अक्सिजन सिलिन्डर जडानपछि  कुद्‌ने छ आइसीयु एम्बुलेन्स

चन्द्रकान्त खनाल/रूपन्देही

लुम्बिनी क्षेत्रको पुरानो र ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आइसीयु सहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आइसीयु सहितको सुविधा सम्पन्न एम्बुलेन्स किनिएको हो।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरमेसन मात्रै नभएर उपचार समेत प्राप्त हुने बताउनु भयो।

ए ग्रेडको आइसीयु सहित एक जना मेडिकल अधिकृत र एकजना  स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्स भित्रै बिरामीले स्वास्थ्य सेवा पाउने भएकाले सरकारी अस्पतालमा न्यूनतम रकममा बिरामीलाई सेवा दिनुपर्ने डा. विकास देवकोटाले बताउनु भएको छ।

कोभिडको समयमा बिरामीलाई काठमाडौं लैजानका लागि एम्बुलेन्सको अभावको महसुस भएपछि त्यतिबेला अस्पतालका मेडिकल सुपरिटेन्डेन्टकै पदमा कार्यरत डा. विकास देवकोटाकै पहलमा यो एम्बुलेन्स किन्ने प्रक्रिया थालिएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले ग्रेडको एम्बुलेन्स भित्र चिकित्सक स्वास्थ्यकर्मी समेत रहने भएकाले अस्पतालबाट रिफर गरेर अन्यत्र लैजाँदा बाटैमा इमर्जेन्सी भए सुत्केरी गराउन वा अपरेशन समेत गर्न सकिने बताउनु भयो। उहाँले ए ग्रेडको एम्बुलेन्सले अस्पतालको सेवालाई एक कदम अगाडि बढ्न मद्दत पुग्ने बताउनु भयो।  डा. ढकालले यहाँ सञ्चालित एम्बुलेन्सलाई टोकन सिस्टमा लैजाने बताउनु भयो।  यसो भयो भने सबैले समान तरिकाले बिरामी बोक्न पाउँछन् । बिरामी बोक्नको लागी तँछाडमछाड गर्नुपर्ने र भाडाका लागि मोलमलाइ गर्ने अवस्था अन्त्य हुने बताउनु भयो। उहाँले अरु एम्बुलेन्सको भन्दा यो सुविधा सम्पन्न भएकोले भाडा महँगो रहेको बताउनु भयो । यसलाई चलाउनको लागि विकास समितिले चालकलाई समेत प्रति पटक को शुल्क दिने स्वास्थ्य मिलाएको बताउनु भयो।

त्यस्तै अस्पतालका फिजिसियन डा. पुष्पराज जोशीले ए ग्रेडको एम्बुलेन्स सेवाले जस्तो किसिमको बिरामीलाई अर्को अस्पतालमा नपुर्‍याउँदा सम्म निर्धक्क भएर उपचार गर्न सकिने बताउनु भयो।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट १ करोड बजेट आएको र टेन्डर गर्दा ९२ लाखमा यो एम्बुलेन्सको आएको अस्पतालका शाखा अधिकृत सुरेन्द्र भण्डारीले बताउनु भयो।  प्रदेशको स्वास्थ्य मन्त्रालय बाट १ करोड आएको र टेन्डर गर्दा ९२ लाखमा भन्सार छुट सहित ए ग्रेडको एम्बुलेन्स हो। लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा रहेको ए ग्रेडको आइसीयुको माग आइरहेको छ। चुनाबको कारण उक्त एम्बुलेन्समा आवश्यक उपकरण जडानको काम केही बाँकी रहेको कारण चलेको छैन। ए ग्रेडको भएको कारणले हामीले सबै उपकरण जडान गरेपछिमात्र चलाउने भनेका छौ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका प्रशासन प्रमुख सुरेन्द्र भण्डारीले भन्नुभयो।

उक्त एम्बुलेन्समा अक्सिजन सिलिन्डर जडान हुन बाँकी रहेको छ। “त्यो हामीले राख्नु भन्दापनि ग्यारेन्टी भएको हुँदा कम्पनीका मान्छेले नै राख्नु पर्ने भएकोले अब तत्कालै चलाउने तयारी गरेको ” भण्डारीले बताउनु भयो। उहाँका अनुसार एम्बुलेन्सको भाडा समितिले निर्धारण गरेको छ। कच्ची बाटोमा प्रति किमि ५० र पक्की बाटोमा  ४० प्रति किलोमिटर रहेको  छ।

