इजरायलको लागि नेपाली राजदूत कान्ता रिजाल महिला अधिकार, शिक्षा समाजसेवा, तथा राजनीतिको क्षेत्रमा समेत उत्तिकै चर्चित हुनुहुन्छ । गत असार १२ गते नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रिजाललाई राजदूतमा नियुक्त गर्नुभएको थियो । रिजालले २०२२, अगष्ट ९ मा इजरायलका राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो । राजदूतको रूपमा पदभार ग्रहण गर्नुअघि सन् २०१२ देखि २०२२ सम्म सेन्टर फर कन्सोलिडेशन अफ डेमोक्रेसी, नेपालको महासचिवको रूपमा काम गर्नुभएकी रिजाल नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठान केन्द्रकी सदस्य हुनुहुन्थ्यो । काठमाडौंको इकेदा इन्टरनेशनल स्कूलको संस्थापक प्रिन्सिपल समेत रहनुभएकी रिजाल राजनीतिमा पनि उत्तिकै चासो राख्नुहुन्छ । रिजालले महिला सशक्तिकरणको क्षेत्रमा विभिन्न काम गर्नुका साथै महिला विकास अधिकृतको रूपमा समेत ५ वर्षको अनुभव हासिल गर्नुभएको छ । राजनीति तथा महिला अधिकारको क्षेत्र, सरकारी सेवा, शिक्षा लगायतका क्षेत्रमा आफ्नो दह्रो उपस्थिति कायम राख्दै राज्यको प्रतिनिधित्व गर्ने तहसम्म पुग्नुभएकी रिजालले सँगालेका अनुभवहरू उहाँकै शब्दमाः
होस्टेल बसेर पढ्नुपर्दाको नरमाइलो
वि.सं. २०१५ मा भएको संसदीय निर्वाचनमा मेरो बुबाले पाँचथर नेपाली काँग्रेस पार्टीको तर्फबाट चुनाव जित्नुभएको थियो । २०१७ साल पुसमा राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री विपी कोइराला सरकारलाई अपदस्थ गरेपछि संसद समेत भंग गरेर संसदीय व्यवस्था र दलीय क्रियाकलापलाई प्रतिबन्ध लगाउने कार्य भएको थियो । जन अधिकारको रक्षा र प्रजातन्त्रको पुनर्वहालीको माग गर्नेहरूलाई देशनिकाला गर्ने तथा जेल हाल्ने जस्ता कार्य गरेका कारण मेरो बुबा भारत प्रवासमा जान बाध्य हुनु भएको थियो। नेपालको पूर्वी भाग, पाँचथर जिल्लामा जन्म भए पनि पिताजीको प्रवासका कारण मैले आठ वर्षको उमेरदेखि भारत कालिम्पोङको सेन्टफिलोमिनास्कूलमा मेरो दिदीसँग त्यहींको होस्टेलमा बसेर अध्ययन गर्नु परेको थियो । आमासँग छुट्टिएर बस्नुपर्दा पहिलो वर्ष निकै गाह्रो भएको थियो र मलाई सम्झना छ मैले त्यो वर्ष रोएर मात्रै बिताएँ । पछि त आमासँग छुट्टिएर बस्नुपर्दा कहिलेकाहीँ आमासँग भेट्दा पनि उहाँ पराइ हो कि भन्ने लाग्थ्यो । मेरी आमा कति कठोर हुन सकेको होला जस्तो लाग्थो । त्यो कठोरता भित्र मेरा आमावुवाको कति ठूलो बलिदान रहेछ भन्ने बुझेपछि भने म राम्रो पढ्न थालेँ । इण्डियाको पढाइ सकेपछि शंकरदेव क्याम्पसबाट आइकम, विकम तथा एमविएसको पढाइ पूरा गरेँ भने हल्याण्ड गएर महिला र विकास भन्ने विषयमा स्नातकोत्तर गर्ने अवसर पनि पाएँ ।
सुरूसुरूमा आफ्नो नाम भन्नु पर्छ भनेर मेरो कार्यकक्षबाट बाहिर भाग्ने महिला दिदी बहिनीहरू हामीले उपलब्ध गराएका तालिम लिएपछि त मेरो टेबल ठोकेर आफ्ना आवश्यकताहरूको माग राखेको देख्दा उहाँहरूमा आएको परिवर्तन देखेर खुसी लाग्थ्यो । किनभने जब कसैले जिम्मेवारी पाउँछ अनि मात्र उसले आफ्नो क्षमता पहिचान गर्न र सो अनुरूप काम गर्न सक्छ ।
तेह्रथुममा पहिलो महिला विकास अधिकृत
वि.सं. २०४९ सालमा म तेह्रथुममा पहिलो महिला विकास अधिकृत भएर काम गर्ने सौभाग्य पाएको थिएँ । अझ साथीहरूले जिल्लाकै पहिलो महिला अधिकृत भन्ने गर्नुहुन्थ्यो खुसी नै लाग्थ्यो तर यथार्थ के हो परीक्षण गर्न तिर लागिनँ । काम गर्दै जाँदा मैले नेपालका महिलाको अवस्था उनीहरूलाई समाजले हेर्ने दृष्टिकोणबारे बुझ्ने मौका पाँए । काम गर्ने क्रममा मैले महिलालाई हरेक क्षेत्रमा सक्षम बनाउन जिम्मेवारी दिनुपर्ने रहेछ भन्ने बुझेँ । सुरूसुरूमा आफ्नो नाम भन्नु पर्छ भनेर मेरो कार्यकक्षबाट बाहिर भाग्ने महिला दिदी बहिनीहरू हामीले उपलब्ध गराएका तालिम लिएपछि त मेरो टेबल ठोकेर आफ्ना आवश्यकताहरूको माग राखेको देख्दा उहाँहरूमा आएको परिवर्तन देखेर खुसी लाग्थ्यो । किनभने जब कसैले जिम्मेवारी पाउँछ अनि मात्र उसले आफ्नो क्षमता पहिचान गर्न र सो अनुरूप काम गर्न सक्छ । नयाँ कुराको सिर्जना गर्न सक्छ । महिला विकास अधिकृतजस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा मैले पनि आम महिलाका समस्या पहिचान गरी उनीहरूको अधिकारका बारेमा धेरै जान्ने अवसर पाँए । महिलालाई हरेक क्षेत्रमा स्थापित गराउन पहिले त सक्षम र सशक्त बनाउनु जरूरी छ।
पुरूष कर्मचारीलाई मात्र नमस्कार
हाम्रो समाजमा अझै पनि महिलालाई उपेक्षित र निकै कमजोर दृष्टिले हेर्ने प्रवृत्ति छ । समाजलाई महिलाले पनि गहन जिम्मेवारी उठाउन सक्छन् भनेर विश्वास दिलाउन निकै कठिनाइको सामना गर्नु परिरहेको छ । मैले जिल्लामा महिला विकास अधिकृत भएर काम गर्दा सेवाग्राहीको मन जित्न पनि समय लागेको थियो । महिलाले पनि महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्छन् भनेर बुझाउन मैले आफ्नो कामबाट प्रमाणित गर्नु परेको थियो । समाजका हरेक व्यक्तिले त्यसबेला पुरूषमात्र ठूला हुन् भन्ने भावले हेर्थ्यो, सम्मान गर्थे तर महिलालाई वेवास्ता गर्थे । अनेकौं पटक म मेरो अफिसको एकाउन्टेन्ट पुरूष कर्मचारीसँग कामको सिलसिलामा अर्को कार्यालयमा जाँदा बाटोमा भेटिने मानिसहरू सबैले मसँग हिंडेका पुरूष कर्मचारीलाई मात्र सर भन्दै नमस्कार गर्ने गर्दथे । ती मध्ये अधिकांशले मलाई कार्यालय प्रमुखको रूपमा चिन्दथे तर पनि मलाई नमस्कार गर्दैनथे । नमस्कार गर्नु नगर्नु व्यक्तिगत विषय हुन् सक्छ तर यहाँ समाजले महिलालाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब प्रस्तुत भएको थियो । यस्तो देख्दा महिलालाई समाजले विश्वास र सम्मान गर्न किन नसकेको होला ?भन्ने लाग्दथ्यो । महिलालाई पत्याउने र सम्मान गर्ने समाजको निर्माण गर्न अझै धेरै गर्नु छ भन्ने लाग्थ्यो । यस्तै विषयको चिन्तन गर्दागर्दै म महिला र विकासको बारेमा पढ्न हल्याण्ड गएँ ।
जीवनलाइ हेर्ने दृष्टिकोण बदलियो
म निदरल्याण्ड्स गएर महिला आधिकार तथा विकासका बारेमा पढ्न थालेपछि मलाई समाजको चेतनाको स्तर र यसलाई प्रकट गर्ने विषयमा धेरै कुराको बोध भयो, जीवनलाई हेर्ने दृष्टिकोण नै बदलियो । महिला र पुरूषको समान अस्तित्वको बारेमा चेतनामा वृद्धि भयो । देश तथा विश्वभरका महिलाको अवस्था कस्तो छ ? उनीहरूले पाउनुपर्ने अधिकार के हो? किन महिला विभेद, हिंसा, उपेक्षा तथा बेचबिखनमा परेका छन् भनेर अध्ययन गर्दा जुन कुराको