हातमा टुकी बोकेर उज्यालो छर्ने ’ब्ल्याक डाइमन्ड’ अर्थात डिल्ली चौधरी लुम्बिनीको मुख्यमन्त्री

चन्द्रकान्त खनाल/रूपन्देही

लुम्बिनी प्रदेशको  मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी नियुक्त हुनु भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनु भएका प्रदेश सभा सदस्यका हैसियतमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद गरि ५३ जना साँसदको समर्थन रहेको छ। नेकपा एमालेले भने प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान नै गैरकानुनी भएको दाबी गर्दै आएको छ।

लुम्बिनीमा मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा माओवादी सहितको गठबन्धनको सरकार बनेको थियो।  संविधानको धारा १६८ को उपधारा २ अनुसार एमालेका लिला गिरीले मुख्यमन्त्रीको रुपमा पुस २७ गते शपथ लिनुभएको थियो।  तर केन्द्रमा सत्ता गठबन्धन परिर्वतन भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो।  सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले वैशाख ११ गते विश्वासको लिनुभएको थियो।  तर विश्वासको मत नपाएपछि सरकार गुमेको थियो।

त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि बिहीबार ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिनुभयो।  संविधानको धारा १६८ को २ पछि उपधारा ३ को प्रक्रियामा जानुपर्नेमा २ मै सरकार गठन गरेको भन्दै एमालेले विरोध गरेको हो।  प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि महान्यायाधिवक्तासँग राय लिएर सरकार गठन दाबीको आह्वान गर्नु भएको थियो। एमालेले यसको विरोधमा अदालत जाने चेतावनी दिएको छ। उपदफा ३ अनुसार दाबी गर्दा एमालेले सरकार बनाउन पाउने थियो।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ।  लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद रहेका छन्।

सत्ता गठबन्धनले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा सरकारको दाबी गर्न लागेको हो।  चौधरीलाई एमाले र राप्रपा बाहेक सबै दलका सासंदको समर्थन रहेको छ।

कथा डिल्ली चौधरीको ?

डिल्ली चौधरीको परिवार कुनै बेला जमिन्दारको घरमा कमैया बस्थ्यो।  पढाइ लेखाइ उहाँको समुदायमै आकाशको फल जस्तै थियो।  डिल्ली थारु समुदाय सहित अन्य अल्पसंख्यक गरिबीको रेखामूनी रहेका नागरीकहरूलाई समेत शिक्षाको उज्यालो छर्न व्याकवार्ड सोसाइटी (बेस) मार्फत टुकी लिएर गाउँगाउँ छिर्नुभयो।

लाखौं सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छर्नुभयो।  जसको चर्चा यहाँ मात्रै हैन विश्वभर नै उत्तिकै भइरहेको छ। कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो वाल्ने चौधरी बाल अधिकारको क्षेत्रमा पनि क्रियाशिल बने।  भारतका बालवचाओ अभियानका कैलास सत्यार्थीसँगको सम्वन्धका कारण उहाँ बालवालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशिल हुनुभयो।

१७ वर्षको कलिलो उमेरमा नै डिल्लीबहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरुवात गर्नुभयो।  नेपालको तत्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिवासी थारु र पछिपरेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडी बढाइरहदा उहाँको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्म प्रभाव पारेको छ।

थारु समुदायमा जमिन्दारहरूले दासताको प्रभाव बढाएर आर्थिक तथा सामाजिक श्रमिक शोषण गर्न थाले।  पुस्तौं पुस्तासम्म थारुहरू माथि गर्ने शोषण वढ्दै गयो र पुस्तौ सम्म थारुहरू ऋणमा अल्झिदै गए।  त्यस पछि कमैया मुक्तीको आन्दोलनमा डिल्ली लाग्नुभयो र सफल पनि हुनभयो।  राजनीति परिवर्तन र सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालिन निरंकुश पञ्चायत शासन ब्यवस्थाले देशद्रोही भएको आरोप लगाउदै धेरै पटक थुनेको छ।

डिल्लीबहादुर चौधरीको कामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाएको छ। उहाँलाई अशोका फेलोशिस, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार, भूतपूर्व राष्ट्रिपती जिमि कार्टरले  दिनु भएको संयुक्त राज्य अमेरिका (१९९४)  द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२) प्रदान गरिएको छ। उहाँलाई दासता विरुद्ध काम गरेवापत चौधरी नेपाल सरकारबाट पुरस्कृत २ पुरस्कारहरुः सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) तथा रामकृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३) पाउनु भएको छ।

सामाजिक क्षेत्रमा क्रियाशील चौधरीको एकदिन आरजु राणा देउवासँग भेट भयो। चौधरीले सामाजिक क्षेत्रमा काम गरेर बनाएको छविका कारण आरजुले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गराउनुभयो। त्यसपछि देउवाबाट प्रभावित भएर कांग्रेसबाट राजनीति थालेको चौधरी बताउँछन्। २०६४ सालमा देउवाकै कारण चौधरीले एकाएक दाङको क्षेत्र नम्बर ४ मा टिकट पाउँदा स्थापित र पुराना नेता जिल खाएका थिए। मुख्यमन्त्री चौधरी देउवाका विश्वास पात्रमध्येका एक हुनुहुन्छ। अस्थायी राजधानी बुटवल तोक्नुभन्दा पहिला हरेक साल माघीका अवसरमा देउवा चौधरीको निम्तोमा दाङ आउनुहुन्थ्यो। उहाँकै पालामा पूर्वाधारको कारण देखाएर बुटवललाई अस्थायी राजधानी घोषणा गरिएपछि दाङवासीको रोष हुने देखेर देउवा माघीमा दाङ आउन छोडनुभएको मानिन्छ।

माघीमा दाङ पुग्दा देउवाले एक पटक डिल्लीबहादुर चौधरीलाई ’ब्ल्याक डाइमन्ड’ को उपमा दिएका थिए।’मैले डिल्लीलाई त्यत्तिकै यो उपमा दिएको होइन,’ त्यतिखेर देउवाले भन्नुभएको थियो, ’जसरी वर्षौं जमिनमुनि दबिएर आफैंभित्र जलेर पृथ्वीको गर्भभित्र बहुमूल्य धातु तयार हुन्छ, ठीक त्यसैगरी विगतमा डिल्लीले समुदायका लागि गरेका धेरै सकारात्मक कामहरू छन्।’

मुख्यमन्त्री चौधरीलाई ’जिरोबाट संघर्ष गर्दै हिरो भएका व्यक्ति’ भनिन्छ। डिल्ली वहादुर चौधरीको यात्रा वेसदेखि प्रदेश सम्मै चर्चामा छ।  लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रीको रुपमा प्रदेश सरकारका डेढ वर्ष काम गरेका चौधरी यस वर्षको निर्वाचनबाट मुख्यमन्त्रीको लाईनमा पुग्नुभयो।

२०४२ साल देखि राजनीति र सामानिक सेवामा सक्रिय चौधरी भारी मतान्तर सहित यस पटक दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेशसभा सदस्यका लागि दोस्रो पटक निर्वाचित हुनुभयो।  अहिले लुम्बिनीको नेतृत्वमा पुग्नुभयो।

दाङ निर्वाचन क्षेत्र नं ३ ( १) बाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीको अवको लक्ष प्रदेशको नेतृत्व गर्ने छ।

सामाजिक अभियन्ताका रुपमा चिनिएका चौधरीलाई संघिय सरकारले पनि मुल्यांकन गर्यो।  त्यसैले उहाँ राजनितिमा समानुपातिक सांसदका रुपमा राजनितिमा तानिनुभयो।  २०७०/०७४ का संविधानसभा सदस्य रहनुभयो।  त्यही समयमा उहाँ श्रमराज्य मन्त्रीको पनि भुमिकामा रहनुभयो।  बैदेशिक रोजगारलाई सहज र व्यवस्थीत बनाउन पनि चौधरीको छोटो समयमै अर्थपुर्ण योगदान रह्यो।

यस अघि उहाँले लुम्विनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको हुँदा प्रदेश सरकारमा ह्वाइट वडि (सेता गाडी) काण्डलाई उजागर गर्दै कमिशनमा खरीद भएको आफैले चढेको गाडि पनि स्टोरमै फिर्ता गर्नुभएको थियो।  प्रदेश सरकारको गुमेको झण्डै ६० लाख रुपैया फिर्ता गराउनुभएको थियो।

दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयन गर्ने सन्दर्भमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ।  उहाँकै कार्यालका राजधानीको पूर्वाधार निर्माणको काम समेत सुरु भएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link