म्याद गुज्रेको खाद्य फेरि प्याकिङ गर्दा प्रहरी पुगेपछि  

अनिल तिवारी

म्याद गुज्रेको खाद्य फेरि प्याकिङ गर्दागर्दै प्रहरी पुगेपछि वीरगञ्जका उद्योगमा भागाभाग भएको छ। फुडको नेपाल क्रोप प्रा.लि. एवं स्नेक एण्ड प्याक इन्डस्ट्रिजको गोदामबाट प्रहरीले २७ हजार किलो भन्दा बढि म्याद सकिएको खाद्यान्न सामाग्री फेला परेको हो। ति दुबै फर्मको गोदाम उपभोक्ताले दैनिक प्रयोग गर्ने सम्पूर्ण मसला, सस, मह, चकलेट, स्याम्पु, सेवई, स्नेक, विस्कुट, जिरा, गरम मसाला, विभिन्न मिठाई फ्लेबरका पाउडर लगायतका खाद्यान्न सामाग्रीहरू रि–प्याकिङ्ग गर्ने गरेको भेटिएको छ। विशेषगरी बच्चाहरूले खाने विभिन्न ब्राण्डका चकलेट म्याद सकिएपछि उनीहरूले रि–प्याकिङ्ग गर्ने गरेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा ती उद्योगमा छापामारी गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार दिउसो वीरगञ्ज पावरहाउ नजिकै रहेको एउटा उद्योगमा छापामारी गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायब उपरीक्षक दिपक गिरीको नेतृत्वमा गएको टोलीले  एकै स्थानमा रहेको दुईवटा फर्मको खाद्यान्न सामाग्रीको कथित उद्योगमा छापामारी गरेको थियो। छापामारीमा लाखौको सामानहरू बरामद गरिएको जनाइएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोल  स्थित श्रवण कुमार रुङ्गटाको घरमा सञ्चालित सामानहरू पुन प्लाकिङ र म्याद मिलाएर लेबल टास्ने कामहरू भइरहेको जानकारीको आधारमा प्रहरीले छापामारी गरेको थियो। वीरगञ्ज महानगरपालिका वडा नम्बर २ ठेगाना दिएर ड्राइफुड र मसला प्याकिङ्ग गर्न घरेलु तथा साना उद्योग कार्यालयबाट लिएको अनुमति प्रमाणपत्रको आधारमा म्याद सकिएको खाद्यान्न सामाग्री रि–प्याकिङ्ग गर्ने काम भइरहेको थियो।गोदाममा म्याद गुज्रेको समानहरूको साथै  नयाँ मितिको लेबल टाँसी विक्री वितरण गर्ने गरेको पाइएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी बताउनु भयो।

जिल्ला प्रशासन कार्यालय,  जिल्ला प्रहरी कार्यालय र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट खटिएको टोलीले उद्योगमा छापा मारेर खानतलासी गर्दा म्याद गुज्रिएका ड्राइफुड्सहरू मिति थपेर रिलेबलिङ र रिप्याकिङ गरी बजारमा आपुर्ति गर्दै आएको भेटिएकोले उद्योग र गोदाममा सिल गरिएको गिरीले बताउनुभयो।

प्रहरीले ती दुवै उद्योगमा काम गर्ने तीन जना कर्मचारीलाई नियन्त्रणमा पनि लिएको छ। उद्योगमा काम गरिरहेका वीरगञ्ज १३ का मनिष चौधरी , वीरगञ्ज ७ का आयुष अग्रवाल र वीरगञ्ज १४ का हरिनारायण प्रसाद कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।उद्योगका सञ्चालकहरू फरार भएकाले उनिहरूको खोजी भइरहेको नायब प्रहरी उपरिक्षक गिरीको भनाइ छ।

बरामद सामानहरूको विवरण संकलन गरि उद्योग र गोदामभित्रै राखेर सिल गरिएको भन्दै उनले उद्योग सञ्चालकहरू विरुद्ध मुलुकी फोजदारी अपराधसंहिता २०७४ को दफा १०७ र १०८ अनुसार कारबाही प्रकृया अगाडि बढाइएको गिरीले जानकारी दिनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link