नेपाली पौभाकलामा उदयचरण श्रेष्ठको नाम र काम यौटा अलग शैली र शिल्पका दर्बिलो स्तम्भका रूपमा लिइने गरिन्छ। कलाकार श्रेष्ठ नेपाली पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्ने कलाकारका रूपमा चिनिनुहुन्छ। पौभाकलामा शास्त्रीय मान्यतालाई स्थापित गराउँदै त्यसमा आफ्नो मौलिकता प्रस्तुत गर्ने कार्यमा पनि उहाँ त्यत्तिकै सफल र सशक्त सर्जक मानिनुहुन्छ। वि.सं. २०२१ सालमा काठमाडौंस्थित नरदेवीमा उहाँको जन्म भएको हो। उहाँका बुबाआमा बद्रीचन्द्र श्रेष्ठ र विष्णुदेवी श्रेष्ठ हुनुहुन्छ। हाल उहाँ स्वयम्भूमा बसोबास गर्नुहुन्छ।
आफ्नो बाल्यजीवन सम्झिँदै उहाँ भन्नुहुन्छ– ‘सुरुमा महेन्द्र आदर्श विद्याश्रममा पढ्थें। त्यहाँ हप्ताको दुई कक्षा चित्रकला सिकाइन्थ्यो। त्यसै ताकादेखि म राम्रो ‘ड्रइङ’ बनाउँथेँ। पछि म नेपाल आदर्श मा. वि. मा भर्ना भएँ। त्यहाँ स्कुलको वार्षिकोत्सवका अवसरमा आयोजना हुने चित्रकला प्रतियोगितामा कक्षा ७, ८ र ९ मा लगातार मैले प्रथम पुरस्कार पाएको थिएँ। म नेपाल बालमन्दिर (नक्साल) मा सञ्चालित कला कक्षामा पनि सिक्न जान्थेँ।”
सोही समयमा बालमन्दिरकै कक्षामा सुदर्शन सुवाल र दीपक जोशीसँग परिचय भएको घटनाले आफ्नो कलायात्रामा नयाँ मोड आएको उहाँ स्वीकार्नुहुन्छ। उनीहरू दुवै जना पौभाचित्र बनाउने हुँदा आफूले पनि उनीहरूकै सङ्गतमा पौभाचित्र बनाउन थालनी गरेको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार त्यो बेला बालमन्दिरले बर्सेनि अन्तरस्कुल चित्रकला प्रतियोगिता आयोजना गर्थ्यो। ती दिन सम्झिँदै उहाँ अगाडि भन्नुहुन्छ– ‘वि.सं. २०३४ सालको प्रतियोगितामा मेरो चित्रले प्रथम पुरस्कार पाएको थियो। बालमन्दिरबाटै मलाई तत्कालीन सोभियत सङ्घमा विश्वका विभिन्न राष्ट्रका बालबालिकाहरूलाई जम्मा गरी आयोजना गरिने ‘आर्ट क्याम्प’ मा भाग लिन जाने अवसर प्राप्त भएको थियो।’
कलाकार उदयचरण आफूले वि.सं. २०३७ सालदेखि पौभाचित्र बनाउन थालेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘मैल पौभाचित्र बनाउँदै आएको ४२ वर्ष व्यतीत भइसकेको छ। यसमा काम गर्दै मैले धेरै अनुभवहरू पनि हासिल गरिसकेको छु। परम्परागत पौभाचित्रमा प्राय: समतल रूपमा आकृतिको अङ्कन गर्ने गरिन्छ। मैले तेलरङबाट त्रि–आयामिक प्रभाव दिएर देवीदेवताका आकृतिहरू बनाउन थालेँ। ती चित्ररचनामा पौभाचित्रण विधिलाई नै अनुशरण गर्दै प्रतिमा लक्षण तथा शास्त्रीय विधान आदिको पालना गरी बनाएको थिएँ। मैले रेखाप्रधान पौभाचित्र र त्यसमा आधारित तेलरङ माध्यमका चित्रहरू समान रूपमा बनाउँदै आएको छु। परम्पराकै पृष्ठभूमिमा समसामयिकता दर्शाउने मेरो प्रयास रहिआएको छ।’
उहाँका अनुसार त्यो प्रयासलाई प्रशंसा गर्ने मात्र होइन आलोचना गर्नेहरू पनि थिए। आफूले हिन्दू र बौद्धदर्शनमा वर्णित तान्त्रिक देवीदेवताका चित्र बनाउँदै आएको उहाँ बताउनुहुन्छ। कुनै पनि देवीदेवताको चित्र बनाउनुअघि तिनका विषयमा पर्याप्त जानकारी हुनुपर्ने हुँदा आफूले पनि अध्ययन र अनुसन्धानमा सधैँ समय दिने गरेको जानकारी उहाँ दिनुहुन्छ।
उहाँ भन्नुहुन्छ– ‘पौभाकलाको प्रयोजन धार्मिक उद्देश्यमा मात्र सीमित रहेको छैन। यसमा कलाकारको वैयक्तिक शैली र सौन्दर्यको अभिव्यक्तिको पनि उत्तिकै ठूलो महत्व रहेको हुन्छ। तसर्थ यो विधा विशुद्ध ‘कपी वर्क’ मात्र होइन। यसमा पनि कलाकारको कल्पना र सिर्जना क्षमताको सर्वोपरि भूमिका रहेको हुन्छ भन्ने मेरो मान्यता रहिआएको छ। यसैगरी पौभाकलाको रचनामा प्रतिमा लक्षणलाई निष्ठापूर्वक पछ्याइनुपर्छ। उदाहरणका लागि– अन्नपूर्णा देवीलाई पुष्ट स्तन भएकी, भैरवीलाई रगत पोतिएको स्तन भएकी, धुमावतीलाई झोलिएको स्तन भएकी, मातङ्गीलाई समुन्नत स्तन भएकी र दक्षिण कालीलाई ठूला स्तन भएकी आदि स्वरूपमा वर्णन गरिएको छ। यसका साथै आभूषण तथा आयुधहरू पनि वास्तविक आकार र स्वरूप झल्किने गरी बनाउनुपर्छ। आफूले बनाउने देवीदेवताका बारेमा ज्ञान हुनु त अति आवश्यक नै भइहाल्यो।’
कलाकार उदयचरणले ललितकला क्याम्पसबाट बिएफ्ए उत्तीर्ण गर्नुभएको छ। शैक्षिक वर्ष २०३८/०३९ मा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र अध्ययन सङ्कायमा सर्वाधिक अङ्क ल्याई ‘महेन्द्ररत्न छात्रवृत्ति’ समेत उहाँले प्राप्त गर्नुभएको थियो।
कलाकार उदयचरणले राष्ट्रिय कलाप्रदर्शनीहरूमा समसामयिक र परम्परागत कला विधामा प्रशंसा पुरस्कार (वि.सं. २०३७, २०३८, २०४३, २०५२), प्रथम पुरस्कार (वि.सं. २०५३) तथा ‘नरोत्तमदास–इन्दिरादेवी पुरस्कार’ (वि.सं. २०६९) पाउनुभएको छ। उहाँका अनुसार जापानको ‘फुकुओका म्युजियम’ तथा न्युयोर्कको ‘रुबिन म्युजियम अफ आर्ट’ जस्ता प्रतिष्ठित कला सङ्ग्रहालयले उदयचरणका पौभाचित्रहरू खरिद गरेर सङ्कलनमा राखेका छन्। यसैबीच वि.सं. २०५२ सालमा बनेको नेपाल भाषाको चलचित्र ‘राजमती’ का लागि आफूले निकै अध्ययन गरी चित्र बनाएको उहाँ बताउनुहुन्छ।
यस सम्बन्धमा उहाँ भन्नुहुन्छ– ‘पुरातत्व विभागको अभिलेखअनुसार राजमती नाम गरेकी सुन्दर युवती नेपालका प्रधानमन्त्री भीमसेन थापाको जमानाकी थिइन्। राजमतीबारे वर्णन गरिएको लोकगीत ‘सँ धासा: कुली कुली, मिखा धासा: बाला बाला, हयाब्यू राजमतीचा …’ अनुसार चित्ररचनामा उनको आँखालाई मैले प्राथमिकता दिएको थिएँ। चित्र तयार पार्न मलाई झन्डै दुई महिना लागेको थियो।’
पौभाकलाको वर्तमान अवस्थादेखि कलाकार उदयचरण श्रेष्ठ सन्तुष्ट हुनुहुन्छ। युवापुस्ताहरूको पनि यस विधामा आकर्षण बढिरहेको अनुभव उहाँको छ। उहाँ भन्नुहुन्छ– ‘आज नेपाली पौभा विधामा काम गर्ने कलाकारहरूको सङ्ख्या बढ्दै गइरहेको छ। व्यवसायिक रूपमा यो विधा फैलिँदै गइरहेको छ। हाम्रा पौभा कलाकारहरू निकै सशक्त रूपमा अगाडि आइरहेका छन्। नेपाली पौभाले एउटा स्कुल’ कै स्वरूप लिइसकेको छ। यसको भविष्य अत्यन्तै उज्ज्वल छ जस्तो मलाई लाग्छ।’
वि.सं. २०६८ सालमा जापानको ‘फुकुओका आर्ट म्युजियम’ ले आयोजना गरेको नेपाली पौभाकलाको विशेष प्रदर्शनीको संयोजकको भूमिका उहाँले निर्वाह गर्नुभएको थियो। पौभाकलाको विषयमा नेपालमा भन्दा बढी यसको महत्व विदेशमा रहेको उहाँ बताउनुहुन्छ तर पौभाकलालाई अन्तर्राष्ट्रिय जगत्को आम समुदायबीच लैजान भने अझै सकस नै रहेको अनुभव उहाँको छ। यसका लागि हाल कलाकारको मात्रै एकल प्रयत्न रहेको हुँदा राज्यले पनि आवश्यक पहल गर्नुपर्ने कुरामा उहाँ जोड दिने गर्नुहुन्छ।
कलाकार उदयचरण श्रेष्ठले नेपाल तथा विदेशमा आयोजित अनेकौँ पौभाकला प्रदर्शनीहरूमा सहभागिता जनाउँदै आइरहनुभएको छ। त्यस्तै पौभाकलाको कार्यशालामा पनि उहाँ सहभागी हुनुभएको छ। नेपाली पौभाकलाको मौलिकता, यसको वर्तमान अवस्था र रचनाविधिमाथि उहाँले नेपाल र जापानमा निकै पटक प्रवचन दिनुका साथै प्रदर्शनी पनि गरीसक्नुभएको छ। ती कार्यक्रमहरूमा आफूले नेपाली पौभाकलाको महत्वमाथि प्रकाश पार्ने गरेको बताउँदै नेपाली पौभाकलाप्रति विदेशीहरूको गहिरो अभिरुचि रहेको पनि उहाँ जानकारी दिनुहुन्छ। यसबाट आफूलाई पनि मनग्यै सन्तुष्टि मिल्ने गरेको र आफ्नो काममा समेत झन् बढी जिम्मेवारीबोध हुने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ।
वास्तवमा पौभाकलामा हाम्रा अनेकौं आराध्यदेवका कलात्मक स्वरूप र संरचनाका साथै नेपाली संस्कृति, सम्पदाका जीवन्त झलक देख्न सकिन्छ। यसले कुनै पनि मानिसलाई आनन्द र बेग्लै किसिमको तृप्ति दिन्छ। तर यसरी कलात्मक सुन्दरताका नाममा शास्त्रीय मान्यता विपरीत सिर्जना गरिनु हुँदैन।
(तस्बिर लेखक स्वयम्)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता
- बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित