नेपाली शिल्पकला विधामा उहाँ एक तपस्वी कलाकार हुनुहुन्छ । शिल्पकला भनेको मिहिन काम त्यसमा पनि अनेकौं बुट्टा–बनौटले आफैंमा कलात्मक र सिर्जनात्मक हुन्छ । यस्ता कला र हस्तकला विधामा उहाँ समर्पित तथा सुपरिचित कलासाधक हुनुहुन्छ ।
उमेर गन्तीले चिनीकाजी ताम्राकार आज वैशाख ३१ गतेदेखि ८९ वर्षको हुनुभयो । केही वर्षअघिसम्म पनि उहाँ आफ्नै परम्परागत शिल्पकलामा सीप कप्न मरिहत्ते गरिरहनुहुन्थ्यो । अब चाहिँ उमेरले पनि उहाँलाई ती काम गर्न दिँदैन । उहाँ पहिलेजस्तो काम गर्न सक्नुहुन्न तर उहाँले नब्बे निकट उकालो उमेरमा प्रवेश हुँदा पनि सिर्जनात्मक कर्मलाई माया गरिरहनुभयो । वृद्ध ज्यान–प्राण त्यसमै दिइरहनुभयो । काठमाडौंको मरुस्थित पिगँनःनिमा जन्मनुभएका उहाँ छत्रबहादुर र पूर्णदेवी ताम्राकारका माइला छोरा हुनुहुन्छ । अहिले पनि सोही पुख्र्यौली थलो र पुख्र्यौली कामलाई नै बचाएर उहाँले नेपाली कलामा मौलिकता कायम गर्नुभएको छ ।
नेपाली शिल्पकला विधामा उहाँ एक तपस्वी कलाकार हुनुहुन्छ । शिल्पकला भनेको मिहिन काम त्यसमा पनि अनेकौं बुट्टा–बनौटले आफैंमा कलात्मक र सिर्जनात्मक हुन्छ । यस्ता कला र हस्तकला विधामा उहाँ समर्पित तथा सुपरिचित कलासाधक हुनुहुन्छ । उहाँले तेलरङ, एक्रिलिक जलरङ आदि विविध माध्यममा पनि अनेकौं ल्यान्डस्केप, स्टिल–लाइफ, पोट्रेट, बुद्धको जीवनी आदि बनाउनुभएको छ । चाँदीका गरगहना, धातुनिर्मित सजावटका सामान, कलात्मक पदक तथा शिल्ड उहाँको व्यवसायभित्र पर्छन् । यी काममा उहाँ लोकप्रिय हुनुहुन्छ र यिनै कलाकृति उहाँका खास चिनारीका पाटा हुन् ।
कलाकार चिनीकाजीले नेवार समुदायको विवाह, व्रतबन्ध, जङ्कु, इही आदि शुभकर्मका लागि चाहिने सुकुन्दा, अन्ती, कलश, पानस, डलुचा, सिन्हःमु, ज्वलान्हाय्कँ, मसलाबट्टा आदि असङ्ख्य बनाउनुभएको छ । राज्याभिषेक पदक, विशिष्ट विदेशी पाहुनाका लागि दिइने कलात्मक उपहारका सामग्री उहाँले नै धेरै बनाउनुभएको छ ।
नेपालमा राज्यस्तरबाट दिइने सबैभन्दा ठूलो पदक ‘नेपालतारा’ (वर्तमान ‘नेपालरत्न’) को डिजाइन पनि उहाँले नै गर्नुभएको हो । यी सबै काममा उहाँको शिल्प दक्षता दृश्यमान हुन्छ । केही वर्षअघिसम्म हरेक दिन घाम झुल्केदेखि घाम नअस्ताएसम्म आफ्नो घरको भुइँतको ज्यासलमा उहाँलाई हस्तकलाका काममा तल्लीन रहेको देख्न सकिन्थ्यो । अहिले त उहाँ माथि कोठाको ओछ्यानबाट मुस्किलले उठ्न सक्ने अवस्थामा हुनुहुन्छ । व्यावसायिक व्यस्तताबीच समय निकालेर चित्ररचना पनि गर्नुहुन्थ्यो । कलाप्रदर्शनीहरूमा पनि भाग लिइरहनुहुन्थ्यो । उहाँको त्यो सिर्जनशील र सक्रिय जीवन अहिले शिथिल छ ।
चित्रकलामा आफ्नो प्रवेशबारे उहाँ भन्नुहुन्छ– ‘२००८ सालतिर त्यो समयका नामुद कलाकार चन्द्रमानसिंह मास्केको घरमा गई म चित्रकला सिक्न जान्थें । कलाकार हरिप्रसाद शर्मा पनि सिक्न आउनुहुन्थ्यो । मास्के गुरुसँग मैले लगभग दुई वर्ष सिकें । २०२१ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा अर्का अग्रज कलाकार लैनसिंह बाङ्देलसँग पनि मैले सिक्ने मौका पाएको थिएँ । उहाँसँग हामीले (गोविन्दलालसिंह डङ्गोल, श्यामलाल श्रेष्ठ, शङ्करराजसिंह सुवाल, कर्ण मास्के, कान्ति न्यौपाने, रमा मास्के, केशवमानलगायत) २०२४ सालसम्म चित्रकला सिकेका थियौं । पछिसम्म पनि म उहाँको घरमा सिक्नका लागि गइरहन्थें । उहाँसँगको सिकाइबाट मेरो काममा निकै निखार आएको थियो ।’
नेपालमा राज्यस्तरबाट दिइने सबैभन्दा ठूलो पदक ‘नेपालतारा’ (वर्तमान ‘नेपालरत्न’) को डिजाइन पनि उहाँले नै गर्नुभएको हो । यी सबै काममा उहाँको शिल्प दक्षता दृश्यमान हुन्छ । केही वर्षअघिसम्म हरेक दिन घाम झुल्केदेखि घाम नअस्ताएसम्म आफ्नो घरको भुइँतको ज्यासलमा उहाँलाई हस्तकलाका काममा तल्लीन रहेको देख्न सकिन्थ्यो । अहिले त उहाँ माथि कोठाको ओछ्यानबाट मुस्किलले उठ्न सक्ने अवस्थामा हुनुहुन्छ ।
पुराना दिन सम्झिँदै उहाँ भन्नुहुन्छ– ‘कलाकार रामानन्द जोशी पार्क ग्यालरी सञ्चालन गर्नुहुन्थ्यो । उहाँको अगुवाइमा त्यसबखत कलाप्रदर्शनी, कलाभ्रमण तथा कलाकार्यशालाको आयोजना भइरहन्थ्यो । त्यसै क्रममा २०२९ सालमा भक्तपुरको थिमीमा स्थलगत दृश्यचित्र प्रतियोगिता आयोजना गरिएको थियो । सो प्रतियोगितामा मैले बनाएको दृश्यचित्रले ‘विशेष पुरस्कार’ जित्न सफल भएको थियो ।’
वि.सं. २०११ मा त्रिपुरेश्वरस्थित घरेलु उद्योग विभागको मैदानमा भएको नेपाल राष्ट्रिय प्रदर्शनीमा उहाँले भाग लिनुभएको थियो । २०१३ सालमा नेपाल कला समितिले आयोजना गरेको नेपाल कलाप्रदर्शनीमा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो । २०३६ सालमा घरेलु तथा वाणिज्य मन्त्रालय, घरेलु तथा ग्रामीण उद्योग विभागले आयोजना गरेको हस्तकला सम्बन्धी तालिममा पनि आफूले भाग लिने अवसर पाएको उहाँ बताउनुहुन्छ ।
२०६३ सालमा भारतको नयाँदिल्लीमा आयोजित हस्तकला प्रदर्शनीमा उहाँले बुद्धका मूर्तिहरूको प्रदर्शनी गर्नुभएको थियो । उहाँले बुद्धको जीवनीमा आधारित ठूलो आकारको चित्र प्लाइउडमा विभिन्न किसिमका गेडागुडीहरू टाँसेर पनि बनाउनुभएको छ । उहाँका अनुसार अहिले यो चित्र काठमाडौं, बलम्बुस्थित बुद्धविहारमा सजाएर राखिएको छ । उहाँले केही थान पौभाचित्र पनि बनाउनुभएको छ । पौभाकला प्रस्तुत गर्न लामो साधना र सम्बन्धित देवीदेवताका विषयमा राम्रो ज्ञान हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
क्लानुरागी ताम्राकार भन्नुहुन्छ– ‘चित्रकला, मूर्तिकला, हस्तकला आदि सबै विधा भनेको शिल्पकला नै हुन् । शिल्प नभईकन तिनमा हात हाल्न सकिँदैन । शिल्प हासिल गर्नका लागि व्यक्तिमा प्रशस्त धैर्य, लगन र समर्पण हुनु अपरिहार्य हुन्छ । शिल्पदक्षताले युक्त कलाकृतिले सर्जक र दर्शक दुवैलाई परमानन्द प्राप्त हुन्छ । मेरो विचारमा त्यो परमानन्द वर्णातीत हुन्छ ।’
उहाँले बेलाबखत चित्रकला र हस्तकलाको प्रशिक्षण समेत दिँदै आइरहनुभएको छ । नेपाल हस्तकला उद्योग सङ्घको आयोजनामा भएका कतिपय कार्यक्रममा उहाँले शारीरिक संरचना (एनोटोमी) बारे प्रशिक्षण दिने गर्नुभएको छ ।
कलाकार चिनीकाजी ताम्राकारले अनेकौं पुरस्कार तथा सम्मान पाइसक्नुभएको छ । उहाँले पाउनुभएका मानसम्मान तथा पुरस्कार यसअनुरूप रहेका छन्– शिक्षा तथा श्रम विषयमा आयोजित कलाप्रदर्शनीमा धातुको मोडेलका लागि प्रशंसा पुरस्कार (वि.सं. २०१४); नेपाल ललितकला संस्थाद्वारा आयोजित राष्ट्रिय कलाप्रदर्शनीमा सान्त्वना पुरस्कार (वि.सं. २०३०); राष्ट्रिय कला प्रदर्शनीमा द्वितीय पुरस्कार (वि.सं. २०२८); नेपाल हस्तकला प्रदर्शनीमा तृतीय पुरस्कार
(वि.सं. २०३८); नेपाल हस्तकला महासङ्घबाट ‘माःज्या व थ्वःज्या विधाका सिद्धहस्त कलाकार सम्मान’ (वि.सं. २०६२); नेपाल ललितकला मञ्चद्वारा ‘स्रष्टा सम्मान’ (वि.सं. २०६६); नेपाल कमर्सियल आर्टिस्ट सङ्घ सम्मान (वि.सं. २०७३); नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट ‘अरनिको राष्ट्रिय ललितकला सम्मान’ (वि.सं. २०७६) । उहाँ ‘आधुनिक कला समाज’ को पनि संस्थापक सदस्य हुनुहुन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता