रूपन्देहीमा साना बन्दुकका ठूला खेला

नरेश के.सी

भारतसँग सीमा जोडिएको जिल्ला रूपन्देहीमा साना हतियारको त्रास बढेर गएको छ।

साना हतियार लिएर हिड्नेहरूलाई प्रहरीले बारम्बार पक्राउ गर्ने गरेतापनि त्यसको नियन्त्रण भने हुन सकेको छैन।

यसैबीच आइतबार राति लुम्बिनी क्षेत्रबाट साना हतियार बोकेर हिँडेका तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

रूपन्देही प्रहरी प्रमुख रबिन्द्र रेग्मीको अनुसार लुम्बिनीको बसपार्क क्षेत्रमा प्रहरीले शंका लागेर रोकेर खानतलासी गर्दा हतियार भेटिएको हो। एसपी रेग्मीले भन्नुभयो, ‘ भारतीय नम्बर प्लेटको युपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकलमा सवार मानिसहरू चेकजाँच गर्दा हतियार भेटिएको हो। ’

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर बस्न  ३४ बर्षिया को चिनक भनिने मेदी हुसेन, सोही ठाउँ बस्ने ५१ बर्षिया अकबर खान र ५५ बर्षिया को आसिक अलि रहेका छन्।

उनीहरू प्रहरीलाई देखि भाग्ने क्रममा सडकमा रहेका गोरुसँग ठोक्किँदा सामान्य घाईते समेत भएका छन्। पक्राउ परेकाहरू मध्ये मोटरसाइकल चालक मेदी हुसेनले कम्मरमा बाँधेर राखेको अवस्थामा हतियार बरामद भएको हो। प्रहरीले एक थान कटुवा पेस्तोल, केएफ एमएम लेखेको २ राउन्ड गोली , एक थान चक्कु समेत बरामद गरेको छ।

उनीहरू कालीदह नाकाबाट नेपाल भित्रिएको कुरा रहेको छ। कालीदह लुम्बिनीबाट दक्षिण तर्फ पर्दछ। उक्त  नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको अलग अलग सुरक्षा फौज तैनाथ छ।

रूपन्देहीमा २०७६ भदौ २९ गते रोहिणी गाउपालिका वडा नम्बर २ धकधई सडकखण्डकै बैकुण्ठपुरमा बैंकबाट पैसा निकालेर घर तर्फ जाँदै गरेका ३५ बर्षिया महेन्द्र कुर्मीको हत्या भयो।

२०७३ पौष ४ गते देवदहमा युवासङ्घका तत्कालीन अध्यक्ष समेत रहेका व्यवसायी दुर्गा तिवारीको पनि गोली हानी हत्या गरियो। ०७४ पौष २१ मा देवदहकै बलु पौडेलको गोली हानी हत्या गरियो। दुर्गा र बलुको हत्या मनोज पुनले साना हतियार प्रयोग गरी गरेको थिए।  यसैगरी ०७५ चैत्र १३ गते मैनाबगर बुटवलमा फिरोज खानको गोली हानी हत्या गरियो। त्यस यता भैरहवामा उद्योगी कुल प्रसाद न्यौपाने, व्यवसायी हरिश सेठिया माथि पनि गोली प्रहारको प्रयास भयो। यी सबै घटनामा साना हतियारको प्रयोग भएको देखिन्छ। यस्ता हतियार सीमापारि भारतीय बजारमा सहजै खरिद गर्न पाइन्छ । सीमा पारीको क्षेत्रका बजारमा थोरै मूल्यमै यस्ता हातहतियार पाइन्छ।

प्रदेशको अवस्था

लुम्बिनी प्रदेशमा अहिले पनि लुकाएर राखिएका हातहतियारहरू भेटिने क्रम जारी छ। प्रहरीको तथ्याङ्क अनुसार प्रदेशमा २०५९ साल यता १ सय ८७ स्थान बाट करिव २ सय ३ वटा हातहतियारहरू फेला पारेको छ।

खासगरी सीमावर्ती जिल्लामा इजाजतवाला भन्दा अवैध हतियार चिन्ताको विषय बन्दै आएको छ । भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको छ । मानिसहरूलाई धम्क्याउन, चोरी सिकार गर्नका लागि अवैध हतियार भित्र्याउने गरिन्छ ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७४–७५ को तथ्याङ अनुसार दाङ जिल्लामा २० , नवलपरासी जिल्लामा  २, बर्दिया जिल्लामा ४ गरी जम्मा २६ वटा हातहतियार। आर्थिक वर्ष ७५–७६ मा अर्घाखाँची २, पूर्वी रुकुममा गरी १३ , दाङ जिल्लामा  ३०, पूर्वी रुकुममा १६ गरी जम्मा ६१ वटा हातहतियार बरामद गरेको छ। आर्थिक वर्ष २०७६ ७७  को अनुसार पूर्वी रुकुममा ९, बर्दियामा १२, प्युठानमा  १ गरी जम्मा  २२ वटा हातहतियार बरामद गरेको छ। यस्तै आर्थिक वर्ष ०७७/०७८ मा  प्यूठान जिल्लामा २० वटा हात हतियार, बाँके जिल्लामा ८, पूर्वी रुकुममा २, दाङ जिल्लामा ५ वटा, गुल्मी जिल्लामा ४, कपिलवस्तु जिल्लामा ६  रूपन्देही जिल्लामा २, अर्घाखाँची जिल्लामा ३ बर्दियामा १ गरी जम्मा ५१ वटा हातहतियार प्रहरीले बरामद गरेको छ।

पछिल्लो समय खुला सीमाको फाइदा उठाउँदै अवैध हतियारको प्रयोग र ओसारपसार बढ्दा प्रदेशमा सुरक्षा चुनौती थपिएको छ । सुरक्षा निकायले पटकपटक अवैध हतियार बरामद गर्नु र गोली प्रहारको घटना बढ्नुले पनि यसको पुष्टि गर्छ ।

पेस्तोलबाट गोली प्रहारको घटना भारतीय सीमावर्ती तराईका जिल्लामा पहिला पनि हुँदै आएको थियो । साना हतियार प्रयोग गरी व्यक्ति हत्या, लुटपाट, चोरी, डकैतीका घटनाहरू निकै हुने गर्थे । अपराधमा संलग्नहरू लुक्नका लागि वारिपारि आउनेजाने गर्थे ।

रूपन्देहीको ५९ दशमलब ५ किलोमिटर भूगोल भारतीय क्षेत्रसँग जोडिएको खुल्ला क्षेत्र हो। जहाँबाट सहजै हातहतियार नेपाल तर्फ भित्रिने गर्दछन्। जिल्लाको दक्षिणमा छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको महाराजगंज र सिद्धार्थनगर जिल्लाका मुख्य नाकाहरू बेलहिया, भगवानपुर, मनहरापुर, अमवा,सेमरपानी, कदमहवा, खैराघाट, ठोटरी, चण्डीघाट, दुबेथुमुवा, हडवड, कालीदह, रहेका छन। यी नाकाबाट सहजै हतियार भित्रिने गरेको अहिले सम्म भएका घटनाको अनुसन्धानबाट देखिन आएको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नरेश के.सी./लुम्बिनी का अन्य पोस्टहरु:
रूपन्देहीमा साना बन्दुकका ठूला खेला
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link