कलाअध्यापनबाट अवकाश पाए पनि कलाकार गोविन्दलालसिंह डङ्गोलले कलासिर्जनामा अवकाश लिनुभएको छैन। विगत पाँच दशकभन्दा बढी समयदेखि कलाकर्ममा संलग्न रहँदै आउनुभएका डङ्गोलको आज ७६ औं जन्मदिन हो। उहाँले लामो समयसम्म नेपालको पहिलो कला क्याम्पस ललितकला क्याम्पसमा अध्यापन कार्य गर्नुभयो। साथै सोही क्याम्पसमा क्याम्पस प्रमुखको जिम्मेवारी पनि बहन गर्नुभयो। कलाप्राध्यापन, कलासिर्जनाका साथ उहाँ घरैमा कलाकक्षा पनि लिने गर्नुहुन्छ। यसैबीच उहाँले तत्कालीन अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाहलाई चित्रकला सिकाउने कार्य पनि गर्नुभयो। उहाँका अनुसारपछि श्रुतिका छोरीहरूलाई पनि उहाँले नै चित्रकला सिकाउनुभयो।
काठमाडौंको लगनबहालस्थित ब्रह्मटोलमा उहाँको जन्म वि.सं. २००३ सालमा भएको हो। उहाँको बाल्यकाल त्यही टोलमा बित्यो। त्यो बेला उहाँका छिमेकी अग्रज कलाकार जीवरत्न शाक्य र हरिप्रसाद शर्मा हुनुहुन्थ्यो। उहाँहरूले बनाएका कलाले पनि उहाँलाई चित्रकलामा लाग्न केही हदसम्म प्रेरित गरेको कुरालाई उहाँस्वीकार्नुहुन्छ। त्यसो त सानै उमेरदेखि कलाप्रति आफ्नो अभिरुचि थियो। उहाँ एसएलसी उत्तीर्ण गरेपछि अमृत साइन्स कलेजमा भर्ना हुनुभयो। उहाँका बुबा चन्द्रलालसिंह डङ्गोल जमिनदार हुनुहुन्थ्यो। कैलालीमा उहाँहरूको प्रशस्त जग्गाजमिन थियो।
उहाँ भन्नुहुन्छ– ‘किशोरवयमा प्रवेश हुँदासम्म पनि मभित्र कलाकार बन्ने कुनै सङ्केत र सम्भावना थिएन। मेरो लक्ष्य ‘डाक्टर’ बन्ने थियो। परिवारको पनि त्यही चाहना थियो। भविष्यमा डाक्टर बन्ने योजना लिई विज्ञान विषय अध्ययन गर्दैगर्दा घटित एउटा घटनाले मेरो जीवनको मोड बद्लियो। एकजना साथीको औंला काटिएर बगेको आलो रगत देख्दा म त मुर्छा परेँ। मेरो कति कोमल मन र मुटु रहेछ भन्ने कुरा मलाई त्यस घटनाले पुष्टि गरिदियो।’
कलाकार डङ्गोल अगाडि थप्दै भन्नुहुन्छ– ‘यस घटनापछि डाक्टर बन्ने सपना मैले त्यागिदिएँ। त्यसपछि म त्रि–चन्द्र कलेजमा आई. ए. मा भर्ना भएँ। बी. ए. मा पढ्दै गर्दा अर्थात् वि.सं. २०२४ सालमा भारत सरकारको छात्रवृत्ति मिल्यो। सो छात्रवृत्तिमा वत्सगोपाल वैद्य र मलाई मुम्बईको सर जे. जे. स्कुल अफ आर्टस्मा कला अध्ययनका लागि जाने अवसर प्राप्त भयो।’
मुम्बईबाट कला अध्ययन पूरा गरी काठमाडौं फर्किएपछि परम्परागत नेपाली कलामा आधुनिकता भित्र्याउने काम आफूले गरेको दाबी उहाँ गर्नुहुन्छ। त्यो बेला आफूले ‘वास टेक्निक’ मा काम गरी त्यसमा ‘प्याच वर्क’ गरेर कलामा नयाँपन देखाउने प्रयत्न गरेको उहाँको भनाइ रहेको छ। आजसम्म यस शैलीमा आफूले निरन्तर काम गरिरहेको उहाँ बताउनुहुन्छ। मूर्त र अर्धमूर्त शैलीका गणेश चित्रबाहेक उहाँ प्राय: ज्यामितीय कोण, वृत्त र रेखामा आवृत्त आकृतिहरूमार्फत् दर्शकसँग आध्यात्मिक संवाद गर्नुहुन्छ।
वस्तुत: उहाँका चित्ररचनाहरूले आध्यात्मिक विषय र विम्बलाई प्रतिनिधित्व गर्दै आइरहेका छन्। अपितु तिनमा आधुनिक प्रवृत्ति दृश्यमान हुन्छन्। कलासिर्जनामा ‘भगवान् गणेश’ उहाँका प्रिय विषयवस्तु रहँदै आएको छ। आफूले गणेशका अनगन्ती चित्ररचना बनाइसकेको उहाँ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘चित्ररचनाका सन्दर्भमा भगवान् गणेश निकै व्यापक विषय हो। यसबारे जति अध्ययन गरे पनि सकिँदैन। जति खोज्दै गयो, झन् नयाँ–नयाँ स्वरूपहरू अगाडि आउँछन्। मैले गणेशलाई आफ्नो सिर्जनाको विषयवस्तु बनाएर विभिन्न किसिमका गणेश सिरिजका चित्रहरू बनाएको छु।’
आफूले अष्टमातृका र दशमहाविद्या सम्बन्धी चित्र पनि बनाउने गरेको उहाँ बताउनुहुन्छ। कलाकार डङ्गोलले पेन्सिल, चारकोल, जलरङ, तेलरङ, एक्रिलिक, वास आदि सबै माध्यममा काम गर्नुहुन्छ। चारकोलबाट बनाइएका उहाँका ‘पोट्रेट’ रचनाहरू निकै उम्दा रहेका छन्। उहाँले केही पौभाचित्र पनि बनाउनुभएको छ। त्यसो त आफूले कैयौँ ‘एब्स्ट्रयाक्ट आर्ट’ पनि बनाएको उहाँ बताउनुहुन्छ।
चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकार, लैनसिंह बाङ्देलजस्ता नेपाली कलाजगत्का अग्रज कलाकारहरूसँग आफूले चित्रकला सिक्ने अवसर पाएको उहाँ सगर्व बताउनुहुन्छ। डङ्गोल भन्नुहुन्छ– ‘भाग्यले कताबाट कहाँ पुर्याउने रहेछ। कलाकार बनेकोमा आज मलाई कुनै पछुतो छैन। सिकाइ भन्ने कुरा जीवनपर्यन्त जारी रहन्छ। म अहिले पनि सिकिरहेको छु सिकाइरहेको छु। कलाको दुनियाँ महासागर हो। त्यसमा जति गोता हाने पनि गहिराइमा पुग्न सकिँदैन। आजका युवा कलाकारहरू कलामा पारङ्गत भइनसक्दै कलाप्रदर्शनी गर्न हत्तारिन्छन्। यो गलत प्रवृत्ति हो। वास्तवमा कलाप्रदर्शनी भनेको मैले कति सिकिसकें भन्ने कुरा देखाउने ‘प्लेटफर्म’ हो।’
कलाकार डङ्गोलको पहिलो कलाप्रदर्शनी वि.सं. २०२८ सालमा नेपाल–भारत सांस्कृतिक केन्द्रमा भएको थियो। निकै लामो अन्तरालपछि वि.सं. २०५१ सालमा उहाँको तेस्रो एकल कलाप्रदर्शनी भएको थियो। वि.सं. २०६७ सालमा जापानको टोकियोमा ‘गणेश’ शृङ्लाका उहाँका कलाकृतिहरूको एकल कलाप्रदर्शनी सम्पन्न भएको थियो। उहाँको एकल कलाप्रदर्शनीहरू दि आर्ट सप, जे आर्ट ग्यालरी आदिमा पनि सम्पन्न भइसकेका छन्। काठमाडौंको जे आर्ट ग्यालरीमा त उहाँका कलाकृतिहरूको धेरै पटक एकल प्रदर्शनी भइसकेका छन्।
वि.सं. २०६१ सालमा उहाँको ‘गणेश इन माई ड्रिम’ शीर्षकको प्रदर्शनी भएको थियो। सो प्रदर्शनीमा गणेशलाई उहाँले विविध रूपरङ, अवस्था, स्वरूप र शैलीमा प्रस्तुत गर्नुभएको थियो। यसले उहाँको गणेशप्रेमको अगाध आस्थालाई प्रतिविम्बित गर्दथ्यो। आफ्ना चित्ररचनामध्ये आफूलाई ‘श्रीयन्त्र’ सर्वाधिक मन पर्ने उहाँ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘श्रीयन्त्रको अर्थ र महत्व निकै ठूलो रहेको छ। भगवान् पशुपतिनाथ नै श्रीयन्त्र हुन्। पशुपतिनाथका चारवटा मुख हुन्छन्। श्रीयन्त्रका बीचमा त्रिपुरासुन्दरी देवी विराजमान हुन्छिन्। यसको अर्थ निकै विशाल र व्यापक छन्।’
कलाकार गोविन्दलालसिंह डङ्गोल कला शिक्षामा अब हामीले पनि समयानुकूल विकास गर्नुपर्ने बेला आइसकेको बताउनुहुन्छ। कला शिक्षण संस्थाप्रति सरकार र विश्वविद्यालयको उदासीनताप्रति उहाँ आफ्नो गुनासो पोख्नुहुन्छ। कला अध्यापकका रूपमा तीनदशक लामो अनुभव अनि पुन: दुई कार्यकाल ललितकला क्याम्पसका क्याम्पस प्रमुख पदको जिम्मेवारीबाट उहाँले अवकाश पाइसक्नुभएको छ।
हाल सानेपा, ललितपुरमा स्थायी बसोबास गर्नुहुने कलाकार कलामै नयाँ खोजी र प्रयोग गर्नमै रमाइरहेको जानकारी दिनुहुन्छ। आफ्नो एकमात्र काम भनेको कलासिर्जना रहेको उहाँ बताउनुहुन्छ। यसप्रति आफू पूर्णत: सन्तुष्ट रहेको पनि उहाँको भनाइ छ। कलाकार डङ्गोललाई गीत र सङ्गीतमा पनि औधी रुचि छ। चित्र बनाउँदा आफूले सधँै गजल सुन्दै बनाउने गरेको उहाँ बताउनुहुन्छ।
वि.सं. २०२८ सालमा मुम्बईमा भएको अन्तर्राष्ट्रिय कलाप्रतियोगितामा कलाकार डङ्गोलले प्रथम पुरस्कार पाउनुभएको थियो। त्यसयता कलाक्षेत्रमा उहाँको योगदानलाई सम्झिएर उहाँलाई पुरस्कृत र सम्मानित गरिएको सन्दर्भ कमै छन्। वि.सं. २०५१ सालमा ‘वीरेन्द्र–ऐश्वर्य सेवापदक’ र वि.संं २०५४ सालमा ‘सुप्रबल गोरखा दक्षिणबाहु’ बाट उहाँ विभूषित हुनुभएको थियो। यसैगरी २०७९ सालमा गङ्की–धुस्वाँ बसुन्धरा प्रतिष्ठानले उहाँलाई ‘धुस्वाँ सायमि सिर्जना पुरस्कार’ बाट पुरस्कृत गरेको थियो। यस पुरस्कारले आफूलाई यो उमेरमा पनि अझ सक्रियताका साथ काम गर्न हौसला मिलेको कलाकार डङ्गोल बताउनुहुन्छ।
(तस्बिर लेखक स्वयम्)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता
- बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित