इतिहासको गर्विलो साक्षीः चिसापानी गढी

कृष्ण तिमल्सिना

तत्कालीन समयका बाइसेचौबीसे राज्यहरूबीच तथा सिक्किम, भुटान, बङ्गाल, कुमाउँ, गढवाल, तिब्बत, चीन तथा अङ्ग्रेजहरूसँग समेत लडाइँ गरेको नेपालको गौरवपूर्ण इतिहासको गर्विलो साक्षी, मकवानपुरको चिसापानी गढी ।

यो गढीमा, तत्कालीन नेपाली फौजले तिब्बत, सिक्किम, भुटानजस्ता देशलाई लडाइँमा हराएर वीरता प्रस्तुत गरेको थुप्रै इतिहासका सामाग्री अहिले पनि हेर्न पाइन्छ ।
तत्कालीन समयका स्वतन्त्र मुलुकहरू कुमाउँ र गढवाललाई नेपाल राज्यमा मिलाएको इतिहास होस् अथवा, तिब्बतको गुहारपछि सहयोगका लागि आएको चीन र तिब्बतको अत्याधुनिक हातहतियार सहितको विशाल संयुक्त सेनासँग वीरतापूर्वक लडेको नेपाली सेनाको इतिहास । देशमा भएका दर्जनौं गढी तथा किल्लामध्ये सबैभन्दा धेरै ऐतिहासिक हतियार एवं पुरातात्विक बस्तुहरू संरक्षित स्थान हो, मकवानपुरको चिसापानी गढी । यो गढीमा पुरातात्विक महत्वका थुप्रै वस्तु सुरक्षित रहेकाले ऐतिहासिक अध्ययनका हिसाबले यो गढी महत्वपूर्ण मानिन्छ । तर संरक्षणका हिसाबले यो गढी अहिले पनि सौतेलो व्यवहारबाट गुज्रिरहेको छ । पुरातात्विक हिसाबले संरक्षण गरेर राख्नुपर्ने युद्ध सामाग्री जताततै छरपष्ट मिल्काइएको छ ।
अङ्ग्रेज तथा बङ्गाली सेनासँग नेपाली सेनाले वीरतापूर्वक लडेर गोरखाली फौजको वीरतालाई विश्वव्यापी बनाउन सफल भएको एउटा लडाइँको साक्षी, चिसापानी गढी तथा किल्ला संरक्षण कसले गर्ने भन्ने मै अलमल छ । जहाँ तत्कालीन राजा पृथ्वी नारायण शाहको गोरखाली फौजले विभिन्न युद्धको समयमा शत्रुहरूको आक्रमणबाट बच्न तथा सुरक्षित तरिकाले प्रतिरक्षा गर्न निर्माण गराएको गढी तथा किल्ला देशको अमूल्य निधिका रुपमा हेर्न पाइन्छ ।
परापूर्वकालदेखि हालसम्म कैयौँ गढी तथा किल्लाहरू भत्किएका छन् तर देशभर छरिएर रहेका दुई सयभन्दा बढी गढी मध्ये यो गढी– इतिहास र वीर पुर्खाहरूको वीरताको साक्षी बनेर बसिरहेको छ ।
चिसापानी गढी, कुनै बेला दक्षिणी क्षेत्रबाट काठमाडौँ पस्ने निकै चल्तीको नाका रहेको थियो । जहाँ अहिले पनि त्यसताका निर्माण गरिएका पाटी तथा पौवा र विभिन्न पूर्वाधार देख्न सकिन्छ ।

अध्ययन अनुसार, मकवानपुरको चिसापानी गढी इतिहासमा देशकै सबैभन्दा व्यस्त ठाउँ थियो । देशको दक्षिणी क्षेत्रबाट नेपाल खाल्डो प्रवेश गर्ने महत्वपूर्ण नाका भएकै कारण यहाँ भन्सार, राहदानी केन्द्र, कारागारलगायत महत्वपूर्ण सरकारी अड्डाहरू थिए । देशकै ठूला तोपहरू मध्ये मानिने काली तोप, भैरव मन्दिर, आकाशे तोप, विशाल दमाहाजस्तै ऐतिहासिक वस्तु अहिले पनि चिसापानी गढीमा अलपत्र छन् ।
पृथ्वीनारायण शाहको पालामा बनेको यो गढीको मूल ढोका अहिले पनि संरक्षणको पोखाइमा छ । पछि जंगबहादुर राणाको पालामा बनेका भवनहरू अझै पनि यस क्षेत्रमा झाडी भित्र छोपिएका छन् । २०२४ सालसम्म क्षेत्रीय कारागारका रुपमा संरक्षित पुरानो कारागार भवनका केही हिस्सा अहिले पनि यहीँ गढी परिसरमा देख्न सकिन्छ ।

हेटौँडालगायत कतिपय तराईका जिल्लालाई राजधानीसँग जोड्ने कुलेखानी भिमफेदी मार्गबाट चिसापानी गढी हुँदै सयौँ मोटर आवतजावत गर्ने गरे पनि निकै नै ठूलो ऐतिहासिक महत्व बोकेको यो गढीको संरक्षण तथा संवर्द्धन गरेर पर्यटन प्रवर्द्धन गर्नेतर्फ कसैले चासो दिएको छैन । सयौँ वर्षदेखिको इतिहास बोकेको गढी क्रमशः भग्नावशेषमा परिणत हुँदै गएको छ । यसको संरक्षणमा जिम्मेवार बन्नुपर्ने पुरातत्व विभाग, नेपाली सेना प्रदेश सरकार अथवा भीमफेदी गाउँपालिकाले उचित पहल गरेको देखिँदैन ।

वर्षौँदेखि विना तलब सेवा सुविधा भिमफेदीका मानबहादुर पौडेल ऐतिहासिक शक्ति पीठ भैरव मन्दिरको पुजारी बनेर पुरै गढीको रेखदेख गरिरहेका छन् । राज्यले आफूलाई कुनै तलब तथा सुविधा नदिए पनि आफ्नो परिवारले धर्म नछाडेको पुजारी पौडेल बताउँछन् । कुनै बेला नेपाल सरकारका तर्फबाट नेपालकै तराई क्षेत्र तथा भारत जाने नेपालीका लागि राहदानी जारी गर्ने एवं भारतबाट नेपाल आएका तीर्थयात्रीको प्रवेशाज्ञा वितरण गर्ने तथा भन्सार एवं राजस्व सङ्कलन गर्ने स्थान चिसापानीगढी नै थियो । जहाँ शक्ति आर्जनका निम्ति पृथ्वीनारायण शाह तथा तत्कालीन राजा महाराजाले विशेष आराधना गर्ने प्रसिद्ध भिमसेन मन्दिरको पीठमा पृथ्वी नारायण शाहले युद्धको समयमा चलाएको ऐतिहासिक तोप राखिएको छ । मन्दिरको जीर्ण बनिसकेको भवन भित्र दुई सय वर्ष देखि अलपत्र विशाल तोपका गोला बारुद छरपष्ट देख्न सकिन्छ ।

२०१८ साल अघिसम्म नेपालमा ३५ वटा मात्रै जिल्ला रहेको बेला हालको चितवन र मकवानपुर जिल्लासमेतलाई ‘चिसापानीगढी जिल्ला’ का रुपमा लिइन्थ्यो । यही चिसापानीगढीका नाममा जिल्ला नामाकरण हुँदा यो ऐतिहासिक भिमसेन मन्दिरमा दरबारबाट विशेष बलिपूजा चल्थ्यो । किनकी यो गढीमा रहेको सबैभन्दा ठूलो एउटा तोपको शक्ति र यससँग जोडिएको मिथक आफैँमा रोचक छ । जुन तोप तत्कालीन समयमा राजदरबारमा ल्याएर राख्न खोज्दा रातको समयमा चित्लाङ बाट आफैं फर्किएर यो भैरव मन्दिर परिसरमा आएको र त्यसपछि कसैले हल्लाउनै नसकेको भन्ने विश्वास समेत छ ।

इतिहास अनुसार– यो गढी विसं १८०१ म निर्माण भएको हो । लेखोटहरूमा उल्लेख भएअनुसार १८०१ सालमा मकवानपुरका सेनराजाको पहलमा नजिकैका महत गाउँका बासिन्दाले गढीको निर्माण गरेका थिए । जतिबेला गढी निमार्णमा खटिएकाहरुले दिनको ३ पैसा ज्याला पाएका थिए । पछि नेपाल राज्य एकीकरणको समयमा पृथ्वीनारायण शाहको पालामा यो गढी पुनर्निर्माण भयो । इतिहास अनुसार उपत्यका विजय गर्न पृथ्वीनारायणले यही चिसापानी गढी तथा चन्द्रागिरि गढीको प्रयोग गरेका थिए । गोर्खालीलाई हान्न आएका अङ्ग्रेज फौजलाई गोरखाली फौजले यही गढीबाट लखेटेका थिए ।
चिसापानी गढीमा अहिले पनि तोप, गोला यत्रतत्र टारिएका छन् । किल्लाभित्र रहेको दुर्लभ काली तोप, आकाशे तोपलगायत युद्ध सामग्री छरिएका छन् । इतिहास अनुसार काली तोप नेपाल अङ्ग्रेज युद्धको बेला सन् १८१४ देखि सन् १८१६ को समय अर्थात् विसं १८७१ देखि १८७३ को समयमा देशको सुरक्षाका लागि राखिएको सबैभन्दा ठूलो तोप हो ।

मकवानपुरगढी, सिन्धुलीगढीजस्तै यो गढी यस क्षेत्र भएर आउने अङ्ग्रेज सेनालाई लखेट्नका लागि निर्माण भएको थियो । जहाँ जंगबहादुर राणाले चलाएको अर्को विशाल तोप गढीको खुला चौरमा अलपत्र छ । जुन तोपले त्यसबेला पोखरा सम्म सही निशाना लगाउने गरेको इतिहास छ । नेपाल अङ्ग्रेज युद्धमा प्रयोग भएको यो गढीमा हेटौंडा रातमाटे, भिमफेदी, पथलैया र सर्लाहीको बाग्मतीसम्म मार हान्ने क्षमताका तोप समेत खुला आकास मुनी चौरमा मिल्काइएको छ ।
इतिहास अनुसार यस गढीमा हार खाएपछि अङ्ग्रेजी फौज त्यसवेला सिम भञ्ज्याङको नाका हुँदै उपत्यका छिर्न खोजेका थियो । पछि तत्काल सुगौली सन्धिमा हस्ताक्षर हुने भएपछि अङ्ग्रेजहरूले नेपाल भूमि छाडेर गएका थिए । यो गढी त्यसैको एउटा साक्षी हो ।

चिसापानी गढीको मुख्य आकर्षण यो काली तोप, युद्धको समयमा जम्मा एकपटक मात्र प्रयोगमा आएको इतिहास छ । यो तोप पड्काउँदा यसको आवाजले यस किल्ला वरपर रहेका गर्भवती महिलाको गर्भमा समेत असर पारेकाले लामो समय यो तोप प्रयोगमा आएन । तर पछि गर्भवती महिलाले यो तोप छुन हुन्न र यसको वरपर जान हुन्न भन्ने किम्वदन्ती बन्यो र तत्कालीन समयमा निषेध गरिएको यो क्षेत्रमा अहिले पनि महिलाहरूलाई यहाँ जान निशेध गरिएको छ । पुजारी– पौडेलका अनुसार यो वटुक भैरवको मन्दिरमा महिलालाई प्रवेश निषेध गरिएको दशकौँ बितेको छ । यसको बेग्लै मान्यता छ ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब २९ किलोमिटर उत्तरमा पर्ने चिसापानी गढी मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी भन्दा केही माथि र देउराली डाँडाको थोरै तल अवस्थित छ ।

नेपाल एकीकरण, अङ्ग्रेजको उपनिवेशविरुद्धको युद्धमा प्रयोग भएको यो गढी लामो समय काठमाडौं प्रवेश गर्ने मुख्य नाकाका रूपमा प्रयोगमा आयो । तर २०१८ सालपछि भने यो गढी ओझेलमा परेको छ । आफ्नै गौरवपूर्ण युद्ध इतिहासलाई– नेपाली सेनाले समेत वेवास्ता गरेको छ । जहाँ चिसापानी गढीसँगै ऐतिहासिक बडा हाकिमको भवन, पुरानो भीमफेदी कारागार, वटुक भैरवको मन्दिर संरक्षण हुनसकेको छैन ।
यो गढीको अर्को विशेषता यहाँ रहेका तोप हुन् । जहाँ देशकै चर्चित ३ वटा तोपमध्ये २ वटा तोप गढी क्षेत्रमा अलपत्र छन् । त्यस बेला युद्धमा प्रयोग भएको देशकै चर्चित काली तोप, लाली तोप र आकाशे तोपमध्ये लाली तोप गोरखा दरबारमा राखिएको छ भने काली र आकाशे तोप चिसापानी गढी परिसरमा अलपत्र छ ।

अहिले– भीमफेदी गाउँपालिकाले– गढी क्षेत्रको बृहत्तर विकासका लागि झण्डै ३० करोडको योजना अघि बढाएको छ । गाउँपालिकासँग प्रदेश सरकारका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत सहकार्य गरिरहेको छ । गढीको संरक्षण तथा पूर्वाधार निर्माणको काम सुरु भएसँगै गुरुयोजना अनुसार, वास्तुकलायुक्त प्रवेशद्वारा तथा चिसापानी गढी क्षेत्रको करिब ४ बिगाहा क्षेत्रफलमा कम्पाउन्ड वाल निर्माण हुँदै छ । जहाँ आकर्षक नेपालको नक्सा निर्माण गरिने छ । सो क्षेत्रमा रहेको २०१४ फिट गहिरो इनार पुनः निर्माण तथा संरक्षण र सरसफाइको काम चलिरहेको छ ।

भीमफेदी गाउँपालिकाले यसअघि यहाँ पैदलमार्ग निर्माण गरिसकेको छ भने संरक्षणका लागि घेराबारको निर्माण गरेको छ । ३ वटा ऐतिहासिक सोला बाँझ निमार्ण, गढी वरिपरि आकाशे पानी जम्मा हुने १५ फिट गहिरो इनार संरचना पुर्ननिमार्ण, पुरानो चेक पोष्ट जस्ता संरचनालाई पुरातात्विक स्वरूपमा पुनर्ननिर्माण गर्न भीमफेदी गाउँपालिका लागि परेको देखिन्छ । जुन गढीको संरक्षण– मुलुकको गौरवपूर्ण इतिहासको संरक्षण मात्रै हैन, यस क्षेत्रको पर्यटन प्रवर्द्धनका निम्ति समेत कोशेढुङगा बन्न सक्छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

कृष्ण तिमल्सिना का अन्य पोस्टहरु:
इतिहासको गर्विलो साक्षीः चिसापानी गढी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link