‘दृष्टिका संवाहक’डा.सन्दुक रुइत: संघर्ष सफलता र सम्मान

तारा वाग्ले/बहराइन

तारा वाग्ले

दौरा सुरूवाल र नेपाली ढाका टोपिमा सजिएर नेत्र विशेषज्ञ डा. सन्दुक रुइत बहराइनको मनामास्थित ईशा कल्चरल सेन्टरको मञ्चमा उभिदा विश्वको ध्यान आकृष्ट भयो। उहाँको शिष्ट र शालिन उपस्थितिबाट वरपरका मानिसहरु मोहित भए। उहाँसंगै उभिँदा मात्र पनि आनन्दको अनुभूति गर्ने डा. रुइतलाई प्रशंसकहरुबाट बधाई र सम्म्मानको ओइरो आउँदा डा. रुईतको मात्र नभई पुरै नेपालको नाम विश्वभर गुन्जायमान भएको थियो। बहराइनका राजा हमाद विन इशा अल खालिफाबाट यही फागुन ९ गते  १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को इसा अवार्डबाट सम्मानित हुनुभएको हो।

मानवीय सेवाको क्षेत्रमा आँखा उपचारलाई सुरक्षित, सुलभ र प्रभावकारी बनाउन पुर्याउनुभएको  विशिष्ट योगदानको निम्ति डा. रुइतलाई वोर्ड अफ ट्रष्टिजले छनोट गरेको हो। विनयशीलता र परोकारका प्रतीक डा. रूइत यस पुरस्कारको लागि विश्वका १४५ जना आवेदक मध्येवाट छनोट चरणका प्रकृया मार्फत विजेता छानिनु नेपालकै लागि गौरवको विषय भएको छ।

सन्दुकले छरेका उर्जा

ताप्लेजुङको तिब्बती सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिनुभएका डा. रूइतलाई विश्वभर ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ । डा. रुइतको  जीवन अन्वेषण, संघर्ष, साहस र समर्पणले भरिएको रहेछ भन्ने उहाँको जीवनीमा आधारित पुस्तक ‘सन्दुक रुइत’  पढेर प्रष्ट हुन्छ।  जीवनका हरेक प्रहर र उतरचढावहरूमा उहाँले नविन उर्जाका साथ तय गरेको नागबेली यात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ। जसले मानिसको जीवनमा ज्योति भर्न, ऊर्जा थप्न मद्दत गर्छ।  डा. रुइतको सुकर्मबाट लाखौं मानिसहरुले नयाँ जीवन त पाएका छन् नै उहाँका संघर्ष र मेहनतबाट धेरैले अलौकिक प्रेरणा पनि पाएका छन्।

सरल र कम लागतको मोतिबिन्दुको विश्वविख्यात चिकित्सा पद्धति  रुईतेक्टोमीका सुरुवातकर्ता डा. रुइतले  आफ्नै हातले एक लाख ३० हजार भन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गर्नुभएको छ। सेवामा गुणस्तरियता विश्वसनियता अन्तर्राष्ट्रियस्तरको सुरक्षित तथा सहुलियतपूर्ण निशुल्क सेवा प्रदान हुनु विश्वका लागि अनुकरणीय बनेको छ। नेपालको लागि मात्र नभइ विश्वकै विपन्न हरुलाई निशुल्क वा निकै कम मूल्यमा मोतियविन्दुको शल्यकृया गर्ने उहाँको अभियान नेपालको लागि क्रान्तिकारी विकासयुक्त र प्रशंसनिय छ। डा. रुइतको जीवनबाट धेरै शिक्षा लिन त सकिन्छ नै साथै उहाँले लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने गरेको अनवरत यात्राबाट जो केहीलाई पनि प्रेरणा मिल्छ।

सन्दुकका संघर्ष

डाक्टर बन्ने सपनामा जन्मस्थान ताप्लेजुङको ओलाङचुगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुग्नुएको थियो डा. रुइत।  त्यहाँको मिसनरी स्कूल सेन्ट रोबर्ट्समा भर्ना भएपनि सन् १९६२मा चीन भारतबीच सीमा युद्धको कारण दार्जलिङका स्कूल बन्द भएपछि पुनः काठमाडौ आइ सिद्धार्थ वनस्थली स्कूलमा  भर्ना हुनुभयो। सन् १९७०मा सिद्धार्थ वनस्थली स्कूलबाट पहिलो श्रेणीमा एसएलसी पास हुनुभएका डा. रुइत त्रिचन्द्र क्याम्पसमा  आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुग्नुभयो।

एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा जनरल फिजिसियनका रूपमा तीन वर्ष बिताउनुभएका डा. रुइत फेरि भारत गएर अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाल्नुभयो।  तीन वर्ष एम्समा पढेपछि १९८४मा नेपाल फर्किनु भएका रुइतको त्रिपुरेश्वर आँखा अस्पतालबाट जागीरे जीवन शुरु भयो। त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि १९८७मा एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया जानुभयो।  पढाइ पूरा गरेर स्वदेश फर्केपछि उहाँले  १९९४ जुनमा तिलगंगा आँखा केन्द्र स्थापना गरी नेत्ररोगको उपचारमा सकृय रहनुभयो। डा. रूइत अहिले पनि दैनिक १२ घण्टाभन्दा बढी आफ्नो काममा दत्तचित्त भएर लागिरहनुहुन्छ।  तीन दशकयता नेपालमा १ लाख २० हजार शल्यक्रिया र संसारभरिका दुर्गम भेगमा यस्ता सयौं शिविर चलाइसकेका डा. सन्दुकलाई जहाँ जहाँ आवश्यकता हुन्छ, त्यहाँ त्यहाँ शिविर लिएर हिँड्न निकै रमाइलो लाग्छ।

सम्मानको लहर

अहोरात्र सेवामा खटिरहने विश्व परिचित डा. रुइतले प्राप्त गरेका पुरस्कार र सम्मानका चाङ थपिदै छन्। यसअघि उहाँले नेपाल सरकारबाट २०७५ मा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’  पाउनुभएको थियो।  साथै २०१९ मा भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार र १५ वर्ष पहिलेनै अर्थात सन् २००६ मा फिलिपिन्सको रोमोन म्यागसेसे पुरस्कार  पाउनुभएको छ। उहाँले पाएका सम्मानका खातामा थाइल्यान्डको प्रिन्स महिडोल र रिडर्स डाइजेस्टको एसियाली युवा पुरस्कार, अल्बर्ट आइन्स्टाइन फाउन्डेसन ग्लोबल भिजनरी अवार्ड, वर्ल्ड इकोनोमिक फोरमको सोसल इन्टरप्रेनरसिप अवार्ड, भुटानको नेसनल अवार्ड पनि दर्ता भएका छन् ।

यी कयौ पुरस्कार भन्दा पनि बढि आफ्नो दृष्टि फिर्ता पाउने व्यक्तिका खुशी शब्दमा व्यक्त नभएका कृतज्ञताका असिम माया प्रिय लाग्छ डा. रुइतलाई।  ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो। ‘यो घडी म तिलगंगा प्रतिष्ठानका हरेक सदस्यलाई उनीहरुको स्तुत्य सेवालाई धन्यवाद दिन चाहन्छु-’ तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले भन्नुभयो।

आफूले पाएको अवार्ड र सम्मान डा. रुइतले आफ्नो कर्ममा जुटेका अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्याटाराक्ट प्रोजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई सम्झदै आँखा उपचारमा आएका आफ्ना सम्पूर्ण बिरामीहरुमा अर्पण गर्नुभयो।  आफ्नो यो अवार्डले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता र मेहेनतका साथ काम गर्ने अवसरका रुपमा थप प्रेरणा दिएकोमा डा.रुइत कृतज्ञ हुनुहुन्छ।

राजदूतावास र नेपालीको सम्मान

डा.रुइतको सम्मानमा बहराइनमा बस्ने २१ हजार नेपाली र मनामा स्थित नेपाली राजदूतावासले खुशी साटेका छन्। बहराइनस्थित नेपाली  राजदूतावास र बहराइस्थित नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली बाजागाजा, भेषभूषा र नेपाली कला–संस्कृति पदर्शन गर्दै विहीबार एक समारोहमा डा. रुइतलाई सम्मान गरेका थिए। विदेशभूमिमा आफ्नो नेपालीपनालाई जोगाएर बस्ने बहराइनबासी नेपालीप्रति कृतज्ञ हुँदै डा. रुइतले इशा अवार्डका कारण बहराइनबासी नेपाली तथा नेपाल–बहराइनबीचको सम्बन्धमा सानो भएपनि इँट थपिन सकेमा आफूलाई पुरस्कृत भएभन्दा बढी खुशी मिल्ने धारणा राख्नुभयो। कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले ‘विश्वमा नेपाल–नेपालीको सम्मान बढाउन र मानवहितमा लागिरहने सन्देश सुनाउन रुइतको नाम र काम स्तुत्य रहेको बताउनुभयो। राजदूत वाग्लेले खाडीसहित अफ्रिकी मुलुकका कूटनीतिक प्रतिनिधिहरुले आफ्नो देशमा डा. रुइत मार्फत आँखा शिविर संचालन गर्न र डा. रुइतले स्थापना गरेको रुइक्टेटोमी उपचार पद्धतिको विस्तार गर्नेबारे आफूसँग जिज्ञासा र अनुरोध आइरहेको अनुभव सुनाउनुभयो।

डा. सन्दुक रुइतलाई बहराइन सरकारले ‘दृष्टिका संवाहक’ भनेर  सम्मानित गर्दा सम्पूर्ण नेपाल–नेपाली तथा विशेषगरी बहराइनमा बस्ने सबै नेपालीको शीर उँचो भएको राजदूत वाग्लेले वताउनुभयो।

बहरानइनको अन्तराष्ट्रिय पुरस्कारले द्विपक्षीय सम्वन्धमा टेवा पुग्ने विश्ववास व्यक्त गर्दै राजदूत वाग्लेले डा रुइतको सेवा, विशेषज्ञता, योगदान र आविस्कार र स्वाथ्य क्षेत्रको विकास देखेर अन्य देश पनि नेपालमा स्वास्थ्य पर्यटनका लागि इच्छुक र उत्साहीत भएको उल्लेख गर्दै   सो पुरस्कारले आर्थिक कूटनीतिको पक्षका रुपमा नेपालमा स्वास्थ्य पर्यटनलाई प्रबर्द्धन गर्न सहयोग पुग्ने वताउनुभयो। उहाँले भन्नुभयो डा.रुइतले दृष्टिविहिनको लागि गरेका सेवा, स्वथ्यको क्षेत्रमा देशको लागि गरेको योगदान विश्वकै लागि पदपर्दशक बनेको छ भने नेपाल–बहराइन सम्बन्धलाई अझ दहिृलो र फलदायी बनाउने दिशामा पनि डा. रुइतको ‘मानवताका लागि सेवा अभियान’ले पुलको काम गरेको छ,’।  यस पुरस्कारले  नेपाल र बहराइन बीचको द्धिपक्षीय सम्वन्धमा पनि नयाँ आयाम थपेको राजदूत वाग्लेको भनाइ छ।

साइट्स मेसेन्जर भनेर सम्वोधन

‘मानवताका लागि सेवा’ गरेबापत नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गर्नुभएको हो। १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गर्दै राजा खालिफाले लोकहितकारी कामका अर्थमा डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम गर्दै आएको बताउनुभएको थियो। पुरस्कार प्रदान गर्दा बहराइनी राजाले डा. रुइतलाई ‘साइट्स मेसेन्जर’ भनेर सम्वोधन गर्नुभएको थियो। उहाँको बारेमा बहराइन सरकारले साइट्स मेसेन्जर शिर्षकको वृतचित्र समेत निर्माण गरेको छ। यसैगरी इशा अवार्ड कमिटीका अध्यक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताउनुभएको थियो ।

सन् २००९ मा स्थापित बहराइनका संस्थापक राजा ईशाको नाममा नामाकरण गरिएको मानवीय सेवा क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई  प्रदान गरिने सो पुरस्कार हालसम्म  मलेसिया, भारत, इजिप्ट तथा पाकिस्तानका नागरिकले पाएका छन्। पहिलो पटक २०११ र २०१३ का लागि डिजास्टर प्रिभेन्सनकोमा योगदान दिने मलेसियाका नागरिकलाई प्रदान गरिएको थियो।  दोस्रो अवार्ड(२०१५) भारतका शिक्षाविद् अच्युता सामन्त र तेस्रो (२०१७) इजिप्टको चिल्ड्रेन क्यान्सर हस्पिटललाई प्रदान गरिएको थियो। चौथो अवार्ड भने पाकिस्तानको प्रतिष्ठित सामाजिक सेवक संस्था इधी फाउन्डेसनलाई प्रदान गरिएको थियो।

समारोहमा बहराइनमा बस्ने  नेपालीको प्रतिनिधित्व गर्दै नेपाली क्लबका तर्फबाट कमल श्रेष्ठ र दीपक गुरुङले डा. रुइतको सम्मान गर्नुभएको थियो ।  कार्यक्रममा नेपाली क्लवका अध्यक्ष कमल श्रेष्ठले भन्नुभयो –‘ विश्वभर मानव कल्याणको लागि डा.रुइतले  पुर्याउनुभएको योगदानले हाम्रो गौरव र नेपालीको शान सगरमाथा जस्तै अग्लीएको छ ।’

यसैगरी कार्यक्रमको सहजीकरण गर्दै नियोग उपप्रमुख अरुणा घिसिङले डा. रुइतलको सम्मानले देश र संसारभर छरिएर रहेका नेपालीले गौरव गर्न सक्ने पहिचान तथा प्रतिष्ठा बढाइदिएको वताउनुभयो । साथै रुइतको सफलतामा बहराइनबासी पनि भागिदार रहेको वताउँदै डा रुइतको सम्मानबाट नेपाल–बहराइन कूटनीतिक सम्बन्ध  विस्तारमा सधाउ पुग्ने उल्लेख गर्नुभयो ।

यसैगरी बहराइनमा बसेर चित्रकला मार्फत नेपालको पहिचान विस्तारमा सकृय रहदै आउनुभएकी कलाकार मधु सारदाले डा. रुइतलाई मायाको चिनो प्रदान गर्दै डा रुइतको सम्मानबाट गौरवको अनुभूति भएको बताउनुभयो ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तारा वाग्ले का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link