पूर्व मेयर हीराको कृषि मोह पाँच बिघा क्षेत्रफलमा कृषि कर्म 

चन्द्रकान्त खनाल/रूपन्देही

रुपन्देही  रुपन्देहीको देवदह नगरपालिकाका निर्वतमान नगर प्रमुख हिराबहादुर केसी कृषि प्रेमी नेताको रूपमा पहिचान स्थापित छ । विस २०४७ साल देखि उनले देवदहमा शिव गङ्गा दुग्ध डेरी स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

डेरी व्यवसायी एसोसियशनको केन्द्रीय सचिव समेत भैसकेका उनी नेपाली काँग्रेसका क्षेत्रीय सभापतिसमेत हुन । कृषि क्षेत्रमा केही गर्ने हुटहुटी बनाएका उनले आज भन्दा ४ वर्ष पहिला देवदहको विभिन्न स्थानमा कृषि उद्यमीहरू जम्मा पारेर सुरुवात गरिएको कृषि फार्मले अहिले मूर्तरूप लिएको छ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ सिसपुरमा देवदह ग्रिन एग्रो रिसर्च एन्ड रिसोर्स प्रालि स्थापना गरी व्यवसायीक कृषिको सुरुवात गरिएको हो । फार्ममा अहिले लटरम्म बोडी फलिरहेका छन् भने तरबुजा पनि तयारी अवस्थामा छन्, यस्तै घिरौँला, करेला, भिण्डी, लौका, फर्सी लगायतका तरकारी फार्ममा फलेका छन् ।

फार्मका सञ्चालक डिल्लीराज मरासिनी हुन भने फार्म को सञ्चालकको रूपमा सबै भूमिका भने हिरा बहादुर खत्रीले नै सम्हालेका छन् । ७ जना सञ्चालक र ५१ जना शेयर सदस्यको २ करोड लगानीमा ५ बिघा जग्गा भाडामा लिएर सुरुवात भएको फार्ममा अहिले फलेका विभिन्न कृषिजन्य उत्पादन उपभोक्ता आफैले फार्मबाट किनेर लैजाने गरेका छन् ।

अर्ग्यानिक उत्पादनमा जोड दिइएको जानकारी दिँदै सञ्चालक खत्रीले उपभोक्ताको माग अनुसारको उत्पादन बजारीकरण हुँदै आएको बताए । १२ वर्षको लागि ५ बिघा क्षेत्रफल भाडामा लिएर सुरुवात गरिएको उक्त फार्ममा कृषि ज्ञान केन्द्र रुपन्देहीले निर्माण अनुदानमा हाई टेक टनेले समेत निर्माण गरिएको छ ।

सेमी हाई टेक नर्सरी व्यवस्थापन पूर्वाधार कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र रुपन्देहीले १० लाख अनुदान उपलब्ध गराएको हो । जसमा फार्मबाट ३ लाख ५४ हजार ४ सय ४० लगानी भएको छ । कुल १३ लाख ५९ हजार ४ सय ४० रुपैयाँ लागतमा १६.२४ वर्ग मिटरको सेमी हाई टेक टनेल निर्माण गरिएको छ । जसमा अहिले टमाटर लटरम्म फलेका छन् । उपभोक्ता आफैले फार्ममा आएर बजार मूल्य भन्दा सस्तोमा किन्न पाएपछि मक्ख रहेका छन् ।

स्थानीय उपभोक्ता पनि फार्मको उत्पादन आफैले टिपेर रोजी रोजी लैजान पाउँदा मक्ख छन् । अधिकांशले फार्मको उत्पादनबाट सन्तुष्ट रहेको बताउँदै आएका छन् । फार्ममा यान्त्रीकरण पनि अभ्यास गरिएको छ । सिँचाइको अभावको कारण थोपा सिँचाइको भरपुर प्रयोग गरिएको छ भने प्लास्टिक मल्चीङ्गको प्रयोग गरिएको छ ।

खास गरी सिँचाइको अभाव भएको स्थानमा थोपा सिँचाइ र प्लास्टिक मल्चीङ्ग राम्रो मानिन्छ । फार्ममा नियमित रूपमा १७ जनाले रोजगारी पाएका छन् । एक जना बीएस्सी एग्रीकल्चर(कृषि) पढेका प्राविधिक समेत राखिएको छ । यान्त्रीकरण, प्राविधिक सीप, ज्ञान क्षमता विना कृषि क्षेत्रको विकास हुन असम्भव भएको सञ्चालक हिरा बहादुर खत्री बताउँछन् ।

एउटा राजनीतिक क्षेत्रको मानिस कृषि क्षेत्रमा लाग्नुको कारण बारे पूर्व मेयर केसी भन्छन्-‘कृषिलाई एउटा सम्मानित पेसको रूपमा विकास गर्नको लागि अभियानमा होमिएको हो । ’ आफू जनप्रतिनिधि भएपछि रूपान्तरणको भाषण धेरै छाँटे पनि त्यसको लागि कृषि क्षेत्रमा नै केही गर्ने योजनाको साथ काम सुरुवात गरिएको बताउँछन् । अहिले हरियो तरकारी उत्पादन गरिएको जनाकारी दिँदै उनले अगामी दिनमा अझ बढी स्थान भाडामा लिएर फार्म विस्तारको योजना समेत गरिएको जानकारी दिए ।

खास गरी कृषि क्षेत्रमा शिक्षित जनशक्ति आवश्यक रहेको बताउँदै उनले अहिले एक लट उत्पादन बजारीकरण पछि पुनः अर्को चरणको उत्पादनमा लागेको उनको भनाई छ । आफू नगर प्रमुख हुँदा कृषि क्षेत्रलाई को भिडको बेलामा किसानको दूध बिक्री गर्न नपाएको बेलामा प्रति लिटर १० रुपैयाँ दूधमा अनुदान दिएको जानकारी दिँदै उनले उत्पादनमा आधारित अनुदान को काम सुरुवात गरिएको जानकारी दिए । तर यसको कार्यान्वयन पछिल्लो समयमा नभएकोमा भने दुख लागेको पूर्व मेयर केसीको भनाई छ ।

किसानलाई उत्पादनमा आधारित अनुदान लाई जोड दिनुपर्नेमा बताउँछन् । यसको साथै किसानको समस्या समाधानको लागि निराकरण गर्ने, सोही अनुसार योजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । किसान र कृषि पेसा प्रतिको धारणालाई जरैबाट परिवर्तन आवश्यक भएको भन्दै उनले मझौला खालका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउँछन् ।

किसानले ३ वटा तहको सरकारबाट गरेका काम प्रति आफू सन्तुष्ट नभएको बताउँदै उनले किसानको काममा संविधानमा दिएको पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा यथेष्ट रूपमा लगानी गर्नुपर्ने बताएका छन् । संविधानमा लेखिएको कुरालाई पूर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाई छ । फार्म बाट अहिले दैनिक ३० देखि ४० हजार रुपैयाँ सम्मको कृषि जन्य उत्पादन बिक्री हुँदै आएको उनको भनाई छ ।

किसानले प्राविधिक क्षेत्रमा जोड दिन आवश्यक रहेको भन्दै उनले किसानलाई सहज रूपमा यन्त्र उपकरण दिन आवश्यक रहेको बताउँछन् । व्यवहारिक रूपमा कृषिमा परिवर्तन आवश्यक रहेको जानकारी दिँदै उनले कृषि पेसालाई व्यवहारिक रूपमा सम्मानित पेशाको रूपमा विकास गर्न आवश्यक रहेको बताएको बताउँछन् । नेपालमा कृषि सम्भावना भएको क्षेत्र भएको बताउँदै पूर्व मेयर कार्कीले माटो नै नभएको भूमिमा त कृषि भइरहेको छ भने माटो, सिँचाइ भएको भूमिमा त अझ बढी सम्भावना रहेको बताए ।

फार्ममा अघिल्लो वर्ष अमेरिकन जातको स्ट्रबेरी समेत उत्पादन भएको थियो । १२ वर्षको लागि जग्गा ५ बिघा भाडामा लिएर फार्म सुरुवात गरिएको अध्यक्ष डिल्लीराज मरासिनी बताउँछन् ।

फार्ममा उत्पादन भएको कुनै पनि कृषि जन्य उत्पादन विषादी प्रयोग नगरिएको अध्यक्ष मरासिनी भनाई छ । किसानले उत्पादन भएको कृषि जन्य उपजको बिक्री वितरण समस्या भएको भन्दै लागत भन्दा तल्लो दरमा बिक्री गर्नुपर्ने बाध्यता समेत रहेको उनको भनाई छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link