँग कुरा गर्यौं । क्षेत्रीका अनुसार मन्दिरमा चढाएको भेटीले विभिन्न विद्यालयमा शिक्षकलाई तलब भत्तामा सहयोग दिने गरिएको रहेछ । उहाँले भन्नुभयो– ‘ प्रदेश र संघीय सरकारले यथेस्ट सहयोग नगरेको भए तापनि स्थानीय सरकारले सक्दो सहयोग गरिरहेका छन् । दैनिक ८०, ९० हजारसम्म भेटी उठ्ने गरेको र खासगरी चैत–वैशाख महिनामा सबैभन्दा बढी भक्तजन आउने गर्दछन् । ’
मन्दिरको व्यवस्थापनको लागि स्वयंसेवहरू पनि खटाइएको उहाँले बताउनुभयो ।
मान्छेको भिडभाडले गर्दा कहिलेकाहीं मन्दिर अगाडि सवारी साधन जाम हुने गरेको भए तापनि अहिलेसम्म व्यवस्थापन गरिरहेको मन्दिर अगाडिको सडकमा भेटिनुभएका ट्राफिक प्रहरी गोबिन्द गिरीले बताउनुभयो ।
पहाडको खोंचमा रहेको सुपा देउरालीको आध्यात्मिक र धार्मिक आस्था अत्यन्तै उच्च छ, त्यो भन्दा बढी यो ठाउँ पर्यापर्यटनको दृष्टिले नमूना र महत्वपूर्ण हुन सक्दछ । प्रदेश र संघीय सरकारले यो ठाउँको विकासमा योजनाबद्ध काम गरे धेरै फलदायी हुने देखिन्छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नरेश के.सी./लुम्बिनी का अन्य पोस्टहरु:
अर्घाखाचीको सुपा देउराली: भारतीय भक्तजनको घुइँचो
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link