कलाकार श्रीजनकुमार राजभण्डारी समसामयिक नेपाली कलाजगत्मा ‘एकेडेमिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै आएका सीमित कलाकारकामध्ये एक हुनुहुन्छ । जलरङ होस्, वा तेलरङ वा अन्य माध्यम नै किन नहोस्, कलाकार राजभण्डारी तिनमा एकदम सूक्ष्म र श्रमपूर्वक काम गर्नुहुन्छ । उहाँका ती कलाकृतिले नेपाली मन र माटोलाई प्रतिनिधित्व गर्दै आइरहेका छन् । ती चित्रलाई उहाँको मौलिक शिल्प–दक्षताको उदाहरण भनेर निकै प्रशंसनीय बटुल्दै आएको छ ।
काठमाडौंको अट्कोनारायणस्थानमा उहाँको जन्म वि.सं. २०१९ सालमा भएको हो । उहाँका बुबाआमा मोहनधर राजभण्डारी र गङ्गादेवी राजभण्डारी हुनुहुन्छ । आफ्नो समयमा उहाँका बुबाले विभिन्न किसिमका मूर्तिहरू बनाउनुहुन्थ्यो । उहाँ पनि सानैदेखि बुबाले बनाउनुभएका मूर्तिदेखि प्रभावित हुनुहुन्थ्यो । त्यसैले मूर्तिकलामा पनि उहाँ सिर्जनशीलता कायम छ । उहाँका अनुसार सानैदेखि अनेकौं मठमन्दिर तथा मूर्तिकलाका विविध स्वरूपले आफूलाई प्रभावित पार्ने गरेको उहाँ बताउनुहुन्छ । यद्यपि उहाँको अध्ययनको विषय चाहिँ चित्रकला होइन । उहाँले बाणिज्य शास्त्र विषयको औपचारिक शिक्षा लिनुभएको छ । अपितु पेसागत रूपमा उहाँ चित्र विधामा नै विगत लामो समयदेखि संलग्न रहँदै आउनुभएको छ ।
कलासिर्जनाका क्रममा उहाँले अनेकौं ठाउँको भ्रमण गर्नुभएको छ । स्थलगत कलारचनामा उहाँ उत्तिकै अभिरुचि राख्नुहुन्छ । आफू कतै जाँदा जहिले पनि कलारचनाका आवश्यक औजारहरू साथमै लिएर जाने गरेको उहाँ बताउनुहुन्छ । यसरी आफूले भ्रमण गरेका स्थानलाई सधैँ ‘अन दि स्पट’ चित्र क्यानभासमा उतार्दै आइरहेको पनि उहाँ जानकारी दिनुहुन्छ । ‘ल्यान्डस्केप पेन्टिङ’ मा पनि उहाँ निकै पोख्त हुनुहुन्छ । चित्ररचनाका क्रममा आफू सदा सशक्त विषयवस्तु, प्रभावपूर्ण रेखाङ्कन र माधुर्यपूर्ण रङविन्यासप्रति एकदम सजग रहँदै आएको जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘दृश्यचित्रमा स्थान, मौसम र समयको प्रभाव देखाउन सक्नुपर्छ । पोट्रेट रचनामा मुहारका मांसंपेसीहरूको तन्काइ, खुम्चाइ, लचकता र हावभावका अतिरिक्त चित्र–पात्रको मानसिक अवस्थालाई अभिव्यक्त गर्न सक्नुपर्छ । मैले चित्ररचना गर्ने अधिकांश कलामा यिनै विधिलाई अँगालेर काम गर्ने गरेको छु ।’
आफ्ना कलारचनाहरूको प्रदर्शनीका सिलसिलामा उहाँ जापान, भारत आदि मुलुकमा पुग्नुभएको छ । वि.सं. २०६३–०६४ सालमा ‘रिनेसाँम्यान’ भनेर चिनिने लिओनार्दो दा भिन्चीकृत विश्वविख्यात चित्र ‘मोनालिसा’ (इ.सं. १५०३–०५) को सिर्जना भएको पाँच सय वर्ष पुगेको थियो । त्यो कालजयी चित्ररचनाप्रति सम्मान प्रकट गर्न भारतको हविब आर्ट फाउन्डेसनले विश्वभरिका कलाकारहरूलाई आह्वान गरेको थियो । फाउन्डेसनको निमन्त्रणानुसार नेपालबाट कलाकार मनुजवाबु मिश्र र श्रीजन राजभण्डारीले आ–आफ्ना शैलीमा मोनालिसालाई पुन:सिर्जना गर्नुभएको थियो । ती चित्रहरूलाई अन्य देशका सहभागी कलाकारहरूले निकै चासोका साथ अवलोकन गरेको र आफूहरूलाई विभिन्न जिज्ञासा राखेको उहाँ बताउनुहुन्छ ।
कलाकार श्रीजन कुमार राजभण्डारी भन्नुहुन्छ– ‘दृश्यचित्रमा स्थान, मौसम र समयको प्रभाव देखाउन सक्नुपर्छ । पोट्रेट रचनामा मुहारका मांसंपेसीहरूको तन्काइ, खुम्चाइ, लचकता र हावभावका अतिरिक्त चित्र–पात्रको मानसिक अवस्थालाई अभिव्यक्त गर्न सक्नुपर्छ । मैले चित्ररचना गर्ने अधिकांश कलामा यिनै विधिलाई अँगालेर काम गर्ने गरेको छु ।’
श्रीजनले ‘मोनालिसा’ चित्रमा चर्खा कात्दै गरेकी वृद्ध महिलाको आकृति उतार्नुभएको थियो । आफूले सो चित्र स्वावलम्बनको प्रतीक देवीका रूपमा अभिव्यक्त गरेको उहाँ बताउनुहुन्छ । आफ्नो चित्रबारे कलाकार राजभण्डारी थप व्याख्या गर्दै भन्नुहुन्छ– ‘सोह्रौं शताब्दीका ‘मोनालिसा’ लाई अहिलेको एकाईसौं शताब्दीमा मैले नेपाली ग्रामीण महिलाको प्रतिनिधि पात्रका रूपमा कल्पना गरें । मेरी ‘मोनालिसा’ ले चर्खा काट्दै जीवन निर्वाह गर्छिन् । उनले सामाजिक यथार्थको प्रतिनिधित्व गरेकी छिन्।’
कलाकार श्रीजन राजभण्डारी जलरङ विधालाई औधी मन पराउनुहुन्छ । यस माध्यममा कलाकर्म गर्नुभनेको सिकारुका लागि गाह्रो काम हो । यस माध्यमबारे उहाँ भन्नुहुन्छ– ‘वाटरकलरमा पानी र रङको मात्रामा सन्तुलित हुन अति आवश्यक हुन्छ । चित्र सतहमा रङ प्रयोग गर्दा त्यसको स्वच्छता र पारदर्शी गुण कायम रहनुपर्छ ।’
श्रीजन नि:सन्देह कुशल चित्रकार हुनुहुन्छ । यस अर्थमा उहाँलाई ‘भर्सटाइल आर्टिस्ट’ को संज्ञा दिएमा अन्यथा नहोला । उहाँले आफूलाई एउटै शैली वा वादमा सीमित राख्नुभएको छैन । उहाँले रियालिस्टिक, सरियालिस्टिक र हाइपर रियालिस्टिक शैलीमा काम गर्दै आउनुभएको छ । समग्रमा उहाँ नेपाली ललितकलाका एक सशक्त र आफ्नै किसिमको मौलिकता बनाइसक्नुभएका कलाकार हुनुहुन्छ ।
उहाँको ‘कहिले ?’ शीर्षकको चित्ररचनामा कलाकारको कल्पनाशीलता र शिल्पगत दक्षता देख्न सकिन्छ । ‘अजर अमर देवी र मरणशील महिलाहरू’ शीर्षकको चित्र उहाँको अर्को प्रभावशाली कृतिका रूपमा चिनिन्छ । प्राय: आफूले यस किसिमका विषयवस्तुलाई नै प्राथमिकता दिएर कलारचना गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
आफ्नो चित्ररचनाबारे उहाँ भन्नुहुन्छ– ‘हाम्रो समाजमा देवीलाई अलौकिक र अमर मानिन्छ। तिनकै आराधना गरिन्छ तर यही समाजमा बस्ने लौकिक महिलाहरूको अवस्था सन्तोषजनक भने छैन । यो मरणशील जीवनमा सुखको अनुभूति गर्न नपाउने तिनै महिलाप्रति मेरो संवेदना स्वरूप यस सिर्जनामा अभिव्यक्त भएको छ ।’
चित्रकार राजभण्डारीले वि.सं. २०७६ सालमा भद्रकालीस्थित सैनिक मुख्यालयका लागि १० फिट चौडाइ र ३० फिट लम्बाइको भित्तेचित्र बनाउनुभएको थियो । सो चित्रको विषयवस्तु सरदार भक्ति थापाले मलाउ देउथलको युद्धको नेतृत्व गर्दै गरेको ऐतिहासिक घटना रहेको उहाँ बताउनुहुन्छ । सो युद्धचित्र वास्तवमै तत्कालीन युद्धको झलक दिन निकै जीवन्त रहेको भनाइ आगन्तुक दर्शकहरूले गरिदिँदा आफूलाई आफ्नो कामप्रति गर्व लाग्ने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ।
ऐतिहासिक युद्धको कालखण्डलाई झल्काउने सोही चित्रबारे जानकारी दिँदै चित्रकार भन्नुहुन्छ– ‘सो विषयसँग सम्बन्धित चित्र बनाउने क्रममा मैले निकै अध्ययन र अनुसन्धान गरें । त्यो बेलाका भेषभूषा, हातहतियार आदिबारे खोजें । मूल चित्र बनाउनु अगाडि ‘प्रिलिमिनरी ड्रइङ्स’ (नमुना रेखाचित्रहरू) बारे सम्बन्धित विज्ञसँग छलफल गर्दै अन्तिम रूप दिन निकै समय लागेको थियो । सत्तरी वर्षका सरदार भक्ति थापाको देशभक्तिप्रति म नतमस्तक भएँ। म सधैँ ‘च्यालेन्जिङ’ काम गर्न मन पराउँछु, र यो चित्र बनाउँदाको अनुभव मेरा लागि अविस्मरणीय रहेको छ ।’
कलाकार श्रीजनकुमार राजभण्डारीले थुप्रै कलाप्रदर्शनी, कलाकार्यशाला र ‘डेमोस्ट्रेशन’ कार्यमा सहभागिता जनाउँदै आउनुभएको छ । उहाँले धेरै पुरस्कार र सम्मानहरू प्राप्त गर्नुभएको छ । तथापि उहाँले नेपाली कलामा पुर्याउनुभएको योगदानको उचित सम्मान भने भएको छैन । उहाँले हालसम्म पाउनुभएका मुख्य पुरस्कारहरूमा वि.सं. २०४२ सालमा आयोजित राष्ट्रिय कलाकौशल प्रदर्शनीमा ‘उत्तम पुरस्कार’, वि.सं. २०४६ र वि.सं. २०५१ सालको राष्ट्रिय कलाप्रदर्शनीमा ‘प्रथम पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।
(तस्बिर लेखक )
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता
- बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित