काठमाडौँ उपत्यकामा रेबिज रोगको संक्रमण अत्यधिक रुपमा फैलिएको पाइएको छ । उपत्यकामा भुस्याहा कुकुरको आक्रमणमा परी रेबिज संक्रमित भै उपचार गर्न आउनेको दैनिक ४०० देखि ५०० जनासम्म पुगेको जानकारी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको बहिरङ्ग विभागले दिएको छ ।
अस्पतालका बहिरङ्ग विभागका चिकित्सक डा. शङकर पाण्डेका अनुसार, रेबिज लागेको भुस्याहा कुकुरले टोकेका बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । संक्रमित कुकुर वा पशुले टोकेको पहिलो दिनमै वा टोक्ने बितीकै एन्टिरेबिज भ्याक्सिन लगाएमा रोगको निवारण हुन्छ । तर हेलचेक्र्याइँ गरेमा बिरामीको मृत्यु हुन सक्छ ।
टेकु अस्पतालमा रेबिजको उपचार गर्ने आउनेहरु मध्ये धेरैजसोलाई भुस्याहा कुकुरले टोकेको छ । तर अन्य केहीलाई भने बाँदर, स्याल, भालु र चितुवाले टोकेर रेबिज लागेको पाइएको छ । अस्पतालको रेकर्ड अनुसार, रेबिज रोगको संक्रमणमा पर्नेहरू मध्ये धेरैजसो काठमाडौँ उपत्यका भित्रकै निवासी छन् । त्यस बाहेक नगरकोट, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट र चितवनबाट पनि यस्ता रोगीहरू उपचारका लागि आएका छन् । रेबिज लागेका मानिसलाई छालामा र मांशपेशीमा दुईवटा भ्याक्सिन लगाउनु पर्छ ।
आर्थिक वर्ष २०७८/२०७९मा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज रोगको भ्याक्सिन लगाउन एक लाख एकहजार एक सय छयानब्बे जना आएका थिए । ती मध्ये दशहजार ७३३ जनाले ०३७१४ (आइ एम) भ्याक्सिन मांशपेशीमा लगाएका थिए भने नब्बे हजार चारसय त्रिसठ्ठी जनाले ०३७ (आइ डी) भ्याक्सिन छालामा लगाएका थिए । अस्पतालमा यी दुवै भ्याक्सिन निशुल्क उपलब्ध छ । यी भ्याक्सिनहरू नेपालका सबै सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा पनि निशुल्क उपलब्ध छ ।
अस्पतालका डा. शंकर पाण्डेका अनुसार, गत वर्ष रेबिज रोग संक्रमित भएकाहरू मध्ये समयमै उपचार नपाएर २५ देखि ३० जनाको मृत्यु भयो भने यस वर्ष पनि महिनाको २ देखि ३ जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।
काठमाडौँ उपत्यकाका महानगर, उपमहानगर र नगरपालिकाहरूले भुस्याहा कुकुर व्यवस्थापनमा ठोस पहल नगरेको हुनाले यहाँ रेबिज रोगको प्रकोप फैलिदै गएकोमा अस्पतालका चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । अस्पताल प्रशासनका एक कर्मचारीका अनुसार, भुस्याहा कुकुरको समयमै व्यवस्थापन हुन नसकेमा काठमाडौँ उपत्यकामा रेबिज रोगको आतंक फैलने सम्भावना धेरै छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो