विराटनगर– १६ रानीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा राज्यको करोडौँको लगानी खेर जाने अवस्थामा पुगेको छ।
कोरोनाको दोस्रो लहरमा निर्माण गरिएको होल्डिङ सेन्टर कोरोना संक्रमण कम भएसँगै प्रयोगविहीनको अवस्थामा पुगेको हो। अब राज्यले यसलाई केका लागि प्रयोग गर्ने भन्ने ठोस निर्णय गर्न सकेको छैन।
एक हजार जनालाई एक पटकमा आवासीय सेवा दिने क्षमताको सो होल्डिङ सेन्टर ११ महिनाअघि निर्माण सम्पन्न भएको थियो।
कोरोना कहरको समयमा विद्यालय तथा कलेजमा क्वारेनटिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले २०७८ वैशाख ५ गते मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो। जसअन्तर्गत रानीमा भने संघीय सरकारको २८ करोड ९१ लाख रुपैयाँ लागतमा सो सेन्टर बनाउने निर्णय भएपछि यसको जिम्मा नेपाली सेनालाई दिइएको थियो।
तत्कालीन समयमा स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर होल्डिङ सेन्टरको डिजाइन बनाइएको थियो। स्थानीय तह र जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर चलाउने गरी परिकल्पना गरिएको थियो। तर यसको सञ्चालनका लागि तत्काल कार्यविधि बनाउने भनिए पनि हालसम्म तयार हुन सकेको छैन।
नेपाली सेनामार्फत ठेक्का लिएको हनुमान कन्स्ट्रक्सनले २२ वटा भवन निर्माण पूरा गरी गत साउन १५ मा नेपाली सेनालाई जिम्मा लगाइसकेको छ। त्यसयता नेपाली सेनाले होल्डिङ सेन्टरको रेखदेख गर्दै आएको छ।
नेपाली सेनाको सूर्यदल गण थलाहाका प्रमुख सेनानी अमृत थापा मगरले ठेकेदारले गएको साउन १५ गते नेपाली सेनालाई होल्डिङ सेन्टर हस्तान्तरण गरेपछि तत्कालको सुरक्षाका लागि आफूहरूले जिम्मा लिएको बताउनुभयो। उहाँले होल्डिङ सेन्टर प्रयोगमा नआएको अवस्थामा तत्कालका लागि नेपाली सेनाले रेखदेखको काम मात्र गरिरहेको जानकारी दिनुभयो।
तत्कालीन समयमा निर्माण सुरु भएको होल्डिङ सेन्टर तयार भइसक्दा अहिले संक्रमित लगभग छैनन्। यो अवस्थामा सेन्टरलाई के प्रयोजनका निम्ति प्रयोग गर्ने भन्ने बारेमा तीनै तहका सरकारमा अन्यौलता छ। संघ, प्रदेश सरकार वा स्थानीय तहमध्ये कसले सञ्चालन र व्यवस्थापन गर्ने भन्ने टुंगो नलागेकाले समस्या भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले बताउनुभयो।
‘होल्डिङ सेन्टर तयारी अवस्थामा छ,’ सहायक प्रमुख जिल्ला अधिकारी शाहले भन्नुभयो, ‘अहिले नेपाली सेनाले रेखदेख गरे पनि अबका दिनमा कसले कसरी चलाउने भन्ने टुंगो लाग्न सकेको छैन।’
गत पुस महिनामा भारतबाट विराटनगरको रानी नाका हुँदै नेपाल आएका धेरैमा कोरोना पोजेटिभ देखिएको थियो। सो बेला होल्डिङ सेन्टर निर्माणको काम अधुरै रहेकाले नाकामा पोजेटिभ पुष्टि भएकाहरूलाई सीधै घर पठाउने गरिएको थियो।
होल्डिङ सेन्टरमा शौचालय, भान्सासहितको आवासीय घर साथै फार्मेसी र क्लिनिकलगायतका सुविधाहरू छन्। यस्तै प्रत्येक सेन्टरमा सय वटा अक्सिजन, पाइप लाइनसहितको स्पेसल युनिट राखिएको छ भने अन्यमा बेडसहित मेडिकल ट्रिटमेन्टको व्यवस्था छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
- कोशीमा सांसदहरूले भत्ता बापत १९ लाख रुपैयाँ बुझे, बनेन जनसरोकारका कानुन
- झापा र मोरङमा हात्ती आतङ्क, पाँच जनाको ज्यान गयो
- ‘विराटनगरलाई बजेट विनियोजन गर्दा उपेक्षा नगरियोस्’- अध्यक्ष नवीन रिजाल
- हिँड्ने बाटो रोकिएपछि बढ्यो कोसीका तीन जिल्लामा हात्तीको आक्रमण
- कर्मचारी नहुँदा कोशी लोकसेवा आयोग आफै समस्यामा
- कोशी प्रदेश सरकारको कृषिमा १६ करोड बढी अनुदान
- बलिकाहरूमाथि हुने यौनजन्य हिंसाका घटना बढ्दो
- चुलोले स्खलित गरेको पदको गरिमा
- कोसीको खेल क्षेत्रमा हालसम्मकै न्यून बजेट: निराश छन् खेलाडि
- कोसीमा चार हजार ३५८ महिला हिंसाका उजुरी, अधिकांश मिलापत्र