अनुभव भयो त्यसले निकै नरमाइलो लाग्थ्यो। महिलाको अधिकार र सशक्तिकरणको लागि केही गर्नैपर्छ भन्ने लाग्यो । जीवनमा के कुराले खुशी मिल्छ र हामी किन यति असन्तुष्ट छौं भन्ने विषयमा चिन्तन गर्न थालेँ । म पढाइ सकेर नेपाल फर्किएपछि सरकारी स्तरबाट नै नयाँ कामको सुरूवात गर्न सक्ने वातावरण नबने पछि नेपाली महिलाहरूको अवैध ओसार पसार नियन्त्रण सम्बन्धी युएनडिपीको एक प्रोजेक्टमा काम गर्न थालेँ । त्यसपछि मैले साउथ एसियाका महिलाको राजनीतिक सशक्तिकरण सम्बन्धी एक फोरममा कोअडिनेटरको रूपमा काम गरेँ । आठवटा देशको कोअर्डिनेट गर्दा नेपालले महिला अधिकारको क्षेत्रमा हामीले गर्न बाँकी भएका विषयवस्तुबारे गहन अध्ययन गरेर आवस्यक नीति तर्जुमाको पहल गर्ने काम गरेँ ।
महिला अधिकारको क्षेत्रबाट राजनीतिमा फड्को
पछिल्लो चरणमा म विभिन्न संघ संस्थामा आवद्ध भएर महिला अधिकार तथा लैङ्गिक समानताको बारेमा तालिम दिने गर्दथें । यसरी पटकपटक महिला नेता तथा सांसदहरूलाई लैङ्गिक समता र लैङ्गिक समानताको तालिम दिँदै गर्दा मलाई म नै किन राजनीतिमा नजाने भन्ने सोच आयो । म विचार गर्न थालें । मलाई सानैदेखि राजनीतिमा लगाव थियो । मैले वि.सं.२०३८ सालमा श्री जय नारायण आदर्श मा.वि. मेहलबोटेमा मैले नेविसंघ स्कूल एकाइको स्थापना गरी राजनीतिक यात्रा प्रारम्भ गरेको थिएँ । कलेजको विद्यार्थी हुँदा पनि विभिन्न रूपमा राजनीतिमा चाख राख्ने मानिस हो। २०४६ सालको आन्दोलनमा पनि सक्रियरूपले लागेको थिएँ । बहुदलीय व्यवस्था पुनर्स्थापनापछिको पहिलो सरकारका विरूद्ध कर्मचारी आन्दोलन सुरू भएपछि कर्मचारीको क्षेत्रमा पनि महिलाको सहभागिता वढाउनु पर्ने मागसहित मेरो अध्यक्षतामा काठमाडौंस्थित विभिन्न कलेजका महिला विद्यार्थीहरू सम्मिलित शिक्षित महिला बेरोजगार संघ खोलेर विभिन्न कार्यक्रम गरेका थियौं ।
अधिकांशले मलाई कार्यालय प्रमुखको रूपमा चिन्दथे तर पनि मलाई नमस्कार गर्दैनथे । नमस्कार गर्नु नगर्नु व्यक्तिगत विषय हुन् सक्छ तर यहाँ समाजले महिलालाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब प्रस्तुत भएको थियो । यस्तो देख्दा महिलालाई समाजले विश्वास र सम्मान गर्न किन नसकेको होला ?भन्ने लाग्दथ्यो ।
आजीवन राजनीति नै गर्छु भन्ने प्रारम्भिक प्रतिवद्धता नभए पनि महिला अधिकारको क्षेत्रमा काम गर्दै जाँदा यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ मेरो यात्रा यतातिर मोडियो । समाज परिवर्तनका लागि अब केही गर्नुपर्छ भन्ने विचारका साथ मैले पहिलो संविधानसभाको चुनावमा आफ्नो सक्रियता बढाएँ । म जन्मेहुर्केको समाजमा मेरो राजनीति प्रतिको चासोको कारण एक प्रकारको परिचय बनि सकेको थियो । मैले पाँचथर जिल्लाबाट पहिलो संविधान सभाको चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकबाट उम्मेदवार बन्ने अवसर पाएँ । सांसद भई संविधान निर्माणमा प्रत्यक्ष योगदान दिन त पाइएन तर त्यहाँसम्मको अवसर पाउनु पनि मेरो लागि निकै ठूलो कुरा थियो । पछि नेपाली कांग्रेसको बाह्रौं अधिवेशनमा महासमिति सदस्यमा विजयी भएँ । त्यसपछि नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा रहेर नीति तर्जुमा लगायतका कामहरू गरें । चौधौं आधिवेशनमा पनि अग्रजहरूको सल्लाहले फेरि महासमिति सदस्यमा उम्मेदवारी दिएँ र विजयी भएँ । त्यसवेला मलाई मेरा अग्रजहरूले आफ्नो बुबाले जस्तै राम्रो काम गरेस् भनेर आशीर्वाद दिनुहुन्थ्यो । उहाँहरूको आशीर्वाद मेरा लागि सधैं मार्गदर्शकको रूपमा रहने छन् र त्यसै अनुरूप काम गर्न म सधैं प्रतिवद्ध रहने छु ।
महिलालाई हेर्ने दृष्टिकोण बदलौं
मलाई बुबाले सधैं प्रेरणा दिनुहुन्थ्यो । मेरो माइती र घर तथा श्रीमान्बाट धेरै सहयोग र माया पाएको छु। कुनै पनि कुरामा विभेद खेप्नुपरेको छैन । मलाई कुनै अप्ठ्यारो परिस्थितिको समना गर्नुपरेन । म भाग्यमानी नै परेछु जस्तो लाग्छ तर महिलाले जुनसुकै क्षेत्रमा पनि धेरै नै चुनौती र विभेद भोग्नुपरेको देखेकी छु । मैले चिनेजानेका नातेदार तथा दिदीबहिनीले भोगेका कुरा नजिकबाट देखेकी छु। समाजले महिलालाई हेर्ने दृष्टिकोण सबै क्षेत्रमा एउटै हुँदो रहेछ । महिलालाई सशक्त बनाउनुमात्र पर्याप्त छैन । महिलालाई हेर्ने दृष्टिकोण नबदलिएसम्म परिवर्तन हुँदैन । अहिले पनि कुनै महिलाले केही गल्ती गरेमा उसले मात्र अपमान खेप्ने होईन कि सम्पूर्ण महिला वर्गले नै आलोचना र टीका टिप्पणी सहनुपर्छ तर त्यही गल्ती पुरूषले गरेमा यो समाजले त्यो गल्ती त्यस व्यक्तिको व्यक्तिगत कमी कमजोरीको रूपमा सहजै स्वीकार गर्छ । यस्ता सोचहरूको वारेमा कहिल्यै कुनै खास व्यक्तिसँग गुनासो गर्नु भन्दा पनि समाजको यस्तो सोचलाई परिवर्तन गर्न म प्रयासरत छु । समाजमा व्याप्त परम्परागत नकारात्मक सोच बदल्न सकिएमा मात्र महिला अधिकारको सही अर्थमा सम्मान र कार्यान्वयन हुनेछ । समाजमा पुरूषले महिलाको अस्तित्वलाई समानताको दृष्टिकोणले हेर्न क्रम सुरू हुनासाथ असमानताको दूरी घट्ने क्रम सुरू हुन थाल्दछ । आम महिलालाई पनि सशक्त बनाउन तथा समाजिक सोचमा परिवर्तन ल्याई महिलाको समग्र पक्षको विकास गर्न आफ्नो तर्फबाट जे जति गर्न सकिन्छ सधैं गरिरहने छु । सामाजिक परिवर्तनको गतिलाई सही दिशा दिन सकियो भने यो देश र समाजको उन्नतिका लागि ठूलोउपलब्धि हुनेछ भन्ने ठान्दछु । अहिले राज्यले मलाई सुम्पेको ईजरायलका लागि नेपालको राजदूतको जिम्मेवारी सफलतापूर्वक वहन गर्न प्रयत्नरत छु ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
तारा वाग्ले का अन्य पोस्टहरु:
- प्रवासी नेपाली श्रमिकको पीडा कसरी कम गर्छ श्रमाधान सेवाले?
- सूचना प्रविधि क्षेत्रमा लगानी सम्मेलनको परियोजना र प्राथमिकता
- आमिरको नेपाल भ्रमणः किन भएन श्रम सम्झौता नविकरण?
- भटाभट खारेज हुँदैछन् वैदेशिक रोजगार क्षेत्रका विवादास्पद प्रावधान, के के भए नयाँ व्यवस्था ?
- सामाजिक सुरक्षा योजना: वैदेशिक रोजगारीमा जाने कामदारको मात्र आकर्षण बढ्यो
- महिला दिवस: एक शताब्दीदेखि उठाइएको छ आवाज, पुग्ला त नीति निर्माताको कानसम्म ?
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता, के के छन् व्यवस्था ?
- अर्को विश्वको सम्भावना खोज्दै सकियो विश्व सामाजिक मञ्चको सम्मेलन, के भयो उपलब्धि ?
- सामाजिक सुरक्षा: श्रमिकहरूको घाउको मलम
- नेपालमा अझै घटेन गरिबी: ५८ लाख जनसङ्ख्या गरिबीको रेखामुनि