सातौँ पटक लड्दै कांग्रेस नेता सिटौला, लिङ्देनसँग दोस्रो भेट

सुरेन्द्र भण्डारी/झापा

२०४८ साल यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट ६ पटक निर्वाचनमा भाग लिइसक्नु भएको छ। त्यसमध्ये उहाँले दुई पटक मात्रै जित्नु भएको थियो। सिटौलाले २०५१ सालमा भएको उप निर्वाचन र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा जित्नु भएको थियो। चार वटा निर्वाचनमा हारेका सिटौला सातौँ पटक निर्वाचनमा सहभागी हुँदै हुनुहुन्छ। 

यस अघि उहाँ २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएको हो। नेकपा गठबन्धनका उम्मेदवारको रुपमा मैदान उत्रिएका लिङ्देनले कांग्रेस नेता सिटौलालाई भारी मतअन्तर १३ हजार ४ सय ४३ मतले पराजित गर्नु भएको थियो। नेता सिटौलाले २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ३१ हजार १ सय ७१ मत प्राप्त गर्दा राप्रपा नेता लिङ्देनले ४४ हजार ६ सय १४ मत प्राप्त गर्नुभएको थियो।

यस पटकको निर्वाचनमा पनि एमालेसँग चुनावी तालमेल गर्दै राप्रपा अध्यक्ष समेत रहनुभएका लिङ्देन मैदानमा हुनुहुन्छ। उहाँ आफ्नो विरासत कायम राख्न प्रयासरत हुनुहुन्छ। भने कांग्रेस नेता सिटौला बदला लिने दाउमा हुनुहुन्छ। तर मनन गर्न पर्ने कुरा के छ भने झापा ३ मा राप्रपा र नेकपा (एमाले) बीचमा गठबन्धन भएपनि एमाले नेता डम्मर गिरीको स्वतन्त्र उम्मेद्वारी परेको छ।

स्थानीय तह: नेपाली कांग्रेसको बर्चश्व

झापा ३ मा तीन गाउँपालिका, दुई नगरपालिकाका ९ वटा वडा पर्छन्। जसमध्ये ०७९ को स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिका एमाले, हल्दीबारी गाउँपालिका राप्रपा र कचनकवल गाउँपालिका कांग्रेसले जितेको छ। यसअघिको स्थानीय तहमा हल्दीबारी, कचनकवल गाउँपालिका राप्रपाले र बाह्रदशी गाउँपालिका कांग्रेसले जितेको थियो।

२०७९ को स्थानीय तहमा कांग्रेसले पाएको कूल मत २६ हजार ५ सय ९९ छ। अघिल्लो स्थानीय तहमा कांग्रेसले पाएको मत २० हजार २२ थियो। यसपटक कांग्रेसको करिब ६ हजार मत बढेको देखिन्छ।

कतिपय वडामा गठबन्धनको मत कांग्रेसको मतमा जोडिएको छ भने केही वडामा कांग्रेसको मत पनि माओवादीतिर गएको छ। झापा ३ मा बिर्तामोड नगरपालिकाको वडा न १०, भद्रपुर नगरपालिकाको वडा नं. १ देखि ८, कचनकवल गाउँपालिका, हल्दीबारी गाउँपालिका र बाह्रदशी गाउँपालिकाको भूगोल पर्छ। भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर र कचनकवल गाउँपालिकामा अध्यक्ष जितेको छ। यस क्षेत्रमा रहेका कूल २८ वटा वडामध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वटा वडामा जित हासिल गरेको छ। एमालेले ४, राप्रपाले ५, माओवादी केन्द्रले २ र एउटा वडामा जित हासिल गरेको छ। माओवादी केन्द्र २ वटा वडामा र एउटा वडामा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link