“अनि छोरा कति छन् नि?”

अनिल तिवारी

मेरी श्रीमती मजत्तिकै पढेकी छिन।  बिहे भएको पनि अढाइ दशक  पुग्न लागेको छ।  हामी दुबै नेपाल भारत बिचको वैवाहिक सम्बन्धको प्रतीक हौ।  म केटो नेपालको, उनी भारतीय आदर्शवान नारी।

दुबै बिचको प्रेम मिठोसँग अगाडि बढेको छ तर कहिलेकाहीँ अचानक उनको पुरानै वाक्य दोहोरिन्छ, ‘मलाई पैसा चाहियो ,डाक्टर कहाँ जानु छ, चेकअप गराउनु छ, वीरगञ्जमा नयाँ गाइनोको डाक्टर आउनु भएको छ। ’ अनि म बुझिहाल्छु, फेरि कसले उनलाई किन छोरो पाइनस् भन्यो। अनि हामी बीचको सम्बन्ध अमिलो हुँदै जान्छ र  हाम्रो सम्बाद केही समयका लागि मौन हुन्छ।  म सँधै झै उनलाई फुर्काउँदै उनको मौनता तोडन चाहन्छु। भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल आफ्नी आमा समक्ष बोलेको सम्वाद दोहोर्‍याउछु ,‘हमारी बेटी,किसीके बेटेसे काम नहि रहेगी – हाम्री छोरी कसैका छोराभन्दा कम हुने छैन।’ उनको मौनव्रत विस्तारै भङ्ग हुन्छ र जीवन पुनः आफ्नै शैली र लयमा गुड्न थाल्छ।

हाम्री दुई छोरी छन्। राम्रो पढ्दैछन्। अगाडि बढ्दै छन्। हामी दुबै उमेरले पचास कटी सकेका छौ। तर छोरो नजन्माएका कारणले हुने तनाव निरन्तर छ। अंग्रेजीमा स्टिग्मा भन्छन् नि, त्यसरी हेरिन्छ जस्तो लाग्छ। एक प्रकारको घृणा महसुस हुन्छ हामीलाई समाजबाट। कहिलेकाही दक्षिण एशियाली सामाजिक बनावटमा विद्यमान रहेको लैंगिक असमानताबाट ठूलाठालुहरू त उम्कन सकेनन् हामी विचरा निम्नमध्यम वर्गका अदना बुढाबुढीको के कुरा गर्नु। हाम्रो दाम्पत्य जीवन दुई देशको सम्बन्धमा आधारित रामसीता जस्तै छ, फरक यति मात्र हो यहाँ राम नेपाली छ, सीता भारतीय। श्रीमतीजीलाई खुसी तुल्याउन म सधैँ जनसङ्ख्या नियन्त्रणको हिन्दीमा धेरै पुरानो प्रसिद्ध नारा सुनाउँदै आएको छु, ‘हम दो, हमारे दो अर्थात हामी दुई हाम्रा दुई’।

यो नारा बनाउनेले हामी दुई हाम्रा दुई छोरी भन्न सकेन।समाजमा छोरी मात्र जन्माउदा पनि कुनै फरक पर्दैन भनेर भाष्य स्थापना गर्न सकेन। त्यसै बेलाबेलामा “छोरो नजन्माएको भनेर” सोधिने प्रश्नले घोच्छ।घरमा खासै नबस्ने मलाई कम घोच्ला। उनलाई बढी नै घोच्छ।  समय समयमा हुने गरेको महिलाहरूको जमघट, मेरी र उनकी आमाको उपदेश, तर्पणका कुरा अनेकन कुराले पक्कै बढी नै घोच्छ।  “अनि छोरा कति छन् नि?” भनेर सोधिने प्रश्न नेपाल तथा भारतमा विद्यमान रहको समाजिक लैंगिक असमानताको प्रतीक हो।यसका कारण कहि न कहि दुबै मुलुकमा चलिरहेको सुक्ष्म भूर्ण हत्या, लिङ्ग निर्धारित गर्भपात, यौन तस्करी, दहेज प्रथा, बाल विवाह, एसिड आक्रमण लगायतका सबै पिडा महिलालाई नै खेप्नु परेको छ।

यस्तै कुराले त हो, हाम्रो समाजमा एक दशक देखि अप्रत्याशित रुपमा गर्भपतन बढिरहेको छ। यसले आउने समयमा महिला स्वास्थ्य, महिला र पुरुषको संख्याबीचको असमानता लगायतका सामाजिक तथा जनस्वास्थ्यका क्षेत्रान ठूलो चुनौति थपिने निश्चित छ। पितृसत्तात्मक परम्पराबाट निर्देशित लैङ्गिक असमानताले स्थाई स्वरूप लिएको छ। अनि यसले लिङ्ग–आधारित हिंसालाई सुक्ष्मरुपमा गजबले  बढ़ाउदै अगाडि बढको छ।  यसमा संस्थागत भएको चिकित्सीय व्यापारले झन मलजल पाएको छ हाम्रो तराईमा।

म र मेरी पत्निलाई घर र समाजबाट समय समयमा “अनि छोरा कति छन् नि?” भनेर सोधिने प्रश्नबाट हामीमा हुने गरेको लैङ्गिक हिंसाको सिकार भएका छन् लाखौ परिवार। यसैको उत्तर खोज्न हजारौ भूर्ण हत्या भइरहेका छन्। मेडिकल व्यापार फस्टाएको छ तर कानुन निरिह छ। यसर्थ  सबै प्रकारको हुने गर्भ पतन वा भूर्ण हत्यालाई निरुत्साहित बनाउने  कानून व्यवस्थामा देखिएको कमिकमजोरी हटाउने अभियान नै चलाउनु पर्ने आवश्यकता छ। ताकी मैले  “अनि छोरा कति छन् नि?” भनेर सोधिने प्रश्नबाट मुक्ति पाउँ अनि मेरी पत्निले हाम्रो सहरमा हरेक पटक नयाँ गाइनोकोलोजिष्ट आउँदा जचाउँन जाने मानसिक तनावबाट छुटकारा पाउन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link