झापा ४: कांग्रेस सभापति थेवे र एमाले नेता साँवाको दोस्रो भेट

सुरेन्द्र भण्डारी/झापा

प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबे र नेकपा (एमाले) नेता लालप्रसाद साँवा बीच दोस्रो  भेट हुँदैछ। साँवा २०७४ मा भएको प्रतिनिधि सभा सदस्यमा झापा ४ बाटै निर्वाचित सदस्य हुनुहुन्छ भने थेवे प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नयाँ अनुसार हो।  यद्यपि दुवैको राजनीतिक भूगोल  तथा स्थायी बसोबास क्षेत्र एउटै हो।

एमाले नेता लालप्रसाद साँवाले २०७० सालमा संविधानसभा निर्वाचनमा सहभागी हुनुभएको थियो। तर, उहाँ नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीसँग पराजित हुनुभयो। २०७४ सालमा भएको  प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता साँवाले कांग्रेस नेता थेबेलाई भारी मतान्तरले पछि पार्दै निर्वाचित हुनुभयो। २०७४ मा भएको निर्वाचनमा एमाले नेता साँवाले ४३ हजार ५ सय १५ मत प्राप्त गर्दा कांग्रेस नेता थेबेले २६ हजार ८ सय २२ मात मात्रै पाउनु भएको थियो।

यस पटक पुन: उनै नेताद्वय बीच प्रतिनिधिसभाका लागि प्रतिष्पर्धा हुँदैछ। नेकपा (एमाले) र राप्रपाबीचमा गठबन्धन भएपनि राप्रपा नेतृ खुश्बु ओलीले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ। जसका कारण एमालेका उम्मेदवारको मत काटिने आँकलन गरिएको छ।

स्थानीय तह: नेकपा एमालेको वर्चश्व

झापा ४ निर्वाचन क्षेत्रमा झापा गाउँपालिका, गौरादह– ९, गौरिगञ्ज १ र २, कन्काई–१ देखि ७ र शिवसताक्षी नगरपालिकाको भूगोल समेटिएको छ। गत स्थानीय तहको निर्वाचनलाई आधार मान्दा यो निर्वाचन क्षेत्रमा नेकपा एमालेको वर्चश्व देखिन्छ। २८ वटा वडामध्ये एमाले एक्लैले १५ वटा वडामा बिजय हासिल गरेको छ।

यता नेपाली कांग्रेस ११, माओवादी केन्द्र १ र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। एमालेले कनकाई नगरपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडाको नतिजा हात पार्दा सो नगरपालिकामा कांग्रेसले ७ नम्बर वडा मात्र जितेको छ। शिवसताक्षी नगरपालिकाको १,४,५,१० र ११ वटा वडाको नतिजा एमालेको पोल्टामा परेको छ। सो नगरपालिकामा कांग्रेसले ३, ६, ७, ८, ९ र माओवादी केन्द्रले २ नम्बर वडामा जित हासिल गरेका छन्। यसैगरी झापा गाउँपालिकामा एमालेले वडा नम्बर ३ मा जित हात पारेको छ।

कांग्रेसले वडा नम्बर १,२,४,६ र ७ तथा ५ नम्बरमा स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेको पाइएको छ। गौरीगञ्ज गाउँपालिका १ र २ कांग्रेस र गौरादह नगरपालिका–९ एमालेले जित हात पार्न सफल भएका छन्।

झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसले जितेको छ। कनकाई नगरपालिकामा मेयर एमालेले जित्दा कांग्रेसले उपमेयर जितेको छ। शिवसतासी नगरपालिकामा मेयर र उपमेयर नै एमालेबाट निर्वाचित भएका छन्। यस्तै गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष कांग्रेसले जितेको छ भने उपाध्यक्षमा एमालेका उम्मेदवार बिजयी भएका छन्। गौरादह नगरपालिकामा मेयर र उपमेयर नै एमालेबाट निर्वाचित भएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link