रूपन्देहीका एम्बुलेन्स 

संयुक्त एम्बुलेन्स चालक संघ रूपन्देहीका सचिव अर्जुन लामिछानेका अनुसार, रूपन्देहीमा ए ग्रेडको आइसीयु सहितको एम्बुलेन्स लुम्बिनी अस्पतालबाहेक  गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा छ। त्यस्तै वि ग्रेडको एम्बुलेन्स पनि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा रहेको छ। अरु रूपन्देहीमा सि ग्रेडका ९२ वटा एम्बुलेन्स रहेकोमा केही बिग्रेका र अहिले चालु अवस्थामा ८५ वटा रहेको बताउनु भयो।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी भएसँगै स्वास्थ्य संस्थाहरूले मात्रै एम्बुलेन्स सेवा र सञ्चालनको अनुमति पाउने भएका हुन्। देशभरी रहेका एम्बुलेन्स छिटो छरितो रुपमा सञ्चालन गरी बिरामी –घाइतेहरूलाई अस्पतालसम्म सुरक्षित र सहज तवरले पुर्‍याउन कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका, २०७७ खारेज भई गत भदौ १७ गते राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ स्वीकृत भइ जारी भएको हो।

अबदेखि एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ र ’ख’ कुन वर्गको खरिद वा प्राप्ति गर्ने हो सो स्पष्ट उल्लेख गरि निवेदन दिनुपर्नेछ। ‘क’ र ’ख’ वर्गको एम्बुलेन्स भन्नाले निर्देशिकाको अनुसूची –४ बमोजिमका मापदण्ड भएको हुनुपर्ने उल्लेख छ। यस्तै, सबै एम्बुलेन्स अनिवार्य रुपमा फोर व्हिल ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको हुनुपर्ने, ‘क’ र ’ख’ वर्गको एम्बुलेन्सका लागि मात्र राजस्व छुटको सिफारिस गरिने निर्देशिकामा भनिएको छ। एम्बुलेन्स सेवा सञ्चालन गर्न जनस्वास्थ्य सेवा ऐन र नियमावलीको प्रावधान अनुसार स्वास्थ्य संस्थाले सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित एम्बुलेन्स चालकले तालिम लिएको एम्बुलेन्स चालक हुनुपर्ने प्रावधान छ। राष्ट्रिय प्रेषण केन्द्र, प्रादेशिक प्रेषण केन्द्र लगायतका प्रेषण केन्द्रहरूमा अनुसूची –११ बमोजिमको जनशक्ति आवश्यक पर्नेछ। यस्तै, ‘क’ र ’ख’ वर्गको एम्बुलेन्सका लागि मेडिकल अफिसर– एच.ए एवम् नर्स अनिवार्य हुनुपर्ने तथा त्यसमा रहने स्वास्थ्यकर्मीहरूले अनिवार्य रुपमा तोकेको तालिम लिएको हुनुपर्ने प्रावधान छ। सबै एम्बुलेन्स अनिवार्य रुपमा एउटै नम्बरबाट तथा एप्लिकेसनबाट सर्वसाधारणहरूले सेवा पाउन सक्ने गरी प्रेषण केन्द्रसँग आवद्ध भएको हुनुपर्ने छ।

निर्देशिका लागु भएसँगै एम्बुलेन्सलाई बिरामी ओसार पसार गर्नबाहेक अन्य काममा प्रयोग गर्न पाइने छैन। हरेक एम्बुलेन्समा जीपीएस अनिवार्य जडान हुनुपर्ने छ। एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन आदिका लागि जिल्लास्तर, प्रदेश स्तर र संघीय तहमा अनुगमन समितिहरूको व्यवस्था गरिएको छ। एकीकृत एम्बुलेन्स सञ्चालन सम्बन्धी व्यवस्थामा देशभर सञ्चालित एम्बुलेन्सहरूलाई प्रेषण केन्द्रमार्फत एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने छ।

यस्तै, एम्बुलेन्समा राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रद्वारा मान्यता प्राप्त आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी तालिम प्राप्त चालक र स्वास्थ्यकर्मी हुनुपर्नेछ। संघ र प्रदेशमा आकस्मिक स्वास्थ्य सेवाको सम्पर्कका लागि तीन अङ्कको १०२ टेलिफोन नम्बरबाट एकीकृत रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने गरी व्यवस्था गर्नु पर्नेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap