अग्रज कलाकार केशव दुवाडी नेपाली चित्रकला र कलाशिक्षाका एक मूर्धन्य एवम् गुरु कलाकारका रूपमा ख्यातिप्राप्त व्यक्ति हुनुहुन्थ्यो। उहाँ बाँचिरहनुभएको भए पर्सी मङ्सिर १२ गते १०१ वर्षको हुनुहुने थियो। उहाँको जन्म वि.सं. १९७८ सालमा भएको थियो भने २०५३ साल पुस १८ गते ७५ वर्षको उमेरमा उहाँको निधन भयो। नेपाली ललितकलाका लागि उहाँको निधन ठूलै दुर्घटना भए पनि त्यस दु:खद् घडीमा त्यतिबेला खासै हार्दिक समवेदनाको सामूहिक स्वर सार्वजनिक भएको पाइएन। शिक्षण अस्पताल, महाराजगञ्जको क्याविन नं. ३०४ मा इन्तु न चिन्तुको अवस्थामा उहाँ उपचारमा रहनुभयो। अचानक रिङटा लागेपछि उहाँको मस्तिष्कमा असर परेको थियो। लगभग दुई सातासम्म उहाँको अवस्था सुध्रिने बिग्रिने स्थितिका बीच गुज्रिरह्यो। उच्च रक्तचापबाट थला पर्नुभएका कलाकार तन्दुरुस्त भएर तङ्ग्रिनै नपाई परमधामको बाटो जानुभयो।
बाबुराम दुवाडी तथा अवन्तिकाको पहिलो सन्तानको रूपमा जन्मिनुभएका कलाकारको नाम र कामलाई स्थायित्व प्रदान गर्न उहाँकै धर्मपत्नी कुञ्जलता दुवाडी, छोरा प्रदीपकुमार दुवाडी र अन्य शुभचिन्तकहरूको पहलमा कलाकार केशव दुवाडी स्मृति प्रतिष्ठान र सङ्ग्रहालय आफ्नै निवासमा स्थापना भएको छ। यसै संस्थाले उहाँको योगदानलाई सम्झने र सम्मान गर्ने परम्पराको कार्यमा निरन्तरता दिँदै आइरहेको छ। सोही प्रतिष्ठानले ‘केशव दुवाडी ललितकला सम्मान’ र ‘केशव दुवाडी ललितकला प्रतिभा पुरस्कार’ पनि प्रदान गर्दै आइरहेको छ।
यो विडम्बना नै हो कि जिन्दगी नै ललितकलाको विकास र विस्तारमा बिताउनुभएका अग्रज व्यक्तित्वको अवसानपछि नै किन नहोस्, राष्ट्रले सम्झेर सम्मान गर्ने परम्परा हामीकहाँ छैन। परिवारको चासो र चिन्ताले केही सत्कर्म हुनु र कलाकारमाझ स्मरण गराउने कार्य गर्नुलाई उल्लेखनीय कार्य मान्नुपर्छ। यसबीच दुवाडीज्यूको नाममा स्थापित प्रतिष्ठान र कला सङ्ग्रहालयमार्फत् उहाँको योगदानलाई चिरस्मरणीय पार्ने काममा सो संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको कुरा यहाँ उल्लेखनीय हुन्छ। नेपालका मूर्धन्य कलाकार केशव दुवाडीको ललितकला सम्बन्धी योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न तथा केशव दुवाडी स्मृति प्रतिष्ठान, नेपालको उद्देश्य पूर्ति गर्न उक्त प्रतिष्ठानको विधानमा उल्लेख भए बमोजिम २०७४ सालमा केशव दुवाडी कला सङ्ग्रहालयको स्थापनासमेत गरिएको छ।
उक्त कला सङ्ग्रहालयमा तीनवटा कोठाहरू छन्। ती कोठामा कलाकार केशव दुवाडीले आफ्नो जीवन कालमा बनाउनुभएका विभिन्न चित्रहरू राखिएका छन्। जस्तै– मुहार चित्र, धार्मिक चित्र, दृश्य चित्र, दृष्टान्त चित्र तथा अन्य विविध चित्रहरू ती कक्षमा रहेका छन्। त्यसैगरी उहाँले प्रयोग गर्नुभएका केही सामग्रीहरू तथा चित्र बनाउने औजारहरू पनि राखिएको छ। यसका साथै नेपाल राष्ट्र बैंकको नोट डिजाइन समितिमा रही उहाँले डिजाइन गर्नुभएका नेपाली नोटहरू पनि सङ्ग्रहित गरिएका छन्।
पहिलो कोठामा कलाकार केशव दुवाडीले सन् १९४२ देखि सन् १९६४ सम्म पानीरङ, तेलरङ तथा चारकोल माध्यमबाट बनाउनुभएका विभिन्न मुहार चित्रहरू राखिएका छन्। दोस्रो कोठामा धार्मिक ग्रन्थमा आधारित विभिन्न धार्मिक चित्रहरूका साथै अन्य विविध चित्रहरू राखिएका छन्। उक्त चित्रहरू उहाँले सन् १९४४ देखि १९४९ सम्मको अवधिमा बनाउनुभएको थियो। भार्गव भूषण प्रेस, बाराणसीले प्रकाशित गरेको धार्मिक ग्रन्थ बृहत् नवीन सुख सागरमा छापिएका धार्मिक चित्रहरू र अन्य उहाँका मौलिक चित्रहरू रहेका छन्।
तेस्रो कोठामा उहाँले बनाउनुभएको रत्न पुस्तक भण्डारद्वारा करिब पचास वर्षअघि प्रकाशित प्रसिद्ध ‘स्वस्थानी कथा’ मा आधारित दृष्टान्त चित्रहरू राखिएका छन्। उहाँले तयार पार्नुभएको र नेपाल राष्ट्र बैंकद्वारा निष्कासित रु. १, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० का नोटहरू पनि यसै कक्षमा देख्न सकिन्छ। त्यस्तै यस कक्षमा उहाँले प्राप्त गर्नुभएका पुरस्कार, तक्मा, प्रमाण पत्रहरू, सङ्कलित पुस्तकहरू, प्रयोग गर्नुभएका औजार तथा सामग्रीहरू पनि यसै कोठामा सङ्ग्रह छन्।
उहाँले बनाउनुभएका कतिपय कलाकृतिहरू नेपाल तथा भारतका सरकारी कार्यालय र व्यक्तिगत सङ्कलनमा रहेका छन्। कलाशिक्षण पेशामा आबद्ध भएर उहाँले उल्लेखनीय कार्य गर्नुका साथै विभिन्न संघसंस्थाहरूको महत्वपूर्ण पदमा रहेर कलाको निरन्तर सेवासमेत गर्नुभएको थियो। उहाँले आफ्नो प्रारम्भिक शिक्षाको सुरुआत बनारसमा पिताजीको रेखदेखमा गर्नुभएको थियो। उहाँको बनारस बसाइको समयमा उहाँले त्यहाँबाट प्रकाशित हुने अधिकांश धार्मिक किताबहरूमा सन्दर्भचित्र बनाउनुभएको थियो। उहाँले बनाउनुभएका ती चित्रहरू हेर्दा आध्यात्मिक जागरणका एक एक सशक्त अगुवाका रूपमा समेत उहाँलाई लिन सकिन्छ। कलासिर्जनामा समर्पण पनि ठूलो कुरा हो, जसले कलालाई अमर राख्ने गर्छ। जीवनयात्राका सिलसिलामा भोग्नुपरेका अनेकौं दु:खका साथसाथै कलाकार मित्रमण्डलीबाटै पाउनुभएका सास्तीको बेलिविस्तार पनि उहाँले त्यतिबेलै लगाउनुभएको हो।
उहाँको भनाइअनुसार कलाको श्रीगणेश उहाँले ‘श्रीगणेश’ कै चित्रबाट गर्नुभएको थियो। ब्राह्मण परिवारमा जन्मेकाले पनि सानैदेखि आफू धार्मिक संस्कारले प्रभावित भएको उहाँ बताउनुहुन्थ्यो। ‘चित्रकला’ भनेको चित्रकार जातिले मात्रै गर्नुपर्छ भन्ने सङ्कूचित परम्परागत धारणा विद्यमान थियो। फेरि उहाँ ब्राह्मण परिवारको जेठो छोरा भएकाले पनि उहाँमा प्रशस्तै जिम्मेवारीहरू थिए। कलाप्रति परिवारको सामान्य रुचि र चासो थिएन। यसैले पनि उहाँले चित्रकारिता गरेको परिवारका अन्य सदस्यहरूलाई मन नपर्नु स्वाभाविक थियो। यद्यपि उहाँले चित्रकलाकै आराधना गरेर जीवन व्यतीत गर्नुभयो।
कलाकार केशव दुवाडीले नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त गरी सन् १९४६ मा भारतको सर जे. जे. स्कूल अफ आर्टस्, बम्बैबाट चित्रकला विषयमा स्नातक गर्नुभएको थियो। चित्रकला विषयमा स्नातक गर्ने उहाँ नै पहिलो नेपाली चित्रकार हुनुहुन्थ्यो। उहाँले वि.सं. २००४ देखि २०१० सम्म तत्कालीन जुद्धकला पाठशालाको प्रधानाध्यापक भई सेवा गर्नुभएको थियो। त्यस्तै उहाँले जनक शिक्षा सामग्री केन्द्रमा प्रमुख कलाकारको पदमा रही सेवा गर्नुभएको थियो।
वि.सं. २०२४ देखि २०३० सम्म उहाँले ललितकला महाविद्यालयको प्रिन्सिपल भई कला शिक्षाको विकासमा महत्वपूर्ण योगदान दिनुभएको थियो। त्यस्तै उहाँ वि.सं. २०२६ सालमा नेपाल ललितकला संस्थाको उपाध्यक्ष पदमा मनोनित भई २०३४ सालसम्म सेवारत् हुनुहुन्थ्यो। वि.सं. २०३४ देखि २०३६ सम्म उक्त संस्थाको सल्लाहकार भई कलाको सेवा गर्नुभएको थियो। ती संस्थाहरूमा रहँदा उहाँले कलाको विकास र कलाकारहरूको उत्थानका लागि काम गर्नुभयो।
उहाँलाई नेपाल प्रज्ञा–प्रतिष्ठानबाट मानार्थ सदस्यको उपाधिबाट सम्मानित गरिएको थियो। तत्कालीन प्रज्ञा–प्रतिष्ठानबाट उहाँलाई कलामा अतुलनीय कार्य गरे बापत वि.सं. २०५० सालको इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कारबाट सम्मान गरिएको थियो। त्यस्तै उहाँले भारतमा आयोजित चित्रकला प्रतियोगितामा प्रथम भई पुरस्कार जित्नुका साथै रजत पदक एवम् नगद पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो। त्यस्तै उहाँले नेपाल र भारतमा आयोजित सामूहिक र एकल चित्रकला प्रदर्शनीहरूमा समेत भाग लिनुभएको थियो। स्मरणीय छ, प्रा.डा. कृष्णप्रसाद दाहालले उहाँको जीवनयात्रालाई समेटेर लेख्नुभएको र केशव दुवाडी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘कलाशिरोमणि: केशव दुवाडी शीर्षकको सचित्र किताब गएको वर्ष प्रकाशित छ। यो सामग्री उहाँको जीवन, कलाकारिता र कलामा उहाँको योगदानका विविध पाटाहरूलाई बुझ्ने दस्तावेज बनेको छ।
(तस्बिर सौजन्य केशव दुवाडी स्मृति प्रतिष्ठान)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ज्ञानेन्द्र विवश का अन्य पोस्टहरु:
- दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
- पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्दै कलाकार उदयचरण श्रेष्ठ
- ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
- परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
- कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
- लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
- बर्सेनि आलुबखडा फलिरहे, केजी रञ्जित बाँचिरहें
- ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
- कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता
- बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित