पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई दुई–दुई वर्षमा प्रदान गर्ने ‘ललितकला पुरस्कार २०७८’ बाट कलाकार आलोक गुरुङलाई केही महिनाअघि पुरस्कृत गर्यो। आफ्नै कर्मथलोमा उहाँको कलाकारी योगदानको कदर गरिएको यो पहिलो थियो। त्यसो त उहाँ नेपाली चित्रकला विधामा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय परिचय प्राप्त कलाकार हुनुहुन्छ। ‘कला भनेको मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो पनि हो’ भन्ने मान्यताका कलाकार मूलत: मुहारचित्र र दृश्यचित्रमा पोख्त चित्रकार मानिनुहुन्छ। उहाँले यिनमा सयौं चित्र सिर्जना गरिसक्नुभएको छ। गुरुङको खास विशेषता ‘लाइभ डेमोस्ट्रेशन’ हो।
यथार्थवादी कलामा वस्तुको आकृति, अवस्थिति, संरचना, सन्तुलन, रङ आदिमा स्वाभाविकता प्रदान गर्न प्रकृतिका हरेक क्षणलाई आँखा र मनले खिचेर कलामा उतार्नुपर्छ। उहाँले यस कार्यमा सफलता पाउनुभएको छ। प्रकृतिमै डुबेर उहाँले रङको रहस्यलाई पत्ता लगाउनुभएको छ। त्यसैले दृश्यचित्रमा होस् कि व्यक्तिचित्रमा रङको सुन्दर संयोजन गर्न उहाँ सिपालु सर्जक हुनुभएको छ।
अब आज त उमेर र अभ्यासको लामो कालखण्डले पनि कल्पनाकै आधारमा समेत उहाँका चित्रकलामा कुशल सिर्जना समग्र देख्न सकिन्छ। त्यहाँ रङको संरचनादेखि आकृति र अनुपातको संयोजन अत्यन्त परिपक्व रूपमा गरिएको हुन्छ। कलामा यथार्थपनका साथै त्यसमा आधुनिक सीप र शैलीका कारण जीवन्त सिर्जना दृष्टिगोचर हुन्छ। वास्तवमा यिनै र यस्तै अनेक कलारचनाका अभ्यासले नै उहाँलाई परिपक्व कलासर्जक बनाउन सहयोग पुर्याएको हो।
कठिन कलायात्राको यो मोडमा आज आलोक गुरुङ पोखरामा बस्नुहुन्छ। आफ्नी छोरी किरण गुरुङले समेत ललितकला क्याम्पसबाट वीएफएको पढाइ पूरा गरिसकेको उहाँ बताउनुहुन्छ। कलाकार गुरुङले नेपाली चित्रकलामा मूलत: दृश्यचित्र र व्यक्तिचित्रमा दिँदै आइरहनुभएको योगदानलाई हिसाब गर्ने हो भने चार दशकको समय व्यतीत भइसकेको छ। उहाँले बनाएका व्यक्तिचित्रहरूले सरकारी कार्यालय सजिनुका साथै सर्वसाधारणका घर पनि शोभायमान भएको उहिल्यैदेखि हो।
उहाँ नेपाल सरकारबाट क्षेत्रीय प्रतिभा पुरस्कार सन् २०१७ द्वारा पुरस्कृत हुनुभएको छ। त्यस्तै ‘इन्टरनेशनल वाटरकलर सोसाइटी’ द्वारा सन् २०१८ मा उहाँ सम्मानित हुनुभएको पनि यहाँ स्मरणीय हुन्छ। उहाँले २०३१ सालमै दुर्गा बराल र गोपाल श्रेष्ठसँगै चित्रकला प्रदर्शनी गर्नुभएको थियो। त्यसबाहेक बागलुङ समूह चित्रकला प्रदर्शनी तथा सामूहिक कलाकार्यशाला अन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँहरूमा आफ्नो कलाप्रदर्शनी गरिसक्नुभएको छ।
कलाकार आलोक गुरुङको जन्म वि.सं. २०१० सालमा तनहुँको क्याबिन गाउँमा भएको हो। उहाँका बुबाआमा रामशरण गुरुङ तथा वीर्मादेवी गुरुङ हुनुहुन्छ। उहाँका बुबा भारतीय सेनामा हुनुहुन्थ्यो। त्यसैले उहाँको बाल्यकाल भारतका विभिन्न स्थानहरूमा बित्यो। उहाँका अनुसार तनहुँको क्यामिन गाउँस्थित आरुबोट उहाँको पुर्ख्यौली थलो थियो। उहाँका बुबा, बाजे सबै लाहुरे हुनुहुन्थ्यो। आफूले पनि एक महिना ब्रिटिस आर्मी अनि दुई वर्ष भारतीय सेनामा भर्ती भएर लाहुरे जीवनको अनुभव सँगालेको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार लाहुरे जीवनलाई चटक्कै त्यागेर उहाँ नेपाल फर्किनुभयो। तदुपरान्त उहाँ अनवरत रूपमा कलासिर्जनामा समर्पित रहँदै आउनुभएको छ। बुबाको लाहुरे जीवनले गर्दा त्यहाँका सबै जग्गाजमिन उहाँका काकाहरूलाई जिम्मा लगाएर सपरिवार भारतमै धेरै वर्ष बस्नु भएको थियो।
यद्यपि उहाँ भने मामाघर तनहुँकै पोर्थक गाउँमा आउजाउ गरिरहनुहुन्थ्यो। ग्रामीण जीवन, उकाली, ओराली, भारी बोकाइ आदिले उहाँ निकै प्रभावित हुनुहुन्थ्यो। कलाकार गुरूङ यथार्थपरक शैलीमा काम गर्नुहुन्छ। स्वाध्यायन र निरन्तरको अभ्यासबाट उहाँले चित्रकारीको सीप हासिल गर्नुभएको हो। आजको समयसम्म आइपुग्दा उहाँका काम निकै माझिइसकेका छन्।
यदि उहाँ लाहुरे जीवनमै रमाउनुभएको भए आज धेरै कमैले मात्र उहाँलाई चिन्ने थिए। उहाँ स्वयम् यस कुरामा सहमति दिँदै भन्नुहुन्छ– “लाहुरमा मैले खोजेको जीवन थिएन। त्यो लगाम लगाइएको घोडा जस्तै जीवन थियो। त्यहाँ बसेको भए मलाई त्यही पल्टनका साथीहरू, त्यहाँका भट्टीवाल र तरुनीहरूले मात्र चिन्थे। म त त्योभन्दा निकै पर जान चाहन्थें। मलाई दार्जीलिङका सरले बनाएको चित्रले हरबखत तानिरहेको हुन्थ्यो। मलाई लाग्छ, त्यतिबेला मनभित्रैबाट चित्रकलामा म लागिसकेको थिएँ।”
पुराना कुरा सम्झिँदै आलोक गुरुङ अगाडि भन्नुहुन्छ– “बुबाको सरुवा भइरहन्थ्यो। दार्जीलिङमा छँदा मलाई सीधै तीन कक्षामा भर्ना गरिएको थियो। त्यहाँ मलाई घरमा पढाउनका लागि हेमबहादुर थापा नाम गरेका शिक्षकको व्यवस्था गरिएको थियो। थापा सरको पढाउने शैली एकदमै राम्रो थियो। पढाउने क्रममा उहाँले चित्र बनाउने गर्नुहुन्थ्यो। जीवनमै पहिलोपटक ती चित्र देख्दा मेरो मन लोभिएको थियो। मैले पनि त्यस्तै चित्र बनाउन पाए त कति मज्जा हुन्थ्यो होला भनेर मनमनै सोच्थें।”
अब आज त उमेर र अभ्यासको लामो कालखण्डले पनि कल्पनाकै आधारमा समेत उहाँका चित्रकलामा कुशल सिर्जना समग्र देख्न सकिन्छ। त्यहाँ रङको संरचनादेखि आकृति र अनुपातको संयोजन अत्यन्त परिपक्व रूपमा गरिएको हुन्छ। कलामा यथार्थपनका साथै त्यसमा आधुनिक सीप र शैलीका कारण जीवन्त सिर्जना दृष्टिगोचर हुन्छ। वास्तवमा यिनै र यस्तै अनेक कलारचनाका अभ्यासले नै उहाँलाई परिपक्व कलासर्जक बनाउन सहयोग पुर्याएको हो।
आलोक गुरुङका बुबाआमाले घरमा गुरुङ भाषा बोल्नुहुन्थ्यो तर उहाँले भने आफ्नो मातृभाषा कमै बोल्नुभयो। कहिले हिन्दी, कहिले पञ्जावी, कहिले बङ्गाली भाषाका अनेक जञ्जालमा उहाँले के सिक्ने र कुन सिक्नेको अन्योलबीच धेरै समय बिताउनुभयो। मामाघर जाँदा उहाँकी हजुरआमाले उहाँलाई असाध्यै माया गर्नुहुन्थ्यो। मीठा खाने कुरा खुवाउने अनि रमाइला कुरा गरेर नातिको अनुहारमा खुसीको चमक देख्न उहाँकी बज्यैले अनेक उपाय गर्थिन्। मामाघरमा उहाँ पुग्दा हजुरआमा बेग्लै किसिमले रमाउनुहुन्थ्यो।
आलोक गुरुङ भन्नुहुन्छ– “मलाई देख्दा बुढी बज्यै खुसीले रमाउनुहुन्थ्यो। अनि मायाले चुमेर ‘कठै बरा ! बाबु कसरी हिँडेर आयौ नि यतिका लामो बाटो’ भन्दै हत्त न पत्त मीठा खाने कुरा पकाएर खुवाउनुहुन्थ्यो। अहिले मलाई लाग्छ, उहाँले बनाएर दिएको जे चीज पनि मीठो हुन्थ्यो। उहाँको हातले दिएको खानेकुराको स्वाद मैले आजसम्म कतै चाख्नसम्म पाएको छैन।”
उहाँका मामाहरू सबै जना कोही ब्रिटिस आर्मी, कोही इन्डियन आर्मीका जागिरे थिए। त्यसैले एक्ली हजुरआमाका लागि नातिसँगको मिलन निकै सुखद हुन्थ्यो। आज नेपाली कलाजगत्मा उहाँ राम्रैसँग स्थापित भइसक्नुभएको छ। यो उहाँको निरन्तरको लगन र साधनाको प्रतिफल हो। उहाँले कसैलाई गुरु थाप्नु भएन। बरु आज उहाँले धेरै चेलाचेली जन्माउनुभएको छ। पोट्रेट विधामा उहाँको शिल्प दक्षता अति प्रशंसायोग्य छ।
सुरुका दिनहरूमा आफूले राजा वीरेन्द्र र रानी ऐश्वर्यको कैयौँ पोट्रेट बनाएको सम्झना उहाँसँग ताजै छन्। उहाँको दक्षता देखेरै उहाँलाई सो कामको जिम्मेवारी तत्कालीन जिल्ला प्रशासकहरूले खोजीखोजी दिने गरेको उहाँ बताउनुहुन्छ। ती चित्र उहाँले विभिन्न जिल्लामै गएर बनाउनुभयो भने कतिचाहिँ माग भएर आएपछि बनाउनुहुन्थ्यो। त्यसबखत यही काममा उहाँलाई भ्याइनभ्याइ हुन्थ्यो। त्यसबीच आफूले गाउँघरका दृश्यचित्रहरू र स्थानीय व्यक्तिका अनुहारलाई उतारेको सम्झना पनि उहाँसँगै धेरै छन्। उहाँले सिर्जना कलेज अफ फाइन आर्टस् तथा ललितकला क्याम्पसमा ‘पोट्रेट डेमोस्ट्रेसन’ दिनुभएको थियो। अहिले आलोक गुरुङ पोखरामा बस्नुहुन्छ। पोखरालाई नै आफ्नो कर्मक्षेत्र बनाउनुभएको छ।
(तस्बिर लेखक)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता
- बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित