कम्बोडियाका प्रधानमन्त्रीले किन मागे नेपाली कालानमक?

चन्द्रकान्त खनाल/रूपन्देही

कम्बोडियाका प्रधानमन्त्रीले मागेपछि रुपन्देही बुद्धकालिन समयको कालानमक धान उपहार स्वरुप कम्बोडिया पठाइने भएको छ। २५६७ औं बुद्धजयन्तीको अबसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अबधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहार स्वरुप कालानमक ‘चामल’ प्रदान गर्ने हुनु भएको छ।

यहि बैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै माग अनुसार उपहार स्वरुप प्रदान गरिने उपाध्यक्ष त्रिपाठीले बताउनु भयो। कार्यक्रममा सहभागी हुन जानुअधि उपाध्यक्ष त्रिपाठीलाई लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गर्नु भएको छ।  बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत ४ बर्षदेखि लोप हुने अबस्थामा पुगेको बुद्धकालिन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ।

बौद्धिष्ट मुलुक कम्बोडियाका प्रधानमन्त्रीले बुद्धकालिन कालानमक धानको चामल माग गर्नुले बौद्धपरम्परामा यो चामलको महत्व  उजागर गरेको कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले वताउनु भयो। ‘कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमक धानको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्यै खुशीको कुरा हो’ भिक्षु मेत्तेयले भन्नुभयो –‘हामीले राज्य उपहार स्वरुप कालानमक चामल दिन लागेका हौं।’ कपिलबस्तु, लुम्बिनी र नवलपरासीमा उत्पादन हुने यो धानको चामललाई कम्बोडियाका प्रधानमन्त्रीलाई राज्य उपहारका रुपमा दिएसँगै कम्बोडियामा पनि प्रचार हुने उपाध्यक्ष त्रिपाठीको भनाई छ।

बुद्धकालमा राजप्रासाद तिलौराकोट बाहिर असार पूर्णिमामा  कालानमक रोपेर धान मंगलोत्सव गरिन्थ्यो। बुद्धकालीन महत्व भएकाले यसको  संरक्षण गर्न कम्बोडियाका प्रधानमन्त्रीले माग गर्नुले पुष्टि गरेको उपाध्यक्ष त्रिपाठीले बताउनु भयो। कम्बोडियाका प्रधानमन्त्रीसँग कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकास र यसलाई विश्वकै महत्वपूर्ण ऐतिहासिक एंव साँस्कृतिक महत्वको क्षेत्रका रुपमा विकास  गर्न छलफल गर्नेछन्। साथै दुई देशका जनताविचको सम्बन्ध, पर्यटन, शान्ति र विकासका लागि सहकार्यका बिषयमा समेत छलफल गर्ने छन्।

खाँदा नरम, स्वादिलो र मगमग बास्ना आउने कालानमक धान र चामल मानव स्वास्थ्यका लागि समेत असाध्यै राम्रो मानिन्छ। तर, बौद्धसम्पदासँग जोडिएका  कपिलवस्तु, रुपन्देही र नवलपरासीका दक्षिणी क्षेत्रका किसानले यो धान लगाउन छाडेका छन्। बुद्धकालिन यो धान लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई स्वाद चखाउन सके यसको संरक्षणसँगै किसानले समेत लाभ लिन सक्ने छन्।

यो चामलमा पोटासियम, प्रोटिन, फाईबर, भिटामिन बी, आईरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ। त्यसैले यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले समेत कालानमक धान बुद्धकालीन मानिने हुँदा शुद्धोदन कालानमक उन्नत जातको धानको बिउ विकास गरेको छ। बुद्धकालीन सभ्यतासँग सम्बन्ध रहेका तराईका जिल्लामा रोपिने कालानमक धानको चामललाई अरुभन्दा तेब्बर मूल्य पर्छ।

कालानमक धान उत्पादनमा खर्च बढी लाग्ने गर्दछ। धेरै खर्चमा कम उत्पादन हुने भएकाले यसको खेती हुने क्षेत्रफल घट्दै गएको छ। कालानमक लुम्बिनी क्षेत्रको रैथाने धान हो। मेहनत बढी र उत्पादन कम हुने भए पनि राम्रो मूल्य पाउन थालेपछि पछिल्लो समय लुम्बिनी क्षेत्रका स्थानीय किसानहरू उक्त धान खेती गर्न आर्कषित भएका छन।

स्थानीय युवाहरू चन्द्र पाठक, अर्जुन कुर्मीहरूले अभियान नै चलाएपछि कालानमक धानको महत्त्व बुझेर आफुमात्र नभई स्थानियलाई जोगाउ र यस्को संरक्षमा लाग्न सबैलाई प्रेरेत गरेको बताएका छन। वर्षौदेखि कालानमक धानको खेती गर्दै आएका लुम्बिनीका सत्यदेव पाठकले आफूले जानेदेखि नै उक्त धान रोप्दै आएको बताए। लुम्बिनी अनि कालानमक धान दुबैको प्रचार प्रसार गर्नु र बुद्धजन्मस्थलमा पर्यटन प्रबद्धन गर्नु आबश्यक रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link