चर्को ब्याज विरुद्ध उद्योगी व्यवसायी सडकमा

चन्द्रकान्त खनाल/रूपन्देही

बैंक तथा वित्तीय संस्थाहरू आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्न लागेको भन्दै रूपन्देहीका उद्योगी व्यवसायीहरूले सडकमा आएर प्रदर्शन गरेका छन्।

पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरेपछि अहिले रूपन्देहीका उद्योगी बैंक तथा वित्तीय संस्थाहरूले व्याज बढाएको विरोधमा प्रदर्शन गरेका हुन। उद्योगीहरूले बैंक तथा वित्तीय संस्थाहरू आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी ब्याजदरमा चर्को वृद्धि गरेको भन्दै रूपन्देहीमा क्रियाशील उद्योग वाणिज्य संघहरूले बुटवलमा विरोध प्रदर्शन गरेका छन।

रूपन्देहीका बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ र सैनामैना उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका महासचिव विमलराज भट्टराईले बताउनु भयो।

‘बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराउनको लागि सांकेतिक कार्यक्रम मात्रै हो,’ महासचिव भट्टराईले भन्नुभयो– ‘हाम्रो माग सुनवाई भएन भने अझै सशक्त आन्दोलन चर्काउने छौं।’

सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले बढ्दो ब्याजदरका कारण उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएकोले एकल विन्दुमा ब्याजदर कायम गर्नुपर्ने बताउनु भयो।

नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्र सफल भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताउनु भयो।उहाँले चर्को व्याज तिरेर अब उद्योगी व्यवसायीले उद्योगहरू धान्न नसक्ने बताउँदै चर्को ब्याजदर नघटाए बैंकका विरुद्ध विद्रोह गर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो –नेपाल राष्ट्र बैंकको कार्यविधि निजी क्षेत्रका लागि बाधक छ। नेपाल राष्ट्र बैंकले मनोमानी गर्दा उद्योगी व्यवसायी मारमा परेको छन्, सरकारले उद्योगी व्यवसायीलाई साथ दिएको छैन।

उहाँले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गर्दै चर्को बैंकको व्याज लगायतका विषयमा सबै व्यवसायिक संस्थाहरू एक भएर आन्दोलनमा उत्रन आग्रह गर्दै तत्काल बैंकको ब्याजदर घटाउन सरकारसँग माग गर्नु भयो।

रूपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले बजारमा तरलता अभावको कारण देखाउँदै बैंक तथा वित्तिय संस्थाहरूले ब्याजदर वृद्धि गरिदिँदा पूँजी विस्तार गरी उद्योगलाई बचाई राख्न कोशिश गरिरहेका उद्योगीहरू सङ्कटमा पर्ने मात्र होइन पलायन हुने अवस्था आएको भन्दै सरकारलाई तत्काल त्यसको समाधानको उपाय खोज्न आग्रह गर्नु भयो।

लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले उद्योगीहरूले उद्योगहरू बचाउन चाहेपनि बैंकको चर्को व्याजले उद्योगहरू बचाउन नसकिने अवस्था सिर्जना भएको बताउनु भयो। उहाँले आर्थिक विकासका लागि उद्योगी मैत्री नीति जरुरी रहेको उल्लेख गर्दै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नै संरक्षण गरेको घटनाहरूले प्रष्ट पारेको हुँदा बैंकहरूका विरुद्व आन्दोलनमा उत्रनुको विकल्प भएको बताउनु भयो।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ को महामारीबाट थलिएका उद्योगी व्यवसायीहरू तरलता अभावले झनै पिल्सिनु परेको र त्यसमाथि बैंक तथा वित्तीय संस्थाहरूले महिनै पिच्छे  ब्याजदर वृद्धि गर्दै जाँदा भएका उद्योग, व्यापार, व्यवसाय पनि बन्द गर्नुपर्ने स्थिति आएको बताउनु भयो।

‘बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले नियन्त्रणमा राख्नु पर्ने हो।’ उहाँले भन्नुभयो– ‘राष्ट्र बैंकले लगाम छोडिदिँदा बैंक तथा वित्तीय संस्थाहरूमा मनोपली भएको छ।’ जसका कारण ८/९ प्रतिशतमा रहेको बैंकको ब्याजदर वृद्धि भएर अहिले १५/१६ प्रतिशत सम्म पुगिसकेको उहाँको भनाई छ।

यस्तो अवस्थामा उद्योगी व्यवसायीलाई बचाउनको लागि राहत दिनुपर्नेमा झनै च्याप्ने काम भएको बताउँदै उहाँले आफूहरूको माग तत्काल सुनवाई गर्न आग्रह गर्नुभयो। मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसायलाई बचाउनको लागि बैंकको ब्याजदर सिंगल डिजिटमा झार्नुपर्ने, अहिलेको आर्थिक सङ्कटका कारण उद्योगी व्यवसायी किस्ता व्याज तिर्न नसक्ने अवस्थामा रहेकाले असोज मसान्तमा बुझाउनु पर्ने किस्ता व्याज तिर्ने समयावधि थप गर्नुपर्ने उनीहरूको माग छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको ब्याजदर कम्तिमा १ वर्षसम्म ऋणीको सहमति विना बढाउन नपाइने, चालु पूँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरूलाई कठिन हुने भएकाले कम्तिमा आर्थिक अवस्था सहज भएपछि लागू गर्न माग गरिएको छ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी योगदान गरेको निजी क्षेत्रलाई राहत दिई आर्थिक गतिविधिलाई अझै बढी चलायमान बनाउनु पर्नेमा बैंक तथा वित्तीय संस्थाहरूले गरेको ब्याजदरको चरम वृद्धिले सञ्चालन भईरहेका उद्योग व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थिति आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताउनु भयो।

उहाँले उद्योगी व्यवसायीहरूले पटक पटक आग्रह गर्दा पनि राष्ट्र बैंकले सुनुवाइ नगरेको भन्दै व्यवसायीको विनम्रतालाई सुनिँदैन भने उद्योगी व्यवसाय थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने उहाँले चेतावनी दिनुभयो।

रूपन्देहीमा ठूला मात्र नभई साना तथा मझौला उद्योगहरूको संख्या पनि धेरै रहेका छन्। घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका अनुसार यहाँ १४ हजार उद्योग दर्ता भएका छन् भने २५ अर्ब बढी लगानी रहेको छ। उद्योगबाट रूपन्देहीका ५ हजार बढीले रोजगारी पाएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link