दुग्ध विकास संस्थान मातहतको विराटनगर आयोजनाले दुई महिनादेखि घिउ उत्पादन बन्द गरेको छ। गाईको मात्र घिउ उत्पादन गर्दै आएको आयोजनाले घिउ बिक्री हुन छाडेपछि तत्काललाई उत्पादनमा कटौती गरी प्लान्ट बन्द गरेको जनाएको छ।
हाल आयोजनासँग ६ टन घिउको स्टक छ। स्टक धेरै भएको र बिक्री नभएका कारण तत्कालका लागि उत्पादन रोक्नुपरेको आयोजनाका प्रमुख परमेश्वर चौधरीले जानकारी दिनुभयो।
‘तीजअघि हामीले यहाँ उत्पादित घिउ काठमाडौंस्थित आयोजनामा पठाएको थियौँ, त्यसयता घिउको डिमान्ड आएको छैन,’ चौधरीले भन्नुभयो, ‘हामीसँग अहिले पनि डेढ महिनाको माग थेग्ने घिउ स्टक छ।’
चौधरीका अनुसार डिडिसीअन्तर्गत रहेको अन्य आयोजनाभन्दा विराटनगर आयोजना सबैभन्दा बढी दैनिक २ हजार टन घिउ उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट छ। तर पछिल्लो समय बजारमा माग कम हुँदा प्लान्ट नै बन्द गर्नुपरेको उहाँको भनाइ छ। पछिल्लो समय घिउबाहेक दूधजन्य उत्पादनकै बिक्री आधा घटेको पनि उहाँले सुनाउनुभयो।
साविकका वर्षमा १० हजार लिटरको दूधजन्य वस्तु (दूध, दही, घिउ, मख्खन, पनिर आदि) उत्पादन गरी बजार पठाउँदै आएको आयोजनाले हाल सो परिमाणलाई घटाएर दैनिक ५ हजार लिटर दूधजन्य सामाग्री बजारमा पठाउने गरेको छ। अहिले पनि आयोजनाले उत्पादन गरेको ७० टन बटर, ६ टन घिउ र ४० टन दूध पाउडर स्टक छ।
आयोजना प्रमुख चौधरीले चाडपर्व सुरु भए पनि दुग्धजन्य सामग्री बिक्रीको स्थिति हेर्दा उत्साहित हुने अवस्थामा नरहेको बताउनुभयो। जेठ महिनादेखि दुग्धजन्य उत्पादनको बिक्रीमा आएको गिरावटले उत्पादन पनि कटौती गर्नुपरेको उहाँको भनाइ छ।
दूधको उत्पादन बढे पनि दुग्धजन्य उत्पादनको बिक्री घट्नुमा भारतभन्दा नेपालमा दूधको मूल्य प्रतिलिटर ८ रुपैयाँसम्म महँगो हुनु र चोरी–निकासी भएर नेपाल भित्रिने दूध तथा दुग्धजन्य पदार्थ कारण रहेको उहाँले बताउनुभयो।
डिडिसीले विराटनगर आयोजनासहित १० चिस्यान केन्द्रसमेत गरी दैनिक २५ हजार लिटर दूध संकलन गर्दै आएको छ। त्यसैगरी अन्तरआयोजना ढल्केबर र हेटौँडाबाट थप २१ हजार लिटर दूध विराटनर आयोजनामा आउने गरेको छ।
निश्चित परिमाणमा दूध संकलन गरेर कारोबार गर्ने सरकारी निकाय दुग्ध विकास संस्थानले मात्र निजीस्तरमा सञ्चालित ठूला डेरी उद्योग पनि समस्यामा परेका छन्। विराटनगरस्थित निजीस्तरको ठूलो लगानीमा सञ्चालित सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रीले उत्पादन गरेको दुग्धजन्य सामग्री बिक्री नहुँदा लामो समयदेखि स्टकमा राख्नुपरेको छ।
सूर्योदयका सञ्चालक मनोज यादवका अनुसार सो अहिले तीन महिनालाई धान्ने दुग्धजन्य पदार्थको स्टक छ। जसका कारण उद्योगले नियमति रुपमा संकलन गर्दै आएको दूधको मात्रमा पनि कटौती गरेको जनाएको छ।
‘दुग्धजन्य पदार्थको माग बजारमा सुस्ताएको छ,’ यादवले भन्नुभयो, ‘उत्पादन मात्र गर्ने तर बजारमा सप्लाई नहुने अवस्थामा उत्पादित सामग्री स्टोरमा राख्नुको विकल्प छैन।’
चौधरीजस्तै यादवले पनि नेपालमा भन्दा भारतमा कच्चा दूधको मूल्य निकै कम हुनु र खुला सिमानाका कारण चोरीको बाटो हुँदै नेपाल भित्रिँदा समस्या भएको बताउनुहुन्छ।
यता सरकारी स्वामित्वको डिडिसी र निजी डेरीले उत्पादन गरेको दुग्धजन्य पदार्थको बिक्रीमा प्रत्यक्ष असर परेपछि दूध उत्पादक किसानहरू ‘मिल्क होलिडे’ को मारमा पर्ने सम्भावना बढाएको छ।
डिडिसी र अन्य धेरै निजी डेरीहरूले अहिले बढी भएको दूध पाउडर बनाउन उपयोग गरिरहेका छन्। तर हालकै अवस्था लामो समयसम्म चलिरहे किसानको सबै उत्पादनले बजार नपाउने अवस्था हुन सक्छ।
असार, साउन र भदौ बजारमा सबैभन्दा धेरै दूध अभाव हुने महिना हुन्। चैत महिनादेखि नै दूध उत्पादन क्रमशः घट्दै गएर असारदेखि भदौसम्म चरम अभाव हुने गर्छ। दूध उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएका डेरी उद्योगले चैत महिनादेखि नै पाउडर घोलेर बजारको माग पूर्ति गर्ने गरेका थिए। तर यस वर्ष कोशी प्रदेशको अवस्था ठीक विपरीत देखिएको छ। दूधको उत्पादन घट्ने अनुमानविपरीत झन्डै दोब्बरले बढेपछि किसानले उत्पादन गरेको दूध बिक्री हुन छोड्ने अवस्था आउने देखिएको छ।
कोशी प्रदेशका ४२ वटा दुग्ध उत्पादक सहकारी मिलेर बनेको सगरमाथा विशिष्टीकृत सहकारी संस्थाका अध्यक्ष बाबुराम दाहालले भन्नुभयो, ‘दूध उत्पादन यसपटक धेरै बढेको छ। जसले गर्दा यस क्षेत्रमा १५ दिनयता अघोषित रूपमा मिल्क होलि–डे निम्तिने अवस्था सिर्जना हँुदैछ। यो सुखद कुरा होइन।’
दाहालका अनुसार उत्पादन बढेपछि डेरीहरूले दूध संकलन दोब्बरले बढाएका छन्। तैपनि किसानको सबै दूध बिक्री हुन सकेको छैन। कोशी प्रदेशमा उत्पादन हुने १ लाख ५० हजार लिटर दूध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो। तर, अहिले औपचारिक क्षेत्रमा झन्डै २ लाख ५० हजार लिटर दूध संकलन भइरहेको छ।
‘दैनिक एक लाख लिटर बढी दूध बजारमा आएपछि सबै डेरीमा त्यसको चाप परेको छ,’ उहाँले भन्नुभयो, ‘यसले दूध बिक्री नहुने समस्या सिर्जना गरेको छ।’
व्यावसायिक रूपमा दूध उत्पादनमा संलग्न किसान सरकारले दूधको बजारको प्रबन्ध गर्नुपर्ने दाहालको भनाइ छ। ‘दूध उत्पादन बढेपछि बजारको प्रबन्ध गरिदिनु राज्यको दायित्व हो,’ झापाका किसान प्रेम गुरागाईं भन्नुहुन्छ, ‘भारतमा आफ्नै उत्पादन धेरै छ। सरकारले अर्काे कुनै तेस्रो देशको विकल्प खोज्न सक्छ। अन्यथा पशुपालनमा भविष्य खोज्न थालेका हामीजस्ता किसान पूरै मारमा पर्नेछौं।’
अघिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार कोशी प्रदेशमा दूध दिने गाईको संख्या ५ लाख १० हजार ३२ र भैंसीको संख्या २ लाख ८७ हजार ९६८ थियो।
प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दूध उत्पादन हुन्छ उल्लेख छ। दूधको प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर छ भने आवश्यकता ७१ लिटरमात्रै हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
- कोशीमा सांसदहरूले भत्ता बापत १९ लाख रुपैयाँ बुझे, बनेन जनसरोकारका कानुन
- झापा र मोरङमा हात्ती आतङ्क, पाँच जनाको ज्यान गयो
- ‘विराटनगरलाई बजेट विनियोजन गर्दा उपेक्षा नगरियोस्’- अध्यक्ष नवीन रिजाल
- हिँड्ने बाटो रोकिएपछि बढ्यो कोसीका तीन जिल्लामा हात्तीको आक्रमण
- कर्मचारी नहुँदा कोशी लोकसेवा आयोग आफै समस्यामा
- कोशी प्रदेश सरकारको कृषिमा १६ करोड बढी अनुदान
- बलिकाहरूमाथि हुने यौनजन्य हिंसाका घटना बढ्दो
- चुलोले स्खलित गरेको पदको गरिमा
- कोसीको खेल क्षेत्रमा हालसम्मकै न्यून बजेट: निराश छन् खेलाडि
- कोसीमा चार हजार ३५८ महिला हिंसाका उजुरी, अधिकांश मिलापत्र