कलाकार राधेश्याम मुल्मीका कलाकृतिहरूले जीवन लयात्मक, गतिशील र तरङ्गित छ भन्ने सन्देश प्रेषित गर्दै आएका छन्। उहाँका प्रत्येक चित्रका स्वरूप अत्यन्त सरल र कलात्मक प्रवाहमा प्रकट भएका हुन्छन्। ती लयात्मक गति हरेक दर्शकसँग अनौठो र मिठो सौन्दर्य–संवाद गर्दै सलल बग्छन्। त्यो बगाइ पनि जीवन्त र अविच्छिन्न हुन्छ। यस किसिमको खुबी मुल्मीको प्रथम विशेषता नै हो भन्न सकिन्छ। त्यही खुबीमा कलात्मक सौन्दर्यसँग प्रत्येक दर्शकले साक्षात्कार हुने अवसर पाउँछन्।
कलाकार मुल्मीको यो सीप र शैली नेपाली कलाकै गौरवमय सिर्जना हुन् तर उहाँको कलाकारितामाथि समयले मूल्याङ्कन गर्न निकै कञ्जुस्याँइ गरेकै हो। यद्यपि उहाँ आमनेपाली कलाकारभन्दा भिन्न स्वभावका कलाकार हुनुहुन्छ। इमानदारितापूर्वक आफ्नै कलाकर्ममा मग्न रहने। उहाँलाई हल्लाखल्लाको पछि लाग्नु छैन। काममा समर्पित भएर लाग्नुमै सन्तुष्टि महसुस गर्ने उहाँको अनुभव छ। भनाइ र गराइमा पनि उहाँ प्रतिबद्ध हुनुहुन्छ। दुर्भाग्य भनौं वा नेपाली कलाकारहरूको नियति यसरी काममै समर्पित स्रष्टाहरूको योगदानलाई राज्यले कहिल्यै पनि खोजीखबरी गर्दैन।
वास्तवमा कला जीवन सँग–सँगै चल्ने प्रक्रिया हो। कुनै न कुनै तरिकाबाट यसको प्रयोग भइरहेकै हुन्छ। कला प्रकृति र समाजकै प्रतिविम्ब हुन्। यसले हाम्रो मनमा परेका छाप कलामार्फत् प्रस्तुत हुने गर्छ। उहाँका कला पनि त्यसकै प्रतिविम्ब हो। प्रकृति, समय र समाजका प्रभावलाई उहाँले कलात्मक जीवन दिएर कलाकारिता गर्दै आउनुभएको छ। कलामा उहाँको बेग्लै शैली, संरचना र विषयवस्तुको मिठासपूर्ण संयोजनको अभिव्यक्ति पाइन्छ। समग्र पक्षलाई कलामा आयामिक गति दिएर सधैं सत्य, न्याय, शान्ति र अहिंसाको मार्गमा आफूले कलासिर्जना गर्दै आइरहेको उहाँ बताउनुहुन्छ। उहाँको ध्येय नै कला सौन्दर्य र जीवन पनि हो। अनि कला प्रेरणा र चेतना पनि हो भन्ने छ। यिनै मान्यता र अवधारणाका साथ उहाँको कलाकर्मले निश्चित गति पहिल्याइसकेको छ।
संवेदनशील, मृदुभाषी र सहृदयी स्वभावका कलाकर्मी राधेश्याम मुल्मीले आफ्नै मौलिक शैली निर्माण गरिसक्नुभएको छ। नेपाली कलाजगत्को गौरवमय कलायात्राको शृङ्लामा उहाँको योगदान अमर सिर्जनाकर्मीका रूपमा स्थापित छ। लामो कलासाधनाको पछिल्लो दस्तावेजको समष्टि सिर्जनालाई उहाँले इमानदारितापूर्वक प्रदर्शनमा राख्नुभएको छ। कलामा प्रयोगका विविध बान्कीहरू छन्। विभिन्न रङका सुन्दर तरङ्गहरू छन्। व्यक्ति, परिवार, समाज, राष्ट्रका यावत समस्यादेखि माया र प्रेमका सद्भावहरू पनि छन्। सांस्कृतिक जीवन र जगत्का दर्शन र चिन्तनहरू पनि यथेष्ट छन्। त्यस्तै कतै नृत्यमुद्रा, कतै बाद्ययन्त्रका ध्वनि जता र जहाँ पनि गतिशील तरङ्ग प्रवाहित गरिरहेको भेटिन्छ।
वि.सं. २००६ सालमा पोखराको रामकृष्णटोल (सिंहनादटोल) मा उहाँको जन्म भएको हो। आफूले सुरुमा फूल, चरा आदिबाट कलायात्रा थालनी गरेको बताउँदै त्यसपछि देवीदेवता, मुहारचित्र, दृश्यचित्र, दैनिक जीवनका बारेमा यथार्थ रूप कागज, काठ, क्यानभास आदिमा चित्ररचना गरेको जानकारी उहाँ दिनुहुन्छ। कलामा आफू सधैं नयाँपन ल्याउन प्रयत्नशील रहने र, त्यसैमा आनन्द लिने गरेको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार आफ्नो मौलिक पहिचान झल्किने शैलीमा कला बनाउनुपर्छ भन्ने दृष्टिले जीवनको तरङ्गसँग आफू जोडिन पुगेको र यसैमा आफूले सन्तुष्टि भेटेको उहाँ बताउनुहुन्छ।
त्यसैले उहाँले पहिले–पहिले बनाएका चित्रहरू फरक हुँदै आज त्यसले लयात्मक गतिको रूप लिएको छ। यसमा रेखाका साथै रङमा लयात्मक रूप उहाँले दिनुभएकोे छ। प्रथम प्रदर्शनीमा प्रदर्शित चित्र विभिन्न पक्षलाई समेट्ने कोसिस आफूले गरेको उहाँ बताउनुहुन्छ। एकल कलाप्रदर्शनी नगरी कलाकारकै रूपमा नचिनिने हाम्रो समाजको संस्कार छ। त्यसो त उहाँको कलाकारिताले तीनदशक अगाडिबाटै आफ्नो स्पष्ट पहिचान बनाउँदै आएकोे हो। थुप्रै सामूहिक कलाप्रदर्शनी र कार्यशालाहरूमा सहभागी एवम् आयोजकसमेत भइसकेपछि तथा प्रशस्तै कलाकार चेलाहरू बनाइसकेपछि आफ्नो २५ वर्षे कलायात्राका बहुआयामिक पक्षका साथ कलागुरु मुल्मी गत २०६४ सालमा उपस्थित हुनुभएको थियो।
उहाँको विचारमा कलासिर्जना गर्नु मात्रै ठूलो कुरा होइन। त्यसमा कतिको गहिराइ छ भन्ने कुरा महत्वपूर्ण हो। रङ पोखेर कुनै अनौठो वस्तु प्रयोग गरेर वा केरेर पनि कलासिर्जना गर्न सकिन्छ तर त्यसमा आफ्नो समर्पण, मौलिकता र सौन्दर्य हुनु जरुरी हुने उहाँ बताउनुहुन्छ। त्यसैगरी कलामा इमानदारिताको खाँचो पर्ने कुरामा पनि उहाँ जोड दिनुहुन्छ। कलामा मौलिकताका सम्बन्धमा उहाँ भन्नुहुन्छ– ‘हामीमा प्राय: अरूको नक्कल गर्ने शैलीको प्रवृत्ति बढी पाइन्छ। कलाकारले आफ्नै शैलीको विकास गर्नुपर्छ। अनि मात्र मौलिक शैलीको जन्म हुन्छ। आफ्नो देशको प्रतिविम्ब कलामा हुनु गौरवको कुरा हो। त्यही नै आफ्नो परिचय पनि हो तर आज हामी पश्चिमा कलाकै पछि बढी लागेका छौं। त्यसले आफ्नो मौलिकता र देशको पहिचान हराउने मेरो ठम्याइ रहेको छ।’
उहाँले पाकिस्तानमा ग्राफिक डिजाइन अध्ययन गर्नुभएको छ। स्वदेश फर्केपछि ललितकला क्याम्पसमा अध्यापन गर्न थाल्नुभयो। उहाँ भन्नुहुन्छ– ‘‘त्यो बेला सोचेको थिएँ, ललितकला क्याम्पसमा ग्राफिक डिजाइनको छुट्टै विभाग खोलेर देशको सेवा गर्ने छु। तर त्यसो हुन नसकेकोमा दु:ख लाग्छ। बल्ल अहिले आएर हामीकहाँ ‘ग्राफिक कम्युनिकेशन’ विषयको पनि अध्ययन हुन थालेको छ। मेरा लागि यो निकै खुसी र सन्तोषको कुरा हो।”
२०६३ सालमा राधेश्याम मुल्मी विश्वविद्यालय सेवाबाट निवृत्त भइसक्नुभएको छ। तथापि उहाँले ज्ञान बाँड्ने कार्यलाई छाड्नुभएको छैन। हाल सिर्जना कलेज अफ फाइन आर्टस्मा प्राध्यापकका रूपमा ग्राफिक डिजाइन विषय अध्यापनमा उहाँले आफूलाई व्यस्त राख्नुभएको छ। २०३६ सालमा गोरखाकी राममाया श्रेष्ठसँग उहाँले वैवाहिक सम्बन्ध गाँस्नुभएको हो। ललितकलाकै विद्यार्थी राममायाले पनि कला पढ्नुभयो तर कलाकर्म भने गर्नुभएन। सिर्जना, प्राध्यापन र सामाजिक कार्यक्षेत्रको व्यस्ततामा उहाँले जीवन र जगत् राम्रैसँग बुझ्ने मौका पाउनुभएको छ तर उहाँको मुख्य ध्येय भनेको मानवताप्रति दया र धर्म हो। आफ्ना कलाकृतिहरू मार्फत् आफूले यही सन्देश प्रवाह गर्दै आइरहेको उहाँ बताउनुहुन्छ। हरेक वर्ष अरनिको दिवसका दिन पौष २३ गते प्रदान गरिने पच्चीस हजार राशिको ‘मुल्मी ग्राफिक डिजाइन एवार्ड’ डिजाइन गर्ने कलाकारलाई दिने गरिन्छ। यो पुरस्कार २०७६ सालमा उहाँले नै स्थापना गर्नुभएको हो।
‘ॐ शान्ति’ मा सम्बद्ध हुनुभएपछि उहाँले बुझ्नुभएको प्रमुख कुरा ‘सबैमा समानता र प्रेमपूर्ण व्यवहार गर्नुपर्छ’ भन्ने मान्यता हो। पवित्रता, सुख, शान्ति, प्रेम र आनन्दको जननी भएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार पवित्रता मानवको सच्चा शृङ्गार हो। पवित्रता छैन भने मानवको कुनै मूल्य हुँदैन। देवता पवित्र हुनाले नै मानवीय र पुजनीय भएको उहाँ बताउनुहुन्छ। जुन आत्मामा पवित्रता छ उसको चालचलन र चेहरा तथा बोलीव्यवहार आदि चम्किरहन्छ। उहाँका अनुसार पवित्रताले नै जीवनलाई श्रेष्ठ बनाउन मद्दत गर्छ र मुख्य आधार यही हो। आफूले पनि यिनै भावनालाई आत्मसात् गरी कलासिर्जना गर्दै आइरहेको उहाँ बताउनुहुन्छ।
(तस्बिर लेखक स्वयम्)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित