संविधान नचल्ने ४ कारण

आदित्यमान श्रेष्ठ

गत भदौ २० गते यसै स्तम्भमा नेपालको संविधान नचल्ने नौ वटा कारण दिइएको थियो। त्यसमा यी चार कारण थपिएका छन्। जम्मा १३ वटा कारणले हाम्रो संविधानले काम गर्न नसक्ने भएको छ। संविधानको अपव्याख्या संविधान बनाउने मान्छेहरू नै गरिरहेका छन्। यो बडो दुःख लाग्दो कुरा हो। संविधानका आलोचकहरूले यसको कमजोरीहरू बताउनु नौलो होइन। तर संविधान यथावत राख्नु पर्छ भन्ने संविधान कै निर्माताहरूले नै यसका कमजोरीहरू बाहिर ल्याउँदै छन्। यसकारण नेपालले प्रगति गर्न नसकेको हो।

यो व्यवस्था के हो भनेर कसैलाई सोध्दा संसदीय व्यवस्था हो भनेर भन्छन्। तर के यो साँच्चिकै  संसदीय व्यवस्था हो ? संसदीय व्यवस्था भन्नु प्रधानमन्त्रीय व्यवस्था हो। प्रधानमन्त्रीय व्यवस्था भनेको प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीमण्डल गठन हुनु हो र सबैको जिम्मेदारी पनि प्रधानमन्त्री कै टाउकोमा आउँछ। प्रधानमन्त्रीले नै मन्त्री बनाउन पाउँछ र निकाल्न पनि पाउँछ। तर हाम्रो देशको परम्परा नै अर्कै भैसकेको छ। त्यसकारणले पनि यसलाई संसदीय व्यवस्था भन्न मिल्दैन।

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा नेपाल समाजवादी पार्टीको पनि सहभागिता थियो। तर सो पार्टीले ६,७ महिना पछि आफ्ना सबै मन्त्रीहरू बदल्न खोज्यो। हुनेवाला मन्त्रीहरूको एक झुण्ड नै नयाँ अनुहारहरू खटायो। तर उनीहरूलाई तुरन्त मन्त्री बनाइएन। त्यसबेला उक्त पार्टीका नेता झलनाथ खनालले प्रेसलाई भने, ‘हाम्रो पार्टीले जसलाई खटाउँछ उ मात्र मन्त्री बन्न पाउँछ। अरु बन्न पाउँदैन। पार्टीले यस बारेमा निर्णय गर्छ र त्यही कुरा मान्य हुन्छ।’ हुन पनि त्यस्तै भयो। तर यसबारे प्रधानमन्त्रीको कुनै हक दाबी रहेन। उनले जो जो अर्को पार्टीले खटाएको थियो उसलाई नै मन्त्री बनाउन पुगे। भनाईको मतलब प्रधानमन्त्रीको यस बारेमा कुनै महत्व रहेन। यदि प्रधानमन्त्रीले मन्त्रीमण्डलमा बस्ने मन्त्रीहरू रोज्न पाउन्न भने त्यो व्यवस्था कसरी प्रधानमन्त्रीय भयो ? त्यसमा पनि सो व्यवस्थालाई कसरी संसदीय व्यवस्था भन्ने ? यो साधारण कुरा हो। भन्नुको माने नेपालमा भएको व्यवस्था प्रधानमन्त्रीय व्यवस्था होइन। त्यसकारण यो संसदीय व्यवस्था पनि होइन।

शेरबहादुर देउवा जम्बो मन्त्रीमण्डल बनाउन नाम कमाएको मानिस हुन। उनीले एक ताका ५० जना भन्दा बढी मन्त्री भएको मन्त्रीमण्डल पनि बनाएका थिए। अहिले संविधानले नै २५ जना भन्दा बढी मन्त्री नरहने व्यवस्था बनाएको छ। त्यति सम्म त प्रधानमन्त्रीले पालना गरेका छन्। तर मिश्रित सरकारमा अर्को पार्टीले यति मन्त्री बनाउने भनेर सहमति भएको हुन्छ। तर को मन्त्री बनाउने को नबनाउने भनेर प्रधानमन्त्रीले निर्णय गर्न पाउन्न। सो पार्टीले जसलाई खटाए पनि उसलाई प्रधानमन्त्रीले मानेर बस्नु पर्छ। प्रधानमन्त्री नै मजबूर हुने व्यवस्थालाई कसरी प्रधानमन्त्रीय व्यवस्था भन्ने ?

अर्को कुरा पुष्पकमल दाहाल प्रधानमन्त्री भैसके पछि एउटा उच्चस्तरीय राजनैतिक संयन्त्र बन्यो। सो संयन्त्र एमालेको अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्यो। त्यस संयन्त्रले केही राजनैतिक निर्णय पनि गर्‍यो। तर नेपालको संविधानले प्रधानमन्त्रीलाई सबै कार्यकारी अधिकार दिएको छ। त्यस संविधानमा यसतो संयन्त्रको परिकल्पना कतै गरिएको छैन। त्यस मानेमा त्यो संयन्त्र असंवैधानिक ठहरिन्छ।

यकातिर संविधान बचाउनका लागि राजनैतिक गठबन्धन गरिएको कुरा गरिन्छ तर अर्कोतिर संविधान मै नभएको काम गरिन्छ। उच्चस्तरीय राजनैतिक संयन्त्र भनिएको मतलब नै हो सो संयन्त्रले प्रधानमन्त्रीलाई निर्देशन दिन सक्छ। यसै अनुसार सो संयन्त्रले कार्यक्रम पनि बनाएको थियो। सो कार्यक्रम सरकारले मान्नु पर्ने र लागु गर्नु पर्ने भनिएको थियो। यो व्यवस्था प्रधानमन्त्रीय व्यवस्थाको उल्टा भएको हो। यस्तो व्यवस्थालाई कसरी प्रधानमन्त्रीय अथवा संसदीय व्यवस्था भनेर भन्ने ?

पुष्पकमल दाहालले प्रधानमन्त्री भए पछि संसदीय अनुमोदन लिए। त्यसबेला नेपाली काँग्रेसले पनि समर्थन गर्‍यो। दाहालले संसदको ९९ प्रतिशत मत प्राप्त गर्‍यो। तर नेपाली काँग्रेस नै प्रतिपक्ष पार्टी हो भनेर प्रतिपक्ष पार्टीले पाउने सबै सुबिधा मागे। सुबिधा पनि पाए। तर कालान्तरमा आठ दलीय नयाँ गठबन्धन बन्यो। नेपाली काँग्रेस पनि त्यस गठबन्धन भित्र पर्‍यो। त्यस मानेमा सो पार्टी सरकारी पक्षको भयो। तर प्रतिपक्ष कहलिन र संसदमा प्रतिपक्षको बेञ्चमा बस्न चाह्यो। त्यसै दौरानमा संसदको दोस्रो ठुलो दल एमाले मन्त्रीमण्डलबाट बाहिर गइसकेको थियो। जब संसदको बैठक बस्ने भयो नेपाली काँग्रेस र एमाले दुबै प्रतिपक्षको स्थानमा बस्ने प्रयत्न गरे। दुबैको झगडाले गर्दा त्यस दिन संसदको बैठक नै बस्न सकेन।

यो कस्तो व्यवस्था आयो जो सत्तापक्ष र प्रतिपक्ष एउटै पार्टी हुन सक्छ ? के नेपाली काँग्रेसले सुबिधा लिनको मात्र प्रतिपक्ष रोजेको हो ? वास्तवमा यही देखिन्छ। संसदीय व्यवस्थामा प्रतिपक्ष पार्टीलाई केही सुबिधा दिइएको हुन्छ। त्यसकोलागि मात्र म प्रतिपक्ष हुँ भनेर दावा गर्न पाउने रहे छ। पहिलो कुरा त पुष्प कमल दाहालको सरकारलाई एका तिर समर्थन गर्ने अर्कोतिर म प्रतिपक्ष पनि हुँ भनेर भन्न पनि मिल्ने ? यो कसतो व्यवस्था आयो ? हामीले संसदीय व्यवस्थामा राजनैतिक गठबन्धन हुन्छ भनेर जानेका हौं तर सरकार पक्ष र प्रतिपक्ष पनि एउटै पार्टी हुन सक्छ भनेर थाहा पाएका थिएनौं। संसदीय व्यवस्था अपनाएको मुलुकको मानिसले नेपालमा यस्तो पनि हुँदै छ भनेर सुन्दा उनीहरूले कस्तो प्रतिक्रिया दिने हुन् ? यो एउटा नयाँ कुरा सुन्नमा आयो। आखिर सुबिधा लिनका लागि नै संविधान या संसदीय व्यवस्थाको स्थानीयकरण गरी मजाक उडाइन्छ भने कस्को के लाग्छ र ?

नेपालको संविधानले नेपाल भन्ने देश बचाउने कर्तव्य राष्ट्रपतिलाई दिएको छैन। सो देश बचाउने काम नेपालका साधारण नागरिकलाई दिइएको छ। नेपालको राष्ट्रपतिलाई संविधानका रक्षा गर्नु भनेर भनिएको छ। अब संकटमा मुलुकको रक्षाचाहिँ कसले गर्ने?  हुन त देशको रक्षा गर्ने काम नेपाली सेनालाई दिइएको छ। त्यो पनि सोझो तरिकाले दिइएको छैन। एउटा सुरक्षापरिषद् रहने छ जस्को सदस्य प्रधान सेनापति रहने छ। यसको अध्यक्ष देशको प्रधानमन्त्री रहने व्यवस्था छ। तर प्रधानमन्त्री आफैले सेनाको परिचालन गर्न पाउँदैन। उनले सेनाको परिचालन गर्न पाउने किसिमको एउटा विधेयक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रस्तुत गरिएको थियो तर त्यो संसदबाट पारित हुन सकेन। अब संविधान अनुसार सुरक्षा समितिले पारित गरेको निर्णय मन्त्रीमण्डलमा पेश हुनु पर्छ। सो प्रस्ताव त्यहाँबाट राष्ट्रपति काहाँ जानु पर्छ।

राष्ट्रपतिले मात्र नेपालको सेना परिचालन गर्न पाउने संविधानले भनेको छ। यति बेर सम्म नेपालको अस्तित्व नै काहाँबाट काहाँ पुगि सक्ने हो कसैले भन्न सक्दैन। अस्तित्वमा नै नभएको देशको रक्षा गर्ने काम भने राष्ट्रपतिलाई दिइएको छ। यस्तो जिम्मेदारी दिइएको राष्ट्रपतिलाई कसरी आलंकारी भनेर भन्ने ? यसैले संविधानमा जे कुरा हुने हो सो लेखिएको छैन। जे कुरा हुन सक्दैन सो कुरा लेखिएको छ। त्यसकारण पनि यो संविधान चल्न सक्दैन भनिएको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आदित्यमान श्रेष्ठ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link