गत कात्तिक १७ गतेको भूकम्पले घर बस्न योग्य नरहेपछि जाजरकोट भूकम्पका प्रभावितहरू पालमुनि बस्दै आएका छन्। अस्थायी आवास पर्याप्त मात्रामा बन्न नसक्दा भूकम्पपीडितहरूको त्रिपालमै मृत्यु हुने क्रम बढेको छ। बढ्दो चिसो र असुरक्षित त्रिपालमुनिको बासले वृद्ध वृद्धा, सुत्केरी र बालबालिकामा बढी समस्या देखिन थालेको छ । चिसो बढ्दै जाँदा दीर्घ रोगीहरू थप पीडामा छन्। अहिले पनि दुर्गम गाउँका भूकम्प प्रभावितहरूले राहत पाउन सकेको अवस्था छैन। राहतहरू खानको लागि गइरहेको छ। ओढ्ने ओछ्याउनको लागि पनि अलिकति बल्याङकेट छ। तर शरीरमा लगाउने लुगाहरू छैन। यसै सन्दर्भमा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा स्थलगत रूपमा राहत सामाग्री लिएर पुग्नुभएको नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद सीताकुमारी रानासँग आइएनएस स्वतन्त्र समाचारले गरेको अन्तर्वार्ताको सम्पादित अंश:
भूकम्प प्रभावित क्षेत्रमा स्थलगत रूपमा त्यही पुग्नु भयो अहिलेको अवस्था कस्तो पाउनुभयो ?
कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा भूकम्पको कारणले गर्दा मानवीय र भौतिक क्षति भयो। स्थलगत रूपमा म त्यहाँ पुग्दा मेरो दृष्टिकोणमा तुरुन्त उचित आवासको व्यवस्था हुनु पर्छ।अहिले चिसो पनि छ। भत्किएर जाने र मृत्यु भएर जाने गइसके र पुरै भत्किन नसकेका घरहरू पनि ढलेका छैनन् र बस्न लायक पनि छैनन्। त्यो हिसाबले मानसिक रूपमा “टर्चर” भएका कारणले पनि त्यहाँका पीडितहरूलाई मनो-परामर्शदाताहरूको आवश्यक रहेको छ। जसले उहाँहरूलाई काउन्सिलिङ पनि गर्नुपर्छ। मानिसहरू आपद्विपद्मा परेका बेला पनि सम्झाइ दिने मान्छे छैनन्। उहाँहरूको घाउमा मलम लगाउन र सान्त्वना दिनको लागि पनि उहाँहरूलाई मनो-परामर्शदाताको आवश्यक छ। अर्को कुरा तत्काल त्यहाँको आवश्यक भनेको अहिले त्यहाँ प्रस्तुत रूपमा राहत उपलब्ध भएका छन्। अहिले त्यहाँ धेरै जसो दीर्घ रोगीहरूको औषधीहरू पुरिएको छ। डाक्टरले लेखेको कागजात पनि सबै पुरिएको अवस्था छ। कुन औषधी खाने भन्ने कुरा पनि उहाँहरूलाई जानकारी छैन। चिसो बढ्दै आएको छ। चिसोको कारणले धेरैको ज्यान पनि गइसकेको छ। अहिले नेपाल सरकारले तुरुन्त त्यहाँ बस्नको लागि त्यहाँको जनतालाई नेपाल सरकारले बचाउन चाहन्छ भने र त्यहाँका जनताको माया छ भने पुनर्निर्माण गरेर आवासको व्यवस्था गरिनुपर्छ। पालका टहराहरू छ। त्यसमा नत आगो बाल्न मिल्छ नत तातिगरी बस्न नै मिल्छ। पालबाट शीत चुहिएको हुन्छ। जसले गर्दा उहाँहरूलाई समस्या छ।
त्यहाँ पुग्दै गर्दा बाहिरबाट राहत प्रत्यक्ष रूपमा जिल्लामा पुगेको छ भन्ने छ तर, त्यसमै राजनीति भएको भन्ने पनि सुनिन्छ। साँच्चिकै प्रभावितहरूले राहत पाएका छन् की छैनन् ?
नेपाल सरकारले एकद्वार र प्रणाली गर्ने भनेको छ। त्यहाँ केही “सिस्टम”मा पनि देखिन्छ। तर, राहतहरू अझै पनि जिल्लामै जम्मा भएको देखिन्छ। जम्मा भएको राहत पनि मिसयुज भएको हो कि भन्ने गरेको छु। किन भने राहतहरू सदरमुकाममा पुगेको छ तर, के हो भने सदरमुकामबाट त बोकेर लिनुपर्छ। राहत लैजानको लागि ट्याक्टर प्रयोग गर्नुपर्छ। ट्याक्टर प्रयोग गर्न पैसा चाहिन्छ त्यही पैसा चाहिने भएकै कारणले पनि त्यो राहत त्यही थुप्रिएको देखिन्छ। राहत पुग्नै पर्ने ठाउँमा पुगेकै छैन। धेरै टाढाका वडाहरूमा पुग्नुपर्ने जस्तै कुशे गाउँपालिकाको ८ देखि ७ नम्बरसम्म त्यहाँ पनि पुग्न सकेको छैन। जुनीचाँदे गाउँपालिकाकामा पनि पुगेको अवस्था छैन। नलगाड नगरपालिकामा पनि त्यहाँका दुर्गम वडाहरूमा पुग्न सकेको अवस्था छैन। त्यस्तो अवस्थामा त्यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरूले पनि कुन ठाउँमा बढी क्षति भएका ठाउँमा र तेरो मेरो भन्दा पनि मानवीय रूपमा जहाँ समस्या छ त्यहाँ समाधान गर्नुपर्ने हो तर, मैले त्यहाँका क्षेत्रहरूमा प्रत्यक्ष बुझ्दा सुनेको के हो भने राहत चाहिँ छ तर, फलानोलाई त्यहाँ लिएर देँ है भन्ने पनि देखेको छु। तर, त्यस्तो होइन जसले राहत लिएको छ उसैले नै त्यो ठाउँमा पुर्याउनुपर्छ भन्ने लाग्छ।
अहिलेको त्यहाँको तत्कालको आवश्यकता के छ ?
त्यहाँको अहिलेको आवश्यकता भनेको के हो भने अहिले चिसो बढ्दो छ। चिसो बढेको कारणले गर्दा महिला, बालबालिका र दीर्घ रोगी वृद्ध वृद्धाहरूलाई निकै अफ्ठेरो भएको अवस्था छ। उहाँहरू महिला बालबालिका र बुढाबुढी हुनुभयो तर, उमेर भएका छोराबुहारीहरूलाई व्यवस्थापन गर्न अप्ठेरो छ। राहत खानको लागि गइरहेको छ। ओढ्ने ओछ्याउनको लागि पनि अलिकति ब्ल्याङ्केट छ। तर शरीरमा लगाउने लुगा छैन। त्यो पनि एकदमै समस्याको कुरा छ। अर्को कुरा घर पनि छैन। घरमा बस्ने अवस्था पनि छैन। रोजगारी पनि केही छैन। जसका कारण महिलाहरूको बिजोग छ। गाउँमा बहुविवाह, बालविवाह भएका छन् ।दिमागमा परिपक्क भएको छैन, त्यसैमा यस्तो समस्या थपियो। रोजगारी नभएपछि झन् नाजुक छ। त्यस कारण महिलाहरूले आत्महत्याको बाटो रोज्न सक्ने देखिन्छ। त्यसैले पनि त्यहाँको त्यस्तो अवस्था देखेर केही मनोपरामर्शदाता बहिनीहरूलाई त्यहाँ जानुस् भनेर पाएको छु। अहिले बालबालिकाको पनि पठनपाठन प्रभावित भएको छ। विद्यालयहरू भत्किएका छन्। स्वास्थ्य चौकीहरू पनि सबै गइसकेका छन्। पढ्नको लागि पनि बालबालिका त्रसित भइरहेका छन्। सहजै विद्यालय जान सकिरहेको अवस्था पनि छैन। घरमा समयमै तयार गरेर विद्यालय पठाउने वातावरण पनि छैन। त्यसैले अभिभावक पनि त्रसित भएको अवस्था छ। अहिले बलात्कारका घटना पनि भएको भन्ने सुनिन्छ। यसको जोखिम पनि बढ्दै गइरहेको छ। यस्तो विपद्को समयमा जे पनि हुन सक्छ। यस बेला जे जसरी पनि मानवीयता र संवेदनशीलता गुमाउन सक्ने अवस्था पनि छ। यस्तो अवस्थामा चलखेल गरेर त्यहाँका बालबालिकाहरू बाहिर ओसारपसार हुन सक्ने पनि सम्भावना छ। यस्तो कदम रोक्नका लागि नेपाल सरकारले तत्काल त्यस्ता कदमहरूमा निगरानी बढाउन आवश्यक छ।
घर टहरा निर्माणको अवस्था कस्तो पाउनुभयो ?
घर टहरा निर्माणको सन्दर्भमा पार्टी नेतृत्वले पनि घर टहरा बनाइरहेको अवस्था छ। उहाँहरूले बनाउँदै गर्दा उहाँहरू दक्ष मिस्त्री हैन। दक्ष नभएको कारणले उहाँहरूले ठोकेको किला काटा सही ठाउँमा पुगेन भने पनि भत्किएर मानवीय क्षति हुन सक्छ। खामाहरू राम्रोसँग गाड्न सकेनौ, भने पनि त्यसैले पनि समस्या निम्त्याउन सक्छ। त्यो हिसाबले पनि नेपाल सरकारले सशस्त्र प्रहरी र नेपाल आर्मीलाई खटाएर घर टहराको पुनर्निर्माण गर्नका लागि तुरुन्त कदम चाल्न एकदमै आवश्यक छ।
दीर्घकालीन पुनर्निर्माण लागि सरकारले कस्तो कदम चाल्नुपर्ला ?
दीर्घकालीन रूपमा पुनर्निर्माण लागि सरकारले सबै ठाउँको डाटा जम्मा गर्नुपर्छ। डाटा जम्मा गरिसकेपछि ठाउँहरू खोजेर उहाँहरूलाई बसाइसराइका कुराहरू र कुन ठाउँमा राख्दा खेरी एकीकृत बस्तीहरू बसाल्न सकिन्छ अध्ययन गर्नुपर्छ। हामीले विकास दिने कुराहरूमा पनि पानी बत्ती, विद्युत् पहुँच छ कि छैन त्यस्ता कुराहरूलाई हेर्न सक्यो भने मात्र नेपाल सरकारले त्यस्तो ठाउँमा ठुलो घर हालेर सम्पन्न हुन्छ भन्ने होइन। नेपालमा भूकम्प बेला बेला गइरहन्छ। चट्टानै चट्टानले भरिएको हाम्रो देशमा विज्ञहरू हुनुहुन्छ उहाँहरूले एक लेबलको अध्ययन गरेर कुन ठाउँमा उहाँहरूलाई फेरी पनि भूकम्प आउँदा क्षति नपुग्ने हिसाबले निर्माण गर्नका लागि उहाँहरूले यो विषयमा सोच्नुपर्छ जस्तो लाग्छ।
भूकम्प प्रभावित क्षेत्रमा स्थलगत रूपमा पुग्दै गर्दा कुनै बिर्सन नसकिने त्यस्ता दृश्य भेटाउनु भयो ?
२०७२ सालको भूकम्प पनि हेरेको हो। तर, पनि कतिपय कुराहरू कस्तो छ भने हामीले बनाउँदै गरेका विकास निर्माणका कुराहरूमा कहाँ बनाउँदा ठिक हुन्छ। बस्तीबाट कति टाढा बाटोघाटो लिनुपर्छ। अथवा बस्ती नजिकै हामीले क्रसर उद्योगहरू राख्ने नराख्ने हुन सक्छ। बस्ती नजिकै हामीले चाहिँ विद्युत् ट्रान्समिटर राख्ने नराख्ने भन्ने कुराहरू र बसाइ व्यवस्थापन र हामीले नयाँ विकास निर्माण गर्दै गर्दा बस्तीबाट कति टाढा बनाउने भन्ने कुराहरू ख्याल गर्न आवश्यक छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी
- अभिभावक नै शिक्षक, बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी