बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें

‘काम गरिरहनु नै जीवन बाँच्नु हो’

ज्ञानेन्द्र विवश

‘नब्बे हब्बे न कब्बे’ भन्ने चलन छ नेपाली समाजमा तर एकानब्बे वर्ष लाग्दै गर्दा पनि कलाकार कृष्णगोपाल (केजी) रञ्जित भने कलामा सुन्दरता कप्न मरिहत्ते गरिरहनुभएको छ। सामाखुसी, कपुरधारा छेउमा बस्नुहुने कलाकारलाई यो उमेरसम्म सधैंको व्यस्त बनाउने उही चित्रकारिता हो। ‘काम गरिरहनु नै जीवन बाँच्नु हो’ भन्ने मान्यताका कलाकार हुनुहुन्छ– उहाँ। ‘हिमाल चित्रका बादशाह’ नामले समेत चिनिनुहुने उहाँले हिमालबाहेक अरू अनेकौं विषय र शृङ्खलाहरूमा पनि उत्तिकै आकर्षक चित्र बनाउनुभएको छ।

रञ्जितले आफ्नो सम्पूर्ण जीवन कलामा समर्पण गर्दै आउनुभएको छ। नेपाली कलाक्षेत्रमा उहाँको विशिष्ट पहिचान छ। उहाँको जन्म वि.सं. १९८९ सालमा पोखराको रानीपौवामा भएको हो। आफ्नो बाल्यकाललाई सम्झिँदै उहाँ भन्नुहुन्छ– “सानोमा म पढाइमा खासै उत्कृष्ट नभए पनि ‘क्विक ब्रेन’ केटो थिएँ। फुटबल खेल्न मन पराउँथें। एकदिन आमाले मलाई मट्टितेल किन्न पठाउनुभयो। म ग्यालिन बोकेर पसलतिर जाँदै थिएँ, त्यहीबेला फुटबल खेलेको आवाज कानमा पर्‍यो। चौरमा साथीहरू फुटबल खेल्दै रहेछन्। ग्यालिन फालेर म पनि खेलमा सामेल भएँ। फुटबल खेल्दाखेल्दै रात परेको पत्तै भएन। अँध्यारो भएपछि घर पुग्दा त बुबाले ‘ए, त्यो लठ्ठी यता लेरा त’ भन्नुभयो। मैले खुरुक्क लठ्ठी बुबालाई दिएँ। उहाँले रन्थनिने गरी मलाई पो दनक दिनुभयो। त्यसपछि म फुटबलमा फेरि कहिल्यै लागिनँ।”

उहाँका बुबा देवीप्रसाद रञ्जित व्यापारका साथै हस्तकलाका सामान बनाउने काम पनि गर्नुहुन्थ्यो। बाथ  रोगले पीडित भएपछि उहाँ कोलकातातिर लाग्नुभएछ। छोरा केजी रञ्जित पनि बुबासँगै उतै जानुभयो। ती दिन सम्झिँदै उहाँ भन्नुहुन्छ– “मेरो पढाइको सुरुआत कोलकातामा भएको थियो। त्यो बेला सिलोटमा खरीले लेखेर अक्षर चिनाइन्थ्यो। मलाई पढ्न सिकाउने एकजना मामा हुनुहुन्थ्यो। उहाँले सिलोटमा भगवान् रामको गजबको चित्र बनाइदिनुभयो। त्यो चित्र मलार्ई खुब मनपर्‍यो। कति दिनसम्म मैले त्यसलाई नमेटीकन राखें। सायद त्यही बेलादेखि म चित्रकलातिर तानिएँ। यसरी मैले भगवान् रामचन्द्रको चित्र बनाएर कलाकर्म थालनी गरेको हुँ।”

छोराले पढोस् भनेर बुबाले राम्रा–राम्रा किताबहरू ल्याइदिनुहुन्थ्यो तर आफू भने किताब पढ्नुभन्दा त्यसमा भएका चित्र हेर्ने र त्यसको नक्कल उतार्नुमा रमाउने गरेको अनुभव सुनाउनुहुन्छ। उहाँका अनुसार दोस्रो विश्वयुद्ध सुरु भएपछि उहाँको परिवार पोखरा फर्केको थियो। उहाँ भन्नुहुन्छ– “तिनताका रातदिन साइरनका आवाजहरू सुनिन्थे। साइरन बजेपछि सुरक्षाका लागि सबैजना खाल्डोमा बस्नुपथ्र्यो। आकाशमा लडाकु हवाईजहाजहरू देखिन्थे। बाटोमा असमको ब्रह्मपुत्र किनार छेउ मरेका बच्चालाई अँगालो मार्दै, आफन्तका लासलाई काखमा राखेर अलापविलाप गर्दै गरेका थुप्रै मानिस भेटिन्थे। पोखरा फर्केपछि पनि चित्र बनाउने कामलाई निरन्तरता दिएँ। आफैँले बनाएको कालो मसीमा बाँसको कलम चोप्दै चुरोटको बट्टामा चित्र बनाउँथें।”

उहाँ अगाडि भन्नुहुन्छ– “२००४ सालमा म पढ्न भनी काठमाडौं आएँ। पोखरादेखि भरियालाई डोकामा सामान बोकाएर सात/आठ दिन हिँडेपछि काठमाडौं आइपुगेको अझै झल्झली सम्झिँन्छु। पढ्ने सुरसार गर्दा नगर्दै लगातार सात वर्षसम्म म थला परें। त्यो बेलाका प्रसिद्ध डाक्टर हलधरसमेत मेरो रोग पत्ता लगाउन नसकेर आजित भए। एकजना बूढाले त ‘यसपालि आलुबखडा फल्ने बेलामा तँ मर्छस्’ भनेर मलाई निरास बनाएका थिए तर बर्सेनि आलुबखडा फलिरहे र पनि चित्रकलासँगै बाँच्दै म अगाडि बढिरहेँ।”

काठमाडौंको प्रारम्भिक बसाइमा उहाँ टाइपिङ इन्स्टिच्युटमा शिक्षक हुनुभयो। २०१७ सालमा न्यूरोडमा ‘रञ्जित आर्टस्’ नामक कमर्सियल आर्ट सम्बन्धी पसल पनि खोल्नुभयो। नेपालमा व्यवस्थित ढङ्गले व्यावसायिक कलाको सुरुआत त्यही समयदेखि भएको उहाँ दाबी गर्नुहुन्छ। उहाँले तत्कालीन शाही नेपाल वायुसेवा निगममा २८ वर्षसम्म जागिर खानुभएको थियो। सो निगमको पहिचान झल्किने लोगो उहाँले नै बनाउनुभएको हो।

कलाकार कृष्णगोपाल रञ्जितले २०६१ सालमा आफ्नो जन्मथलो पोखरामा एकल कलाप्रदर्शनी आयोजना गर्नुभएको थियो। त्यस प्रदर्शनीमा उहाँले बनाउनुभएका विविध शृङ्खलाका कलाकृतिहरू समावेश थिए। तीमध्ये धुवाँबाट बनाइएका चित्र, रातिका दृश्यचित्र, हुस्सु लागेको बिहानी, हिमाल शृृङ्खला जस्ता उहाँका कलाकृतिलाई पोखराबासीले औधी रुचाएको उहाँ बताउनुहुन्छ। आफ्नो चिनारी पनि हिमाल चित्र बनाउने मात्रै होइन यी विविध विषयमा बनाउने कलाकारका रूपमा भएको दाबी उहाँ गर्नुहुन्छ। यसका साथै आफूले केही थान मूर्तिकलासमेत रचना गरेको जानकारी उहाँ दिनुहुन्छ।

कलाकार रञ्जित मूलत: तेलरङ माध्यममा काम गर्नुहुन्छ। आफ्नो लामो र अविरल–कलायात्राका क्रममा उहाँले नेपालका प्राकृतिक छटा र सुन्दर हिमालका असङ्ख्य मनमोहक चित्रहरू बनाइसक्नुभएको छ। उहाँले हाम्रो समाजमा विस्मृतप्राय: हुँदै गएका पुराना चलनहरू, जस्तै ढिकी कुट्ने, जाँतो पिस्ने, बाबियो बाट्ने, धागो कात्ने, हुक्का तान्ने, रक्सी पार्ने, तेल पेल्ने आदि ग्रामीण जीवन शैलीलाई विषय बनाएर जीवन्त चित्ररचना गर्नुभएको छ। उहाँले निरव रात्रीकालका दृश्यलाई पनि आफ्ना क्यानभासमा उत्तिकै सशक्त किसिमले उतार्नुभएको छ। उहाँका चित्ररचनाहरू यथार्थपरक शैलीका हुने गर्छन्। नेपाल र नेपालीलाई प्रतिनिधित्व गर्ने आफ्ना चित्ररचनाहरू विश्वभरि छरिएर रहेको सगर्व बताउँदै तिनले नेपालको चिनारी विश्वलाई दिइरहने बताउनुभयो।

कलाशिल्पी रञ्जित मिलनसार र मिजासिला स्वभावका हुनुहुन्छ। उहाँ आफ्नो स्वास्थ्य र आफ्नो खानपानमा निकै सचेत हुनुहुन्छ। आफ्नी धर्मपत्नी शोभा रञ्जितले निकै ख्याल राख्ने गर्नुभएकाले नै आफू आजसम्म पनि स्वस्थ रही कलाकर्ममा लागिरहन सकेको उहाँ बताउनुहुन्छ। आफ्नो दिनचर्याबारे उहाँ भन्नुहुन्छ– “म हरेक दिन बिहान तीन बजे नै उठिसक्छु। माथिल्लो तलाको कला स्टुडियोमा जान्छु। अनि चित्ररचनाको कार्य थालिहाल्छु। मध्याह्नको भोजनपछि केही छिन आराम गर्छु। फेरि स्टुडियोमै फर्किन्छु। चित्ररचना गर्नु नै मेरो काम हो। आफूले बनाएको कलामा कलात्मक सौन्दर्य दिनु मेरो उद्देश्य हुन्छ। मेरो अम्मल भनेकै कला हो। क्यानभास बनाउनेदेखि रङको मात्रा मिलाउने सबै काम म आफैँ गर्छु। मलाई यसैमा रमाइलो छ।”

२०५८ सालमा ‘रात्री जीवन’ मा आधारित उहाँका चित्र–शृङ्खलाको प्रदर्शनी भएको थियो। उहाँको पछिल्लो कलाप्रदर्शनी २०७० सालमा रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र, काठमाडौंमा भएको थियो। उहाँले २०५६ सालमा ‘चन्द्रमानसिंह मास्के राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउनुभएको छ। ‘नेपाल कमर्सियल आर्टिस्ट सङ्घ’ ले उहाँलाई अभिनन्दन गरिसकेको छ। यसबाहेक जापानले उहाँलाई अभिनन्दन गर्नुका साथै उहाँका कलाकृतिहरूको एकल प्रदर्शनीसमेत गरेको छ। परन्तु यति लामो उमेरसम्म कलामै अविच्छिन्न योगदान दिनुभएका वरिष्ठ कलाकार रञ्जितको योगदानलाई अहिलेसम्म उचित सम्मान गरिएको छैन।

वरिष्ठ कलाकार केजी रञ्जित भन्नुहुन्छ– “हाम्रो खास परिचय भनेकै हिमाल र हाम्रा सांस्कृतिक सम्पदा हुन्। विश्वमा काठमाडौं चिनिएको यहाँका लिच्छवि तथा मध्यकालीन मठमन्दिर, कलाकौशल, दरबार तथा यहाँका परम्परागत जीवनशैलीले हो। यी सम्पदा दिनदिनै हराउँदै छन्। यिनको बचाउ गर्नु हामी सबैको परम कर्तव्य हो। म आफूले सकेको संरक्षण र सम्बर्द्धनको काम चित्रकलाबाट गरिरहेको छु।”

२०७९ असोज ८ मा प्रकाशित सामाग्री पुनःपोष्ट गरिएको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap